अल्झिएको सम्बन्ध (कथा)
अर्जुन थापा
‘के हो आज त एउटै मेसेज गर्ने पनि समय भएन ? दिनभरि आमाछोरा भएर मेरै कुरा काटेर त बसेका होलाऊ नि ! अब अफिस छुट्टी हुने बेला भयो तर त्यो तिमीहरूको घरमा आउनु नै मन छैन ।’ मोबाइलमा मेसेज आउँछ कुसुमको ।
‘‘आमा, म एकछिन बाहिर गएर आउँछु । छोरी कोठामा एक्लै छे । कुसुमले सोधिन् भने भर्खर भयो निक्लेको भनिदिनु ।’’ भनेर निस्किदिन्छु ।
बाटाभरि फूलहरूको बास्ना नाकमा पस्छन् । हरिया, पहेँला र अरू धेरै रङका फूलहरू । एकक्षण रोकिन्छु र हेर्छु । माहुरीहरू एकएक गरेर छानी छानी फूलहरूबाट रस चुस्नमा व्यस्त हुन्छन् । हावामा एक प्रकारको सुगन्ध व्याप्त छ । तर त्यसले मलाई केही असर गर्दैन । होइन म त डिप्रेसनमा गएछु पो क्या हो ? आफ्नो प्रश्न आफैँलाई अचम्म लाग्छ । अहिल्यै म डिप्रेसनमा गइहाल्नुपर्ने कारण नै छ के ? घर व्यवहारको, स्वास्नीको, बच्चाको पिरले लाछीलाई, नामर्दलाई लगार्छ । बाटोमा एउटी बौलाही भएजतिको गाली गर्दै नाङ्गै दौडिराखेकी हुन्छे । यसलाई पनि विगत लामो समयदेखि यही टोलमा यसरी नै हिँडेको देखिरहेको छु ।
कस्तो वितृष्णाले भरिएको साँझ ! एउटा अँध्यारो र नियास्रो साँझ, चोर र फटाहा अनुहार भएका आकृतिहरू, जो वर्तमानसँग सम्भोग गर्दै भविष्यको गर्भपात गर्न तम्तयार समय, शोषितहरू, भ्रष्टहरू, पुरुषार्थको नाउँमा क्लबमा गएर केटीको स्तन हेर्दै ट्वाइलेटमा गएर सन्तुष्ट हुनेहरू र म जो स्वास्नीको हरेक गलत कदमलाई चुपचाप सहेर बसिरहने हामी समानरूपले अपराधी हौँ । मनको गति जोडसँग बज्छ । मलाई यस गतिलाई पूर्णविराम लगाइदिन मन लाग्छ, आफ्नो आत्मबोधको गतिमा ।
पुरानो नै भए पनि एउटा सानो घर छ । कुसुमलाई सकेको जति सम्मान र माया दिएको छु । मेरी श्रीमतीको पनि बराबरको हक छ भनेर हरेक निर्णय तथा काममा सपोर्ट गर्छु र पनि उनलाई चित्त बुझ्दैन । मेरो स्टाटस उनको दिदीबहिनीहरू र साथीभाइहरूको भन्दा तल्लो लेभलको भयो रे । उनको साथीका लोग्नेले जस्तो विदेशमा घुमाउन लान सक्ने औकात भएन रे मेरो । माइतीमा ज्वाइँ भनेर चिनाउनसमेत लाज हुन थालिसक्यो रे । सोच्छु, म बाँधिएको छु यहाँ ठीक दाम्लोको एउटा डोरीजस्तो । यस्तो लाग्न थालिसकेको छ एउटा व्यक्ति मरिसकेको छ मभित्र ।
बिस्तारै घरको ढोका उघारेर भित्र पस्छु । हलमा छोरी हजुरआमासँग टिभी हेर्दै हुन्छे । इसाराले कुसुम खोई त भनेर आमालाई सोध्छु । उनी रुममा भएको सङ्केत गर्नुहुन्छ आमाले । सुरुसुरु रुमतिर लाग्छु ।
‘‘आउनु त पर्ने रहेछ नि घर नै ! कस्तो अभागी रहेछु र मेरा आमाबाबुले तिमीजस्तो लम्फुलाई जिम्मा लगाइदिए । आज मेरो कम इन्सल्ट भयोे अफिसमा । सबैले कस्तो नराम्रो र बुढो लोग्ने तपाईंको ? तपाईंहरूको जोडाचाहिँ कहीँ कतैबाट मिल्दैन भनेर मेरो खिल्ली उडाए ।’’ छोरीका लागि बोतलमा दूध बनाउँदै भत्भताइ राखिन् कुसुम ।
‘‘अलिक बिस्तारै बोल न । आमाले सुन्नुहुन्छ ।’’ बिस्तारै भन्छु म ।
‘‘आमाले मात्र होइन अब समाजले सुने पनि फरक पर्दैन मलाई । होइन के छ र तिमीहरूको छरछिमेकीले इज्जत गरुन् ! तिमीहरू दुई आमाछोराको अनुहार देख्यो कि मुडअफ भएर आउँछ । यो छोरी र माइतीको इज्जतको डर नभएको भए तिमीजस्तो लोग्ने भनेर बस्नुभन्दा कुनै सम्पत्तिवालाको रखेल भएर बस्नु धेरै ठीक ।’’ कुसुम अझै जङ्गिन्छन् ।
म बाहिर बरन्डामा निस्कन्छु । आमाको अनुहार आँखा अगाडि आउँछ । एउटा दानवजस्तो लोग्नेको घृणा, तिरस्कार, गाली र चुटाई खाएर अनि राति ओछ्यानमा शारीरिक सुख दिएर पनि मलाई यत्रो बनाउनुभयो । मलाई खुसी दिनको निम्ति उहाँले कहिल्यै फुर्सदै पाउनुभएन । आमाको पनि धेरै चाहना थिए होलान् तर सब मेरो खुसीका लागि बलिदान गर्नुभयो ।
कुसुम भित्र बत्ती निभाएर सुतिसकेकी हुन्छिन् । बत्ती कातेर बसी राख्नुभएकी, केही गल्नु भएकी, केही सोची रहनुभएकी मेरी आमा, आँखा जुधाउन आँट आउँदैन । एउटी सोझी स्वास्नीमान्छे, जसको आफन्त तथा माइती भन्नु मात्र नामका छन् । सुनसान मरुभूमिजस्तै बाँचेकी छिन्, एक्लै, विशाल हृदय भएकी मेरी आमा ।
आफैँप्रति घृणा लागेर आउँछ मलाई । अनुहारभरि आत्मग्लानीको रङ पोतेर म खुरुखुरु फर्कन्छु । ढोका लक गरेर निदाइसकेकी छिन् कुसुम अघि नै । कुन दिनमा मलाई जन्म दिनुभएछ मेरी आमाले । आज म कसैको पनि राम्रो हुन सकिनँ । कुसुमले मलाई एउटा पशुसरह व्यवहार गर्छिन् र पनि म चुपचाप सहिदिन्छु । उनी हरेक कुरामा मलाई अरूसँग दाँजेर तुलना गर्छिन् । ओछ्यानदेखि हरेक कुरामा । म हरेक दिन आफूलाई तल झारेर पनि उनी खुसी हुन्छिन् भनेर सधैँ एउटा पाल्तु कुकुरले मालिकको अगाडि पछाडि पुच्छर हल्लाएर हिँडेजस्तै हिँडिरहन्छु । तर हुँदाहुँदा अब मेरो छायाँदेखि पनि घृणा लाग्न थालेको छ रे उनलाई ।
गुनासाहरूले जेलिएको मान्छे, दरिद्र मान्छे, नालायक छोरा, नालायक लम्फु लोग्ने र असक्षम बाबु बन्न पुगेको छु म । मेरी आमा मलाई के सोच्नुहुन्छ होला ? यही दिन देख्न र भोग्नलाई मेरी आमाले सबै सुखको त्याग गर्नुभएको हो ! काम गर्ने मालिकको घरमा कसैले मिठो खाने कुरा खान दिँदा पछ्यौरीमा लुकाएर मेरो छोराले मिठो मान्छ भनेर लुकाएर ल्याउनुभएकी के आजैको दिन भोग्नलाई हो त ?
हे भगवान् के हुँदै गइराखेको छु म ? डाहा छटपटी हुन्छ । ढोका खोलेर बाहिर निस्किदिन्छु । यो रातमा यस अवस्थामा कसैले देख्यो भने के सोच्लान् मलाई । यी मान्छेहरू यहाँ सधैँ हीन कुरा मात्र सोच्छन् ।
सधैँ कराइ हिँड्ने बौलाही आफ्नै तालमा यता आइरहेको छे । किन हो ऊ मलाई चिनैझैँ गरेर मतिरै हानिएर आउँछे । म अलिक सतर्क हुन्छु ।
‘‘यति राति तरुनी स्वास्नीलाई अँगालो मारेर रमाइलो गर्न छाडी के गुन्डा भएर हिँडेको ? समाल आफूलाई नत्र अर्कैसँग जाली नि ।’’ प्याच्च भनिदिन्छे ।
मलाई स्थितिदेखि बान्ता गर्न मन लाग्छ । घृणाले, अपमानले म अचल भइरहेको हुन्छु । ओहो ! यो बौलाहीले कसरी थाहा पाई कि घरमा तरुनी श्रीमती छे भन्ने ? होइन यसले हामीलाई कसरी चिनी ? के योभन्दा पनि बढी थाहा छ यसलाई ? म घोत्लिँदै घोप्टो मुन्टो लगाएर फर्कन्छु ।
यो घृणालाग्दो जीवनस्तरलाई मैले विगत पाँच वर्षदेखि छालाजस्तो ओढेर आएको छु । कसलाई रहर लाग्दैन र स्वास्नीसँग सुत्नलाई । तर त्यस बौलाहीलाई म कसरी भनुँ कि प्रत्येक पटक मेरी स्वास्नीबाट म मर्माहत भएको छु । अब हामी दुई जना एउटै ओछ्यानमा सुत्दासमेत मलाई केही गरुँ भन्ने चाह नै हुँदैन । बरु बाथरुम गएर सन्तुष्ट हुने कोसिस गर्छु । म डराउन थालेको छु आफ्नै स्वास्नीसँग कि फेरि कुन र कतिखेर कटुवचनको प्रहार हुने हो भनेर । तर त्यस बौलाहीले मेरा पीडा कहाँ देखेकी छे र । माया भनेको त आफ्नो मन परेकोसँग एकक्षण अलग बस्दा पनि छटपटी हुनुप¥यो । के हरेकको सम्बन्ध यसरी नै चिसिएको छ त वा म मात्र त्यस्तो अभागी पुरुष ठहरिएको छु ।
रात झन्झन् बाक्लिँदै गइरहेको छ । सोचाइको गतिशीलता सिङ्गो मस्तिष्कको भार बोकेर विस्तार विस्तार एउटा गहिरो खाडलतिर अग्रसर हुँदैछ । फोक्सोमा असजिलो भई राखेको र हातखुट्टामा कसैले डोरीले बाँधिदिएको जस्तो असजिलो हुन्छ । अदृश्य बन्धनभित्र बाँधिएको छु म । जुरुक्क उठ्छु । फ्रिजबाट निकालेर बोतलको पानी एकै घुट्कोमा पिइदिन्छु । मस्तिष्क खाली भएको पाउँछु । सधैँ यस्तो भइरहने छ त ? यतिका कचिङ्गलहरू कहाँ यति चाँडो हट्ने छन् र ?
कुसुमको घुरेको आवाज बाहिर बैठक कोठासम्म आइराखेको छ । कसरी निर्धक्कले सुत्न सकेकी होली मेरी स्वास्नी । ढोकामा लक गरेर सुत्दा लोग्ने कहाँ गएर कसरी सुत्ला भन्ने अलिकति पनि अफ्ठ्यारो लाग्दो रहेनछ । बैठक कोठाको सोफामा छोरो सुतेको देखेर भोलि सासूले सोधिन् भने के उत्तर दिने भन्ने पनि डर नभएको भनेपछि कति निर्धक्क भइछिन् त मेरी स्वास्नी । के सबै यस्तै हुन्छन् लाज र डर नभएको स्वास्नीमानिस भन्नेहरू ?
धेरै महिला साथी छन् मेरो । अझ साथीभाइहरूका श्रीमतीहरू देख्छु, भेट्छु तर कहीँ कतै सामन्जस्यता भन्ने नै पाउँदिनँ कुसुम र अरू महिलाबीच । कसैले कसैलाई यतिविघ्न घृणा गर्न सक्छ र हामी मनुष्य भएर जो मेरी श्रीमती मलाई गर्छिन् । कस्तो कुरूप मनोवृत्ति छ उनमा ।
‘‘बाबु आँखा राता छन्, निद्रा राम्ररी परेन जस्तो छ नि ! सुतेको छैन जस्तो छ । जाऊ एकछिन गएर सुत । नातिनीलाई म खेलाउँछु एकछिन् ।’’ भन्दै छोरीलाई लिएर माथि लाग्नुहुन्छ आमा ।
कति फरक छ आमा र स्वास्नीमा । हरेक अत्याचार सहेर पनि हरदम लागी रहन्थिन् लोग्नेको सेवामा मेरी आमा । मेरो बाबु नै अभागी परेर हो नत्र के मात्र गर्नु हुँदैनथ्यो होला मेरी आमाले आफ्नो लोग्नेलाई खुशी पार्न । स्वास्नीको महìव कहिल्यै बुझेनन् मेरो बाबुले ।
उफ्, कति लामा छन् समय । म यो एकलासबाट छुटकारा पाउन चाहन्छु । मलाई र मेरो बाध्यताप्रति समवेदना दिने कोही छ त अहिले ? बौलाही ! म पनि तिमीजस्तै विस्थापित छु, यहाँ मेरा भएर पनि कोही छैनन् । अर्थहीन बिलौना गरेर यो लामो समयलाई छोट्याउन खोज्छु । यस अध्यायलाई समाप्ति दिन खोज्छु ।
‘‘अब अति भयो । अब यो थोत्रो घरमा कि तिम्रो आमा कि म । अब म तिम्रो आमाको त्यो घोप्टे थोपडा हेरेर अरू बस्न सक्दिनँ ।’’ कटनमा क्लिजिङ भिजाएर फेसको मेकअप पुछ्दै कराउँछिन् कुसुम ।
मेरो कमजोरी, म जीवनमा कहिल्यै अर्थहीन हुन सकिनँ । अब समयले म आफूलाई चिन्न बाध्य तुल्याएको छ । केही त हुनुपर्छ आत्मबोध !
म उनलाई केही नभनी घरबाट निस्किदिन्छु । बौलाही एकान्त कुनाको एक छेउमा बसेर चुरोट तानिराखेकी छे ।
‘‘फेरि पनि रात न बेरात निक्ल्यौ घरबाट । कुन केटोले उडाइदिन्छ कल्कलाउँदी स्वास्नी अनि बल्ल थाहा पाउँछौ ।’’ भन्दै सकी नसकी खोक्न थाल्छे बौलाही ।
बौलाही पनि संवेदनशील छे जीवनप्रति । रात चकमन्न भइरहेको छ । रित्तो अँध्यारो रात । दिमागमा अघि कुसुमले भनेका कुरा दौडिरहेका छन् । सोच्दासोच्दै शरीर अचानक सिरिङ हुन्छ । घर ... घर मलाई धेरै माइल टाढा भएजस्तो लाग्छ । एकफेर आमा, कुसुम र छोरीको अनुहार आँखा वरिपरि घुम्न थाल्छन् ।
घर आउँछु र त्यही सोफामा पल्टिदिन्छु । एउटा कुकुर गुडुल्किएर सुतेजस्तै ।
ड्डड्ड
छोरीलाई बोकेर आमालाई बिस्तारै डो¥याउँदै घर बाहिर निस्कन्छु । खल्तीबाट सानो चिठी ढोकाको छेउमा राखेर एकपल्ट सकुन्जेल घरलाई हेर्छु ।
‘‘हामी कहाँ जान लागेको ? बुहारी आउने बेला हुन लाग्यो फेरि भोकाएर आउँछे । यसरी भन्दै नभनी जान हुँदैन नि बा ।’’ आमा गुनगुन गर्दै गाडी चढ्नुहुन्छ ।
२०७०।०३।३०
तिमीलाई नसोधी निर्णय लिएकोमा मलाई माफ गर । मैले धेरै सोचेपछि यो निर्णय लिएको छु । आजबाट तिमी यो घर, लोग्ने, बच्चाको बन्धनबाट मुक्त भयौ । सधैँ स्वतन्त्र भएर हिँड्ने चाहना आजबाट सुरु भएको छ तिम्रो । आजबाट कसैले तिमीलाई औँला ठड्याउने मौका पाउने छैनन् कि नराम्रो लोग्ने भनेर ।
जीवनभर मेरो सेवामा आफ्नो जीवन लगाउनुभएकी असी वर्षकी वृद्ध आमालाई कुनै वृद्धाश्रममा राखेर आरामले घरमा बस्न मेरो मनले मानेन । त्यसैले आमा र छोरीलाई लिएर तिमीभन्दा टाढा जाँदैछु । तिमीले मजस्तो केटालाई लोग्ने भनेर बस्नु परेकोले त्यसको सट्टामा यो विवाहको बन्धनबाट मुक्त गरिदिएको छु । एक्कासि हिँड्नुप¥यो । त्यही पनि दराजमा केही पैसा र पुराना गहनाहरू छोडिदिएको छु । तिमीलाई काम लाग्न सक्छ । तिमीलाई राति सुत्नुअगाडि चकलेट खाने बानी छ । त्यसैले तिम्रो दराजमा केही दिनलाई पुग्ने तिम्रो मनपर्ने चकलेट राखिदिएको छु ।
अन्त्यमा, कुसुम म र मेरी आमाबाट केही गल्ती भएमा हामीलाई माफ गर । बच्चा पाएर सधैँ गल्ती गरेँ भनेर पछुतो गरेकोले छोरीलाई पनि सँगै लिएर आएको छु । अब तिमी आफ्नो तरिकाले नयाँ जीवन सुरु गर्न सक्छौ ।
नयाँ जीवनका लागि हार्दिक बधाई । सधैँ तिम्रो अनुहारमा खुसी रहिरहोस् ।
तिम्रो मन नपरेको लोग्ने