शनिवार |

बूढेसकाल (कविता )


दिनेश अधिकारी

बूढेसकालमा
मान्छे
फेरि एकपटक केटाकेटी हुँदोरहेछ !

त्यसबेला–
जब म केटाकेटी थिएँ
साँझपख
बा र काकाहरू कामबाट फर्कंदा
म असाध्यै खुसी हुन्थेँ
प्रायः दिनहुँ
बाले ‘पापा’ ल्याइदिनु हुन्थ्यो
र, पापा हात परेपछि
म उसैउसै अकाशिएको हुन्थेँ

अहिले
आफू कतै जान र केही गर्न सक्तिनँ
साँझपख
जब छोराछोरीहरू कामबाट फर्कन्छन्
थाहै नपाई आफ्ना आँखा
तिनका हातका झोलामा गइसक्तोरहेछ
जब दिन्छन् तिनले
जाडोमा कानेटोपी
वा
हातमा थमाइदिन्छन् मनपर्ने खानेकुरा
त्यसबेला–
खुज्मुजिएको आफ्नै अनुहारको छाला
धोएर इस्त्री लगाएको लुगाजस्तै
तनक्क ! तन्किसकेको हुँदोरहेछ !

बूढेसकालमा
मान्छे
फेरि एकपटक केटाकेटी हुँदोरहेछ !!