शनिवार |

पैसा ( कविता)


आयुष खनाल

पैसा नै सबथोक रे जगतमा, पैसा बिना के छ र ?
पैसाकै निहँुमा डुलेछ दुनियाँ, भुल्दै छ आफ्नो घर
भुल्छन् मानवता यहाँ मनुजले सर्वस्व पैसा भयो,
पैसाकै पछि लाग्दछन् सबजना मर्दा नि बोक्छौ कि हो ?

बन्छन् मित्र सबै हरेक पलमा, पैसा कमाएपछि
टुट्छन् लाख करोड साथ छिनमा, पैसा गुमाएपछि
पैसाले सबको मुहार दिलमा मुस्कान मौलाउँछ
पैसाले त सदैव नाम सबको सर्वत्र फैलाउँछ ।

लुट्दै छन् कति दाजु भाइ घरमा आमा बुवाकै धन
फुट्दैछन् परिवार एक घरको बिर्सेर आफ्नोपन
लेखिन्छन् कविता, कथा, गजल ती पैसा मिले बिक्दछ
आविष्कार, कला, गला र रचना बेचिन्छ वा बिक्दछ ।

बेचिन्छन् कति मूल्यमा कुन यहाँ कस्तो छ कस्को छवि,
कोही बिक्न तयार हुन्न कहिले चाहे झुकोस् लौ रवि
पैसै निम्ति कतार, चीन, दुबई, जापान पुग्छन् जन
पैसामै यदि बिक्छ जीवन भने कस्तो भयो जीवन ?