शनिवार | कला |

बेवास्तामा परेको मुटुरोग

सामान्य टन्सिललाई बेवास्ता गर्दा बाथ मुटुरोग लाग्न सक्छ भन्ने जानकारी धेरैमा पाइँदैन । घाँटी दुख्दा वा टन्सिल पाक्दा नुन, पानी र बेसार मात्र खाएर हुँदैन औषधि नै खानुपर्छ भन्ने ज्ञान उनान्सय प्रतिशतलाई नभएकै कारण यो रोग ओझेलमा परिरहेको छ । सुरुमा सय रुपियाँ पनि नपर्ने औषधिले ठीक हुने टन्सिल बिग्रेपछि लाखौँको खर्च लाग्ने र ज्यानै पनि जान सक्ने तथ्य ‘टन्सिलले बिगारेको मुटु’ पुस्तकमा रहेको छ । मुुटुसम्बन्धी एक दर्जन पुस्तक प्रकाशन गरिसक्नुभएका मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नयाँ पुस्तक ‘टन्सिलले बिगारेको मुटु’ बजारमा आएको छ ।
बाथ मुटुरोग गरिबी र अशिक्षाका कारण विपन्न बालबालिकामा सबैभन्दा प्रभावित भएको पाइन्छ । यसैका कारण प्रत्येक वर्ष एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले पनि बेवास्तामा परेका गरिबहरूका मुटुरोग भनेको छ ।
विगत तीन दशकभन्दा बढी समयदेखि डा. रेग्मी हिमाल, पहाड, तराईका दुर्गम गाउँमा मुटुरोगको परीक्षण र जनचेतना फैलाउने कार्यमा जुटिरहनुभएको छ । विश्व मुटु महासङ्घ र नेपाल हार्ट फाउन्डेसनबाट ‘हार्ट हिरो–२०१९’बाट सम्मानित डा. रेग्मी गरिब बालबालिकालाई बाथ मुटुरोगबाट बचाउने अभियानमा निरन्तर सक्रिय हुनुहुन्छ ।
यस पुस्तकमा बाथ मुटुरोग र रोगका विविध पक्षमाथि प्रकाश पारिएको छ । पुस्तकमा रोगीहरूको वेदना छ, सङ्घर्षको कथा छ र गाउँघरको समाजको चित्र छ । केटाकेटीमा हुने टन्सिललाई सामान्य रूपमा लिनु, घरेलु उपचारमा मात्र विश्वास गर्नु नै बाथ मुटुरोगका कारण बन्ने गरेको छ । टन्सिललाई सामान्य रूपमा लिँदा मुटु कसरी बिग्रन्छ र कसरी जोगाउन सकिन्छ भन्ने जानकारी पनि भएकाले पुस्तक उपयोगी बनेको छ ।
मुटुरोगको रोकथाम र परीक्षण गर्नका लागि नेपालको पैँसट्ठी जिल्ला पुगिसक्नुभएका डा. रेग्मी बाथ मुटुरोग उपचारमा भन्दा रोकथामका लागि देशैभरि जनचेतनामूलक अभियान चलाउन आवश्यक ठान्नुहुन्छ । नेपाल हृदयरोग प्रतिष्ठानले यही अभियानका लागि स्थापना गरेको कोषमा दस लाख दिएर उहाँले शुभारम्भ गर्नुभएको थियो । मुटुरोगविरुद्ध अभियन्ताहरूको नाममा डा. रेग्मीले पुष्पमान–हिमकान्त मुटु उपचार कोषको पनि स्थापना गर्नुभएको छ ।
बाथ मुटुरोगलाई बेवास्ता गर्दा आर्थिक अभावले उपचार गर्न नसकेका, पैसा भएर पनि उपचार हुन नसकेका, किशोर अवस्थामा नै ज्यान गुमाउन परेकाको कारुणिक घटना पनि पुस्तकमा समेटिएका छन् । देशका विभिन्न स्थानको स्थलगत अनुभवहरूले गर्दा पुस्तक सैद्धान्तिकभन्दा व्यावहारिक बनेको छ ।
पुस्तकमा स्वस्थ मुटु र रोगी मुटु, बाथ मुटुरोगको इतिहास, उपचार पद्धतिको विकास, अध्ययन र रोकथामका प्रयास, सामाजिक संस्थाहरूले पु¥याइरहेको योगदान, मुटुसम्बन्धी पाठ्यपुस्तकमा भएका गल्तीलाई सहज रूपमा उल्लेख गरिएको छ । त्यस्तै आफ्नो बाल्यकाल, सोभियत सङ्घमा डाक्टरको अध्ययन र नेपाल फर्किएपछि जागिरका क्रममा पुग्नुभएका विभिन्न अस्पतालका दृश्य, अवरोध र सङ्घर्षका दिनलाई पनि रोचक ढङ्गले प्रस्तुत गर्नुभएको छ ।
‘टन्सिलले बिगारेको मुटु’ पुस्तकमा भारतीय डाक्टरहरू समाज सेवाको नाममा नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्य परीक्षण गर्न आउने र उपचारका लागि आफ्नो अस्पतालमा बोलाएर कसरी ठगी गर्छन् भन्ने घटनालाई उतारिएको छ । त्यस्तै भारतको भेलोरबाट महँगो उपचार गरेर फर्किएको बिरामीको गलत शल्यक्रिया भएकोले नेपालमा फेरि शल्यक्रिया गर्नुपरेको पनि उल्लेख गरिएको छ । डा. रेग्मीले यस पुस्तकमा मन्त्रालयमा उच्च पदस्थहरूले दिने गरेको आश्वासन, उपेक्षा र यति बजेट मिलाइदिन्छु कति आउँछ भन्ने घुसिया कर्मचारीको प्रवृत्ति देखाउनुभएको छ । सरकारले मुटुरोगको उपचारका लागि तीन लाखसम्म निःशुल्क उपलब्ध गराउने गरेको छ तर त्यही रोगको रोकथाम तीस रुपियाँको सुईबाट हुने भएको भए पनि सरकारी उदासीनताप्रति आश्चर्य प्रकट गरिएको छ । अहिले सरकारले वार्षिक तीस करोड मुटुको शल्यक्रियामा खर्च गरिरहेको छ तर रोकथामका लागि वार्षिक एक करोड लगानी गर्दा दस वर्षपछि मुटुको शल्यक्रिया गर्नेको सङ्ख्या आधा हुने विश्वास पनि गरिएको छ ।
बाथ मुटुरोग रोकथामका सङ्घर्ष र अनुभूतिको यस पुस्तक पढेपछि मुटु बिग्रिनबाट बचाउन सकिने, पैसा र जीवन पनि बचाउन सकिने भएकाले पुस्तक विद्यार्थी, शिक्षक, अभिभावक सबैका लागि निकै नै उपयोगी बनेको छ । नेपाल हृदयरोग प्रतिष्ठानले प्रकाशन गरेको यस पुस्तक सम्बन्धित चित्रहरूसहित तीनसय दुई पृष्ठको छ । पुस्तको बिक्रीबाट हुने सबै रकम बाथ मुटुरोग रोकथाम कोषमा जानेछ ।
बाथ मुटुरोग गरिबी र अशिक्षाका कारण बालबालिका प्रताडित बन्नु परिरहेको भए पनि अझै यसलाई गम्भीरतापूर्वक लिइएको छैन । बर्सेनि हजारौँ बा(लबालिकाको ज्यान जाने रोगको रोकथामका लागि डा. प्रकाशराज रेग्मीको यस पुस्तक विद्यार्थीको हातमा पु¥याउन नसके पनि प्रत्येक विद्यालयमा मात्र पु¥याउन सके पनि बाथ मुटुरोगको रोकथाममा निकै सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।

श्रीओम श्रेष्ठ ‘रोदन’