मिथिला चित्रकला रङ्गाउँदै सुनैना
दीपक श्रेष्ठ
मिथिला क्षेत्रको विशिष्ट पहिचान हो– मिथिला कला । मिथिला कलामा मैथिल सभ्यता, संस्कृति र जीवनशैलीले खास अर्थ राख्छ । यद्यपि, शताब्दीऔँदेखि मिथिला क्षेत्रका घर–आँगनमा बनाइँदै आएको मिथिला कलालाई व्यवसायीकरण गर्ने उद्यमी कलाकार हुनुहन्छ– सुनैना ठाकुर ।
खासगरी महिलामाथिका आर्थिक, सामाजिक, यौनिक एवम् लैड्ढिक हिंसाविरुद्ध रङ र कुची चलाउने सुनैनाले जातीय एवम् क्षेत्रीय समनताका पक्षमा पनि आवाज उठाउँदै आउनुभएको छ । चेलीबेटी शिक्षा, महिला सशक्तीकरण, समानता, महिला अधिकारका पक्षमा आफ्ना कलालाई उभ्याउँदै आउनुभएकी सुनैनाले मिथिला कलालाई अन्तर्राष्ट्रियकरण गर्नसमेत योगदान पु¥याउनुभएको छ । जापान, अमेरिका, भारत, श्रीलङ्कालगायत मुलुकमा एक दर्जनभन्दा बढी एकल तथा संयुक्त चित्रकला प्रदर्शनी गर्नुभएकी सुनैनाले अन्तर्राष्ट्रिय मञ्चमा पुगेर मिथिला कलाबारे प्रवचनसमेत दिइसक्नुभएको छ । भर्खरैमात्रै जापानमा उहाँको दोस्रो एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । उहाँले ग्रामीण महिलाको घर–आँगन र विद्यालयमा समेत मिथिला कलाबारे ज्ञान बाँड्दै आउनुभएको छ ।
यतिबेला, तराई–मधेसमा भित्तेचित्रकला अभियानमा हुनुहुन्छ– सुनैना । विभिन्न गाउँबस्तीमा पुगेर सार्वजनिक तथा सरकारी भवनमा महिला हिंसा, महिला सशक्तीकरण, चेलीबेटी शिक्षालगायत सामाजिक विषयवस्तुमा केन्द्रित रही भित्तामा मिथिला चित्रकला बनाइरहनुभएको छ । यस कार्यमा महिला कलाकारलाई नै सहभागी गराइँदै आएको कलाकार सुनैना बताउनुहुन्छ । मिथिला क्षेत्रका महिलामा परम्परागत ज्ञानका रूपमा रहेको मिथिला चित्र कोर्ने सीपलाई व्यवसायीकरण गर्नसमेत भित्तेचित्रकलामा महिलालाई सहभागी गराएको भनाइ उहाँको छ । चाडबाडका बेला घर–आँगनमा धार्मिक एवम् सांस्कृतिक महŒवका चित्र बनाउने सुनैनाले मिथिला कलाको सहारामा बालविवाह, अनमेल विवाह, दाइजो, बोक्सी, जातीय विभेदजस्ता सामाजिक विकृतिविरुद्ध समाजमा सचेतनाको रङ भर्दै आउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानबाट राष्ट्रिय ललितकला पुरस्कार र ललितकला विशेष पुरस्कारसमेत प्राप्त गर्नुभएकी कलाकार ठाकुरले सन् २०१६ मा अमेरिकाको कमन ग्राउण्ड अवार्ड प्राप्त गरिसक्नुभएको छ । त्यस्तै नेपाल र भारतबाट अन्य एक दर्जन पुरस्कार प्राप्त गर्नुभएकी कलाकार ठाकुरले मिथिला कलालाई उद्यमका रूपमा विकास गरिरहनुभएको छ ।
मिथिला कलालाई व्यावसायिक रूपमा अगाडि बढाउने उद्देश्यले जनकपुरधामस्थित जानकी मन्दिरपरिसरमा सुनैना आर्ट ग्यालरीसमेत सञ्चालनमा ल्याउनुभएको छ । उहाँले टी–सर्ट, लेडिज ब्याग, कुर्थासुरुवाल, साडी, ब्याग, चप्पललगायत हस्तकलाका सामग्रीमा मिथिला कलाको प्रयोग गर्दै आउनुभएको छ ।
कलाकार सुनैना स्वयम्ले बालविवाह भोग्नुभयो । यद्यपि, शिक्षाप्रति घरपरिवारको सचेत र सकारात्मक धारणाका कारण विवाहपछि पनि अध्ययनलाई निरन्तरता दिन पाउनुभयो ।
सर्लाहीको सामान्य किसान परिवारमा जन्मिएकी सुनैनाले जलेश्वर–४, सुगागाउँमा विवाह गरी गएपछि मिथिला कलालाई अझ बढी परिष्कृत गर्ने मौका पाउनुभयो । उहाँ भन्नुहुन्छ, “परिवारको साथ र सहयोगविना विवाहपछि घुम्टो खोलेर बाहिर आउन कसरी सम्भव छ र ? यस अर्थमा म भाग्यमानी छु ।”