शनिवार |

परम्परागत पारपाचुके

प्रेममान डङ्गोल

काठमाडौँ उपत्यका जीवन्त संस्कृतिको धनी शहर हो । यहाँ थुप्रै सामाजिक परम्परा र संस्कृति छन् । यहाँका विभिन्न संस्कार र परम्परागत रीतिथितिले गर्दा नै नेवारहरू संस्कृतिमा धनी भएका हुन् । कतिपय नेवार संस्कृति, कलाकृति र धार्मिक सम्पदा त विश्व सम्पदा सूचीमा पनि समावेश छ । चल्दै आएका कतिपय संस्कार तथा संस्कृति आश्चर्यलाग्दा पनि छन् । तीमध्ये ‘माय् अवसं’ भनिने व्रत पनि हो । यो व्रत सामाजिक रूपमा पारपाचुके गर्नका लागि गरिन्छ ।
कात्तिक महिना धार्मिक महिना हो । यो महिनामा विभिन्न किसिमका धार्मिक क्रियाकलाप बढी नै गरिन्छ । हिन्दु तथा बौद्धहरूले उत्तिकै श्रद्धा र भक्तिपूर्वक विभिन्न किसिमले देवीदेवताको आराधना, पूजापाठ, भजनकीर्तन यो महिनामा गर्छन् । अनि दशैँ तिहार जस्ता चाडपर्व तथा चण्डीको पाठ, देवीभागवतको कथा, विष्णुपुराण जस्ता विभिन्न कथा वाचन पनि यही बेला पर्छ । कोजाग्रत पूर्णिमादेखि कात्तिक पूर्णिमा (सकिमनापुन्हि) सम्म एक महिना नेवारहरूको घरघरमा ‘आलःमत’ अर्थात् आकाश दीप बालिन्छ । त्यस्तै यो बेला चार नारायण भगवान्को दर्शन गर्न जाने मेला पनि लाग्छ । मेला लाग्ने चार नारायणहरू इचङ्गुनारायण, चाँगुनारायण, विशङ्खुनारायण र शेषनारायण हुन् ।
चोभारको सुवर्णगिरि कछपाल पर्वतस्थित आनन्दादि लोकेश्वरमा पनि यो बेला मेला लाग्छ । चोभारमा हुने यही मेलाको अवसरमा लोकेश्वरको विहारमा हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन भक्तजनहरूले परम्परागत पारपाचुकेका लागि ‘माय् अवसं’ व्रत बस्छन् । महिलाले माइत बसिरहँदा लोग्नेले लामो समय अर्थात् धेरै दिनसम्म बोलाउन आएन भने यस्ता महिलाले ‘माय् अवसं’ व्रत बस्छन् । व्रतालु महिलाले फलफूलसम्म खान नहुने यो व्रत सितिमिति लिन कठिन पर्छ । पानी मात्र खाएर पाँच दिनसम्म बस्नुपर्ने यो व्रत बस्दा दिनहुँ एउटा तीर्थमा गएर स्नान गर्नुपर्ने नियम छ । यसरी तीर्थमा स्नान गर्न जाँदा आदिनाथ लोकेश्वर विहारकी गरुमा अर्थात् भिक्षुणी एकजना अगाडि र एकजना पछाडि बसेर व्रतालुलाई बीचमा राखेर तीर्थमा स्नान गराउन लगिन्छ । यसरी स्नान गर्न जाँदा सबैभन्दा पहिलो दिन हरिबोधनी एकादशीमा ‘क्वय्ना’ चक्रतीर्थमा, द्वादशीका दिन नख्खु तीर्थमा, त्रयोदशीका दिन ‘जलक्व’ ज्ञानतीर्थमा, चतुर्दशीका दिन ‘क्वय्गाः’ तीर्थमा र ‘सकिमना’ पूर्णिमाका दिन ‘च्वय्गाः’ सुलक्षण तीर्थमा स्नान गरी देवताको दर्शन गर्नुपर्छ । प्रत्येक दिन यसरी स्नान गरेर आएका व्रतालु महिलाको व्यवस्थापन गर्ने ‘पाञ्जु’ले क्रमैसँग व्रतालुलाई तीन अञ्जुली पानी खुवाउँछन् । यसरी जलपान गरिसकेपछि दिनभर केही खानुहुँदैन । भोक लागेमा पानी मात्र खान पाउँछन् । दिनदिनै यसरी स्नान गरेर चोखो गरी शुद्ध वस्त्र लगाई बस्नुपर्छ । कुनै पनि व्रतालु महिला आफू बसेको बहालबाट बाहिर जान पाउँदैनन् । ती सबै व्रतालु महिलाले दिनभर बुद्धको धर्म देशना, कथा सुन्ने, भजन गाउने र बेलुका देवताको आरती गरेर विश्राम लिनुपर्ने विधान छ ।
यो व्रत जसले लिए पनि हुन्छ । यसमा जातपातको भेदभाव छैन । हुन त यो व्रत नेवार संस्कार र संस्कृति अनुरूप चल्दै आएको छ । तैपनि गैर नेवारले पनि यसमा भाग लिँदै आएका छन् । बौद्ध नेवारले मान्दै आएको आदिनाथ लोकेश्वर विहारमा बस्ने यो व्रतमा हिन्दुहरू पनि सरिक हुँदै आएका छन् । जातपात र धार्र्मिक भेदभाव नभएकोले पनि यो व्रतलाई धार्मिक सहिष्णुताको रूपमा लिइन्छ ।
नेवारको यो परम्परागत ‘माय् अवसं’ व्रत बस्ने क्रममा नेवारभन्दा गैर नेवारको सङ्ख्या अचेल बढ्दै गएको छ । नेवारको आफ्नै मौलिकपनको संस्कारले गर्दा यो व्रत बस्दा घरपरिवारका सदस्यले पनि चोखो हुनुपर्ने, घरमा जथाभावी कार्य गर्न नहुने धार्मिक मान्यता छ । केही गरी घरपरिवारकाले चोखो नगरे व्रत बस्नेको स्वास्थ्यमा बाधा पर्न सक्छ । यस्तो भएमा ‘पाञ्जु’ले भने बमोजिम क्षमापूजा गरे मात्र स्वास्थ्य राम्रो हुने, मनको इच्छा पूरा हुने, घरपरिवारमा राम्रो हुने र सुख, शान्ति ऐश्वर्य प्राप्त हुने विश्वास चली आएको छ ।
यसरी नेवारले यो व्रत बस्दा घरपरिवारले पनि धार्मिक विधिअनुसार नियममा बस्नुपर्ने र व्रत बस्न सकिएपछि विशेष पूजा गर्नुपर्ने, भोज पनि खुवाउनुपर्ने विधान छ । तर गैर नेवारले विशेष पूजा र भोज खुवाउनु नपर्ने भएकोले यो व्रत बस्ने नेवार महिलाभन्दा गैर नेवार महिलाको सङ्ख्या बढी भएको हो । नेवार महिलाको व्रत सकिएपछि समापन गर्दा गुरुजु, पुरोहित राखेर विशेष पूजा गर्नुपर्ने र पूजा सकिएपछि लोग्ने हुनेले लोग्ने आई उठाएर लानुपर्ने नियम छ । यसरी लोग्ने आई उठाइसकेपछि आफन्त र छरछिमेकीलाई पनि भोज खुवाएर घर फर्किने चलन छ । कसै कसैलाई घरबाट लोग्नेले लिन नआएमा उक्त समयमा अन्य कोही पुरुषले उठाइदियो भने उही पुरुषसँग विवाह गर्न हुने चलन पनि छ । यसमा व्रतालु महिलाको मञ्जुरी भने हुनुपर्छ । ‘माय् अवसं’ व्रतको यो एउटा आश्चर्यलाग्दो चलन हो । यदि लोग्नेले लिन नआएमा उनीहरूको बीचमा पारपाचुके भएको ठहर्ने अर्थात् प्रमाणित हुने यो पुरानो चलन हो । यो एउटा परम्परागत पारपाचुकेको चलनको रूपमा लिइएको छ । सौखका रूपमा पनि व्रत बस्ने वा आफूलाई मन पर्ने केटा साथीलाई व्रत सकिने दिन उठाउन आउनु भन्दै व्रत बस्ने गैर नेवार समुदायका केटीको सङ्ख्या पनि अचेल बढ्दै गएको छ ।
नेवार संस्कार अनुसार माइतीमा बसेकी महिलालाई लोग्नेले लिन आएन भने पारपाचुके गर्ने किसिमले यो व्रत बस्ने गरिन्छ । व्रत बस्दा पनि लोग्ने लिन नआएमा दम्पतीको पारपाचुके भएको ठहरिन्छ । यो सामाजिक परम्परा हालसम्म यथावत् रूपमा चल्दै आएको छ । तर यस्तो पवित्र धार्मिक, सामाजिक एवं परम्परागत संस्कारमा विकृति र विसङ्गति नहोस् भन्नेतर्फ सचेत हुनुपर्छ ।