शनिवार |

मन्त्र साधना !

शीतल गिरी

उपत्यकाको नेवारी समाजमा प्रचलित मन्त्र साधना अचेल पाश्चात्य विद्वान्हरूको अनुसन्धानको विषय बनेको छ । तर, हामीलाई भने वज्रयानको यो रहस्यमय विधाका बारेमा कमै जानकारी भएको पाइन्छ । मन्त्र ध्यान अर्थात् मनको एकाग्रतासहित बीजाक्षर मन्त्र साधना गरी अद्वय अवस्थासम्म पुग्ने निश्चित नियम छन् ।
बौद्ध दर्शनअनुसार शील पालना गर्ने अन्तप्रेरणा सम्यक दृष्टिले दिलाउँछ । मानिसको जीवन अमूल्य छ, यही जीवनमा अधिकतम आनन्द र शान्ति अनुभूति गर्दै सबैको दुःख मुक्तिका लागि समर्पित हुनु जीवनको सार्थकता हो । बौद्ध धर्म साधनामा यी कुरालाई निर्वाण, बोधिसत्व, चर्यालगायत पारिभाषिक शब्दावलीबाट बुझ्ने गरिन्छ । मन्त्र ध्यानको अभ्यासका लागि खुला आकाश र प्रकृतिको सान्निध्य उत्तम मानिन्छ । गौतम बुद्ध रूखमुनि जन्मनुभयो, रूखमुनि बुद्धत्व बोध गर्नुभयो र रूखमुनि महापरिनिर्वाण प्राप्त गर्नुभयो ।
प्रकृतिको सान्निध्य र बुद्धको चर्यामा गहिरो सम्बन्ध रहिआएको छ । यसै पनि वनजड्ढल या डाँडाकाँडामा पुग्दा हाम्रो मन स्वतःस्फूर्त रूपले शान्त र स्थिर हुन थाल्छ । यसरी ध्यानका लागि प्राकृतिक रूपले तयार भएको भावभूमिमा मन्त्रको प्रयोगमार्फत ध्यानको अभ्यास गर्नु धेरै हिसाबले प्रभावी हुन्छ । उपत्यकावासीलाई घुम्नका लागि चारैतिर सुन्दर, हरियाली डाँडा छन् । त्यहाँ पुगेर मानिस धूलोधूवाँ र भीडबाट मुक्त भएर अनायासै मनमा स्फुरण हुने आन्तरिक आनन्दको अनुभूति गर्न सक्छन् । मन्त्र ध्यानको अभ्यासका लागि वज्रयान साधनामा व्यवस्थित प्रणाली छ । बुद्ध वन्दना, रत्न मण्डल अर्पण र बोधिचित्तोत्पादपछि मन्त्र ध्यानको अभ्यास थालनी गर्नुपर्छ ।
मन्त्र ध्यानबाट अधिकतम लाभान्वित हुन मन्त्रको परिचय र प्रयोग, बोधिसत्व चर्या र पुण्य परिणामलाई बुझ्नु आवश्यक हुन्छ ।
म भनेको हाम्रो मन हो र त्र भनेको सुरक्षा हो । मनलाई मानसिक अशुचिजस्तै राग, द्वेष र मोहजस्ता क्लेशबाट रक्षा गर्ने साधना नै मन्त्र हो ।
चक्रसंवर तन्त्रमा मन्त्र प्रज्ञोपाययोगम् अर्थात् मन्त्र भनेको प्रज्ञा र उपाय कौशलको योग हो भनिएको छ । मन्त्रो हि गुप्त विज्ञान अर्थात् मन्त्र एक गुप्त रहस्यमय विज्ञान हो, जसको अभ्यासले स्थिरता र शान्ति प्राप्त गर्न सकिन्छ । मन्त्रको प्रभावकै कारण विश्वका सबै धर्म र आध्यात्मिक परम्परामा मन्त्र प्रयोगको एक विशेष स्थान छ । मन्त्रको शक्ति र स्वरूप व्याख्या गर्दा प्राचीनकालका साधकले शब्दबाट उत्पन्न हुने ध्वनि एवम् कम्पन पहिचान गरे अनि शब्दलाई अधिक स्थिरता, तन्मयता र शक्तिशाली कम्पन पैदा हुने गरी संयोजन गरे ।
मन्त्रको ध्वनि र लयले निश्चित प्रभाव पार्छ । मन्त्रको ध्वनिमा अनेक शक्ति छिपेको हुन्छ । हरेक मन्त्रमा विशेषप्रकारको ध्वनि सन्निहित हुन्छ । ध्वनिको अद्भुत क्षमतालाई हिजोआज विज्ञानले समेत स्वीकारेको छ । चिकित्साविज्ञानमा विशिष्ट ध्वनिको प्रयोगले पित्ताशय या मिर्गौलाको पत्थरीसमेत फुटाउने प्रचलन आम भइसकेको छ ।
साधनाको क्षेत्रमा सही मन्त्रोच्चारणले तन्मयता बढ्छ, स्मृति प्रखर हुन्छ, स्थिरता विस्तार हुन्छ र समताको अनुभूति हुन थाल्छ । सुरुमा मनैमनमा, क्रमशः सानो आवाज निकालेर, त्यसपछि स्पष्ट सुनिनेगरी अन्त्यमा फेरि आवाज सानो पार्दै पुनः मनमनै मन्त्रोच्चारण गरिने विधिलाई क्रमशः वाचिक जप, उपांशु जप र मानस जप भनिन्छ ।
मन्त्रोच्चारणको प्रभावले शरीर र मनमा अपार शान्ति र आनन्दको तरड्ढ सञ्चार हुन्छ । चित्त शुद्ध हुन्छ, कुनै प्रकारको तृष्णा बाँकी रहन्न, मनमा करूणा र कल्याणका भावना भरिन्छ । मन्त्र साधनाले विगतको स्मृति र भविष्यको कल्पनाविहीन बनाएर भाषा र शब्दको सीमाभन्दा परको अवर्णनीय अनुभूति दिलाउँछ ।
गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नु भएपछि आफ्ना शिष्यहरूलाई चार आर्य सत्य, अष्टाड्ढिक मार्ग र विपश्यना ध्यान सिकाउनुभयो । कालक्रममा प्रबुद्ध साधकहरूले ध्यान र साधनाको विधिलाई चुस्त र प्रभावकारी ढड्ढले विकसित गरे ।
वज्रयानले विपश्यना ध्यानका साथै शीघ्र दुःख मुक्तिका र ज्ञानोदयका लागि केही मन्त्रको यथोचित अभ्यास गर्दा तत्क्षण यिनको प्रभाव महसुस गर्न सकिन्छ । बुद्ध स्वयम्ले दुतियपुञ्याभिसन्दसुत्तमा ‘स्वाक्खातोभगवता धम्मो सन्दिटठको अकालिको’ अर्थात् तथागतले सुन्दर शब्दमा बताएको कर्म अभ्यास गर्नलायक छ, अहिल्यै फल दिने, तत्क्षण परिणाम देखिनेखालको छ, भन्नुभएको थियो । बौद्ध दर्शनअनुसार बोधिचित्त उत्पन्न गरी तद्नुरूप आचरण गर्दागर्दै मानिस वोधिसत्व बन्न सक्छ, बोधिसत्व अन्ततः बुद्ध बन्न सक्छ ।
सबैको कल्याण गर्न बुद्धत्व लाभ गर्ने चेतना पैदा हुनुलाई बोधि प्रणिधि चित्त भनिन्छ । यो भाव पैदा भएपछि साधक सो सङ्कल्पलाई कार्यान्वयन गर्ने काममा लाग्छ । उसले षट् पारमिता, मन्त्र ध्यानको अभ्यास गर्न थाल्छ, सप्त बोध्यड्ढहरूको अनुशीलनमार्फत बुद्धत्व लाभको दिशामा लम्किनुलाई बोधिप्रस्थान चित्त भनिन्छ ।
विभिन्न पूर्वसंस्कार र अशुभ कार्यमा लीन हुनाले मानिसको मनमा शुभ विचार पैदा हुँदैनन्, बिजुली चम्केजस्तो कथम्कदाचितमात्रै मनमा पर कल्याणको भावना पैदा हुन्छ । चित्तमा यही शुभ भावना पैदा हुनु बोधिचित्तको झलक हो । यसप्रकार चित्तमा पर कल्याणको भाव उत्पन्न भएको बेलामै पुण्य कर्म गरिहाल्नुपर्छ । बोधिचित्त उत्पन्न गर्नका लागि सर्वप्रथम मनमा अपार मैत्री भावना हुनुपर्छ ।
सबै प्राणी आमस्वरूप हुन्, सबै सŒवहरू सुखी होऊन् भन्ने कामना गर्नु मैत्री भावना हो । यस्तो कामनाको आरम्भ आफ्नी आमालाई सम्झेर गर्न सहज हुन्छ । आमा अनेक दुःख–कष्ट सहेर पनि आफ्ना सन्तानको हित र कल्याणका लागि काममा दत्तचित्त भइरहेकी हुन्छिन् । सबै प्राणी दुःखमुक्त होऊन, सबैले दुःखरहित सुख अनुभूति गरून्, यसप्रकारको भावना मनमा मैत्री विकसित गर्ने र बोधिचित्त उत्पन्न गर्ने सरल उपाय हो । ‘बुद्धो भवेयं जगतो हिताय’ यही शुभ सङ्कल्पअनुरूप विचार, भावना र कर्म गर्नु बोधिसत्वचर्या हो । यसका लागि कुनै वस्तु वा विधिप्रति आशक्ति नराखी केवल बुद्धत्व प्राप्तिको उच्चतर लक्ष्यलाई शिरोपर गरेर आचरण गर्नुपर्छ ।