अरुण तर्न गुडुडु !
युवराज नयाँघरे
दिङ्ला छोड्दा डुबिसकेथ्यो घाम ! आबाल ब्रह्मचारी षडानन्दको आलोकले धपक्क छ दिङ्ला । घण्टौँ लाएर षडानन्द क्याम्पस, रामचन्द्र मन्दिर अनि दिङ्ला बजार चहारेपछि हामीले तल झर्ने निधो ग¥यौँ । पहाडको रनवन चहार्न अरू नि मन थियो तर यस पालिलाई थाकेको मान्नु प¥यो मैले, उत्तम भट्टराईले ।
‘भाइ, ओह्रालो जत्ति छ, त्यसमा सुहाउने मेरा खुट्टा छैनन् ।’
‘फेरि अँध्यारोमा म ठम्याएर हिँड्न नि सक्तिनँ ।’
यी दुइटै गुनासा मेरै हुन् । उत्तम परे बलियाबाङ्गा । म त मनले तन्नेरी भए पनि गोलीगाँठामा रहर थल्लिएको मनुख्खे परेँ ।
दिङ्ला बजारबाट अलिक वर आउन्जेल बाला गुरुको महिमाले छातीमा ठूलो घाउ पारिरह्यो । त्यो उकुच थियो श्रद्धाको, स्मरणको र अर्चनाको ।
पेटमा भोजन गतिलो परेको थिएन । कच्याककुचुकले आँट नभरे पनि आँत कमजोर बनाउनै भएन । त्यै भएर बारीका अम्बाका बोटमा टाँस्सिनै खोज्थे साथीका हात ।
फर्किंदा हतारमा टापटिप पा¥यौँ– एउटा सेल, खुर्मा र टुर्रे चिया एक कप । पहाडमा मधेसको खुर्मा नौलो भएर स्वाद बस्यो ।
‘पकाइ बेग्लै कि पस्काइ ?’
भाइ उत्तमले खुर्मा खाँदै सोधे । त्यो परिकारमा भनेजस्तो स्वाद उनले नपाएको मैले ठानेँ । हुन पनि दिङ्लामा खुवा, कुराउनी र मोही खोजेका थियौँ– पाइयो भिन्नै ।
अलिक कुइनेटोमा आएपछि बाटो पूरै ओरालियो । वन पसेका घँसिनी सेउलापातले पूरै पुरिएर निक्लिरहेका देखिन्थे । हाम्रा बोली ठम्याएरै एउटीले भनेकी थिइन््– ‘जाने नै हो त अरुण ?’ उनको अनुमानमा हामी लुरे रे !
बाक्लो बस्ती । साल्माभरि सुन्तला र रुद्राक्षका घारीले बस्तीको सुन्दरता निकै वरसम्म आँखासामु बसिरह्यो । बोट, फल, पात हरेक कुरा पवित्र । सुरिला बोटमा लटरम्म हरिया रुद्राक्षका दाना भुइँबाट निहाल्दै गरेका गाउँले यति मुखे, उति मुखे भनेर ठोकुवा गर्दैथे बारीका कान्लामा । हामी त्यो बाजी ठोकाठोकमा अलमलिइरहन सकेनौँ ।
ओरालोमा एक हुल महिला बच्चा च्यापेर उक्लिइरहेका थिए । आफ्नै ज्यान के गरी फड्काउँ भइरहेका बेलामा– ढाडभरि बच्चा !
जिन्दगीमा कति धेरै खुइ्यय ... ... ।
नेवार बस्ती पुगेपछि हामी देब्रेतिर मोडियौँ । ठूलो बाटो अजिङ्गरजस्तो बटारिएर गए पनि त्यसलाई पछ्याएनौँ हामीले । ठूला–ठूला झ्याम्म रुख । त्यसमा जराले बाटोलाई छुन छोडेन ।
चौरजस्तो गराभरि फिलुङ्गे । कोदोबारीको आँखा तान्ने हरियाली । सुन्तलाका भरिला पोथ्रा ।
बस्तीबाट वन पस्नै लाग्दा भाइ थिए अघि–अघि । उनी चाँडै जाँदा बाटो ठम्मिन्छ भन्ने लागिरहेथ्यो मलाई ।
एक ठाउँमा उनी झोला बिसाएर बसिरहेका थिए । झोलाबाट हरिया सुन्तला झिक्दै वनतिर सिस ताक्दै हु¥याइरहेथे ।
उनी फेद, हाँगा, पात र टोड्कामा सिस लगाइरहेका थिए सुन्तलाका दानाले । ताकी–ताकी हरिया दाना भीरमा खस्दा ख¥याङ्ख¥याङ सुनियो घरी–घरी ।
‘किन भाइ ?’
‘झोला हलुङ्गाएको !’
उनले सहजै भने । बोलुन्जेलमा नि उनका हात चलिरहेकै थिए । मैले हेरुन्जेलमा रित्तो भो पाँच किलोको टुमुक्क कसिएको झोला । अर्थात् पाँच किलो सुन्तला स्वाहा !
दिउँसो दिङ्ला उक्लँदा बिलमाया बराइलीले दिएकी थिइन् धोक्रे झोलामा टनाटन सुन्तला ।
‘दाना दिउँ भने बेला भएको छैन । यो लानु, खान नि हुने । कोसेली पनि हुने । बाटो कटनीलाई साथी !’
भाइको भ्यागुते झोला टुन्न भरियो सुन्तलाले ।
दिङ्ला बजार डुलुन्जेल नि भाइको मुख अँध्यारै थियो । म त फुक्काफाल । यता कुद्दै, उता लम्कँदै गरिरहेँ । बयर खाँदै, उखु चुस्दै बरालिइरहेँ ।
यस्तै भएथ्यो बालागुरुको जन्मभूमिमा, तपोभूमिमा ।
उत्तम यै सुन्तलाका भारीले थल्लिएका रैछन् । अहिले थान्को लगाएको देखेँ– अमिला किर्कौले सुन्तला ।
‘काम सम्पन्न गर्नु भो ?’
उनले रित्तो झोला भिरे काँधमा । अनि गुडुडु कुदे ओरालो । बल्ल उनको ओठ र आँखा हाँसे झलल्ल । बीस मिनेटपछि ओराली झरेपछि भाइ बल्ल बोले । अघिसम्म ज्यान थेगेर ठाउँसम्म अड्याउनै गाह्रो भएको थियो ।
‘यत्रो ओरालो के गरी बोक्नु त्यत्रो सुन्तला । फेरि अमिला न अमिला !’
उनको खुसीमा मेरो साथ जोडियो ।
अँध्यारो निकै नजिकिएको छ । बाँदरका बथानले चौरै ढाकेर दगुरादगुर गरिरा’छन् । हामी एकोहोरो ओराली झरेका झरेकै छौँ । नाक र कानलाई जाडो होला– तर भित्र चैँ पसिनाको चिसोले लतपत भएका छौँ दुवै जना ।
एक ठाउँमा लहरामा अल्झेर म पछारिएँ । भाइ निकै अघि पुगिसकेका छन् । फर्केर आए, ‘खोला त तलै छ !’ उनले अरुण नदी अभैm परै छ भनिदिँदा लडेको भन्दा नि टाढाको पीर प¥यो मलाई ।
पर–पर तुम्लिङको अँध्यारो कताकति पिलपिल गरेको लाग्छ । तल–तल मनकामना मन्दिर वरपर माताहरूले पाला लिएर वनतिर घुमफिर गरेको झल्को आउँछ ।
हामी पानी घुट्क्याउन थामिन्छौँ । अनि फेरि अँध्यारोमा गुडुडु । अघि थामिएको समयलाई मिलान गर्ने गरी कुद्छौँ बेतोडले ।
बाटो फनफनी घुमेको छ । त्यो फनफनीमा हामी पनि लगातार नघुमी सुख्खै छैन ।
अब विस्तारै—बस्ती, घर हराउँछन् । मानिसको चहलपहल नि बिलाउँछ । चिसो चम्केर हाम्रा अनुहारसँग कचिङ्गलो गरिरहन्छ ...गरिरहन्छ... ।
औँशीको रात । बाक्लो जङ्गल । अग्ला न अग्ला रुख । झ्याम्म पोथ्राले बाटै ढाकेको छ । जङ्गली जनावरको डरले शरीर चिथोरिन छोडेको छैन । हामी गुडुडु छौँ ओरालीमा ।
भोक बिर्सेको छु, थकाइ भुलेको छु, दुःखाई लुकाएको छु । सबभन्दा ठूलो कुरा त ओरालीमा उँधमुन्टिएर पाएको हैरानीलाई ख्याल गरिरहेको छैन मैले ।
अनि गल्र्यामगुर्लुम हाम्फल्दै म दगुरिरहेको छु । त्यै गतिमा लोली मिलाउँछन् उत्तम पनि ।
‘हामी शरीरले हैन, मनले हिँडेका छौँ !’
उत्तमको बोली सुन्छु । स्वाँ–स्वाँले गर्दा म जवाफ फर्काउन सक्तिनँ । टाउको हल्लाएर सहमति जनाउँछु ।
थकाइ, पसिना र गलाइले जवाफ दिए होलान् । भोक, तिर्खा र हैरानीले उत्तर फर्काए होलान् । घण्टौँको फर्लङ–फर्लङ हाम फलाइपछि हामी आइपुग्यौँ–सतीघाटमा । अरुण नदीको तिर–सतीघाट ।
यहाँ आएपछि फर्केर पश्चिमतिर हेर्दा त्यो घना वन र ओरालीलाई अँध्यारोले निलेथ्यो सर्लक्कै । अँध्यारोमा नदीका शान्त छाल कलकलाएको सुनेँ, लहर सल्बलाएको सुनेँ, तरङ्ग चल्मलाएको सुनेँ ।
‘के हामीले ओर्लेकै हो त ?’
मैले आपैmँले सोधेको थिएँ । किनभने त्यै ओराली दिनभरि लागेको थियो हामीलाई उक्लन ।
सतीघाटको झोलुङ्गे पुल तरेपछि हामी मनकामनानिर पुग्यौँ । अँध्यारोमा विधवा आमाहरू खाँडो जगाएर भजन गाइरहेका थिए । तिनको बिलौनालाई झ्याउँकीरीले कराएर सघाइरहेका थिए ।
कति करुण । कति विरहलाग्दो । कति मर्ममय ।
जीवन त सबैको आफ्नै हुँदो रहेछ– अरुणको वेग, असहाय आमाहरूको आँसु र झ्याउँकीरीको किरकिर । यी तीनै परिवेशले गम्लङ्ङ अँगालो हाले मलाई ।
जङ्गल निकै नाघेपछि फाट्टफुट्ट घर आए । तिनको छायाँ टेक्दै हामी निकै फाँट हिँड्यौँ । अरुण र सभाको चेपमा लमतन्निएको तुम्(िलङटारतिर खुट्टा फड्कारिरहेका छौँ । कति पटक त हिँड्नै नसकेपछि भाइ धकेल्छन् मलाई ।
गल्नुसम्म गलियो नि त गाँठे !
बेस्सरी हिँडेपछि उबडखाबड नाघिएछ । अनि सेपिलो खोँच छिचोलेपछि गिद्धे चौतारी आइपुग्यो । बल्ल खुट्टा दुःखेको मैले थाहा पाएँ, भोक लागेको थाहा पाएँ, पैताला पिल्सिएको थाहा पाएँ । आफूले दिनभरि हिँडेको पनि बल्ल ख्याल गरेँ ।
‘मैले सुन्तला फ्याँकेर ठीक गरिनँ !’
समथर फाँटमा लम्किँदा उत्तमको बोली सुनेँ ।
‘अघि ठीक, अहिले बेठीक !’
मेरो उत्तर उनले सुन्न नि भ्याएनन् ।
अँध्यारो छ चुक घोप्टाएजस्तो । जाडो पनि उत्तिकै तिख्खर । यी दुवैलाई सँगी बनाएर हामी लम्किरहेका छौँ । घरी–घरी ठेस लाग्छ । तीन हात पर पुगेर अडिन्छु । भाइभन्दा मै बढ्ता हुत्तिइरहेको छु ।
हुत्तिएर कुदेका हामी टारको सेपिलो गन्धलाई नाकसम्म आएको नि वास्ता गर्दैनौँ । विचार गर्ने तागत डल्लो परेर कुलेलम ठोकिसकेको हुँदो हो हाम्रा ज्यानबाट ।
लक्ष्मीपूजाको उज्यालोसँग थोरैथारै भेटघाट हुन थालेको छ । झलमल्ल उज्यालोले पिँढी उज्यालिए नि हामी दुईलाई पैतालाको दुःखाई, दिनभरिको भोक र लामो हिँडाइको पेलाइले तिरिमिरी झ्याइँ पारेको छ ।
रात छिप्पिएपछि तुम्लिङटार पुगेर त्यत्तिकै लम्पसार भएँ म । साथीको सोधखोज उत्तिको गर्ने ध्याउन्नतिर लागिनँ ।
शरीर धोबीले पच्छारेको कपडाको लुँडोजस्तो भएको छ । जतासुकै दुख्छ । उठ्न नहुने गरी पसारिएको–पसारिएकै भएँ म त । अरर्रिएर थल्लिएको थल्लिएकै भएँ म त ।
जीवनमा कहिलेकाहीँ निकै हिँडिन्छ । हो, साह्रै धेरै हिँडिन्छ । त्यो गति हो कि अगति हो ? यो प्रश्नमा उत्तरको अपेक्षा छैन कत्ति पनि । केही अघि तातो पानी सुक्र्याउँदा एक जना बूढाले मेरा कुरा सुनी भनेथे– ‘त्यो वीरको हिँडाइ हो !’
बालागुरु षडानन्दले दिएको शक्ति हो कि त्यो !