निष्कलङ्क राष्ट्रसेवक नरकान्त अधिकारी
विजयराज न्यौपाने
हिउँद महिनाको लामो रातले लामो जीवन आयु दिएर १०० वर्ष अगाडि एक कान्तिवान बालक वीरगञ्जमा जन्मायो जो बन्नुभयो शताब्दी निष्कलङ्क राष्ट्रसेवक नरकान्त अधिकारी । उहाँको पुख्र्यौली थलो र स्थायी ठेगाना त लमजुङ, दुराडाँडा हो ! हलो आन्दोलन, शैक्षिक जागरणले २००६÷०७ सालदेखि नै विशेष चर्चामा आएको ठाउँ । उहाँका पिता ले. शेषकान्त अधिकारी स्वयं हलो आन्दोलनका एक सशक्त अभियन्ता । सामाजिक जागरणका अगुवा पं. तोयानाथ अधिकारी, मु. हरिभक्त पौडेल र श्रीकान्त अधिकारीसहित यिनै चार उज्ज्वल ताराका साथ अरू कैयौं तारा लमजुङे क्षितिजमा चम्किए र दुराडाँडालाई चर्चित तुल्याए । तिनै अभियन्ता योद्धामध्येका अग्रज ले. शेषकान्त अधिकारी तत्काल अदालतमा लप्टन भई धर्मपत्नी शैलकुमारी अधिकारीका साथ वीरगञ्जमा सेवारत रहँदा नरकान्त अधिकारीको जन्म हुन गएको थियो । त्यो समय थियो वि.सं. १९७७ पुस २२ गते बुधवार ।
वीरगञ्जबाट प्रारम्भिक शिक्षा लिँदै पछि उहाँले काठमाडौं आई फुपू पूर्णकुमारी पौडेलको लैनचौर निवासमा बसेर पढ्नुभएको थियो । यसै क्रममा दरबार हाइस्कूलमा कक्षा ७ मा भर्ना हुनुभएका उहाँ वि.सं. १९९४ को एस.एल.सी. परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुनुभयो । त्यतिबेलाका सहपाठीहरू हुनुहुन्थ्यो ! श्यामकृष्ण भट्टराई, कनकबहादुर श्रेष्ठ, डिल्लीबहादुर बस्नेत, पदमबहादुर कार्की, गोविन्द नरसिंह रायमाझी, सत्यमोहन जोशी । तिनै सहपाठी अहिले को कोले साथगाथ छोडे यथार्थ विवरण मसित रहेन, मलाई बोध भएका दुई होनहार व्यक्तित्वहरू सत्यमोहन जोशी र नरकान्त अधिकारी १०१ वर्षमा हिँड्दै हुनुहुन्छ ।
लमजुङको साहित्यिक इतिहास (२०६८) पुस्तक प्रकाशमा ल्याउँदा मैले उहाँको व्यक्तित्व, कृतित्वका लागि फोटो खिच्न खोजेको थिएँ तर उहाँले त्यतिबेला ‘मजस्तो सामान्य मानिसको फोटो लिएर के काम छ’ भनी दम्भरहित सरल मुस्कान छोड्नुभयो । मसँग पनि धेरथोर दम्भ हुँदो हो त्यसैले मलाई कताकता कुरीकुरी लाग्यो । एक प्रसङ्गमा त्यतिबेला उहाँले भन्नुभएको थियो– ‘हामी केही जान्दैनौं तर जानेकोजस्तो गर्छौं ।’ तिनै सामान्य व्यक्ति तब असामान्य जस्तो लाग्छ । सय वर्षको घडीमा भने आज उहाँले फोटो खिच्ने अनुमति दिनुभयो, त्यही फोटो हो यो उहाँको ।
प्रायः लमजुङबाट काठमाडौं तीर्थयात्राका रूपमा आउने, विद्यार्थी, बिरामीको उपचारमा आउनेहरू नरकान्तका फुपू र नरकान्तका घरमा थुप्रिएका हुन्थे भन्ने बुझिन्छ । त्यसपछि आफ्नो गाँसवास मिलाएर अन्यत्र सर्दथे । साहित्यकार मोहन कायस्थ भन्नुहुन्छ, “काठमाडौं पहिले पढ्न आउँदा सातदिन उहाँकहाँ बसेपछि बल्ल डेरा खोजेर बसेँ ।” खर्च सकिन्थ्यो अनि नरकान्तकहाँ विद्यार्थी पुग्थे र राहत पाउँथे । उहाँले लगाएका यस्ता गुन कति छन् कति लमजुङे र तनहुँले हृदयमा ।
यही २०७७ कात्तिक महिनाको २४ गते दिउँसो तीर्थ स्मृति प्रतिष्ठानको पहिलो अङ्क ‘च्यवन–घट्ट’ दिन र उहाँकै हातबाट लोकार्पण गर्न उहाँ आपैंmले २०२८ सालमा बनाएको लैनचौरस्थित घरमा पुगेँ । पुग्नुअगावै उहाँका कनिष्ठ सुपुत्र शारदाकान्त अधिकारीलाई फोन गरेर अनुमति लिएको थिएँ । पातलो सफा दोलाइँ ओढेर पन्था कसेको आसनमा उहाँलाई भेटेँ । अभिवादन गरेँ । उहाँका अगाडि गीताका किताबका खात र गोरखापत्र थियो । आठ कक्षा पढ्दापढ्दैको अवस्थादेखि गीता पाठ गर्न र एस.एल.सी. परीक्षा १९९४ सालमा दिएपछि उहाँले गोरखापत्र पढ्न थाल्नुभएको रहेछ । २००० सालदेखि त निरन्तर उहाँ गोरखापत्रको ग्राहक बन्ने क्रम पनि जारी रहेछ । गोरखापत्रको ग्राहक बनेको नै अहिले ७७ वर्ष भएछ ।
क्षितिजचन्द्र चक्रवर्ती त्यसबेला त्रिचन्द्र कलेज र दरबार हाइस्कूलमा अङ्ग्रेजी पढाउँथे । अङ्ग्रेजी विषयमा आफ्नो कति नम्बर आयो होला भनेर सोध्ने हिसाबले पछि लाग्नुभएका नरकान्त गुरुसँगै पशुपति पुग्नुभएछ । गुरुले सन्तमहन्त भेट्दा तिनका घतिला बातचित सुन्ने मौकासँगै प्रसाद पनि मिलेछ । फर्कंदा गीता निरन्तर अध्ययन गर्नू भन्ने गुरुआज्ञालाई शिरोपर गरेर आजपर्यन्त उहाँको गीताध्यायन जारी रहेछ । उहाँका माइला बा पं.कोमलनाथको प्रसिद्ध कोमल–गीताको प्रभाव पनि अवश्य उहाँमा प¥यो होला ।
निजामती सेवाबाट विश्राम लिएपछि शिवमहिम्न स्तोत्रको सरल र सटीक भावानुवादसहित, भक्ति–सूत्र, स्तुति पुष्प, पतञ्जलि योगसूत्र, अमरापुरीभन्दा माथिको नन्दन वन र गीता मैले बुझेका केही कुरा जस्ता आध्यात्मिक रसले भरिएका आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशमा ल्याउनुभएका उहाँलाई अनि दिलैदेखि नरकान्त भन्न मन लाग्छ । साँच्चै नै उहाँ नरका कान्त हुनुहुन्छ ।
उमेर ७७ वर्ष पुग्दा नेवार समुदायमा ‘जङ्को पूजा’ गरिन्छ । ब्राह्मण–क्षेत्री समाजमा पनि सहस्र चन्द्रदर्शन गरेपछि चौरासी पूजन गरिने चलन छँदैछ । नरकान्तका सन्दर्भमा गोरखापत्र संस्थानको तर्पmबाट सम्झनुपर्ने यो वर्ष विशेष पर्व वर्ष देखिन्छ । अर्कोतिर १०१ वर्ष भनेको पनि ख्याल होइन सौभाग्य हो । त्यसैले यस तीर्थ स्मृति प्रतिष्ठानले दिएको सम्मानसूचक उपाधि शताब्दी निष्कलङ्क राष्ट्रसेवक नरकान्त अधिकारी हामीलाई सान्दर्भिक लाग्छ ।
वि.सं. २००० सालदेखि निजामती सेवामा प्रवेश गरेर निरन्तर २०४७ सालसम्म राष्ट्रसेवक बनेको झन्डै आधा शताब्दीको समय अधिकृतदेखि मन्त्रालयको सचिव, महालेखा परीक्षक (संवैधानिक अङ्ग प्रमुख) बन्न सफल उहाँ कहिले कतै घुसखोरी, कामचोरी, ढिलासुस्ती एवं अवगालको कलङ्क नटाँसिएकोले साँच्चै नै निष्कलङ्क राष्ट्रसेवक अनुभूति हुन्छ । उहाँको निष्कलङ्क छविलाई याद गर्दा ‘घुस खान्या र दिन्या’ दुवै मुलुकका शत्तूर हुन् भन्ने बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेशलाई अक्षरशः उहाँले पालन गर्नुभएको देखिन्छ ।
गण्डकीका राष्ट्रकवि माधवप्रसाद घिमिरे, हर्क गुरुङ, सरदार यदुनाथ खनालजस्ता उत्कृष्ट व्यक्तिहरूको गरिमामय सूचीमा अङ्कितयोग्य उहाँलाई निजामती सेवामा कर्मचारीका नमुना पात्रका रूपमा लिन सकिन्छ । उहाँको सरल र सङ्क्षिप्त जीवनी छापेर प्रत्येक कर्मचारीका हातमा पु¥याउन सके भ्रष्टाचारप्रति शूून्यसहनशीलता कायम गर्न मद्दत पुग्ने थियो कि ? यसबाट नरकान्तलाई सम्मान हुने र यस्तो सम्मान न्यायोचित पनि हुनेथियो । साँच्चै नै उहाँ राष्ट्रसेवामा संलग्न रहँदासम्म मात्र होइन आजपर्यन्त निष्कलङ्क, शान्त र स्थिर देखिएर स्वनामधन्य भई नै आफ्नो नामलाई सार्थक तुल्याउनुभएको छ । यसै सन्दर्भमा उहाँसँग जोडिएका कैयौं मिथक पनि बनेका छन् । हामी २०२८ सालतिर विद्यार्थी कालमा लैनचौर रजकका घर डेरा लिई बसेका थियौँ । हरेक दिन बिहान ७ बजेतिर उहाँ स्नानका निम्ति तामाको लोटा, सफा सेतो रुमाल, गन्जी धोती लिएर आउनुहुन्थ्यो । उही समय हरेक दिन निरन्तर स्नानका लागि धारामा देखेपछि हामी पनि बिहानको ७ बज्न लागेपछि नर–स्नान भन्थ्यौं र जागृत हुनुपर्छ भन्ने सन्देश प्रवाहित गथ्र्यौं ।
एकपटक नरकान्त अधिकारी अर्थसचिव भएको बेला साढे दुई किलो असला माछा बोकेर सायद पदोन्नति चाकडीका लागि एकजना कर्मचारी उहाँको घरमा आएछन् र माछाको झोला कोसेलीको रूपमा छोडेछन् । कसले के ल्यायो भनेर बेलुकी सोधखोज भएछ क्यार । भोलिपल्ट अफिस समय प्रथम सत्रमा तिनै कर्मचारी मन्त्रालयमा पुगेर सचिव नरकान्तलाई भेट्नका लागि नाम पिए कक्षमा टिपाएर उत्साहका साथ भेटका लागि प्रतीक्षामा बसेछन् । केहीबेरमा नरकान्त अधिकारी निस्केर ‘आउ त‘ भनी उनलाई सङ्केत गरेर आफ्नो मोटरमा राखी घरमा पु¥याउनुभएछ र भन्नुभएछ । त्यो छोडेको आफ्नो झोला लिएर गइहाल्नुहोस् । चूँ नबोली बिचरा ती कर्मचारी माछाको झोला बोकेर पश्चात्ताप महसुस गर्दै आफ्नो बाटो लागेछन् ।
यस्ता अनेक घटनाका कथा उपकथा उहाँका सन्दर्भमा जोडिएर आएका पाइन्छन् । तडकभडक विहीन उहाँको सादा जीवनशैली पनि अनुकरणीय छँदैछ । आत्मावलम्बी भई पढ, लेख र चिन्तनमनन गर भन्ने सन्देश उहाँ आफ्नो आवासमा पुग्ने जो कोहीलाई पनि सम्झाउनुहुन्थ्यो । म पनि २०२८ सालदेखि उहाँको सङ्गतमा छु । उहाँको हितोपदेशको राम्ररी अनुसरण गर्न नसक्दा सानामा दुई सुपुत्र इ.रमाकान्त अधिकारी र शारदाकान्त अधिकारीमध्ये कनिष्ठ पुत्र शारदाकान्तले बाबाको सजायको भागिदार हुनुपरेछ । यिनै शारदा बाबाका सङ्गतले अहिले अत्यन्त मर्यादित, अनुशासित, संयमित र शालीन देखिनुहुन्छ । पितृसेवा गर्ने सौभाग्य पाउनुभएको छ । ‘थोरै बोल मीठो बोल’ भन्ने सूत्रलाई अक्षरशः पालन गरेर अध्ययन, मनन र अनुशीलन गरिरहेको भेटिनुहुन्छ ।
सङ्गतमा पुगेका, पढेका, खारिएका जति पनि मानिस छन् तिनीहरूमा नरकान्तका मुहारबाट छुटेका कान्ति कणको प्रभावले शालीन स्वभाव बनाएको पाइन्छ । यो नै उहाँको महानताको परिचय हो । राष्ट्रले जति चिन्यो हिजो चिन्यो होला । उहाँलाई आज पनि चिन्ने, उहाँको जीवनी प्रकाशमा ल्याएर राष्ट्रसेबक कर्मचारीलाई वितरण र अनुसरण गराउन सान्दर्भिक हुने देखिन्छ । उहाँको सरल, सादा र मर्यादित जीवनी पढेर सच्चा राष्ट्रसेवक बन्न र बनाउन सहयोग पुग्न सक्थ्यो भने नमुनायोग्य एक राष्ट्रसेवकको सम्मान पनि हुने थियो भन्ने लाग्छ ।