देसान (लघुकथा)
श्रीराम राई
कोरोना महामारी भयावह रूपमा फैलिँदै थियो । जताततै अप्ठ्यारो नै अप्ठ्यारो थियोे । भर्खरै बन्दाबन्दी खुलेको थियोे ।
ठूलीमायाको पेट बढ्दै गएको थियो । यसले घरपरिवारमा खुसीको झलमल्ल घाम लागेको थियो । उनलाई रुघाखोकी र ज्वरो आएको थियो । गाउँलेले उनलाई कोरोना लागेको भनी गाउँमा उपचार गर्न दिएनन् । गाउँबाटै निकाल्न खोजे तर घरपरिवारले उनलाई जिल्ला अस्पताल खोटाङ लगे । गाउँलेले हुल बाँधेर अस्पतालमा पनि भर्ना हुन दिएनन् ।
जताततै सङ्कटै सङ्कट थियोे । सङ्कटको बेला नेताहरू समाते, आफन्तहरू गुहारे र हेलिकप्टर चार्टर गरेर काठमाडौँ ल्याए ।
काठमाडौँ ल्याइपु¥याउँदा उनी
बेहोस थिइन् । तुरुन्त उनको शल्यक्रिया भयो । छोरी जन्मिन् तर उनलाई अत्यधिक रक्तस्राव भयो र बेहोसीमै उनको ज्यानै गयो ।
उनका श्रीमान् छोरीको अनुहार हेरेर रोइरहेका थिए । मरिसकेकी श्रीमतीको रिपोर्टलाई काखी च्यापेका थिए । नर्सले उनलाई भनिन्, “त्यो रिपोर्ट डिस्पोज गर्नुपर्छ । दिनुहोस् ।’’ उनका श्रीमान्ले रुँदै भने, “यो रिपोर्ट गाउँलेलाई देखाउनु छ र भन्नु छ, मेरी श्रीमतीलाई गाउँले देसान नलागेको भए मर्ने थिइनन् । लु हेर, मेरी श्रीमतीको कोरोनाको रिपोर्ट नेगेटिभ छ ।’’