मूल्याङ्कनका कसीमा ‘जीवनको गोरेटो’
हरिहर खनाल
मान्छेको भौतिक अस्तित्व उदाएदेखि नअस्ताएसम्म अर्थात् जन्मेदेखि मृत्यु नभएसम्म रहन्छ । त्यस अवधिमा मानिसले उसको जीवनका अनेक आरोह–अवरोहलाई पार गर्दै आपूmलाई एउटा बाटोमा हिँडाएको हुन्छ । कति मानिसले त्यसरी आपूm हिँडेर आएको बाटोका अनेक समयका घटना, परिघटनाहरूलाई थरीथरीका माध्यमहरूद्वारा अभिव्यक्त गरेका हुन्छन्, कतिका भने अव्यक्तरूपमा त्यत्तिकै सुसुप्त अवस्थामा रहन जान्छन् ।
अभिव्यक्तिका अनेक माध्यम छन् । बोली, लेखन, गायन, सङ्गीत, दृश्यचित्र अभिव्यक्तिका तिनै विविध माध्यमका भिन्न रूप हुन् । त्यसरी विविध माध्यमका सहायताले आपूmलाई अभिव्यक्त गर्नु पनि सिर्जनशील कलाको एउटा रूप हो । सबैमा त्यस्तो कला हुँदैन र भएमा पनि कम–बेसी हुन्छ । निरन्तरको अभ्यासका माध्यमले त्यसलाई विकास गर्न सकिन्छ ।
यतिबेला मेरो हातमा ‘जीवनको गोरेटो’ नामक संस्मरणात्मक कृति छ । संस्मरण भनिएको भए पनि मलाई यो कृति एउटा संस्मरणात्मक आत्मपरक निबन्धको सँगालोजस्तो लाग्यो । अहिले यहाँ छलफल गर्न लागिएको उल्लेख्य कृतिकी जननी सरला शर्मा हुनुहुन्छ । यस सङ्ग्रहभित्र उहाँको जीवनको वरिपरि घुमेका विविध विषयवस्तुमा आधारित उहाँको नामअनुसारकै सरल, सङ्क्षिप्त र सुन्दर किसिमका सिर्जनात्मक अभिव्यक्तिहरूका अलगअलग थुँगालाई एकीकृतरूपमा प्रस्तुत गरेर एउटा नाम दिइएको छ– जीवनको गोरेटो । यस कृतिभित्रका आलेखहरूमा आपूmले प्राथमिक तहसम्मको मात्र औपचारिक शिक्षा पाएको र मनभित्रका अव्यक्त भावनाहरू पोख्ने माध्यम लेखनलाई बनाएको, निरन्तरको अभ्यासले आपूmलाई सिर्जना कर्ममा लागिरहन उत्प्रेरित गरेको र यो कृति त्यही कामको परिणाम भएको कुरा उल्लेख गरिएको छ । औपचारिक अध्ययनका प्रमाणपत्रहरू थुपारेर मात्र तिनले व्यक्तिभित्र रहेको सिर्जनात्मकतामा ताज थप्ने होइनन्, त्यसका लागि त निरन्तरको प्रयत्न र आन्तिरिक लगावको आवश्यकता पर्छ भन्ने कुरा ग्रन्थकार सरला शर्माको यस कृतिमा सङ्कलित ३१ वटा संस्मरणत्मक निबन्धमा समाहित विचारले पुष्टि गरेका छन् ।
सरला शर्मा नामअनुसार नै एक सरल स्वभावकी कुशल तथा स्वाभिमानी गृहिणी हुनुहुन्छ । पुरुषसरह नारीहरू पनि आफ्नो खुट्टामा उभिएर स्वाभिमानपूर्ण तरिकाले जीवन जीउन र अघि बढ्न सक्षम छन् भन्ने सन्देश यी सिर्जनाहरूमा पाइन्छन् । एक सामान्य पाठकका आँखाले हेर्दासमेत सरलाका यी कलात्मक वृतान्त हाम्रा आफ्नै घरआँगन, चुलोचौको, गामबेँसी, गाईवस्तु, इष्टमित्र, घर–परिवार आदि–इत्यादि यिनै हाम्रो जीवनका चित्र, हाम्रै मध्यमवर्गीय जीवनको चेतनाका कथा–व्यथा, सुख–दुःख, देखिन्छन् । साथै त्यहाँभित्र हाम्रा पारिवारिक संरचना, रीति–रिवाज, परम्परा, जनजीवन आदिका चित्रहरू पनि सजीवरूपमा उतारिएको हामी देख्छौँ । ती दृश्यभित्र नेपाली मौलिक परिवेश र समाजका ज्युँदा जाग्दा चित्रहरूका यथर्थ रूप बाहिर आएको हामी देख्न सक्छौँ ।
दुई सय चौवन्न पृष्ठको आयतनमा फैलिएको यस कृतिको मूल पाठले २१९ पृष्ठ ढाकेको छ । ३१ शीर्षकमा विभाजित यी स्मृति आलेखहरूमाथि पहिलो दृष्टि पर्ने वित्तिकै पाठकहरूका मनमा एक प्रकारको आकर्षण पैदा हुन्छ । चुम्बकले फलामका कणलाई आपूmतिर तानेझैँ निबन्धले पाठकको मनलाई तानेर अगाडि बढ्छन् ।
यी स्मृतिविम्बमा उन्मुक्तिको चाहना छ, प्राकृतिक सौन्दर्यको बयान छ, नेपाली जनजीवनको बान्की छ, पारिवारिक स्वरूपको झलक छ, उपयुक्त स्थानमा सुहाउने गरी नेपाली भाषाका गहना, उखान–टुक्काको प्रयोग गरिएको छ । आगन्तुक शब्दहरूको पनि यथास्थानमा प्रयोग भएको पाइन्छ । आधा आकाश ओगटेर बसेका नारीहरूको गुमनाम अवस्थाको चित्रण छ ।
नेपाली समाजमा प्रायः राख्ने र बोलाउने दुइटा नाम भएजस्तै यस कृतिका स्रस्टाका पनि दुइटा नाम छन् ः पुरोहितले राखिदिएको चन्द्रकला– राख्ने नाम र पार्टीले राखिदिएको सरला बोलाउने नाम । राख्ने नाम ‘चन्द्रकला’ ले पनि स्वभावगतरूपमा उहाँको नामलाई साकार गरेझैँ आभास हुन्छ । उहाँको स्वभाव शान्त र प्रकृति शीतल छ । उहाँको नाम राखिदिने पार्टीका पण्डित पनि सिपालु नै रहेछन् जस्तो लाग्छ– उहाँको सरल र स्वाभिमानी स्वभावलाई बुझेर नै ‘सरला’ नाम दिएजस्तो लाग्छ ।
अहिले पारिवारिक सम्पन्नता, आर्थिक उन्नति, सामाजिक प्रतिष्ठा सबै कुरा प्राप्त भएको भए तापनि जीवनका प्रारम्भिक दिनहरूमा झेलेका दुःखकष्टलाई उहाँले नलुकाइकन अभिव्यक्त गर्नुभएको छ । उहाँका कुनैकुनै वाक्यांश उक्तिजस्ता लाग्छन् । उहाँ भन्नुहुन्छ– आमा धरती हुन् । विचारको उच्चतम प्रवाहमा बग्दै जाँदा उहाँ ‘निकालपाटा’ जस्ता नयाँ शब्द सिर्जना गर्न पुग्नुहुन्छ ।
गाउँले जीवन र सहरीया जीवनको तुलना, विदेश बसाइँको कथा–व्यथासमेत उहाँका सिर्जनामा समावेश भएका छन् । भूमिगत जीवनसमेत उहाँले बिताउनुभयो । राजनीतिकरूपमा सचेत पात्र नभए पनि उहाँले सचेत पात्रले जस्तै काम र व्यवहार प्रदर्शन गर्नुभयो । दुःख झेलेर हिँड्नुपरेको भए पनि त्यसप्रति उहाँलाई कुनै प्रकारको पश्चाताप वा दुःख मनाउ छैन । पारिवारिक दुःख कष्टका विषयमा उहाँले कहिल्यै गुनासो गर्नुभएको छैन । बरु उहाँले पुरुषसत्ताको भने कटु आलोचना गर्नुभएको छ । पुरुषलाई शत्रुवत् व्यवहार नगरे पनि उहाँले नारीहरूको महानतालाई स्थापित गर्ने प्रयत्न गर्नुभएको छ । साहित्य सिर्जनाप्रति यति बिघ्न अनुराग भएकी स्रस्टा सरलाको उच्च मूल्याङ्कन गर्दै म उहाँको सिर्जनात्मक जीवनकोे निरन्तरताका लागि कामना गर्छु ।