लोकप्रिय बन्दै प्राकृतिक रेसाजन्य वस्तु
भेषराज बेल्बासे
एक दशकअघि बाजुराका खड्गसिंह बोगटीले प्राकृतिक रेसाजन्य बिरूवाका बोक्रालाई प्रशोधन गरी बनाइएका वस्तुमा आफ्नो भविष्य देख्नुभयो । अनि सानै स्तरमा भए पनि उहाँले यसको व्यवसाय सुरु गर्नुभयो । अहिले उहाँको यो व्यवसाय बढेर झङ्गिएको छ ।
क्याप/टोपी, ज्याकेट, कोट, पाइन्ट, ट्राउजर, चप्पल, जुत्ता, झोला, पर्स÷वालेट, ह्याण्ड ब्याग, स्कार्प, रूमाल, डोरम्याट, टेबल म्याट, तकिया खोल, सोफा/गाडीमा चाहिने सिटका खोललगायतका अन्य थुप्रै वस्तुको कारोबारमा उहाँ संलग्न हुनुहुन्छ । उहाँको उद्योगमा तयार गरिएका यस्ता बस्तु स्वदेश तथा विदेशमा लोकप्रिय बनेका छन् । देशका विभिन्न क्षेत्रमा त्यसै खेर गइरहेका रेसाजन्य बिरूवाका बोक्रालाई सङ्कलन र प्रशोधन गरेर तयार गरिएको धागोबाट उहाँले यस्ता बस्तु तयार गर्नुहुन्छ ।
काठमाडौँको बूढानीलकण्ठमा रहेको हिमालय अल्लो हेम्प ह्याण्डिक्राफ्ट नामक उहाँको उद्योगमा झण्डै चार दर्जनले रोजगारी पनि पाइरहेका छन् । अप्रत्यक्षरूपमा कच्चा पदार्थ सङ्कलनदेखि रेसाबाट धागो प्रशोधनमा संलग्नहरू त सयौँको सङ्ख्यामा छन् । गाउँघरका बेरोजगार युवालाई रोजगार दिन आवश्यक तालिम र आवासको व्यवस्थासमेत उहाँले मिलाउनुभएको छ ।
खड्गजस्तै सानो लगानीबाट यो व्यवसाय थालेका धेरैको अवस्था अहिले कायापलट मात्रै भएको छैन, उनीहरूले सयौँको सङ्ख्यामा रोजगारीसमेत दिइरहेका छन् । न खेती गर्नुप¥यो, न त सिँचाइ, मलखाद र खडेरीकै चिन्ता । गाउँका भीरपाखा, वनजङ्गलमा सजिलै उपलब्ध हुने रेसाजन्य बिरूवाका लोक्ता प्रशोधन गरेर बनेको धागोबाट आम्दानी हुन थालेपछि यसमा लाग्नेहरूको सङ्ख्या पनि ह्वात्तै बढेको छ ।
रेसालाई प्रशोधन गर्ने सीप सिकेपछि यो व्यवसाय कृषकको आम्दानीको स्रोत बनेको छ । साथै, आफ्नो क्षमता र लगानीले भेट्ने साना उद्यम पनि उनीहरूले सुरु गरेका छन् । यसबाट उनीहरू पनि देशको आर्थिक गतिविधिमा टेवा दिने तहमा पुगेका छन् । उनीहरू नाम–दाम आर्जनसँगै परम्परा–संस्कृतिको संवद्र्धनमा पनि सफल भएका छन् । अल्लो (चाल्ने सिस्नो), हेम्प, केरा, केतुकी, भुइँकटहर, बाँस, अलैँचीलगायतका बिरूवाका रेसा र पातबाट बन्ने सामग्रीहरू अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली ‘ब्रान्ड’ को रूपमा स्थापित हुने प्रयत्नमा छन् ।
अल्लो सङ्घका उपाध्यक्ष गणेश ऐडीका अनुसार यस्ता वस्तुको माग बढ्दो छ । पहिलेभन्दा प्रविधिमा पनि सुधार आएको भन्दै उहाँ यो क्षेत्रमा बृहत सम्भावना रहेको बताउनुहुन्छ । झण्डै १२ वर्षदेखि यही व्यवसायमा रहँदै आउनुभएका खोटाङका सन्तोष कार्कीको त्यो बेलाको सानो व्यवसाय अहिले बृहत् भएको छ । दुई दर्जनलाई ठमेलस्थित उद्योगमै प्रत्यक्ष काममा लगाउनुभएका कार्कीले मासिक एक लाखभन्दा बढी त उद्योगको भाडा तिर्नुहुन्छ ।
यो व्यवसायसँग अहिले भावनात्मकरूपमै जोडिएको बताउने कार्की अब अरू व्यवसायको कल्पना पनि गर्न नसक्ने बताउनुहुन्छ । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित उत्पादन भएकाले कच्चा पदार्थ आयात गर्न नपर्ने, कच्चा पदार्थकै लागि तनाव लिइरहनु पनि नपर्ने तथा कच्चा पदार्थको सङ्कलन र प्रशोधन गर्दा कसैलाई केही असर नगर्ने भएकाले आफ्नो व्यवसायमा गर्व लाग्ने गरेको उहाँको अनुभव छ ।
पैसा कमाउनु ठूलो कुरा होइन भन्दै उहाँ दुई दर्जनलाई रोजगारी दिन पाउँदा खुसी लागेको अनुभव सुनाउनुहुन्छ । स्थानीय बजार त छँदैछ, विभिन्न मुलुकमा निर्यात पनि गर्दै आउनुभएका सन्तोषले यस्ता सामग्रीको बढी मात्रामा जापान, अमेरिका, युरोपेली मुलुकलगायतमा उच्च माग रहेको जानकारी दिनुभयो ।
यता सात वर्षदेखि अल्लोलगायतका रेसा प्रशोधन, बुन्ने र सामग्री तयार गर्ने काम गर्दै आउनुभएकी दाङकी इन्द्रा बुढामगरलाई भने अल्लोको धागो बजारमा पु¥याउन हम्मेहम्मे हुन्छ । उहाँले मासिक २५ क्विण्टल धागो तयार गर्दै आउनुभएको छ । यस्तै, सात वर्ष अगाडि १३ जनाको समूहले गठन गरेको सहनशील दिदीबहिनी अल्लो उद्योग समूहमार्फत हजारौँले रोजगारी पाइरहेका छन् । घरमै लगेर धागो बनाउने दुई हजार जना, प्रशोधन गर्ने दैनिक ३० जना, सिलाइ र बुनाइतिर सय जनाभन्दा बढीले काम गरिरहेको सो समूहको उद्योगबाट कोट, झोला, पर्स, टोपी, चप्पल, जुहारी कोट, इस्टकोटलगायतका अर्डरबमोजिमका अन्य सामग्री तयार हुन्छन् । प्युठान, रोल्पा र बागलुङका विभिन्न गाउँका करिब एक हजार महिलाबाट पनि यस्तो धागो खरिद गर्ने गरिएकोे छ ।
यस्ता रेसाजन्य बिरूवा विशेष गरी सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, बागलुङ, पर्वत, म्याग्दी, गोरखा, तनहुँ, सल्यान, प्युठान, जाजरकोट, रुकुम, रोल्पा, दार्चुला, बैतडी, डडेलधुरा, हुम्ला, जुम्ला, कालिकोट, बजाङ, बाजुरा, अछामलगायत ३७ जिल्लामा उपलब्ध हुने गर्छ । वार्षिक एक लाख केजीभन्दा बढी आउने जिल्लामा प्युठान, जाजरकोट, दैलेख, डोटी, अछाम छन् ।
यही व्यवसायबाट गाउँ तहमा करिब छ लाख र सहरी क्षेत्रमा करिब तीन लाखले रोजगारी पाइरहेको अनुमानित तथ्याङ्क यसमा लागिरहेका व्यवसायीहरूको छ । विकट र ग्रामीण क्षेत्रका अधिकांश जनताको गुजारा यही व्यवसायबाट चलिरहेको छ । अहिले अथाह सम्भावनाका रूपमा रहेको यो व्यवसायको प्रवद्र्धन र विस्तार गर्न सके व्यापारिक गतिविधि, रोजगारी सिर्जना गर्ने मात्रै नभई मुलुकले झेल्दै आएको व्यापार घाटालाई न्यूनीकरण गर्न सकिने प्रशस्तै सम्भावना रहेको व्यवसायीहरूको दाबी छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंह विकट ग्रामीण क्षेत्रमा जीविकासँग जोडिएको यो व्यवसायलाई प्रवद्र्धन गर्दै लैजान सके आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन, निर्यात बढाउन र रोजगारी बढाउने सम्भावना प्रशस्तै रहेको बताउनुहुन्छ । यो क्षेत्रको विकास गरेर स्थानीय उत्पादनलाई वृद्धि गर्दै सरकारले लगानी गर्न सकेमा प्राकृतिक रेसाजन्य उद्योगको भविष्य आशालाग्दो रहेको उहाँको भनाइ छ ।
अहिले पनि धेरैको गुजारा चलाउने उपयुक्त माध्यम बनेको यो व्यवसायलाई परम्परागतबाट परिस्कृत गर्दै आधुनिक प्रविधि, व्यवसायीहरूलाई सहुलियतपूर्ण ऋणको व्यवस्था सरकारी तहबाटै हुन सके यो व्यवसाय दोब्बरले बढ्ने उहाँको ठम्याइ छ ।
अल्लो सङ्घका अनुसार नेपालमा उपलब्ध यस्ता कच्चा पदार्थ ज्यादै थोरै मात्र प्रयोग भएको छ । अझै पनि धेरै कुहिएरै खेर गएको छ । यो खेर गइरहेकोलाई थोरै मात्र पनि प्रयोग गर्न सके हाम्रो आर्थिक अवस्थामा परिवर्तन ल्याउन सकिन्छ ।
यही क्षेत्रले समृद्धि ल्याइदिने दाबी गर्नुहुन्छ उपाध्यक्ष ऐडी त । सङ्घले कच्चा पदार्थको खपत यो वर्ष पाँच प्रतिशत पु¥याउन सक्नेगरी काम गरिरहेका उहाँको भनाइ छ । पाँच प्रतिशत पु¥याउँदा दुई लाख केजी अल्लो थपिने तथ्याङ्क प्रस्तुत गर्दै उहाँ सम्भाव्यता उत्पादन र रोजगारीका हिसाबले उच्च रहेको बताउनुहुन्छ ।
सङ्घका अनुसार ८३ लाख ९५ हजार केजी अल्लो सङ्कलन हुनसक्ने सम्भावना छ । त्यसको उपलब्धता पनि छ । जसबाट २६ लाख ८५ हजार केजी वन क्षेत्रबाट मात्रै देखिन्छ । सङ्कलन भइरहेको र राज्यलाई कर तिरिरहेको १० लाख ७५ हजार केजी त २०७६ सालमा रहेको छ । यो क्षेत्रमा अहिले पाँच हजार १७० जना व्यवसायी छन् । दर्ता भएका उद्योग १९० वटा छन् भने बाँकी घरेलु तथा साना उद्योगका हिसाबले काम गरिरहेका छन् । १९० वटा कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा निर्यात पनि गरिरहेका छन् ।
सङ्घका अनुसार अघिल्लो वर्ष २४ हजार ८८६ केजी बराबरको सामग्री निर्यात भएको छ । एक करोड १८ लाख १० हजार केजी जति यसका सामग्री अहिले नेपालमा उपलब्ध छ । ६० प्रतिशत अल्लोको धागो कार्पेट उद्योगमा प्रयोग भइरहेको छ, १५ प्रतिशत कपडा उद्योेगहरूले प्रयोग गरिरहेका छन्, १५ प्रतिशत गाउँले दाजुभाइ आफैँले प्रयोग गरेका छन् भने १० प्रतिशत गाउँबाटै भारत, चीनलगायतका देशमा निर्यात भइरहेको छ ।
कोरोना र बन्दाबन्दीमा पनि अवसर
कोरोनाले त विश्व अर्थतन्त्रलाई नै असर ग¥यो । तर प्राकृतिक रेसाजन्य व्यवसायमा काम गर्नेहरूले यो बेला पनि दिनरात काम गरे । अस्पतालका लागि बेड सिट, पीपीई, गाउन, एप्रोन, मास्कलगायतका सामान बनाउन भ्याइनभ्याइ भएको बताउनुहुन्छ नेपाल अपेरल्स एण्ड नेचुरल फाइबर प्रालिका प्रबन्ध निर्देशक पनि रहनुभएका सन्तोष कार्की । स्थानीय बजारका साथै अन्तर्राष्ट्रिय बजारका लागि मास्क बनाउन भ्याइ नभ्याइ भएको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, ‘‘अहिले पनि हामीले उत्पादन गरेका मास्क स्थानीय बजारभन्दा पनि विदेश गइरहेका छन् ।’’
रेसाजन्य उत्पादनका रूपमा रहेका अन्य उत्पादनहरूलाई पनि कोरोनाले साक्षात्कार र प्रयोग गर्ने अवसर जुराइदिएको अनुभव उहाँको छ । कटन मास्क, बाँस र गाँजाको कपडाबाट बनेको झोला, ज्याकेट, प्यान्टलगायतका गार्मेन्टका नयाँ उत्पादन गर्न र बजारमा पु¥याउन हम्मेहम्मे परेका कार्कीलाई कोरोन कालमा भने भ्याइ नभ्याइ भयो ।
कोरोनापछि मास्कमा कसैले सोच्दै नसोचेको अवसर आएको बताउने कार्की अमेरिका र युरोपबाट आएको कटन मास्कको अर्डर पूर्ति गर्न दिनरात काम गर्नुपरेको बताउनुहुन्छ । कोभिडअघिको तुलनामा अहिले पनि दुई गुणाभन्दा बढी मास्क उत्पादन भइरहेको उहाँको भनाइ छ ।
स्वास्थ्यका दृष्टिले उत्तम
रेसाजन्य लुगामा प्राकृतिक वस्तु हुनुका साथै औषधीय गुण हुन्छ । तयारी लुगामा जस्तो केमिकल नमिसाइएको हुँदा यस्ता लुगाको प्रयोगले विभिन्न रोग निको हुने तथ्य बाहिर आएको छ । पछिल्लो समय बिना केमिकलयुक्त वस्तु मनपराउने पनि बढ्दै छन् । प्रायः घरको सिंढीमा पनि अल्लोजन्य डोरम्याट राख्न थालिएको छ । जसमा दैनिक टेकेर तलमाथि गर्दा सुगर र प्रेसरका बिरामीलाई फाइदा हुने देखिएको छ ।
कतिपय व्यवसायी अल्लोको टोपी, कोट लगाउँदा एलर्जी र रक्तचापलाई समेत नियन्त्रण गर्ने दाबी गर्छन् । यो दाबी आफैँले गरेको अनुभव र पुर्खाले गरेको पद्धतिको आधारमा रहेको उनीहरू बताउँछन् । हेर्दा समेत राम्रो अनि आकर्षक देखिने तानबाट बुनेका अल्लोका धागोबाट धेरै किसिमका कपडा सिलाउने व्यवसायीहरूले हानिकारक केमिकल भने प्रयोग गर्दैनन् ।
अल्लोमा पाइने फाइटोस्टेरोल, फाटिएसिड, क्यारोटिन्वाइड्स, पोलिफिनोलजस्ता तìवहरूले गर्दा नेपालमा पाइने अल्लो हेपाटिक क्यान्सरका लागि सबैभन्दा बढी उपयोगी देखिएको पनि अध्ययनले देखाएको छ । मोलिक्युल्स जर्नलमा प्रकाशित अनुसन्धानले अल्लोले हेपाटिक क्यान्सरका बिरामीलाई क्यान्सर लगाउने कोषहरू वृद्धि गर्न दिँदैन ।
फेसन पनि
धेरैको रोजाइ बनेको अल्लो तथा प्राकृतिक रेसाजन्य वस्तुमा युवाकोे पनि आकर्षण देखिएको छ । युवा माझ झोलादेखि दैनिक प्रयोग हुने विभिन्न सामग्रीको प्रयोग बढ्दो छ । तयारी पोसाकदेखि बुटिकसम्म पनि प्राकृतिक रेसाजन्य वस्तु प्रवेश गरेको छ । तुलनात्मकरूपमा अ
ायातित विदेशी ब्राण्डभन्दा टिकाउ र आकर्षित देखिने भएकाले यस्ता सामग्रीलाई धेरैले मन पराउने गरेको बताउनुहुन्छ व्यवसायी खड्गसिंह बोगटी ।
प्राकृतिक रेसाबाट निर्मित वस्तु पोलिस्टर, नाइलनभन्दा स्वस्थ्य र वातावरणीय हिसाबले पनि उपयोगी भएका कारण सचेत फेसन पारखीले वातावरण संरक्षणका लागि पनि यस्ता वस्तुप्रति अकर्षण बढाउन थालेका छन् । विश्व बजारमा नै प्राकृतिक कपडाको माग बढिरहेका बेला नेपालका फेसन पारखी पनि यतातिर आकर्षित भएका छन् ।
चाल्ने सिस्नो (अल्लो), गाँजा, केरा, बाँस, सनपाट, केतुकी, भुइँकटहर, अलैँचीलगायतबाट बन्ने झोला, जुत्ता, कोट, पाइन्ट, घरको पर्दा, सोफा खोल, डोर म्याट, मास्क तथा अन्य तयारी पोसाक आवश्यकतासँगै फेसनको रूपमा पनि प्रयोग हुन थालेको छ ।
बढ्दै महिला सहभागिता
स्थानीयस्तरमा उपलब्ध अल्लो तथा अन्य प्राकृतिक रेसाजन्य पदार्थबाट बनेका सामग्री टिकाउ र राम्रो हुने भएपछि यसको माग मात्रै बढेको छैन, यो व्यवसायमा सहभागी हुने महिला पनि बढ्दो छ । सहनशील महिला समूहकी इन्द्रा मगरका अनुसार जङ्गलमा खेर गइरहेको अल्लो सङ्कलन गरेर धागो उत्पादन गरी आम्दानी गर्ने महिलाको सङ्ख्या बढ्दो छ ।
उत्पादित सामग्री घरबाट नै बिक्री हुँदै आएको कारण सानो स्तरमा घरघरमै उत्पादनमा लाग्नेहरूको सङ्ख्या पनि बढिरहेको छ । गाउँघरको उत्तम कोसेलीको रूपमा रहेको अल्लो कपडाले बनेका सामग्रीहरूले विदेशीको मात्र होइन, नेपालीकै पनि मन जित्न थालेपछि यसप्रतिको आकर्षण चुलिएको उहाँको भनाइ छ ।