शनिवार |

गौमाता सबैकी त्राता

बद्रीप्रसाद दाहाल

संस्कृतमा प्रचलित ‘तिथिबार’ भन्ने शब्दबाट नेपाली जनजिब्रोले ‘तिहार’ भन्न थालेको धेरै भयो । मूलतः कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड अर्थात् उत्सव (काग, कुकुर, गाई, गोरु र भाइ तिहार) यमपञ्चक, दीपावलीलाई वैदिक सनातनीहरूले तिहार भनेर श्रद्धा र प्यारमा सम्बोधन गर्छन् । यी पाँचै दिनको उत्तिकै महìव र गरिमा छ । चराचुरुङ्गी अर्थात् खेचरदेखि जलचर, भूमिचर, वृक्ष, नदी, पर्वत, वनस्पति, पशु, मानिसजस्ता यावत् प्राकृतिक उपहारलाई भगवान्को रूपमा मान्ने हामीहरू अवतारवादमा विश्वास गर्छौैं । कविशिरोमणि लेखनाथले पनि लेखेका छन्, ‘सुर मुनिदेखि भुसुनासम्म । प्रभु नै सबका घटमा टम्म ।’ त्यसैले त हामी जलमा, थलमा, पर्वतमा, आगोमा सबैतिर सिर्जना संसारलाई पालन गर्ने विष्णु छन् भन्ने सहअस्तित्वको मान्यताबाट अनुप्राणित छौँ ।
आजको चर्चा ‘गाई–तिहार’मा केन्द्रित गर्न खोजेको छु । यमपञ्चकको औँसीको दिन बिहान गाईलाई पूजाअर्चना गरेर गाईतिहार मनाइन्छ । अघिल्लो दिन बेलुका गाईको गोठमा गएर पानसमा बत्ती बाली सबै गाईलाई सम्बोधन गरेर गृहपतिले हे नन्दा र कामधेनुकी प्रतीक गोमाता, भोलि तिमीहरूको तिहार छ, हामी विशेष पूजा गरेर विशिष्ट खालको घाँस र पिँडो वा दउ ख्वाउँछौँ है भनी निमन्त्रणा गर्छौं । त्यतिबेला उनीहरू यो निम्तोलाई बुझेर ‘डाँडाँ र डुँडुँ’ गरी मधुर आवाजले गोठै घन्काउने गरी खुसी हुन्छन् । भोलिपल्ट गाईपूजाको दिन बिहानको आफ्नो नित्य कर्म सिध्याई पूजा सामग्री, नैवेद्य माला र पिठो लिएर गोठमा गइन्छ । अनि षोडषोपचारले पूजा गरिन्छ र माला पहि¥याएर गाईका अङ्ग–अङ्गमा छाप लगाउँदै जनैपूर्णिमाको दिन बाँधेको रक्षाबन्धनलाई पुच्छरमा चढाइन्छ । पूजाको बेला यी मन्त्रहरू पढिन्छ–
‘लक्ष्मीर्या लोकपालानां, धेनुरुपेण संस्थिता । धृतं वहति यज्ञार्थे, मम पापं व्यपोहतु ।। कपिले सर्वदेवानां, पूजनीयासि रोहिणी । तीर्थ देवमयी यस्मात्, अतः शान्ति प्रयच्छ मे ।। गावो मे अग्रतः सन्तु, गावो मे सन्तु पृष्ठतः । गावो मे हृदये सन्तु, गवां मध्ये वसाम्यहम् ।। गवां अङ्गेषु तिष्ठन्ति, भुवनानि चतुर्दश । यस्मात् तस्मात् शिवं मे स्यात्, इहलोके परत्र च ।।’
अर्थात् ‘लोकलाई पालन पोषण गर्नेहरूका लागि धेनु रूपमा रहेकी लक्ष्मीस्वरूपा गाई यज्ञका लागि घिउ बोकेकी छिन् । जोसित मेरा सम्पूर्ण पाप नाश गर्ने तागत छ । हे कपिले, हे रोहिणी, गौमाता तिमी सबै देवताले पूजा गर्न योग्य छ्यौ, तिमी नै देवमय तीर्थ र शान्तिको प्रतीक छ्यौ । यसैले मेरो अग्र भाग, पृष्ठ भाग, हृदयमा रहेकीले म तिमीहरूकै माझमा रहन पाएको छु । तिम्रै अङ्गमा चौध भुवन बस्छन्, त्यसैले म तिम्रो पूजा गर्छु । यो लोक परलोक दुवैमा मेरो कल्याण गर ।’ त्यसपछि गोठभन्दा पर फराकिलो र सुन्दर गौचरनमा गाईलाई लगेर एकादशीको दिनमा भुटेको चोखो दउ र अन्नादि खुवाइन्छ ।
हाम्रा वेद, पुराण र स्मृति ग्रन्थले ‘गाई’ धर्म, अर्थ, काम, मोक्ष चतुर्वर्ग सिद्ध गर्ने महìवपूर्ण आधारका रूपमा मानेको छ । जन्मदेखि अन्त्येष्टिसम्मका समग्र मानवकर्ममा पवित्रता र शुद्धता दिने क्षमता गाईमा छ । सबै खाले कार्यक्रममा पञ्चगव्य र पञ्चामृतको अलावा घिउ, दूध, दही, गोमूत्र, गोबर अत्यावश्यक हुन्छ । ऋषि च्यवनले राजा नहुषलाई एक प्रसङ्गमा भनेका थिए, ‘राजन्, म यो संसारमा गाई समान कुनै धन छैन भन्ने टुङ्गोमा पुगेको छु किनकि गाईकै नामकीर्तन, श्रवण, दान र दर्शनले सबै प्रकारका पाप दूर पारी आम प्राणीको कल्याण प्रदान गर्दछ ।’
हिजोआज युरोपेली कैयौँ मुलुकमा गाईबाट उपचार (काउ थेरापी) चल्दै आएको एक दशकभन्दा बढी भइसक्यो । नेदरल्यान्ड, अमेरिका, स्विजरल्यान्ड आदि देशमा त्यहाँका कैयौँ नागरिक गाईसित बसी आनन्द लिन्छन् । अँगालो हालेर दुई तीन घण्टासम्म गाईसित रमाउने, गाईको पीठ थुम्थुम्याउने, गाईलाई चुम्बन गर्ने ‘गाई उपचार पद्धति’को प्रमुख अङ्ग हुन् । मान्छेसित खुसी भएर गाईले चाट्छ भने त्यो मानसिक र शारीरिक स्वास्थ्यका लागि उत्तम हो । गाईको शरीरको न्यानो तापक्रमले मुटुको कमजोर धड्कन गतिशील बनाउँछ र शारीरिक, मानसिक समस्या व्यवस्थित गरी शान्ति तथा प्रसन्नता दिन्छ भनेर विज्ञ भन्छन् । गाईको नजिकै बस्दा मानवमा ‘अक्सिटोसिन हर्मोन’ अर्थात् ‘लभ हर्मोन’ निक्लन्छ । यो हर्मोनले व्यक्ति–व्यक्तिमा मेलमिलाप, सौहार्दता, सकारात्मक सोच तनावको शिथिलीकरण विश्वासको परिवेश सिर्जना गर्छ ।
आफ्नो नाम गोपाल राखेर गर्व गर्ने श्रीकृष्ण भगवान्ले गोसेवा गरेर गाईका दूध, दही, घिउ, गोमूत्र र गोमयको रसास्वादनमार्फत अद्भूत शौर्य र अलौकिक तागतको प्रदर्शन गर्न सकेका हुन् । त्यसैले त उनले आफ्नो दिव्य रूपको वर्णन गर्दा गौरव गर्दै भनेका छन्, ‘धेनूनामस्मि कामधुक्’ अर्थात् गाईहरूमा म कामधेनुको रूपमा छु । ‘कामधेनु’ भनेको समुद्र मन्थनबाट पैदा भएकी, सम्पूर्ण इच्छा पूरा गरिदिने प्रसिद्ध गाई, जसलाई नन्दा, सुरधेनु, सुरभि भनेर पुकारिन्छ । गाईको कामधेनुपन बुझेरै राजा नहुषलाई मुनि च्यवनले, राजा दिलीपलाई गुरु वशिष्ठले गोसेवामा खटाएका थिए । जसको सेवाबाट राज्य अतुल वैभवशाली र सन्तान प्राप्ति भएका मिथक पढ्न पाइन्छ । त्यसैले भनिन्छ, ‘मातरः सर्वभूतानाम्, गावः सर्वसुखप्रदा’, अर्थात् ‘गाई सबै प्राणीकी आमा हुन् र उनी नै सबै प्रकारका सुखदात्री पनि ।’ संसारकै सर्व प्राचीन ग्रन्थ ऋग्वेदले शङ्खघोष ग¥यो, ‘माता रुद्राणां दुहिता वसूनां स्वसादित्यानाम मृतस्यनाभिः’ अर्थात् गाई रुद्रकी आमा, वसुदेवकी छोरी, सूर्यकी बहिनी र घिउरूपी अमृतको भण्डार हुन् । गाईका अङ्ग उपाङ्ग र अवयवमा ऋषिमुनि र देवताको बास हुन्छ भन्ने प्रमाण शास्त्रले दिएका छन् । बृहत्पाराशर स्मृतिले भनेको छ– ‘शृङ्मूले स्थितो ब्रह्मा, शृङ्गमध्ये तु केशवः । शृङ्गाग्रे शङ्करो विद्यात्, त्रयो देवाः प्रतिष्ठिताः ।।’ अर्थात् ‘गाईको सिङका फेदमा ब्रह्मा, मध्य वा बीच भागमा केशव, सिङका अग्रभागमा शङ्कर रहेका छन्, त्रिदेवकै रूपमा गोमाता रहेकी हुँदा उनको पूजा गरिन्छ । यस्ती गाई लक्ष्मीकै अर्को अवतार हो ।’
इ.सं. १९१४ देखि १९१९ सम्म चलेको प्रथम विश्वयुद्धपछि खाद्यसम्बन्धी अनुसन्धान गर्न बृहत् सम्मेलन आयोजना भएको थियो । जहाँ सर्वसम्मतिले के प्रस्ताव पारित गरियो भने यदि पर्याप्त मात्रामा गाईको दूध जनतामाझ पु¥याउन सकेमा अन्य पौष्टिक तìवको आवश्यकता पर्दैन । वास्तवमा गोवंश मानव जीवनको आर्थिक, धार्मिक, सांस्कृतिक, वैज्ञानिक, शारीरिक एवं मानसिक स्वास्थ्यको दृष्टिकोणबाट महिमामण्डित छ ।
भारतका बाबर बादशाहले महìव बुझेरै आफ्ना छोरा हुमायुलाई गाईको रक्षा गर्ने निर्देश दिएका थिए । त्यसै हाम्रा ऋषिमुनिले गाईलाई ‘अघ्नी’ (अर्थात् वध गर्न नहुने) भनेर सम्बोधन गरेका रहेछन् त ? यतिखेर हाम्रो देशको राष्ट्रिय जनावर गाई हो । हाम्रा पुर्खाले गाईलाई मान्नुको रहस्य ठूलो छ । वैज्ञानिकका शोधले भन्छ– गाईका रौँ–रौँमा सात्विक विकिरण पाइन्छ । जसको स्पर्शले मानव शान्त, सौम्य चित्तवृत्तिको बन्छ । गाईको गोबर मलमात्र नभएर मलशोधक हो । खेतबारीमा कीराको दोहोलो काढ्न, घरआँगन, अस्पतालमा पोत्न गोमूत्र र गोबरको अब्बल भूमिका भएको कुरा वैज्ञानिक खोजले देखाएको छ । धनधान्य ऐश्वर्य प्रदान गर्दै आम मानिसको बाह्य एवं आन्तरिक शरीर संरचनामा गाईको पञ्चगव्य दोस्रो अमृत हो । यसैले यिनलाई गौमाता, लक्ष्मी, स्वास्थ्यकी देवी र कृषि उपजकी भूमिकाकारी क्षमताकी देवी भनेर हामी वैदिक सनातनीहरू हरेक वर्ष गोपूजा गरेर आम गाईगोरु, बाच्छाबाच्छीको सम्मान गर्छौं ।