शनिवार |

म्याराडोना अब सम्झनामा

प्रजित शाक्य

अन्य क्षेत्रजस्तै खेलजगत्मा पनि त्यस्ता केही महान् व्यक्तित्व हुन्छन्, जसलाई प्रशंसकहरूले भगवान्को दर्जा दिएका हुन्छन् । कतिपयले त यस्ता खेलाडीलाई आदर्श मानेर उनीहरूकै अनुशरण गर्छन् । कति त उनीहरूकै प्रभावले खेलमा होमिन्छन् । यस्ता खेलाडीको नाम लिँदा डिएगो म्याराडोनाको नाम धेरैको मानसपटलमा अमिट बनेर रहेको छ । फुटबलप्रेमी हुन् या फुटबलप्रति चाख नै नभएका व्यक्ति किन नहुन्, म्याराडोनालाई नचिन्ने विश्वमै विरलै होलान् ।
फुटबलका यस्ता खेलाडी म्याराडोनाको हृदयाघातले गत बुधबार निधन भयो । विश्वकै सर्वकालीन महान् खेलाडीमध्ये एक म्याराडोनाले संसार छोड्दा विश्व नै शोकाकुल बन्यो । अहिले करौडौँ फुटबलप्रेमी म्याराडोनाको जादुमय फुटबल खेलको यादमा डुबेका छन् । जुन सम्झना चाँडै मेटिने छैन ।
हुन त भगवान्को दर्जा पाएका खेलाडी म्याराडोनाको जीवनशैली पछ्याउनलायक भने थिएन । मोजमस्तीले कैयौँपटक मृत्युको नजिक पुगेर पनि बाँचेका खेलाडी हुनुहुन्छ– म्याराडोना । सन् २००० र २००४ मा अत्यधिक लागूपदार्थले उहाँ मृत्युको नजिक पुग्नुभएको थियो । गत हप्तामात्र मस्तिष्कमा जमेको रगतको एक ढिक्का हटाउने शल्यक्रिया गरिएको थियो । जुन सफल भएको पनि भनियो । तर, केही दिनपछि नै हृदयाघातबाट उहाँको मृत्यु भयो ।
म्याराडोनाको निधनपछि कोभिडको समयमा पनि अर्जेन्टिनीहरू विलाप गर्दै, विरह गीत गाउँदै सडकमा उत्रिए । अर्जेन्टिनाको सरकारले तीन दिन शोक मनाउने घोषणा ग¥यो । म्याराडोनाको निधनको शोकमा फुटबल क्षेत्रमात्र डुबेन, महान् बास्केटबल खेलाडी म्याजिक जोन्सन, महान् बक्सर माइक टाइसन, लाइबेरियाका राष्ट्रपति जर्ज वेजस्ता व्यक्तित्व पनि शोकमा डुब्नुभयो ।

म्याराडोनाको खेलजीवन
म्याराडोनाले व्युनर्स आयर्सको छिमेकी सहर भिला भियोरिटोमा खेलाडीका रूपमा प्रस्तुत भएर आफ्नो खेलको अद्भुत क्षमता सार्वजनिक गर्नुभएको थियो । त्यसपछि दशकौँ उहाँ विश्वका महान् खेलाडीका रूपमा रहनुभयो । खेलको सुरुवाती समयमा अर्जेन्टिनाको जुनियर्सको जर्सीमा खेल्नुभयो । १२ वर्षको उमेरमै यो क्लबमा पुग्नुभएका म्याराडोनाले त्यहाँ पाँच वर्ष बिताएर ११५ गोल गर्नुभयो । त्यसपछि उहाँ अर्जेन्टिनाको सबभन्दा ठूलो क्लब बोका जुनियर्समा हाम्फाल्नुभयो । बोका जुनियर्स म्याराडोनाका बुवाको मन पर्ने क्लब पनि थियो । सन् १९८१ मा उहाँले यो क्लबसँग रहेर व्यावसायिक खेल जीवनकै पहिलो उपाधि पनि प्राप्त गर्नुभयो । तर, म्याराडोनाको प्रतिभाको अगाडि अर्जेन्टिना सानो देश थियो । त्यसपछि उहाँको युरोप यात्रा सुरु भयो र महान् खेलाडीको मार्ग पनि प्रशस्त भयो ।
बोका जुनियर्सलाई उपाधि दिलाएपछि युरोपेली क्लबको नजरमा म्याराडोना पर्नुभयो । सन् १९८२ मा स्पेन पुगेका म्याराडोनाले विश्वकै सबैभन्दा ठूलो क्लबमध्ये एक बार्सिलोनाका लागि खेल्न थाल्नुभयो । बार्सिलोनाले म्याराडोनालाई त्यसबेला ७३ लाख डलर खर्च गरेर टिममा ल्याएको थियो । खेलाडीलाई दिइने पारिश्रमिकमा यो पैसा त्यतिबेलाको कीर्तिमानी पैसा थियो । म्याराडोनाले युरोपको सर्वाधिक ठूला क्लबमध्ये एक बार्सिलोनामा रहेर तीन उपाधि जित्नुभयो । त्यहाँबाट उहाँलाई उत्कृष्ट फुटबल खेलाडीको परिचय मिल्यो । तर, म्याराडोना बार्सिलोनामा कहिल्यै खुसी हुन सक्नुभएन । उहाँ ‘नाइट लाइफ’ बिताउन मन पराउनुहुन्थ्यो । तर, यस विषयमा प्रशिक्षकसँग उहाँको अक्सर मतभेद भइरहन्थ्यो ।
त्यसपछि म्याराडोना फेरि कीर्तिमानी डेढ करोड डलर रकममा इटालीको नापोली पुग्नुभयो । त्यतिबेला नापोली पछाडि परेको क्लब थियो । तर, म्याराडोनाले सो क्लबको भाग्य नै चम्काइदिनुभयो । उहाँ इटालीको नापोली क्लबको पर्याय बन्नुभयो । उहाँकै प्रभावमा नापोलीले सन् १९८७ र १९९० मा इटालियन सिरी ‘ए’ जित्यो । त्यतिमात्र होइन, म्याराडोनाको नेतृत्वमा नापोलीले विश्वकै सबैभन्दा प्रतिष्ठित फुटबल लिग युईएफए कप पनि हात पा¥यो । म्याराडोनाको युगपछि नापोली फेरि यो उचाइमा पुग्न सकेको छैन । त्यसैले त म्याराडोनाको निधनमा शोक मनाउन इटालीको नेपल्समा हजारौँ समर्थक आफ्नो क्लबको ‘अलटाइम ग्रेट’को ब्यानरसहित मैनबत्ती लिएर सडकमा उत्रिए । त्यहाँको मेयरले नापोलीको रङ्गशाला सान पाओलोलाई म्याराडोनाको नाममा राख्ने प्रस्ताव गर्नुभयो ।

‘ह्यान्ड अफ गड’
इतिहासमा आफ्नो नाम लेखाउन र चर्चित हुन फुटबल खेलाडीका लागि विश्वकप सबैभन्दा ठूलो मौका हो । अर्जेन्टिनाका म्याराडोनाले पनि सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा आफूलाई महान् खेलाडी सावित गर्नुभयो ।
म्याराडोनाले विश्वकपका चार संस्करण खेल्नुभयो । म्याराडोनाको सहयोगमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप उपाधि जित्यो भने चार वर्षपछि अर्को संस्करणमा फाइनलसम्मको यात्रा तय गरेको थियो । उहाँले अर्जेन्टिनाका लागि कुल ९१ खेलमा ३४ गोल गर्नुभएको छ ।
सन् १९८६ मा म्याराडोनाले इङ्ग्ल्यान्डविरुद्ध क्वार्टरफाइनलमा दुई गोल गरेर अर्जेन्टिनालाई सेमिफाइनलमा पु¥याउनुभयो । सो खेलमा म्याराडोनाले गरेको दुवै गोलको चर्चा अहिलेसम्म पनि हुने गरेको छ । म्याराडोनाले हातले गरेको पहिलो गोल ‘ह्यान्ड अफ गड’ गोलका रूपमा प्रख्यात् छ । जुन फुटबलको इतिहासमै सबैभन्दा बढी लिइने गोल भएको छ ।
म्याराडोनाको दोस्रो गोल अभैm पनि फुटबलप्रेमीको स्मृतिमा ताजै छ । उहाँले एक्लैले इङ्ग्ल्यान्डका नौ खेलाडीलाई छलाएर उत्कृष्ट गोल गर्नुभएको थियो । म्याराडोनाकै उत्कृष्ट प्रदर्शनको सहयोगमा सेमिफाइनलमा बेल्जियम र फाइनलमा पश्चिम जर्मनीलाई हराएर अर्जेन्टिनाले विश्वकप जित्यो । सो विश्वकपमा म्याराडोना नै ‘गोल्डेन बुट’को हकदार बन्नुभयो ।
सन् १९७० मा ब्राजिलको टिममा पेलेपछि एक खेलाडीले प्रभाव पारेको विश्वकप यो नै थियो । यसकारण सन् १९८६ को विश्वकपलाई म्याराडोनाको प्रतियोगिता भनिन्छ । अहिले पनि विश्वका महान् फुटबल खेलाडीको चर्चा गर्दा पेले र म्याराडोना सबैभन्दा अगाडि आउने नाम हुन् ।

पेले र म्याराडोनाको प्रतिद्वन्द्विता
विश्व फुटबलमा अहिले पनि पेले र म्याराडोनामध्ये को उत्कृष्ट भन्ने बहस चलिरहन्छ । यस बहसमा अहिलेसमम सर्वसम्मत नतिजा आएको छैन । विशेषतः विज्ञहरू पेलेको पक्षमा हुन्थे भने सर्वसाधारण फुटबलप्रेमी म्याराडोनालाई सर्वश्रेष्ठ फुटबल खेलाडी मान्थे । त्यसैले २०औँ शताब्दीको सर्वश्रेष्ठ फुटबल खेलाडीको ट्रफी यी दुईले संयुक्त रूपमा हासिल गर्नुभएको थियो ।
यी दुई खेलाडीको प्रतिद्वन्द्विताकै असरले अर्जेन्टिना र ब्राजिलबीचको सम्बन्ध अहिले पनि फुटबलमा शत्रुसरहको छ । ब्राजिल र अर्जेन्टिनाका खेलाडीमात्र होइन, समर्थक पनि एक–अर्कासँग हारेको हेर्न चाहँदैनन् । विश्वका यी दुई महान् फुटबल खेलाडी पेले र म्याराडोनाबीचको सम्बन्ध पनि तल–माथि भइरह्यो ।
यी दुई खेलाडीबीच सुरुआतमा मित्रता थियो । तर, सन् १९९४ को विश्वकपमा म्याराडोना डोपिङमा असफल भएपछि सो मित्रतामा दाग लाग्यो । यो घटनामा पेलेले म्याराडोनाको निकै आलोचना गर्नुभयो । त्यसपछि यी दुईले एक–अर्कालाई एक दशकभन्दा बढी समय शत्रुसरहकै व्यवहार गरे । सन् २००५ मा मात्र यी दुईजनाको सम्बन्ध सुमधुर भएको थियो । म्यारोडोनाका निधनले दुःखी बनेका ८० वर्षीय पेलेले भन्नुभएको छ, ‘मैले मनपर्ने मित्र गुमाएको छु । र, विश्वले महान् फुटबल खेलाडी । मलाई आशा छ– एक दिन हामी अर्को संसारमा सँगै फुटबल खेल्नेछौँ ।’
म्याराडोनाको निधनमा दुःख व्यक्त गर्नेमा अहिलेका दुई सर्वश्रेष्ठ फुटबल खेलाडी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो पनि हुनुहुन्छ । यी दुवैले म्याराडोनालाई अमर भनेका छन् ।

बदनाम हिरो
म्यारोडोनालाई आज पनि एक नायकका रूपमा लिइन्छ तर उहाँ आफ्नो विवादास्पद गतिविधिले गर्दा बदनाम हुनुभयो । खेलाडी जीवनमा नै उहाँ ‘नाइट लाइफ’को सोखिन बन्नुभयो । ड्रग्सको लत लाग्यो । यतिमात्र होइन, उहाँको स्थानीय माफियासँग सम्पर्क पनि थियो । म्याराडोना कैयौँपटक प्रहरीकोे नियन्त्रणमा पर्नुुभयो । नापोलीमै रहँदा कोकिन खानाले उहाँ १५ महिना प्रतिबन्धित हुनुभयो । तर पनि फुटबलप्रेमीमा उहाँको लोकप्रियता रत्तिभर कम भएन । सन् १९९२ मा त म्याराडोनाले युरोपबाट अर्जेन्टिना फर्केपछि पत्रकारलाई तर्साउन हावामा गोलीसमेत बर्साउनुभयोे । जुन कार्यले म्याराडोनालाई कारबाही पनि भयो । अर्जेन्टिनामा कोकिनसहित पक्राउ परेर जेल जानुभयो । उहाँ थुप्रैपटक कोकिनसहित पक्राउ पर्नुभएको छ । अमेरिकामा भएको विश्वकपमा अर्जेन्टिनाले फाइनलमा यात्रा ग¥यो तर रगत परीक्षणमा विश्वकपको समयमा पनि कोकिन खाएर गरेको ठहर भयो र उहाँलाई फिफाले १५ महिना प्रतिबन्ध लगायो । म्याराडोना आफैँले पछुताउँदै लागूऔषधको लतले आफ्नो खेलजीवन बर्बाद भएको स्वीकार्नुभएको छ ।

सन्न्यासपछि प्रशिक्षक
सन् १९९७ मा म्याराडोनाले खेलाडी जीवनबाट सन्न्यास लिनुभयो । म्याराडोनाले आफ्नो पुरानो क्लब बोका जुनियर्सबाट अन्तिम खेल खेल्नुभयो । ३७ वर्षको उमेरमा उहाँको चम्किलो र विवादले भरिएको खेलजीवन सकियो । तर, उहाँले अन्तिम समयसम्म फुटबललाई छोड्नुभएन । उहाँले प्रशिक्षक जीवन सुरु गर्नुभयो । उहाँ दुईपटक अर्जेन्टिनाको राष्ट्रिय टिमका प्रशिक्षक बन्नुभयो । सन् २००८ मा म्याराडोनालाई अर्जेन्टिनाको प्रमुख प्रशिक्षक नियुक्त गरियो । तर, खेलाडीजीवनमा जस्तो प्रशिक्षकका रूपमा म्याराडोनालाई सफलता मिलेन । अर्जेन्टिनाले सन् २०१० को विश्वकप म्याराडोनाकै प्रशिक्षकत्वमा खेलेको हो । उहाँले केही देशका क्लबलाई पनि प्रशिक्षण दिनुभयो । त्यहाँ पनि म्याराडोना सफल हुन सक्नुभएन । उहाँले दुबईको क्लब अल वास्ल एएफसी, फजाइराह, अर्जेन्टिनाको गिम्नासिया क्लब पनि सम्हाल्नुभएको थियो । तर क्लबहरूले उहाँको कामले नभई, उहाँको नामले मात्र फाइदा लिन सके । आफ्नो सनकी स्वभावले पनि म्याराडोना आफ्नो प्रशिक्षक जीवनमा सफल हुन सक्नुभएन भन्दा फरक पर्दैन ।

फरक व्यक्तित्व
म्याराडोना स्पष्टवक्ता पनि हुनुहुन्थ्यो । उहाँ वामपन्थी विचारधारामा विश्वास राख्नुहुन्थ्यो । क्युबाको क्रान्तिमा नेतृत्व गर्ने नेता फिडेल कास्ट्रो म्याराडोनाको नजिकका मित्र हुनुहुन्थ्यो । भेनेजुयलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजसँग म्याराडोनाको मित्रता पनि धेरै चर्चामा रह्यो ।