पानी नै जिन्दगानी
सुदर्शन पौडेल
शरीर स्वस्थ रहन पानीको मात्रा सन्तुलित हुनुपर्छ । व्यक्तिको कार्यक्षमता विकास, आकर्षक व्यक्तित्व, निद्रा, मानसिक तन्दुरुस्तीका लागि पानीको ठूलो भूमिका हुन्छ । हाम्रो शरीरको कुल तौलको ६० देखि ७५ प्रतिशत पानीले ओगटेको हुन्छ । शरीरका सबै भागमा पानी रहेको हुन्छ । जस्तो सबैभन्दा बढी रगतमा ८३ प्रतिशत र सबैभन्दा कम ‘एडिपोस टिसु’हरूमा १० प्रतिशत पानी हुन्छ । यसले नै रक्तसञ्चार नियमित गर्न र शरीरको तापक्रमलाई सन्तुलन राख्न मद्दत मिल्छ । मांशपेसी निर्माण, कोषिकाहरूमा रासायनिक प्रतिक्रिया गराउने कार्यमा पनि पानीको भूमिका रहन्छ । यसले शरीरमा अत्यावश्यक (अदृश्य) पोषणको काम गर्छ । पानीको अभावले शरीरमा अक्सिजनको कमी हुने, शरीरमा शिथिलता वा थकान महसुस हुने, कोषिकाहरूको निर्माण र तिनको कार्यमा अवरोध आउँछ ।
विभिन्न उमेर समूह र अवस्थाका मानिसमा पानीको आवश्यकता फरक–फरक हुन्छ । युरोपेली खाद्य सुरक्षा प्राधिकरणका अनुसार छ महिनासम्मको शिशुलाई दैनिक ६८० मिलिलिटर (आमाको दूधमात्र) पर्याप्त हुन्छ भने छदेखि बाह्र महिनाको बच्चाका लागि आठ सय मिलिलिटरदेखि एक लिटरसम्म पानी प्रतिदिन आवश्यक पर्छ । योक्रम उमेर बढेसँगै बढ्दै जाने हुन्छ । दुई वर्षको बच्चाका लागि एक हजार दुई सय मिलिलिटर, दुईदेखि तीन वर्षका लागि एक हजार तीन सय भने चारदेखि आठ वर्षको उमेरमा एक हजार छ सय मिलिलिटर पानीको आवश्यकता पर्छ । पूर्वकिशोरावस्थाका केटालाई दुई हजार एक सय र केटीलाई एक हजार नौ सय मिलिलिटर र उत्तरकिशोरावस्थादेखि माथिका सबै पुरुषलाई अढाई र महिलालाई दुई लिटर पानी आवश्यक पर्छ । गर्भवती र स्तनपान गराउने महिलालाई करिब आधा लिटर थप पिउन सिफारिस गरिएको छ । हरेक व्यक्तिको पेशा, व्यवसाय, शारीरिक अवस्था, बाह्य वातावरणीय अवस्था आदिका आधारमा पानीको मात्रा थपघट हुन सक्छ । जस्तो बढी परिश्रम हुने काम वा शारीरिक सुगठनको अभ्यास गर्नेहरूलाई पानीको आवश्यकता बढी हुन्छ भने गर्मी मौसममा बढी पसिना जाने हुँदा पानीको आवश्यकता बढी पर्छ ।
हाम्रो शरीरले खानाको माध्यमबाट करिब २० प्रतिशत पानी पाइरहेको हुन्छ । खानाका रूपमा ताजा तरकारी र फलफूलको सेवन गर्दा शरीरलाई आवश्यक पानीको अलावा पर्याप्त पोषण तŒव पनि उपलब्ध हुन्छ । यस्ता खाद्य पदार्थले शरीरमा पानीको आवश्यक मात्रा सङ्ग्रह गरी सन्तुलनमा राख्न पनि मद्दत मिल्छ ।
मानिसको स्वास्थ्यमा पानीको महŒवका सम्बन्धमा धेरै अनुसन्धान भएका छन् । यसै वर्ष ‘हाइड्रेसन फर हेल्थ’को बाह्रौँ अन्तर्राष्ट्रिय गोष्ठी भर्चुअल माध्यमबाट सम्पन्न भयो । उक्त गोष्ठीमा स्वास्थ्यकर्मी, चिकित्सक, अनुसन्धानकर्ता, नीति निर्माता, सामाजिक अभियन्ता, यस क्षेत्रमा काम गर्ने सङ्घ संस्थाका सहभागीले पानी र स्वास्थ्यका विविध पक्षमा चर्चा गरे । त्यसमध्ये पानी र मानव विकासका सम्बन्धमा विश्वमा दुई अर्ब व्यक्तिलाई घरदेखि आधा घण्टाको दूरीमा स्वस्थ पानीको पहुँच नभएको तथ्य प्रस्तुत गरिएको थियो । पानीको उपलब्धता नै मानिसको सभ्यताको आधार हो । सभ्यताको विकाससँगै पानीको उपलब्धता भएका स्थानमा मानव बस्ती विकास भएको देखिन्छ । पर्याप्त (स्वच्छ) पानीको उपलब्ध(ताले मानिसको शारीरिक तथा मानसिक अवस्था निर्धारण गर्ने अध्ययनहरूले देखाएका छन् ।
विश्वमा मोटोपना जनस्वास्थ्य समस्याका रूपमा देखापर्दै छ । यस सम्बन्धमा नेपालमा (पर्याप्त) अध्ययन भएको छैन । यद्यपि, सहरका बा(लबालिकादेखि युवामा मोटोपना बढ्दो क्रममा छ । यो समस्या धेरै थोरै गाउँघरमा पनि देखिँदै छ । आमरूपमा हामीले बुझेको कुरा भनेको अत्यधिक पोषणयुक्त खाना, शारीरिक श्रमको कमी वा कुनै खास रोगका कारण यो समस्या आउँछ भन्ने हो । पछिल्लो समयमा क्रमिक रूपमा स्थापित भएको तथ्य भनेको शरीरमा पानीको सन्तुलन कायम रहँदा खानाको मात्रा नियन्त्रित हुने, पाचन प्रक्रिया राम्रो हुन गई मोटोपना घटाउन मद्दत मिल्ने अध्ययनहरूले देखाएका छन् । मोटोपनाको सम्बन्ध विविधखालका मानसिक समस्यासँग पनि पाइएको छ । अतः यो कुचक्र तोड्ने सहज उपाय पर्याप्त स्वच्छ पानीको सेवन
हुन सक्छ ।
नेपालका स्कुल र कलेजमा आबद्ध करोडभन्दा बढी विद्यार्थीले पढाइ हुने दिनमा पर्याप्त (स्वस्थ) पानी पिउन र चर्पीको प्रयोग गर्न पाउँदैनन । यस्तो अवस्था देशका अन्य पेशा व्यवसायमा काम गर्ने लाखौँ व्यक्तिको हकमा पनि लागू हुन्छ । कतिपय अवस्थामा विद्यालयमा उपस्थिति कम भएको घटना पनि सुन्दै आएका छौँ । नेपालमा विद्यालय, कलेजको स्तर आशातीत सुधार हुन नसक्नुमा प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध पानीको उपलब्धतासँग गाँसिएको पाइन्छ । अतः विद्यालय वा समूहगत काम गर्ने स्थानमा पर्याप्त स्वच्छ पानी र सरसफाइको वातावरण निर्माण गर्नु आवश्यक छ ।
पानीलाई स्वाद र रङविहीन हुन्छ भनिन्छ तर विभिन्न भौगर्भिक क्षेत्र हुँदै बहने पानीमा उक्त क्षेत्रका प्राकृतिक रसायन र लवणहरूका कारण पानीको स्वाद निर्धारण भएको हुन्छ । कुन मूल, झरना वा मुहानको पानी मीठो भन्ने चर्चा सुनिन्छ । कतिपय अवस्थामा माटो, तामा, काठको घैलामा सङ्ग्रह गरेको पानीमा मीठो स्वाद थपिन्छ । पानीको स्वाद बढ्दा त्यसको सेवन बढ्ने हुन्छ । अतः घर, विद्यालय, कार्यालय वा समूहगत कार्यस्थलमा (सुरक्षित) स्वाद थपेर वा पानीको वितरण प्रक्रियालाई आकर्षक बनाएर पनि यसको सेवनलाई ध धबढाउन र अन्ततोगत्वा जनस्वास्थ्य प्र्रवद्र्धन गर्न सकिन्छ ।
हालका दिनमा विश्वव्यापी रूपमा मिर्गौलाका रोगी निकै बढेको पाउँछौँ । पानी र मिर्गाैलाको स्वास्थ्यको सम्बन्धमा धेरै अध्ययन भएका छन् । शरीरमा (लामो समय) पानीको कमी भएमा मिर्गौलालाई धेरै नकारात्मक असर पर्न थाल्छ । पानीको मात्रा कम हुँदा शरीरमा ‘कोर्टिसोल’ जस्ता ‘स्ट्रेस हर्मोन’ बढी उत्पादन हुन्छ । त्यसका अलावा पाचन रसायन
(¥याल), आँसुजस्ता प्रतिजैविक प्रोटिन कम उत्पादन हुने गर्छ । यस्ता ‘हर्मोन’ वा प्रोटिनको सम्बन्ध शरीरको प्रतिरक्षात्मक प्रणालीसँग सम्बन्धित हुन्छ । पानीको उचित मात्रा कायम हुन नसक्दा मुटुरोग लागेको तथ्य पनि प्रकाशित भएका छन् । इटालीको ट्रियास्टे विश्वविद्यालयको अध्ययनमा शरीरमा पानीको मात्रा कम हुँदा मुटुमा गम्भीर आघात पुग्ने र स्ट्रोकसमेत हुन सक्ने तथ्य प्रकाशित भएको छ । त्यस्तै अमेरिकाको टफ्स विश्वविद्यालयले गरेको अध्ययनमा वृद्धहरूको मुटुलाई बचाइराख्न पानीको ठूलो भूमिका पाइएको छ । यससम्बन्धमा पर्याप्त अध्ययन भएका छैनन् तर पनि जनस्वास्थ्यको प्रवद्र्धन गर्न सस्तो र सुरक्षित उपाय हाम्रासामु छन् भने त्यसको अनुशरण गर्न राज्य, समुदाय र परिवारले ढिला गर्नुहुन्न । एउटा मिर्गाैला रोगीको उपचार वा मुटु रोगीको उपचारमा लाग्ने प्रत्यक्ष वा अप्रत्यक्ष खर्चको तुलनामा स्वच्छ र सफा पिउने पानीको उपलब्धताका लागि लगानी नगन्य हुन्छ ।
मुत्राशयको सङ्क्रमण, महिलाको पाठेघर झर्ने, पिसाब चुहिनेजस्ता समस्या नेपाललगायत अन्य देशमा छ । यस्ता समस्याले अत्यधिक शारीरिक पीडा, मानसिक यातना तथा आर्थिक व्ययभार (उपचारमा) मानिसले भोग्नुपरिरहेको छ । हालका समयमा मुत्राशयको स्वास्थ्यको सम्बन्ध पानीको सन्तुलित मात्राको सेवनसँग जोडिएका अध्ययन प्रकाशित भएका छन् । सबै राष्ट्रका लागि यस्तो समस्याको (आउनै नदिन) स्थायी र सुलभ समाधानका लागि दैनिक उचित मात्रामा पानी सेवनलाई परिवार, समुदाय र स्वास्थ्य संस्थाले प्रोत्साहन गर्नुपर्छ ।
पानीको मात्रा कमी भएको अवस्थामा शरीरले केही सूक्ष्म सङ्केत दिइरहेको हुन्छ । जस्तो ः प्यास लाग्नु, थकान महसुस हुनु, (टाउको दुख्नु) आदि । उक्त सङ्केतलाई बुझेर आवश्यक सावधानी अपनाउनुपर्छ । शरीरमा पानीको मात्रा एक प्रतिशतमात्र कमीले पनि प्यास लाग्ने गर्छ । यस्तो अवस्थामा तुरुन्तै पानी उपलब्ध हुन सकेन भने शरीरमा अन्य लक्ष्यणहरू थपिँदै जान्छन् । पानीको मात्रा पर्याप्त नभएमा पिसाबको रङ पहेँलो हुन्छ । पिसाबको रङ कुनै खाना वा औषधिको प्रभावले पनि बदलिन सक्छ । त्यसैले यसैलाई मात्र आधार मान्न भने सकिन्न । यसबाहेक प्रत्यक्ष सेवन गरेको पानी र पिसाब, पसिना आदि माध्यमबाट शरीरमा निस्कने पानीको हिसाब गरेर सावधानीका उपाय अपनाउन सकिन्छ ।
पानी सेवन गर्ने विधिका सम्बन्धमा पनि थुप्रै अध्ययन भएका छन् । एकैपटक धेरै मात्रामा पानी पिउनुभन्दा थोरै–थोरै तर मात्रा अड्कलेर पिउनु उचित हुन्छ । यसो गर्दा सेवन गरेको पानीलाई शरीरले आफ्नो सन्तुलन कायम गरी पर्याप्त हुनेगरी राख्छ । अतः पानी पिउने गिलास वा कपमा अट्ने पानीको मात्रा र त्यसलाई सेवन गर्ने समय निर्धारण गर्न सक्दा राम्रो हुन्छ ।
खाना खानुभन्दा करिब आधा घण्टाअघि एक गिलास (करिब ३०० मिलिलिटर) पानी पिउने र खाना पनि रसिलो बनाएर खाने गर्नुपर्छ । खाना खाएको करिब आधा घण्टापछि पुनः एक गिलास पानी पिउनु राम्रो हुन्छ । बिहानको खाली पेटमा पानी पिउनु लाभदायक हुन्छ भने सुत्नुअघि पनि केही पानी पिउनु राम्रो हुन्छ । कतिपय रोग वा स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको परामर्शअनुसार पानीको पिउने मात्रा र समय आदि तय गर्नुपर्छ ।
शरीरमा पानीको आवश्यकता पूर्ति गर्न सादा पानीको सेवन उत्तम हुन्छ । यसका अलावा ताजा फलफूलको रस, दूध, दही, मही, जडीबुटीयुक्त पेय पदार्थ आदि विकल्पका रूपमा प्रचलनमा छन् । तर, विभिन्न नाममा बजारीकरण भइरहेका औद्योगिक पेय पदार्थ जस्तै ः सोडा चिनीयुक्त पेय, शक्तिबद्र्धक पेय, बियर आदिलाई पानीको विकल्पको रूपमा सेवन गर्नु कदापि हितकर हँुदैन । यस्ता औद्योगिक पेय पदार्थले शरीरको पानी सञ्चय गर्ने क्षमतालाई घटाइदिन्छन् र अहितकर रसायन वा पदार्थप्रति निर्भर बनाउँदै लैजान्छन् । खेलाडीहरू (उच्च परिश्रम गर्ने)का लागि लक्षित गरी तयार पारिएका पेय पदार्थमा चिनी, नुन, पोषण र (सूक्ष्म) खनिजहरू मिसाइएको हुन्छ । यस्तो पेय कम शारीरिक परिश्रम गर्ने व्यक्तिहरूका लागि फाइदाभन्दा बढी बेफाइदा हुन सक्छ । हालको समयमा घातक रूपमा विस्तार भएको औद्योगिक पेय पदार्थको उपभोगलाई नियन्त्रणमा लिनु आवश्यक छ । राज्यले यस्ता उत्पादनलाई हतोत्साहित गर्ने नीति ल्याउनुपर्छ भने समुदाय वा परिवारले पनि नियन्त्रण गर्दै लैजानुपर्छ ।