हजुरबुवाको रेडियो
सीताराम उप्रेती
बिरलै घरमा मात्र रेडियो भएकोे बीसको दशकको अन्त्यतिरको समयमा मेरा हजुरबुवाले आसामबाट आउँदा ल्याएको रेडियोको मलाई धमिलो सम्झना छ । त्यो कालो छालाको खोलले बेरिएको थियो, त्यसमाथि झुन्ड्याउन मिल्ने गरी कपडाको खोल सिलाएर हालिएको थियो । मेरो चार÷पाँच वर्षे उमेरले त्यो के नामको रेडियो थियो ? त्यसमा ब्याट्री कतिवटा चाहिन्थ्यो ? यो चाल पाउने कुरै भएन । हिउँदको याममा आसामबाट आउनुभएका हजुरबुवा मुस्किलले तीन महिना जति मधेसमा बसेपछि पहाड आठराई, तेह्रथुमतिर लाग्नुभयोे र रेडियो पनि झापाको शनिश्चरे हुँदै इलाम, पाँचथर, फिदिम जोरसालको ओरालो झरेर तमोर नदी तरेर बाँदर लड्ने भीर छिचोलेर चुहान्डाँडा फुकान्दिन पुग्यो हजुरबुवाको काँधमा बज्दै बज्दै । पछि थाहा भयो, त्यसबेला त इजाजतबिना रेडियो बजाउन नपाइने नियम रहेछ ।
तीन महिना जति रेडियो हाम्रो भुइँटाडे घरको मूल खाँबोमा ठोकिएको काँटीमा झुन्डिएर बज्यो । हजुरबुवा बेलाबेलामा रेडियो काँधमा भिरेर बजाउंँदै कहिले खमारतिर, कहिले बुवाले जोत्दै गरेको खेततिर लिएर जानुहुन्थ्यो मलाई डो¥याउँदै । कहिलेकाहीँ छिमेकीहरूका घरमा पनि मलाई साथै लिएर जानुहुन्थ्यो । म पनि हजुरबुवासँग हिँड्न पाउँदा दङ्ग परेर हिँडेको सम्झना अझै पनि मनमा आलै भएर बसेको छ । त्यसबेला गाउँघर पनि पातला नै थिए । गाउँमा रेडियो भएको घर भनेको एकजनाको मात्रै थियो । त्यो घरमा रेडियो नेपालको समाचार सुन्नका लागि मेरा बुवा पनि नित्य जाने गर्नुहुन्थ्यो तर तीन महिना भने घरमा रेडियो भएकाले समाचार सुन्नका लागि छिमेकीका घरमा जानु परेन बुवाले ।
तीन महिनापछि रेडियो पहाडतिर उक्लिएपछि भने बुवाको समाचार सुन्न जाने बानी फेरि पुरानै लयमा फर्किन पुग्यो । यही कुराले बुवाआमाको बेलाबेलामा ठाकठुकसमेत पर्दथ्यो । त्यसपछि निकै समयसम्म घरमा रेडियोको आगमन हुन सकेन । यसको मूल कारण भनेको आर्थिक नै थियो । २०३७ सालतिरको कुरो जस्तो लाग्छ, मेरा कान्छा मामाले नयाँ टेपरिकर्डसमेत भएको रेडियो किनेपछि उहाँको पुरानो इन्डियन फिलिप्स दुईवटा ब्याट्रीबाट चल्ने रेडियो फाजिलमा परेछ । ज्यामिरगढीमा रहेको मामाघर म एक्लै आउजाउ गर्न सक्ने भइसकेको थिएँ । तीन भाइ मामाका घरहरू लहरै थिए । सानामा मामाघरको रमाइलोको रौनक नै बेग्लै हुने । फेरि मामाका छोराछोरीहरू कोही दिदी, कोही दाइ, कोही दौँतरी र कोही भाइबैनी छिमलका थिए । त्यसैले मामाघर जान भनेपछि म हुरुक्क नै हुन्थेँ । त्यसमा पनि घर हिँड्ने समयमा हजुरआमाले दिने एक रुपियाँको नोट वा डबलले विशेष महìव राख्दथ्यो । वर्षे बिदाका एक दिन म मामाघर पुग्दा त कान्छा मामाका घरमा टेपरिकर्ड पो बजिरहेको रहेछ । मामाका छोराछोरीहरू पनि आँगनभरि जम्मा भएर रमाइरहेका रहेछन् ।
बेलुकाको खाना कान्छा मामाकै घरमा भयो । हुन त खाना हामी केटाकेटीहरू जता पनि खाने गथ्र्यौं । हजुरबुवा हजुरआमासँगै कान्छा मामा माइजूको बसोबास भएकाले अक्सर खाना कान्छा मामाकै घरमा हुन्थ्यो । कहिलेकाहीँ खेल्ने सुरमा तीन घरमध्ये जुनसुकै घरमा पनि खाना खाइन्थ्यो । बेलुका खाना खाइसकेपछि कान्छा मामाले मलाई भन्नुभयो– भाञ्जा मैले यो ठूलोे रेडिया किनेर ल्याएँ । यो सानो रेडियो लिएर जाऊ । मैले मामालाई त्यसबेला केही उत्तर दिन सकिनँ तर मनमा भने खुसीको सीमा रहेन । रेडियो बोकेर घर जाउँ बुवाआमाले के भन्ने हुन् ? गाली पो खाइने हो कि ? मलाई त्यस रातभर फिटिक्कै निद्रा परेन । मनमनै भने भोलि बिहानै घर गएर बुवाआमालाई यो कुरा सुनाउँदा पक्कै पनि खुसी भएर रेडियो लिनका लागि मलाई नै मामाघर पठाउने होला भनेर म खुसीले गद्गद् भएँ ।
भोलिपल्ट म घर गएँ । बुवा घरमा हुनुहुन्नथ्यो । बर्खाको बेला भएकाले खेततिर जानुभएको रहेछ । आमालाई सुनाएँ । यो खबरमा आमाले केही भन्नु भएन । रेडियोको खासै महìव आमालाई थिएन, जति बुवालाई थियो । साँझमा बुवा एक भारी मकै नाम्लो लगाएर बोकेर असिनपसिन भएर आउनुभयो । भारी बिसाएर टोपीले पसिना पुछ्दै गर्दा मैले खुसीका साथ रेडियोको कुरा एकै सासमा भनेर सिध्याएँ । बुवा साह्रै खुसी हुनु भयो । भोलि सोमबार धुलाबारी बजार जाने काम पनि छ, मै गएर लिएर आउँछु । घरमा रेडियोको आगमन हुने खुसीमा म पनि रातभर निदाउन सकिनँ । आहा ! हाम्रा घरमा पनि रेडियो आउने भो, त्यसलाई कहाँ काँटी ठोकेर झुन्ड्याउने होला ? मेरो मनमा यी र यस्तै तर्कनाले चालबाजी गरिरहे । रातमा कुन बेला भुसुक्कै निदाएछु, पत्तै भएन ।
भोलिपल्ट बुवा पहिला ज्यामिरगढी मामाघर गएर रेडियो लिएर मात्रै धुलाबारी बजार जानुभएछ । रेडियोमा मिल्ने बुट्टे कपडाको चिटिक्कको खोल पनि हाल्नु भएछ । अनि एकजोर नयाँ एभरेडी ब्याट्रीसमेत हालेर अन्दाजी ३ बजेतिर बुवा घरमा आइपुग्नु भयो । अरूलाई के कसो भयो ? ममा भने खुसीको सीमा नै थिएन । सिकुवामा रेडियो राखेर बुवाले एउटा पुरानो काँटी पनि खोजेर ल्याउनु भयो । अनि घरको मूल खाँबोमा काँटी ठोक्नका लागि लोहोरो लिएर आइज भनेर मलाई अराउनु भो । हत्तपत्त म भान्सा घरमा गएर लोहोरो लिएर आएँ । बुवाले ठोक्न खोज्दा खियाले खाएको त्यो पुरानो काँटीले काम गरेन । अर्को काँटी फेरि खोजेर ल्याएर ठोक्नुभयो । अनि रेडियो झुन्ड्याउने ठाउँ बन्यो । बेलुका ५ बजे रेडियो नेपाल खुल्ने समय थियो । रेडियो बजेको सुनेपछि भाइबहिनीहरू छक्क परे । रेडियोमा सुनियो । आओ मेरा प्यारा भाइबहिनीहरू, रेडियो नजिक आओ भन्दै थिए सञ्चालक वासुदेव मुनाल । बेलुकीको सुरुवात यसरी बालकार्यक्रमबाट सुरु भएको थियो । त्यसपछि ६ः३० बजे जिल्ला समाचार आयो । यो समाचार सुन्दाखेरी देशमा त धेरै नै विकास भए जस्तो लाग्यो । कृषि कार्यक्रममा जे.टी.ए. र बुढीआमैले हरिशरणम् भनेको पनि सुनियो । अनि बेलुकी ७ः३० बजे एउटा मीठो धुन बज्यो । त्यसपछि रेडियो नेपालको मूल समाचार आयो । यो रेडियो नेपाल हो अब कमल प्रधानबाट समाचार सुन्नुहोस् । यो सुनेर आमालाई एक किसिमको ढुक्क भयो । अब बुवाले समाचार सुन्ने बहानामा माथ्लाघर जानुपरेन । नेपाली समाचार वाचकहरू दुर्गानाथ शर्मा, सिद्धान्तराम जोशी र प्रवीण गिरीहरू थिए ।
भोलिपल्ट बिहानैदेखि धार्मिक कार्यक्रम लगायतका कार्यक्रमहरू रेडियोमा बज्न थालेपछि घर अगाडिको बाटो हिँड्ने मान्छेहरू पनि छक्क पर्न थाले । उप्रेतीको घरमा पनि रेडियो किनेछन् भनेर । गाउँका आदिवासी किसानका छोराछोरी त आँगनसम्म आएर नै हेरेर जान्थे । बिहान ८ बजेको अङ्ग्रेजी समाचार सकिएपछि एकाएक मीठो बिनायोको धुन बज्न सुरु भयो । धुन सकिएपछि एउटा झर्रो खबर सुनियो– बज्यो बिनायो खुल्यो साहित्य संसारको दैलो, म यज्ञनिधि दहाल । त्यसबेलासम्म उहाँको सम्बोधनमा ‘जदौ’ भन्ने शब्दले प्रवेश पाएको थिएन । साहित्य संसार शब्दले मलाई लठ्यायो । खोई कुन कुन बार हो यकिन सम्झन मलाई अहिले गाह्रो भयो तर हप्ताको दुई दिन बज्ने त्यो कार्यक्रम रेडियोमा मैले भरसक छुटाइनँ । अहिले सम्झन्छु– मलाई साहित्यको पाठक बन्न यसले नै प्रेरणा दिएको रहेछ । बुवा बेलुकाको ७ः३० बजेको समाचार सुनेपछि रेडियो बन्द गर्नुहुन्थ्यो । त्यसपछि म सुटुक्क रेडियो आफ्नो कोठामा ल्याएर सानो आवाज बनाएर सुन्थेँ । बुधबार बेलुका दामोदर अधिकारीले चलाउने विदेशमा बस्ने नेपालीका कार्यक्रम पनि नियमित सुन्थेँ । त्यसपछि म आफ्नो पढाइतिर लाग्थेँ ।
लगभग चार वर्षसम्म म रेडियोको लती भएँ । त्यही बीचमा मैले एसएलसी पास गरेर अध्ययनका लागि काठमाडौँ आएपछि भने रेडियोसँगको नाता टुट्न पुग्यो । केहीपछि एक जना दाइले शान्ति सेनाबाट फर्किएको सैनिकसँग किनेको रेडियो केही समय डेरामा सुन्याँै । पछि ती दाइले त्यो रेडियो मामालाई समाचार सुन्न भनेर झापा लगिदिनु भयो । अर्का एकजना दाइ जागिरको क्रममा एयरपोर्ट भन्सार कार्यालय पुगेका थिए । मैले उनलाई एउटा रेडियो किनिदिनु भनेँ । उनलाई दुई हजार रुपियाँ पनि लगेर दिएँ । केही दिनपछि उनले जापानिज नेसनल पानासोनिक रेडियो ल्याइदिए । त्यसबेला काठमाडौँमा भर्खर भर्खर एफएम स्टेसनहरू धमाधम खुल्दै थिए । धेरै समयसम्म मसँग नजिक भएको त्यो रेडियो यतिबेला भने निरास भएर दराजको एउटा कुनामा बसेको छ । छोटो समयमा प्रविधिले यति ठूलो फड्को मा¥यो कि मान्छेलाई पत्याउन नै मुस्किल भयो ।
रेडियोमा पहिलोपटक समाचार सुन्दा वाचन गर्ने व्यक्ति कमल प्रधानलाई धेरै समयपछि राष्ट्रिय वाणिज्य बैङ्कमा कार्यरत रहँदा उहाँ आफ्नो नामको चेक साट्न आउने क्रममा चिनजान गर्ने मौका मिलेको थियो ।
समयक्रममा २०७० सालको लक्ष्मीपूजाका दिनदेखि म काठमाडौँको बासिन्दा हुन पुगेँ । कपन बालुवाखानीमा घरबासको व्यवस्था भयो । यज्ञनिधि दाहालको परिवार अनामनगर छाडेर अचेल मेरैतिर बसोबास गर्नुहुँदो रहेछ । लामो समय उहाँ रेडियो नेपालको साहित्य संसार कार्यक्रमका प्रस्तोता हुनुहुन्थ्यो । २०७५ सालको जेठ २ गतेदेखि मैले आफ्नो तीस वर्षे जागिरे जीवनको भारी बिसाएँ । अवकाशप्राप्त जीवन ग्रहण गरेँ । त्यही वर्षको साउन महिना पहिलो साता म आफ्नो पुस्तक ‘छिचोल्दै बादलका घुम्टाहरू’ उपहार दिन भनेर उहाँका घरमा गएँ । संयोगले उहाँ घरमै हुनुहुँदो रहेछ । मैले आफ्नो परिचयसहित पुस्तक उपहार दिएँ । उहाँसँग झन्डै एक घण्टा कुराकानी भयो । भेटेको दुई सातापछि उहाँ बितेको खबर सुनेँ । उहाँसँगको पहिलो र अन्तिम भेट पनि त्यही भयो ।
काभे्रका मेरा मित्र बलराम बञ्जाराले गोधुलि साहित्यिक पत्रिका निकाल्ने सोच बनाउनुभयो । लेखरचना खोजौँ भनेर मलाई पनि भन्नुभयो । झापा घर गएका बेला मैले पनि कृष्ण धरावासीसँग केही निबन्धहरू मागेर ल्याएको थिएँ । लेखकहरूलाई अग्रिम पारिश्रमिक दिएर रचना माग्नुहुन्थ्यो बलरामजी । नेपालगन्जका कथाकार सनत रेग्मीसँग पनि ममार्फत कथा माग्नुभएको थियो । उहाँले कथा दिन भ्याउनुभयो कि भएन । पत्रिका धेरै अङ्क निस्कन पनि सकेन । बलरामजी अहिले साहित्यिक वृत्तबाट हराएको त धेरै भइसक्यो । प्रत्यक्ष भेट नभएको पनि धेरै भइसक्यो । गोधुलिका सल्लाहकार कृष्णप्रसाद पराजुली हुनुहुन्थ्यो । उहाँ पनि यो संसारबाट बिदा भएको धेरै नै भइसक्यो । कृष्ण धरावासीको ‘नारीभित्र के छ हजुर ?’ निबन्ध रेडियो नेपालको साहित्य संसार कार्यक्रमबाट यज्ञनिधि दाहालले धेरै पटक वाचन गरेपछि आपूm देशव्यापी रूपमा चिनिएको र त्यो छापिदिने भाइ सीताराम उप्रेती हो भनेर उहाँले आफ्नो पुस्तक आधा बाटोमा लेख्नुभएको छ ।
अहिले प्रविधिको विकासले धेरै फड्को मारिसक्यो । रेडियो, क्यामरा जस्ता पुराना चिज मोबाइल फोनसँगै मिसिएर आइसकेका छन् तर पनि मानिसहरूमा रेडियोको सान्दर्भिकता छँदैछ । मोबाइलमै भए पनि पहाडतिर भारी बोक्ने भरियाहरू रेडियो सुनेर मनोरञ्जन लिइरहेका छन् । जङ्गलमा गाईवस्तु चराउने गोठालाहरू पनि रेडियो सुनिरहेका हुन्छन् । सार्वजनिक यातायातका गाडी चालकहरू आफ्नो कामसँगै रेडियो बजाएर यात्रुलाई पनि मनोरञ्जन गराउँछन् । पोहोर साल झापाको सुरुङ्गा बजारमा एक जना प्रौढ व्यक्ति काँधमा रेडियो भिरेर बजार घुमिरहेको देख्दा मैले एकाएक चारदशक अघिका मेरा हजुरबुवालाई सम्झेँ ।