शनिवार |

अनुसन्धान परम्परामा थपिएको सिँढी

तुलसीहरि कोइराला

केदार भट्टराई पेसाले पत्रकार भए पनि नेपाली भाषा, साहित्य र अनुसन्धानका क्षेत्रमा केदार वाशिष्ठका नामले क्रियाशील हुनुहुन्छ । नेपाली भाषा र वर्णविन्यासका क्षेत्रमा हुँदैआएको विवादमा उहाँ मध्यममार्गीको रूपमा कलम चलाउँदै आउनुभएको छ । उहाँका फुटकर लेखनका प्रशस्तै आलेख आएका भए पनि पुस्तकाकाररूपमा भने प्रथम कृतिका रूपमा ‘नेपाल विद्या’ भर्खरै प्रकाशित भएको छ । नवीन सन्दर्भको अनुसन्धानमूलक यस ग्रन्थले नेपाली अनुसन्धान परम्परामा बेग्लै आयाम थप्न सफल हुने देखिन्छ ।
‘नेपाल विद्या’ भन्नाले सोझो अर्थमा नेपालसम्बन्धी सम्पूर्ण ज्ञान दिलाउने सामग्री भन्ने बुझाउँछ । विद्याका सम्बन्धमा पूर्वीय र पाश्चात्य दुवै परम्पराबाट विश्लेषण गर्दै लेखकले यस कृतिमा विद्यालाई विधाकैरूपमा स्थापित गर्नुपर्ने तर्क प्रस्तुत गर्नुभएको छ । विद्याको क्षेत्र व्यापक भएको र यो अङ्ग्रेजी शब्द ‘ओलाजी’ को समानार्थी भएको भन्दै भट्टराईले तुलनात्मक विश्लेषण गर्नुभएको छ । ‘विद्या नभएको मान्छे पशुतुल्य हुन्छ’ भन्ने भर्तृहरिको नीतिशतक र ‘विद्या धनम् सर्व धनम् प्रधानम्’ अर्थात् सबै धनमध्येको श्रेष्ठ धन नै विद्या हो भन्ने महिमाबोध गरिएअनुसार ज्ञान, बुद्धि र विवेकको सम्मिश्रण नै विद्या हो । पूर्वीय अध्ययन परम्परामा उल्लिखित शास्त्र विद्या, शस्त्र विद्या, ज्योतिष विद्या, तन्त्र विद्या, यन्त्र विद्या, गन्धर्व विद्या, स्थापत्य विद्या, चोर विद्या, असुर विद्यालगायत १८ प्रकारका विद्याले समग्र ज्ञान–विज्ञानको क्षेत्रलाई समेटेको देखिन्छ । यिनै खुट्किलामा टेकेर वाशिष्ठले नेपाल विद्यामा आफ्नो अध्ययनको आधार, स्रोत, विवादका कुरा, विवाद निरूपणका कुरा र नेपाललाई विश्वसामु परिचित गराउनका लागि नेपाल विद्यालाई विधागत मान्यता दिनुपर्ने धारणा अघि सार्नुभएको छ । देशीय विद्याका सन्दर्भमा लेखकले नेपालको ऐतिहासिक, सामाजिक, धार्मिक, भौगोलिक, सांस्कृतिकलगायतका वैभवको ज्ञान दिलाउने विधालाई नै नेपाल विद्याको रूपमा स्पष्ट पार्नुभएको छ । यस अर्थमा हेर्दा ‘नेपाल परिचय’ को रूपमा पढिँदै आएको सामग्रीलाई नै समग्रमा ‘नेपाल विद्या’ भन्न सकिने आधारहरू यस ग्रन्थबाट स्पष्ट हुन्छन् । तर यहीँनेर पाठक अलमल हुने सन्दर्भ पनि लेखकले जोड्नुभएको छ । ‘विद्या अध्ययन नभएर ज्ञान हो’ भनिएको छ । तर ज्ञान प्राप्तिको आधार के त ? बिना अध्ययन ज्ञान प्राप्ति सम्भव छ कि छैन ? भलै पूर्वीय मान्यता र गुरुकुलीय परम्परामा योग, तप, ध्यान आदिबाट ज्ञान प्राप्ति हुन्थ्यो । त्यस्तै, यस पुस्तकको महìवपूर्ण अंशका रूपमा रहेको लुम्बिनी र बुद्धसम्बन्धी खण्डले सिद्धार्थ गौतम बुद्धको ज्ञान प्राप्तिको सेरोफेरोलाई अध्ययनको मूल खण्ड बनाएको छ र बुद्धलाई एकाएक ज्ञान प्राप्ति भएको थियो भनिन्छ तर अबको समयमा यस्तो हुन सम्भव छैन ।
प्रस्तुत ग्रन्थमा जम्मा छ अध्याय रहेका छन् । प्रथम अध्यायमा नेपालीको विद्या शब्द र अङ्ग्रेजीको ओलाजी (ययिनथ)को सेरोफेरोमा रहेर विश्लेषण गरिएको छ । जसमा १८ विद्या लगायतका ज्ञान आर्जनका स्रोतको विश्लेषणका साथै ओलोजी प्रत्यय लागेर बनेका शब्दहरू–बायोलोजी, जिओलोजी, एन्थ्रोपोलोजी, त्रिमिनोलोजी, साइकोलोजी, आर्कियोलोजीलगायत ज्ञानका बृहत् क्षेत्रको उल्लेख गरिएको छ । त्यसैगरी, दोस्रो अध्यायमा विधागत आधारमा देशीय विद्याको चर्चा गरिएको छ । पूर्वीय र पाश्चात्यको शब्दकोशीय अर्थसहित भाषिक, धार्मिक तथा देशीय विद्याको चर्चा गरिएको छ । देशीय विद्याको निचोडका रूपमा लेखकले ‘कुनै देशको समग्र पक्षका बारेमा अन्तरविषयक र बहुक्षेत्रीय स्रोतहरूको उद्घाटन गर्दै देशभित्रै वा बाहिरबाट समग्रमा गरिने अध्ययन नै देशीय विद्या हो । देशीय विद्याले वर्तमानलाई केन्द्रमा राखेर विगतको अध्ययनलाई आत्मसात् गर्दै भविष्यको आकलनका लागि सहयोग गर्दछ’ भन्ने निचोड प्रस्तुत गर्नुभएको छ । विद्याको कुनै सीमा नरहेकोले देशीय विद्या भन्नासाथ तत्देशको सीमाहीन अध्ययन भन्दै नेपाल विद्या भन्नु नेपालको सीमाहीन अध्ययन हो भन्ने बुझ्नुपर्ने लेखकको तर्क रहेको छ ।
तेस्रो र चौथो अध्याय पनि दोस्रो अध्यायसँगै सम्बन्धित छन् । जसमा देशीय विद्या अध्ययन र देशीय विद्याका सैद्धान्तिक आधार केलाइएको छ । पुस्तकको नामकरण गरिएको ‘नेपाल विद्या’ पाँचौँ अध्यायमा समेटिएको छ ।
कुनै पनि देश विश्व समुदायबाट अलग छैन । विश्वव्यापीकरणको प्रभावले टाढा र नजिक भन्ने पनि हराइसकेको छ । यस्तो अवस्थामा हरेक देशको देशीय ज्ञानको विश्वव्यापीकरण गरिनु आवश्यक छ । केही विदेशीले नेपालसम्बन्धी अध्ययन गरेर पुस्तकाकार रूपमा नेपाललाई विश्वमा पु¥याएका छन् । नेपालकै केही अध्येताले आफू विदेशमा रहँदाको अवस्थामा नेपालसम्बन्धी ज्ञान दिलाउने उद्देश्यले पुस्तक प्रकाशित गरेर नेपालका बारेमा जानकारी गराउने काम पनि गरेका छन् । तर नेपालमै चाहिँ ‘नेपाल विद्या’ को बीजारोपण भएको समय खोजी गर्दै लेखकले वि.सं. १९५८ वैशाख २४ गते प्रकाशित गोर्खापत्रलाई मान्नुभएको छ । जसमा विद्यासम्बन्धी प्रसङ्ग उल्लेख भएको छ ।
विभिन्न गुरुकुलीय शिक्षा, विदेशीहरूले गरेको नेपालको संस्थागत अध्ययन र विदेशीको अध्ययन कतिपय अवस्थामा पूर्वाग्रही भएको समेत वाशिष्ठले उल्लेख गर्नुभएको छ । नेपाल विद्याको निचोड प्रस्तुत गर्दै उहाँले लेख्नुभएको छ– नेपाल विद्याको अध्ययन वा अनुसन्धान नेपालभित्र वा बाहिर, नेपाली वा विदेशी जो कोहीबाट गरिएको हुनसक्छ । नेपाललाई केन्द्रमा राखेर सम्बन्धित विषयको बहुस्रोतका आधारमा गरिने वस्तुनिष्ठ सत्यापन नै नेपाल विद्या हो । सैद्धान्तिक पर्यावरण भनिएको छैठौँ अध्यायमा सारसङ्क्षेप र सन्दर्भसूची समेटिएको छ । नेपाल विद्याको निष्कर्ष प्रस्तुत गर्दै वाशिष्ठले लेख्नुभएको छ– मूलतः नेपाललाई केन्द्रमा राखी स्वतन्त्र, समृद्ध र समुन्नत नेपालको पक्षमा लाग्न सिकाउने अध्ययनको विद्या नै नेपाल विद्या हो ।
भाषा, संस्कृति, भूगोल, इतिहास, धर्म, जातीय परम्परा, परम्परागत ज्ञान, मनोविज्ञान, वातावरण, अर्थ व्यवस्था, वाणिज्य व्यापार, अन्तर्राष्ट्रिय सम्बन्ध तथा परराष्ट्र नीतिजस्ता यावत् विषयको विषयपरक तथा संयोजित बहुस्रोतको अध्ययन नेपाल विद्याका लागि महìवपूर्ण हुने देखिन्छ । यस अर्थमा हेर्दा विश्व मानचित्रमा एउटा स्वतन्त्र र सार्वभौम देश कहलिनका लागि आवश्यक पर्ने तìवहरूको पूरापूर जानकारी गराउने सामग्रीको एकीकृत रूप नै नेपाल विद्या हो । सीधा अर्थमा भन्नुपर्दा नेपाल परिचयको रूपमा अध्ययन गरिँदै आएका सामग्री नै नेपाल विद्याका स्रोत हुन् भनेर पनि बुझ्न सकिन्छ ।
नेपाल विद्यालाई लेखकले विविध खण्डमा विभाजन गर्नुभएको भए पनि अध्येताले यसलाई मूलतः दुई खण्डमा पाउनेछन् । पहिलो खण्ड सिद्धान्त खण्ड र दोस्रो खण्ड प्रयोगात्मक खण्ड । नेपाल विद्या प्रयोग–१ र २ गरी यसका दुई विषय क्षेत्र समेटिएका छन् । जसअन्तर्गत पहिलो खण्डमा लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन रहेको छ भने दोस्रो खण्डमा सिला खोजेको भाषा । पुस्तकका अधिकांश पृष्ठ यिनै खण्डले भरिएका छन् । नेपाललाई विश्वसामु चिनाउने मूल आधारमध्ये गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रमुख आधार हो । तर यही तथ्यगत विषयलाई पनि हामीले विश्वमा स्थापित गराउन सकिरहेका छैनौँँ । लुम्बिनीको उत्खननकै बेलादेखि भारतले अनेक कृत्रिम कुरा निकालेर ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भनेजस्तो गरिरहेको सन्दर्भलाई लेखकले जरैदेखि उठान गरेर पुस्तकलाई खोजमूलक बनाउनुभएको छ । जर्मन नागरिक पुरातìवविद् डा. एलोइस एन्टोन फुहररले सन् १८९६ मा खड्गशमशेरको सहयोगमा लुम्बिनीको उत्खनन गरी बुद्ध जन्मस्थल लुम्बिनी नै भएको पत्ता लगाएका थिए । यस तथ्यलाई तत्कालीन बेलायती साम्राज्यको उपनिवेश भारतले बेलायती बलमा मान्न तयार नभएर कृत्रिम आधारहरू खडा गरी भारतको पिप्रहवालाई बुद्ध जन्मस्थल कायम गराउन गरेका फर्जी प्रयत्नका दस्तावेज पुस्तकमा फुकाइएको छ । बुद्ध र लुम्बिनीको विषयलाई लिएर राजनीति र व्यापार भइरहेको छ भन्ने सन्दर्भ उठान गरी लेखकले त्यसलाई पुष्टि गर्न अनेक सन्दर्भहरू जोडेकाले पुस्तक पठनीय बनेको छ ।
नेपाल विद्या प्रयोग–२ मा ‘सिला खोजेको भाषा’ सबैभन्दा धेरै पृष्ठ ओगटेर रहेको छ । पछिल्ला केही वर्षयता नेपाली भाषा र वर्णविन्यासलाई लिएर धेरै विवाद र चर्चा–परिचर्चा हुँदैआएका छन् । यसै सन्दर्भलाई लिएर वाशिष्ठले नेपाली भाषाको उत्पत्ति, विकास, लेखन प्रचलन, व्याकरणका आधारलगायतका कुरालाई केलाएर उठाइएका केही तर्कहीन कुराको खण्डनसमेत गर्नुभएको छ । नेपाली भाषाको उत्पत्ति, विकास, छपाइको प्रचलन, व्याकरण तथा वर्णविन्यास लगायतका सन्दर्भमा यो खण्ड निकै खोजमूलक रहेको छ । नेपाल शब्दको उत्पत्ति, भूगोल, जातीय परम्परा, विदेशमा भएको नेपाली भाषाको खोज र अनुसन्धान लेखकले गरेको खोजपूर्ण अध्ययनका आधार सामग्रीहरूले पुस्तकलाई तथ्यपरक बनाएका छन् । चिनियाँ यात्रीका यात्रा वर्णन, ईस्वी सन् १७५९ मा युरोपमा देवनागरी लिपिमा नेपाली भाषाका सामग्री प्रकाशित भइसकेको, सन् १७५९ मा अल्फाबेटम ब्रह्मानिकम र सन् १७७१ मा अल्फाबेटम ब्रह्मानिकमको केपुचिन पादरीहरूको धर्म प्रचारसहितको प्रकाशनले नेपाली भाषामा छापा प्रकाशनको ऐतिहासिक जग बसाएको जस्ता कुराको प्रस्तुतिले पुस्तक थप पठनीय बनेको छ ।
नेपाली भाषामा स्थापित शिलालेखहरू, ताम्रपत्रहरू लगायत भेटेसम्मका स्वदेशी–विदेशी सामग्रीहरूको एउटै पुस्तकमा अध्ययन गर्ने अवसर प्राप्त हुनुलाई लेखकले गरेको अथक मिहिनेत मान्नुपर्छ । लेखकले लुम्बिनी र नेपाली भाषालाई नै मूल अध्ययन र खोजको आधार बनाउनुको मुख्य उद्देश्यचाहिँ स्पष्ट हुँदैन । यद्यपि लुम्बिनी, कपिलवस्तुको खोज र गौतमबुद्धको जन्मस्थलको विवाद निरूपणमा लेखकले सक्दो प्रमाण जुटाएर आफ्नो सह्राहनीय प्रयास देखाउनुभएको छ । नेपाली भाषाको विषयमा पनि अनेक विवाद खडा हुनु, कहिले पृथ्वीनारायणलाई त कहिले भानुभक्तलाई दोष दिनु, नेपाली भाषाको उत्पत्ति तथा विकासक्रमलाई स्पष्ट अध्ययन नगर्ने छिपछिपे विद्वान्का कारण र आँखा चिम्लिएर नेपाली भाषा र वर्णविन्यास परम्परामाथि प्रहार गर्नेहरूलाई दर्बिलो जवाफ पनि भएको छ यो पुस्तक । आगामी दिनमा नेपाल विद्याअन्तर्गत अन्य अध्ययन सामग्री पनि लेखकबाट आउनसक्नेमा आशावादी हुन सकिन्छ ।
नेपाल विद्या खोज तथा अनुसन्धानमूलक कृति भएकाले सामग्रीहरू अटेसमटेस छन् । जसले गर्दा कतैकतै तिथिमिति फरक पर्न गएको पनि छ । त्यस्तै, यदाकदा वाक्य दोहोरिनु र शब्द तथा वाक्य विन्यासमा असावधानी भएको पनि देखिन्छ । लेखक मूलतः पत्रकार भएको कारणले त्यसैअनुसारको सम्प्रेषणले गर्दा ‘देखिन्छ’ र ‘पाइन्छ’ को अधिक प्रयोग हुन गएको छ । समग्रमा भन्नुपर्दा ‘नेपाल विद्या’ लुम्बिनीमाथिको छिमेकी राजनीति र नेपाली भाषाको अध्ययन परम्परा जान्न चाहनेका लागि यथेष्ट सामग्री पस्किएर लेखकले ठूलै गुन लगाउनुभएको छ ।