जुलुङ्गो एक जीवन अनेक
श्रीबाबु कार्की उदास
जीवनका कैयौँ रङ छन् । रङ भएर नै जीवन अनेकानेक थरीमा फुलिरहेको हुन्छ । जीवनका रङ जो हामी भेटाउन सकिरहेका छैनौँ । कतिले भेटाउने निरन्तर कोसिस गरिरहेका छौँ । कति भावीले जे लेखिदियो भनेर चुपचाप भावीको भरोसामा हुन्छौँ ।
हामी कतिले रङ नचिनेर जीवन नै बर्बादको गडतिरमा हुत्याइरहेका छौँ । जीवनको रङ चिन्न विशाल सामथ्र्य चाहिन्छ ।
जीवन एउटा वाग हो, जहाँ हजारौँ रङका फूल फुलाउन सकिन्छ । जीवन एक गतिशील भूमि हो जहाँ आवाद गरेर रङ्गिन र उर्वर बनाउन सकिन्छ । जीवनका आयामलाई ज्ञान, अनुभव, सीप, क्षमता र दर्शनहरूले रङ्गाउने हो । जसले जीवनलाई जति रङले सिँगार्न खोज्छ, जति ज्ञानले लिप्न सक्छ, जति अनुभवले पोत्न सक्छ, जति सीपले सँगाल्न सक्छ, जति क्षमताले मजबुत बनाउन सक्छ र जति दर्शनको गाह्रो लगाउँदै जान्छ, उति नै जीवन सौरभित र सुगन्धित हुने हो । रमाइलो र रङ्गिन हुने हो ।
रङलाई आकार दिन सक्नु जीवनको सौन्दर्य हो । निराकार रङहरू जब सुन्दर आकारमा परिणत हुँदैनन् वा आकारमा ढाल्ने प्रयास गरिँदैन तबसम्म जीवन एक जुलुङ्गो मात्रै साबित हुन्छ । जुलुङ्गो कृत्रिम आकार मात्रै हो । जो खेतबारीमा बालीनाली जोगाउन राखिन्छ । त्यसमा जीवको आकृति नभएर जीवनको आकृति मात्रै हुन्छ । जसलाई हावाले हल्लाइदिनुपर्ने, मान्छेले बनाइदिनुपर्ने एक निर्जीव, निष्प्राण र निष्काम हुन्छ ऊ । जुलुङ्गो त केवल आकृति मात्रै हो । चेतनाविहीन हुनु नै जुलुङ्गोको धर्म हो । हामी जुलुङ्गो होइनौँ । हाम्रा हजार चाहना छन् । हाम्रा लाखौँ रङ छन् । हाम्रा करोडौँ सपना छन् । हाम्रा अनगन्ती÷बेहिसाब र अगणित रहर छन् । चुपचाप÷निष्प्राण÷निर्जीव जुलुङ्गोझैँ खेतबारी वा घरआँगनका डिलमा उभिन हामी कहाँ सक्छौँ ? हामी गतिशील छौँ, जसरी नदी बगिरहेको छ, पवन घुमिरहेको छ, यो ब्रह्माण्डका अनेकानेक स्थान । स्वयं ब्रह्माण्ड गतिशील भएर घुमिरहेको छ । यो पृथ्वी, ग्रहहरू, ताराहरू सबै घुमिरहेका छन् आफ्नै लिकमा । यहाँ सम्पूर्ण कुरा चलायमान छन् । गतिवान् छन् । परिवर्तनीय छन् । तसर्थ सबै कुराको महŒव र अर्थ छ । म जीवनलाई परिमार्जनका आँखाले हेर्छु । रङका आँखाले हेर्छु । सौन्दर्यका आँखाले हेर्छु । चेतनाका आँखाले हेर्छु । दर्शनका आँखाले हेर्छु । हजार कोण र कुनाबाट चिहाउँछु मानव जीवन ।
जीवन त मौसम जस्तै परिवर्तन हुन्छ । क्षणमै पानी, क्षणमै घाम, अनि क्षणमै कुहिरो, क्षणमै उज्यालो । कहिले–कहिले मन स्थिर बनाउन खोज्छु । सपनाहरू बीच कुदिरहेको÷उडिरहेको÷घुमिरहेको मन पटक्कै स्थिर हुँदैन । म आफ्नै मनलाई स्थिर गराउन सक्दिनँ । मनको आफ्नै स्वतन्त्र ‘मन’ हुन्छ । ऊ तनलाई छोडेर टाढा–टाढा पुगिरहेको हुन्छ । इन्द्रेणीका रङहरूसँग रङ्गिरहेको हुन्छ । इन्द्रेणीका अनेक अर्थ पढिरहेको हुन्छ । म सामान्य आँखाले इन्द्रेणीको सात रङ मात्रै देख्छु भने मनका आँखाबाट इन्द्रेणीका सात रङ घोल्दा बन्ने असङ्ख्य रङ अनुभूत गरिरहेको हुन्छु । जीवन पनि रङभित्रको अथाह रङजस्तै हुन्छ । कलाकारले यिनै रङ हुन्– पोत्ने । यिनै रङ हुन्– खेल्ने । यिनै रङ हुन्– देख्ने । यद्यपि अनेकौँ आयाममा रङको सौन्दर्य उजागर गरिरहेका हुन्छन् ।
जुलुङ्गोभित्र न मन छ, न हृदय नै छ । न स्वर छ, न सुवास नै छ । केवल झ्वाट्ट हेर्दा त्रासदपूर्ण आकृति मात्रै छ । जसले चेतनाहीन प्राणीलाई तर्साउँछ । केवल तर्साउँछ, तर्साइरहन्छ । ऊ तर्साउनका निम्ति मात्रै मानव चेतनाबाट निर्माण भएको एक मृत र चेतनाहीन पात्र हो ।
संसार निर्जीवका लागि हुँदै होइन । सजीवका लागि हो । जीवनका रङहरू खोज्ने हो भने– जीवनलाई गतिशील राख्नुपर्छ । जीवनका आयाम चिन्ने हो भने जीवनलाई सङ्घर्षमा ढाल्नुपर्छ ।
जीवनलाई ‘जीवन’ बनाउन जीवनका अनेक दर्शन पढ्नुपर्छ । जीवनका लयहरू बुझ्ने हो भने लयका अनन्त आयाम पढ्नुपर्छ । अनन्त सङ्घर्षहरू भोग्नुपर्छ । अनन्त आरोह÷अवरोह सँगाल्नुपर्छ । जब रङहरूको सुन्दर संयोजनले तपाईं आफ्नो जीवन लिप्न थाल्नुहुन्छ अनि जीवन मग्मगाउन थाल्छ । चल्मलाउन थाल्छ । झल्मलाउन थाल्छ ।
जब हामी गुराँसका रङबाट आफ्नो मुस्कान टिपिरहेका हुन्छौँ । हिमालका सौन्दर्यबाट जीवनका सौन्दर्य उठाइरहेका हुन्छौँ । नदी, झरना र पहाडहरूबाट खुसी उभाइरहेका हुन्छौँ, साँच्चै अलौकिक र अनुपम बन्छ जीवन ।
संसार विचित्र छ । विचित्र छन् यसका रङ र रौनक । कोही आगोका लप्काले खाएका खरानीमा आफ्नो जीवन–रङ खोजिरहेका छन् । चित्रभित्रको विचित्र मानव चोला कुनै सफलता नै सफलताले सुशोभित छ । कतै असफलता नै असफलताले मित लगाइरहेको छ ।
बुझ्नु यी रङहरू स्थायी होइनन्– सबै अस्थायी हुन् । जीवनका अनेकन रङहरू चम्काउन प्रयत्न गरिरहने हो । साधना गरिरहने हो । जीवन उसै हरियो हुँदैन । जीवन उसै रङ्गीन हुँदैन । आराधना गरिरहने हो । जीवनको यो आलोकमा अलिकति छुन अथाह धैर्य चाहिन्छ । अग्घोर–अग्घोर प्रार्थना चाहिन्छ । जीवन पनि एक अमूर्त कला न हो । यो अमूर्त जीवन बुझ्न पनि त साधना नै चाहिन्छ ।
जीवन त कर्मसँग साट्ने हो । कर्मसँग जीवन साटे कलात्मक ! कर्मभन्दा ठूलो सफलता किमार्थ छैन केही । यो स्मृतिपटमा अनेकौँ कल्पनाका रङहरू उम्लिन्छन् । अनौठा–अनौठा आकृतिहरू सल्बलाइरहन्छन् । जहाँ रङहरू चिन्न सक्यो, त्यहाँ एक आकृति बन्छ । जहाँ आकृति चिन्न सक्यो, त्यहाँ सुकीर्तिको वर्षा भइरहन्छ । जीवनमा सौन्दर्य आइरहन्छ । खुसी छाइरहन्छ ।
मानिस हरेक समय चेतनाको बीउ छरिरहन्छ । सिर्जनाको बेर्ना उमारिरहन्छ । ममताको घडा भरिरहन्छ । सद्भावको बाली भिœयाइरहन्छ । तसर्थ मानवमा एक विछट्ट विवेक छ । विचार, वीरता र विद्वता छ । हामी मानव कसै गरी पृथ्वीका अन्य जीवजन्तुसँग तुलनीय छैनौँ । मानव विराट लक्ष्य र दृष्टिले अतुलनीय रङ्गीन छ । यति हो हामी तुलनीय हुँदाहुँदै पनि किन बिटुलिन पुगेका छौँ भन्ने प्रश्नहरू अहं छन् । चेतनाबाट अचेतनातर्पm उन्मुख, सभ्यताबाट क्रमशः असभ्यतामा आकर्षित ।
ईश्वर पनि सृष्टिको समयमा मानिससँग विघ्नै सन्तुष्ट रहेको हुनुपर्छ । नत्र यत्रो चराचर जगत्मा मानिसका खोपडीमा मात्रै किन ज्ञानको अथाह भण्डारण गरिदिए ? कहिले–कहिले अचम्ममा पर्छु । विचरा ! यी सम्पूर्ण चराचर जगत्ले जीवन पाए तर मानिसकोझैँ उन्नत चेतना कसैले पाएनन् ।
विज्ञानमा असम्भव भन्ने कुरा केही छैन भनेझैँ, मानिससँग पनि असम्भव भन्ने शब्द नै छैन । मानिसको यो विचित्र रङ्गीन जीवनसँग ईश्वर पनि हार खाएका छन् । शास्त्र भन्छ– ईश्वरले जीवनको कल्पना गरे । म भन्छु, ‘मानिसले पो ईश्वरको कल्पना ग¥यो ।’ भलै, ठीकै छ । मैले ईश्वरप्रतिको आस्थामा अविश्वास गर्नु छैन । यो बहस– ‘ईश्वरको सृष्टिमा मानव कि, मानवको सृष्टिमा ईश्वर ?’ म विज्ञ पाठकहरूलाई छोड्छु । तपाईंहरूका वैचारिक रङहरूले यो विषय टुङ्गो लगाउनुपर्छ । जीवन एक रङ्गीन र बहुमूल्य बनाउनुपर्छ ।
यहाँ त–
जीवन, कहिले भुइँचालो भएर हल्लिरहन्छ ।
जीवन, कहिले आँधी भएर तर्सिरहन्छ ।
जीवन, कहिले महामारी भएर सल्किरहन्छ ।
जीवन, कहिले ढडेलो भएर दन्किरहन्छ ।
जीवन, कहिले क्यानभास भएर रङ्गिरहन्छ ।
म हरदम जीवनलाई एउटा सिङ्गो विश्वासले अँगालो हालिरहेको देख्छु । म यहाँनेर अहिंसावादी गान्धीजीलाई स्मरण गर्न चाहन्छु । उनी भन्छन्, ‘यदि सफल जीवन जिउनु छ भने असफलताको भयलाई त्यागी देऊ ।’
जीवनका यावत् भयहरू त्यागिदिनु छ । भयको जीवनमा कुनै भरोसा हुँदैन । भय भोग्ने होइन, त्याग्ने विषय हो । म जीवनदेखि भाग्दै गरेका मानिसहरूसँग कायरतासिवाय केही देख्दिनँ । जीवन एक युद्ध हो– युद्ध जिते इतिहास बन्छ, हारे मेटिने मात्रै हो । जो जीवनसँग निदाएका छन्– म उनीहरूलाई ब्युँझाउन चाहन्छु । जो सुतेका छन्, म घचघच्याएर उठाउन चाहन्छु । जो मुर्झाएका छन्, म जाग्रत गराउन चाहन्छु । जो छुटेका छन्– म उनीहरूलाई घामका औँला समाएर अगाडि बढ्ने प्रेरणा दिन्छु । मलाई जीवनका भीरहरूमा गोरेटो खोजिरहेका मानिसहरू मन पर्छ । मलाई उज्यालो टेकेर आउने बटुवाहरूको साहस मन पर्छ । मलाई हारहरू पराजित गरेर जितसँग मितेरी गाँस्नेहरूको पराक्रमी, बहादुर मन पर्छ । मलाई रङ्गीन जीवनका अनेकानेक रङहरू मन पर्छ ।
म कहिले–कहिले जङ्गलको गतिशीलता पढ्छु । हरदम पढिरहन्छु । जङ्गलको राजा सिंह पनि हरेक बिहान दौड्नुपर्छ । नत्र त्यत्रो शक्ति सिकार नपाएर भोकै मर्नुपर्ने हुन्छ । हरिण– जो सधैँ सतर्क रहनुपर्छ । उसका आँखाहरू जस्तै परिस्थितिमा पनि चलायमान हुनुपर्छ । अन्यथा उसको जीवनलीला समाप्त हुन्छ । चराहरू, जो हरप्रहर चङ्ख र सतर्क बन्नुपर्छ, ताकी उनीहरू शत्रुको शिकारबाट बच्नुपर्छ । जङ्गलका जीवजन्तु त गतिशील छन्, परिवर्तनशील छन्, हामी त अझ मानव ? हाम्रा रहरहरू÷चाहनाहरू÷सम्बन्धहरू÷ प्रगतिहरू÷सपनाहरू अथाह हुन्छन् । हामी हरदम झुसिलकीराबाट नौरङ्गी पुतली बन्ने सपना देखिरहनुपर्छ ।
मानिस उसै गतिहीन बन्नुहुन्न । गतिहीन मानवको धर्म होइन । मानव आज जहीँ तहीँ जेलिएको छ, बाँधिएको छ । अदृश्य किलाहरू छन् । अदृश्य दाम्लाहरू छन् । अदृश्य बारहरू छन् । अदृश्य पर्खालहरू छन्– घेरिएर÷बाँधिएर÷जेलिएर बस्ने जीवन होइन मानव ! यो आश्चर्य छ ।
हामी खेतबारीमा चरा तर्साउन राख्ने जुलुङ्गो हुनै सक्दैनौँ । हाम्रा मुख छन्– इन्क्लाव गाउने । हाम्रा कानहरू छन्– स्वतन्त्रताका गीतहरू सुन्ने । हाम्रा हातहरू छन्– विद्रोहमा कस्सिने । हाम्रा पैतालाहरू छन्– प्रगतिमा चल्ने । हामी त इन्द्रीयहरूले सञ्चालित छौँ । चेतना र चाहनाले सञ्चालित छौँ । कसरी बन्छौँ चुपचाप बस्ने जुलुङ्गो ?
जीवनका अनन्त खुसीहरू छन् । जो आफैँमा दुरुह र कष्टकर छन् । जीवनका अनेकन खुसीहरूलाई अनुवाद गर्न सक्नुपर्छ÷जान्नुपर्छ । जीवन जन्मन जति सजिलो छ, मृत्युलाई पर्खन त्यति नै गाह्रो छ । जन्मनलाई नौ महिना मात्रै लाग्ने हो, मर्न त जीवनभर पर्खनुपर्छ । जन्म र मृत्यु बीचको यो सुन्दर समय हामीले कसरी रङ्गाउन सक्छौँ । त्यो नै जीवनको एक विशिष्ठ कला हो । म जुलुङ्गोमा कुनै आयाम देख्दिनँ । जुलुङ्गोको न जन्म हुन्छ न मृत्यु नै हुन्छ । जुलुङ्गो त केवल एउटा आकारमात्रै हो । जो झट्ट हेर्दा सिर्जना हुने एउटा परिवेशको आयु मात्रै बोकेर उपस्थित हुन्छ– जुलुङ्गो ।
अहँ, म जीवन र जुलुङ्गोको तुलना गर्नै सक्दिनँ । जीवन हजारौँ गुना जुलुङ्गोभन्दा अतुलनीय छ । अमूल्य छ । अजर छ, अमर छ । जीवनका आफ्नै अनगिन्ती रङहरू छन् । स्वभावहरू छन् । ज्ञान छ÷विवेक छ÷विचार छ । तृष्णा छ÷तृष्णाहरू छन् । तर्कहरू छन्, तर्कनाहरू छन् । जीवन अनुपम र अनुकरणीय छ । जीवनमा सबथोक छ । तसर्थ म भन्छु– जुलुङ्गो एक जीवन अनेक !