शनिवार |

उज्यालोको मृगतृष्णा (कथा)

नम्रता भण्डारी

झिसमिसे बिहानीमा गल्र्यामगुर्लुमको चर्को आवाजले मस्त निद्राकी जुनकिरी झसङ्ग हँुदै बिउँझी । ऊ अत्तालिँदै
‘यो के भयो’ भन्दै एकोहोरो कराइरहेकी थिई । यत्तिकैमा ‘ए बूढी बाहिर निस्की, किन भित्र बसेर कराइरहेकी’ भन्दै शान्ताराम चिच्याउँछ । ‘आएँ आएँ’ भन्दै जुनकिरीले भित्रैबाट जबाफ फर्काउँछे । जुनकिरी हतार हतार घरबाहिर निस्कन्छे र एकाएक हिजो राति हावाहुरीसहित अविरल गतिमा परेको पानीले घरको पश्चिमतर्फको बार्दली भताभुङ्ग पारेको देखेपछि ऊ औधी अत्तालिन्छे ।
अब के गर्ने ? कसरी बनाउने ?– शान्ताराम भने एक्लै फत्तफताउँछ । कोरोनाको माहामारी साम्य नहुन्जेल कामबाट तलब नआउने वास्तविकताले उसलाई अठ्याउँछ । हिजोसम्म रातो माटोले लिपेर चिटिक्क पारेको मन्दिर जस्तो प्यारो घर भत्केको देखेर उसको मनमस्तिष्क धरमराएको छ, लगलग काँपेको छ । के आइलाग्यो यस्तोे विपद परिवारलाई सम्झँदै ऊ छट्पटिन्छ ।
बिहानैदेखि गल्र्यामगुर्लुमको चर्को आवाजले वस्तुहरू डराएर ब्याँ–ब्याँ गरिरहेका थिए । गोठमा बाँधिराखिएका गाईवस्तुको रोदन सुन्न नसकेपछि जुनकिरी डोको, नाम्लो र हँसिया बोकेर घाँस काट्न साहिँली दिदीसँग निस्किन्छे । तीन दिनदेखि अविरल गतिमा पानी परिरहेकाले गाईवस्तुलाई घाँसको जोहो गर्न हम्मेहम्मे परेको छ ।
‘बाहिरको अवस्था झन् झन् बिगँ्रदै गएको छ रे । भोलिदेखि यता नआउनू, हिँडडुल पनि धेरै नगर्नू यो सङ्कटको बेला’, घाँस काट्न गएको बेला काइँलादाइले भने । यो सुनेर कान्तिविहीन मुहारमा एकाएक चिन्ता बढ्यो । अफ्ठ्यारो समय कहिले सकिने हो, आफ्नो समस्या कहिले सकिने हो, केही टुङ्गो नलागेपछि ऊ पनि चिन्तित र गम्भीर भई ।
माइक्रोको साहुले गाडी हाँकेको छ महिनाको पैसा दिन बाँकी रहेकोले ऊ स्याँस्याँ र फ्याँफ्याँ गर्दै साहिँली दिदीसँग त्यहाँ पनि पुगी । तर साहुनीले कौसीमा बसेर हावा खाँदै माथिबाट सुनाई, ‘मेरो माइक्रोमा काम गरेर तेरो बूढोले कमाएको पैसा अहिले छैन, पछि दिन्छौँ ।’ उसको व्यथा‌ र छटपटी फेरि एकाएक बढ्यो । ‘काम सकिएपछि किन दिनुपथ्र्यो र ! बेलामा कहिल्यै दिँदैन यो लोभी साहुसाहुनीले’, रिस पोख्दै जुनकिरी मनमनै फतफताउँछे । चिन्तै चिन्ताले ऊ गलिसकेकी थिई । उदासीमा ऊ बेरिँदै गएकी थिई र दुब्लाएर जिउमा हड्डी मात्र देखिन्थ्यो । सहन गाह्रो भएछ । अनि हिँड्न सक्दिनँ दिदी भन्दै ऊ छ महिने पेट लिएर त्यहीँ टुसुक्क बस्छे । ऊ घाँसको जोहो गर्ने ठाउँमै निदाउँछे ।
‘धेरै चिन्ता लिनु पर्दैन । धेरै दुःखी हुनु पनि पर्दैन । हामी छौँ नि, माया गर्ने, साथ दिने’, साहिँली दिदीले सम्झाई । साहिँली दिदीको ढाडसले ऊ पीडालाई अँगालेर धेरै बेर रोई र भनी– ‘सुख त आफ्नो पोल्टामा छँदै थिएन, त्यै पनि अभावै अभावमा जसोतसो दुई छाक खाएर दुःखमा हुर्किएका हामीले आउने बच्चालाई के खुवाएर, कस्तो न्यानो कपडा लगाएर हुर्काउने भन्ने मात्र छटपटी छ ।’
हिँड्दा हिँड्दै छुट्टिने बेलामा घर नजिकै आइपुगेपछि सहिँली दिदीले भोलिबाट घाँसमै ल्याइदिन्छु, घरमै बसेर काम गर्नू भनिन् । धेरै भारी सामान पनि नउठाउनू, पँधेरोबाट पानी ल्याउन देवरबाबुलाई लगाउनू भनेर पनि सम्झाइन् । साहिँली दिदीको वचन सुनेर एकाएक जुनकिरीका उदास र टोलाएका आँखामा केही चमक भने देखियो ।
तर आँगनमा पुग्न नपाउँदै आफ्नो घर भत्किएको देखेपछि छट्पटिएर जुनकिरी यता र उता गर्न थाली । शान्तारामले उसलाई गहिरोसँग नियाल्यो र नजिकै गएर उसकै छेउमा टुसुक्क बस्यो । तीन महिनाभन्दा बढी भइसक्यो । ऊ काममा जान पाएको छैन । घरभित्रै बन्दी भएर बस्नुपरेको छ लकडाउनको अवधिभरि । एकहोरो टोलाएको आफ्नो बूढोलाई देखेपछि जुनकिरीको डर र चिन्ता फेरि ह्वात्तै बढ्यो । एकाएक पेटको बच्चाले भित्रबाट लात्ती हानेपछि ऊ झसङ्ग भई ।
‘तपाईं आज पनि दिनभरि घरमा नै बस्ने हो’, बूढोलाई हकार्दै जुनकिरी चिच्याई । चुस्स अनुहार, झुस्स फुलेका दारी र लामो कपालले गर्दा २२–२३ वर्षकै उमेरमा पनि उमेर गइसेकेको मानिस जस्तो देखिन्थ्यो शान्ताराम । शरीरमा कुनै शक्ति तथा ऊर्जा थिएन । केके सोच्दै बस्थ्यो । तनावले कहिले यता र कहिले उता गथ्र्यो । भत्किएको घर मात्र बनाउन पाए पैतालामुनिको जमिन नभासिने कुरामा ऊ प्रष्ट थियो । तर आफ्नो नयाँ सन्तानलाई कहाँ राख्ने, के गर्ने भन्ने कुराले ऊ छटपटियो । त्यहाँबाट जुरुक्क उठेर दुई गिलास पानीले आफ्नो प्यास मेटायो । उसलाई खलखल पसिना आयो । फेरि केहीबेर घरको आँगनमा चुपचाप लागेर बसेपछि धेरै हिम्मत जुटाएर बारीको माटो केलाएर मसिनो पा¥यो र साना साना बाँसका सिटा काटेर तिखा¥यो । अनि घरैबाट काइँला दाइलाई बोलाएर उसको सहायताले घरको कामलाई निरन्तरता दियो । घरको काम सकिएपछि उसले केही नबोली जुनकिरीतिर हे¥यो र मुसुक्क हाँस्दै भन्यो– ‘ए जुनकिरी, घर बनाएँ मैले ।’ बूढोको कुरो सुनेर जुनकिरी पनि दङ्ग परी । त्यो दिन खुसी हँुदै जुनकिरीले हतार हतार दाउराको बिटो खोली । चुल्होमा आगो बाली । अनि फापरको ढिँडो मस्काई र गुन्द्रुक भुलुक्क उमाली । खाना खान छिटो आउनु है भन्दै उसले पिँढीबाटै बेलाई । खाना खाउन्जेलसम्म ऊ केही बोलिनँ । खाना खाएर सकिनेबित्तिकै भन्छे– ‘तपाईं पनि सम्पत्ति कमाउन सहर पस्नु न । अनि धेरै धन कमाएर ल्याउनु न ।’ अलि परबाट एक हुल मानिस सहरतिर लागेको देखेर उत्सुक हुँदै जुनकिरीले सोधी, ‘तपाईंहरू पनि कामको खोजीमा हिँडेको हो ?’ ‘अँ हो, तपाईंको पनि कोही जाने भए छिटो हिँड्नोस्’, हुलबाट कसैले भन्यो । यस्तो कुरा सुन्नेबित्तिकै ज¥याकजुरुक उठेर शान्ताराम हुलको पछि लाग्यो ।
शान्ताराम सहर पुग्यो । सहरमा उसले केटाकेटी च्याप्दै गरेका थुप्रै मजदुर देख्यो । निरास अनुहारका थकित, गलित र जिङ्ग्रिङ्ग परेका ती ख्याउटे मजदुरहरू भयभीत र त्रसित देखिन्थे । तिनीहरूको कसैको खुट्टामा चप्पल थिएन । न त कसैको सर्टमा टाँक थियो । कसैको कुर्कुच्चाबाट रगत बगिरहेको थियो । तिनीहरूले लगाएका लुगा पनि ठाउँठाउँमा च्यातिएका थिए । शान्तारामले अनायासै सोच्यो, ‘म पनि एक, दुई हप्तापछि यी मान्छे जस्तै हुन्छु ।’ ऊ टोलाएर ती मजदुरलाई हेरिरह्यो ।
यहाँ काम पनि छैन, खाने कुराको जोहो गर्न पनि गाह्रो, पसल सबै बन्द छन् । अनि एक्कासि ऊ चिच्यायो– ‘हामी जस्तो निम्न वर्गलाई कसले हेर्ला ? हाम्रो घर कसरी चल्ला ? चुल्हो कसरी बल्ला ? कसैलाई मतलब छैन ? खान नपाएका बालबच्चादेखि सुत्केरी महिलासम्मका रोदनले यहाँ कसैलाई पोल्दैन ? सेवा सुविधा पहँुचवालाले मात्र पाएका छन्, हामी जस्तो निमुखा त ट्वाल्ल हेरिरहेका छौँ मुकदर्शक भएर ।’ तर जति चिच्याए पनि उसको कुरो सुनिदिने सहरमा कोही थिएन ।
बाहिर अँध्यारो भइसकेको थियो । जुनकिरीको ज्यान थाकेर लखतरान भएको थियो । किन यति ढिलो गरेको होला भन्ने सोच्दै सहरबाट बूढाले खानेकुरा ल्याइदिने आशमा जुनकिरी बसेकी थिई । बाटो हेर्दा हेर्दै ऊ पिँढीमै निदाई । पिँढीमा सुतेकी जुनकिरीलाई बाटो छोड भन्दै शान्ताराम बढो चिन्तित र निरास मुद्रामा घरभित्र पस्यो । जुनकिरी सँगसँगै पछि लागी । तर खानेकुरा त कहाँबाट पस्किनु उसले, दिनभरि लखतरान भएको शरीरसँग पस्कियो अभावको जिन्दगी । ए साँच्चै भोलिबाट म पनि बिहानै काम खोज्न जान्छु, तँ पनि हिँड्, छोटो बाटो जाउँला । बिहानको खाना तँ पनि उतै खानू, पेटको बच्चालाई पनि राहत मिल्छ । शान्तारामको कुरा सुन्नेबित्तिकै जुनकिरीले मुहार मलिनो बनाई । आशा र निराशा त हामी जस्ता वर्गका लागि सङ्घर्ष हो भन्दै जुनकिरीलाई उसले पुलुक्क हे¥यो र खिस्स हाँस्यो । अनि फेरि पस्कियो भोक र प्यासको घैँटो । घरमा पैसाको नाममा फुटेको कौडी छैन । भएको अन्नपात पनि डेढ महिनामा सकियो । उसले सुस्केरा हाल्दै मुख खोल्यो– के गर्ने त अब । झर्कंदै रिस पनि पोख्यो ।
शान्तारामले जुनकिरीलाई सम्झाउने कोसिस पनि ग¥यो– ‘किन सानो मन पार्छेस् तँ ? अहिले संसारलाई नै अप्ठ्यारो पारेको छ, पापी कोरोनाले । ढुङ्गा कुट्ने, ठेलागाडा चलाउने, इँटा बोक्ने, बालुवा चाल्ने सबै जसोतसो घिस्रिँदै भ्रममा बाँचिरहेका छन् । जिम्मेवार भन्नेहरू कानमा तेल हालेर नाचेकै छन्, उनीहरूको दाउपेच चलेकै छ तर हाम्रो भान्सा र जीवन मात्रै नबलेको त हो ।’ खान नपाएर आत्महत्या गर्नेको समाचार सुन्दा ऊ झस्किन्छ । अरू पनि आफूहरू जस्तै अत्ताल्लिएका होलान् ? तर अब सधैँभरि कोठाभित्र मात्र बसेर कति दिन चल्छ ? त्यसमाथि घरमा दुई छाक पेटभरि खाना खुवाउन नसक्दा पेट बोकेकी श्रीमतीको मनस्थितिमा कस्तो असर पर्ला– शान्ताराम मनमनै सोच्छ । पेटको भोक मार्न ऊ अठोटका साथ घर बाहिर निस्क्यो । सडकमा ऊ जस्ता हज्जारौँ गरिब, मजदुर सँगसँगै घरबाट बाहिर निस्किएका थिए । बेरोजगार, पिछडिएका, अन्यायबाट पीडित, आवाज उठाउन नसक्नेहरू सहयात्री बन्दै अघि बढ्दै थिए । उनीहरूको यात्रा निरन्तर चलिरहेको छ ।