चाकु बनाउन चटारो
चाकु भन्नासाथ हामी टोखालाई सम्झन्छौँ । चाकुका लागि नेपालभर प्रसिद्ध ठाउँ हो यो । पहिले पहिले यो ठाउँमा प्रशस्त उखु खेती गरिन्थ्यो र त्यही उखुबाट चाकु बनाइन्थ्यो । शहरीकरण बढेसँगै अचेल यहाँ उखु खेती हुँदैन । उपत्यका बाहिरबाट सख्खर ल्याएर चाकु बनाइन्छ ।
चाकु बनाउन उखु पेलेर रस निकालिन्छ । रसलाई पकाएर सख्खर बनाइन्छ । अनि सख्खरलाई ठूलो भाँडामा दुई÷तीन घण्टा पकाइन्छ । यसरी पकाइएको सख्खर लेस्याइँदो भएपछि सेलाउन पाँच÷दश मिनेट राखिन्छ । सेलाएपछि तानिन्छ । यसरी तान्दा चाकुको आफ्नो रङ रातो निस्कन्छ । अनि खानका लागि तयार हुन्छ । अचेल सादा चाकु, स्पेशल चाकु, खुवा चाकु र सुत्केरी चाकु बनाइन्छ । पहिले पहिले चाकुलाई पातमा बेरेर बेचिन्थ्यो भने करिब ३५÷४० वर्षदेखि भने प्लास्टिकमा बेर्न थालिएको छ ।
टोखामा बनेको चाकु बेच्न यहाँका व्यवसायी खर्पनमा बोकेर असन, मरु, ललितपुरको मंगलबजार, भक्तपुरको थिमितिर जान्थे । कोही गोकर्ण साँखुसम्म पुग्थे । कोही गुर्जे भञ्ज्याङ हुँदै नुवाकोट र रसुुवा लाग्थे । यसरी गरिने चाकुको व्यापार अहिले देशका विभिन्न जिल्लामा मात्र होइन, विदेशमा पनि पुगेको छ । टोखाका व्यवसायीले ‘ब्रान्ड’ नै राखेर चाकु विदेश निर्यात गर्न थालेका छन् ।
माघे सङ्क्रान्ति चाड घिउ–चाकु खाएर मनाइन्छ । यस चाडलाई नेवारहरूले ‘घ्यः चाकु सँल्हु’ भन्छन् । त्यसैले माघे सङ्क्रान्तिको यो सँघारमा चाकु बनाउने चटारो छ । योःमरीमा पनि चाकु हालेर बनाइने भएकोल योःमरी पुन्हि पनि चाकु खपत हुने अर्को चाड हो । शरीरलाई चिसोबाट बचाएर पौष्टिक तत्व प्रदान गर्ने भएकोले यो परिकारको विशेष महत्व छ ।
तस्बिर : कविता थापा