सबैका सत्यमोहन
श्रीओम श्रेष्ठ ‘रोदन’
वास्तविक महापुरुषको पहिलो चिनारी नम्रता हो भन्ने रस्किनको भनाइ ठ्याक्कै लागू हुन्छ, सत्यमोहन जोशीमाथि । ज्ञान र अनुभवले भरिपूर्ण भए पनि उहाँ देखिएजस्तै सरल र विनम्र हुनुहुन्छ । व्यक्ति एक भएर अनेक व्यक्तित्वका धनी हुनुहुन्छ । समुद्रजस्तै गहिरो छ, ज्ञानको भण्डार । कुवेरको ढुकुटीजस्तै छ, अनुभव । जे खोज्यो त्यही भेटिने । भण्डारहरूको पनि भण्डारजस्तै । आवश्यकताअनुसार जसले जत्रो भाँडो लिएर गयो, त्यसले त्यति नै भर्न सक्ने ।
कविता, कथा, नाटक, लोकसाहित्य, निबन्ध, संंस्कृति, दर्शन, कला, पुरातŒवजस्ता विषयका ज्ञाता हुनुहुन्छ । पुस्तकहरूले पनि अभिलेखै कायम गरेका छन् उहाँका । नजानेको केही छैनजस्तो, नबुझेको केही छैनजस्तो । जुन क्षेत्रको जुनै सन्दर्भमा पनि घण्टौँ बोल्न सक्नुहुन्छ । ‘ज्याक अफ अल मास्टर अफ नन’ भन्ने अङ्ग्रेजी उखानलाई माथ खुवाइदिनुभएको छ र बन्नुभएको छ– ‘ज्याक अफ अल मास्टर अफ अल’ ।
अहिले थाक्नै नपर्नेहरू उमेरभन्दा बढीको बोझले थिचिएका छन् । हातलाई भाग्य मानेर सुन्दर सम्भावना कुरिरहेका छन् । अलिकति घामले छुनासाथ उन्मादले मात्तिएर हुनुपर्नेभन्दा ठूलो बन्न खोजिरहेका छन् । तर, सत्यमोहन भने टुँडिखेलको घोडेजात्रामा दौडिने घोडाजस्तै वेगमा हुनुहुन्छ । थकाइ मार्न बिर्सिएजस्तै दौडिरहनुभएको छ, निरन्तर शताब्दी पार गरिसक्दा पनि ।
आयुले एक सय एक वर्ष लागिसकेको छ । आख्यान शताब्दीपुरुष मानेर सरकारले पनि विभूषित गरिसकेको छ । त्रिमूर्ति निकेतनले पाँच वर्ष ग्रेस दिएर शताब्दीपुरुषको सम्मान दिएको थियो एकहत्तर मङ्सिरमा नै । देशविदेशका एक सय एकवटा संस्थाले अभिनन्दन पनि । तर, बुढ्यौलीको सङ्केत भने न देखिने ठाउँ देखिन्छ न नदेखिने ठाउँमा नै । सधैँ ऊर्जावान, सधैँ उत्साही सत्यमोहन ।
सायद बाँच्नुको सार्थकता भनेको यस्तै होला ।
‘आर्ट अफ लिभिङ’ भनेको पनि यस्तै नै होला । न बिरामी, न औषधि, न अस्पताल, न कसैलाई दुःख न आफैँलाई दुःख । न टेक्ने लौरो न कसैको साथ नै । सबैका बन्न सकेका र सधैँका बन्न सकेका सत्यमोहन ।
सत्यमोहन आफूप्रति इमानदार हुनुहुन्छ, त्यसैले अरूप्रति बेइमान बन्न सक्नुहुन्न । हिजोले यही भन्छ, आजले यही नै भनिरहेको छ । भोलि भनेको विश्वास नै हो । ठुल्ठूला आदर्श फलाक्नेहरू, बोलेजस्ता देखिँंदैनन्, देखेजस्ता बन्दैनन् । छेपारा चकित पर्छन् रङ फेरको देख्दा । भ्रम बाँड्छन्, भ्रममा बाँच्छन् र भ्रममै मर्छन् । आफूभित्रको सत्यलाई राम्रो पहिरन र मीठोे बोलीले ढाक्छन् । यस्ता आवरणले अरूलाई त झुक्याउँछन् नै आफैँ पनि झुक्किरहन्छन् । समस्या नै यही हो हाम्रो समाजको । सत्यलाई लुकाएर असत्यको पर्दामा उत्रिरहने । तर, सत्यमोहन सगरमाथाझैँ बनेर सबै हेरिरहनुहुन्छ ।
मान्छेमान्छेबीचको अविश्वास र कलह बढिरहेको भीडमा सत्यमोहन झण्डै एक्लो बन्नुभएको छ, अपवाद बन्नुभएको छ । भित्र भएजस्तै देखिने र व्यवहार पनि गर्ने । नामजस्तै सत्य र कामजस्तै मोहन ।
स्वरूप त्यस्तै, व्यवहार त्यस्तै, लवाइ पनि त्यस्तै । आदर्श नै आदर्श । दौरासुरुवाल, कोट र टोपीभन्दा अरू कुनै स्वरूपमा देखिनुहुन्न । देखिएरैमात्र चिन्ने अर्को परिचय हो उहाँको ।
घर पनि त्यस्तै । प्राचीन ऋषिमुनिहरूको कुटीजस्तै । आँगनमा तुलसीको मठ छ । रूख र फूलका लहराले छपक्कै छाना छाएको । बिहान र साँझ एकनासले चराहरू गाइरहन्छन् । नजिकै माता र पिताको अर्धकदको सालिक । सँगैको ठूलो घरमा नबसेर ऋषिहरूझँै कुटीमा बस्नुभो वर्षौं ।
अहिले ठूलो र आकर्षक घर बनाएर अरूको आँखा लगाउने होड छ । तर, उहाँ पाटन सहरको बीचमा सामान्य कुटीमा बस्नुहुन्छ । देखाउनका नभएर जीवनशैली नै बनेको छ उहाँको । लोभ नभएपछि गर्न सकिने त्याग भनेको यस्तै होला । सत्यमोहन हुनुको आदर्श पनि यस्तै होला ।
अहिले त्यही कुटीको जग्गा पनि दान गर्नुभएको छ । त्यही ठाउँमा सत्यमोहन लोकसाहित्य भवन बनेको छ, चार तलाको । यसकै काममा थप व्यस्त बन्नुभएको छ बिहानदेखि नै ।
एकप्रकारले सत्यमोहन आश्रम जिउँदो सङ्ग्रहालय बनेको छ । बिहानदेखि साँझसम्मै आउजाउ गर्नेहरू खाली हुँदैनन् । कोही संस्कृतिका कुरा गर्न आउने, कोही लोकसाहित्य बुझ्न आउने । कोही साहित्यका, कोही कलाका, कोही पुरातŒवका, कोही इतिहासका कुरा गर्न आउने । कोही पुस्तक विमोचन गर्न आउने, कोही पुस्तक दिन आउने, अन्तर्वार्ताका लागि रेडियो, टेलिभिजन, पत्रिका, युट्युबकाहरू आइरहने । भेटघाटका लागि र फोटो खिच्नका लागि घर खोज्दै पनि आइरहने । तर, कसैलाई पनि नाइँ नभन्ने । सबैलाई आत्मीय व्यवहार गरिदिने । अरूले आफूलाई महŒव दिएजस्तै अरूको महŒव पनि बुझिदिनुहुन्छ । यसरी अरूको खुसीमा खुसी हुन सानो छातीले भ्याउँदैन । यो पनि एकप्रकारको जीवनकला नै होला ।
सादा जीवन, सक्रिय जीवन, सकारात्मक सोचले बुढ्यौली पनि नलाग्दोरहेछ कि क्या हो । हिजोका सम्मानभन्दा आज झन् बढेको बढ्यै छ । बोलाइ, लेखाइ र व्यवहारमा संयम भएर हो कि ? सोचाइमा दूरदर्शिता भएर पो हो कि ? गराइमा सदाचार भएर पो हो कि ? सत्यमोहन सबैका र सधैँका बन्न सक्नुभएको ।
प्रकृतिजस्तो नियमितता छ उहाँको । न कसैले बिथोल्न खोज्छन्, न गर्न खोजेर नै सक्छन् । ज्ञान अनुभवमा झुकाउने कल्पना नै गर्न सक्दैनन् कसैले तर उहाँ भने झुकिरहनुहुन्छ, लटरम्म हाँगाजस्तै । सत्यमोहनसँंग जतिपटक भेटेको छु, त्यति नै पटक म शालीनताले भुतुक्कै भएको छु । कुरो मेरोमात्र होइन, जो पनि त्यही भन्छन् । पानीजस्तोे जोसँग पनि मिल्न सक्नुहुन्छ ।
कार्यक्रमहरूमा निरन्तर भेट हुन्छ नै । धेरै नै पटक कार्यक्रममा प्रमुख आतिथ्यका लागि निम्त्याएको छु । विमोचन र भेटघाटको माध्यम बनेको छु । पत्रिकाका लागि र एफएम रेडियोका लागि पटक–पटक अन्तर्वार्ता गरेको छु । अरू त अरू नेवारहरूको म्हपूजाको दिन पनि राति स्टुडियोमा आउनुभएको छ । साँस्कृतिक डकुमेन्ट्री बनाउँदा सोधीखोजी गरेको छु । कहिल्यै ‘भ्याइनँ’ भन्नुभएको थाहा छैन । अप्ठेरो मान्नुभएको थाहा छैन । जहिले पनि तयार, जेमा पनि तयार, जहाँ पनि तयार । सीमाहीन शालीनताको परिभाषा योभन्दा बढी अरू के हुन सक्ला र ?
सत्यमोहनको उमेर र सक्रियता, उहाँको ज्ञान र प्रयोग, उहाँको शालीनता र विनम्रता सबै–सबैबाट झङ्कृत भएको छु । कुनै कुराले दुःखी हुँदा उत्साही भएको छु । जतिपटक भेट्दा पनि ऊर्जा पाएको छु । प्रत्येक भेट मेरा लागि जित भएका छन् ।
जिउनुको सार्थकता पनि यही नै होला मान्छेको । बाँच्नुमात्रै त के कुरा भयो र ? सासैले मात्र बाँच्ने, आसैले मात्र बाँच्ने, आफ्नै लागि मात्र बाँच्ने, मरेपछि मर्ने जीवनको सार्थकता कहाँ हुन सक्ला ? मान्छे त करोडौंँ जन्मिरहेका छन् र करोडौंँ नै मरिरहेका छन् । तर, सत्यमोहनजस्तो बाँच्ने कति होलान् र ? बाँचेर अरूलाई ज्ञान र अनुभव बाँडिरहन सक्ने । आत्मबल र उत्साह बढाइरहन सक्ने । अरूका लागि सधैँ आदर्श बनिरहन सक्ने । त्यत्तिकै देशविदेशबाट भेट्नलाई आइरहेका होलान् र ? काम हुने नहुने जसलाई पनि समय नपुग्ने आजको समयमा । अहिले त झन् सत्यमोहन ‘सेलिब्रेटी’ बन्नुभएको छ । एकपटक भेट्ने सपना नबोक्ने धेरै कममात्र होलान् ।
पाटनको, बखँुबहाल अर्थात् परेवा बस्ने ठाउँमा जन्मनु भो । वैशाख ३० गते १९७७ को साइतमा । नाम त एउटै हो तर अनेक व्यक्तित्वका धनी बन्नुभएको छ । कसैले लोकसाहित्यकार भने कसैले संस्कृतिविद् । कसैले मदन पुरस्कारका ह्याट्रिक भने । कसैले महाविद्यावारिधि पाउने पहिलो भने । कसैले प्रज्ञाप्रतिष्ठानका सक्षम सदस्यसचिव भने । कसैले गाईजात्रामा हास्यव्यङ्ग्य चलाउने भने । कसैले नयाँ वर्षमा नाटक प्रतियोगिता गराउने भने । कसैले संस्कृति तथा पुरातŒव विभागको पहिलो महानिर्देशक भने । कसैले पाटन दरबारमा पुरातŒव बगँैचा बनाउने भने । कसैले तौलिहवामा पुरातŒव सङ्ग्रहालय बनाउने भने । कसैले भक्तपुरमा चित्र सङ्ग्रहालय बनाउने भने । कसैले राष्ट्रिय नाचघर बनाउने भने । कसैले न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली भने । भन्नेहरूले जे–जे भने पनि सत्यमोहन सत्यमोहन नै भएर बाँचिरहनुभएको छ । उहाँ न खुसीले मात्तिनुभएको छ न कहिल्यै दुःखले आत्तिनुभएको ।
अर्काको तराजुमा कहिले जोखिन नपरेको शरीर, धरौटीमा हाँस्न नपरेको हाँसो र कसैको मानोपाथीमा भरिन नपरेकोजस्तो लाग्छ । त्यसैले त अग्लो उचाइ, गर्विलो आवाज, फुकाएको छातीमा जहाँ पनि पुग्नुभएको छ ।
बूढोपास्नी पटक–पटक सकिसकेपछि पनि युरोप, अमेरिका पुग्नुभयो । जति टाढाको कार्यक्रममा पनि पुग्नुभयो । नपुगेको कुनै ठाउँ छैन जस्तो, कुनै क्षेत्र छैन जस्तो । जति टाढाको कार्यक्रममा पनि कसैले लिन जान नपर्ने, पु¥याउन जान पनि नपर्ने । कार्यक्रममा समयभन्दा अगाडि नै पुग्नुहुन्छ । प्रमुख बनेपछि आमन्त्रितभन्दा ढिलो पुग्ने ढोङलाई पनि ढालिदिनुभएको छ । प्रत्येक सन्दर्भमा छाड्नुहुन्छ सत्यमोहन हुनुको अर्थ ।
विज्ञापनले वर्तमानलाई मुखुण्डो लगाइदिएको छ । हरेक कुरामा ‘बाइ वान गेट वान’ भनेजस्तै हुन थालेको छ, जिन्दगी । सुकोमल डसनामा निदाउन नसक्नेहरूले निदाउने आँखा उधारो ल्याएजस्तो, खोक्रो बाँसजस्तो बन्न थालेको जीवन । यस्तो समयमा सत्यमोहन आफैँ र आफ्नै भएर बाँचिरहनु सानो कुरा हुन सक्दैन । राणाकाल, पञ्चायतकाल, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे–जे तन्त्र भने पनि भोग्ने सत्यमोहन नै हुनुहुन्छ । सबै कालका साक्षी भए पनि उहाँ आफ्नोपनमा अलिकति पनि तल–माथि हुनुभएको छैन ।
गोरखापत्रमा कविता छापियो पहिलोपटक । त्यसपछि निबन्ध, भाषा, नाटक, संस्कृति, लोकगीत, पुरातŒव, महाकाव्य, मूर्तिका कुरा, मुद्राका कुरा । खोजीखोजी झण्डै छ दर्जनजति पुस्तक लेख्नुभो । हात नहालेको कुनै विधा छैन र असफल पनि कुनैमा देखिनुहुन्न । मान्छे जत्तिकै दह्रो छ, उहाँको कलम, नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषामा ।
चीन जानुभो नेपाली भाषा सिकाउन । पेकिङ रेडियोमा नेपाली कार्यक्रम चलाउनुभो चार वर्ष । कलाकार अरनिको खोजेर पुस्तक बनाउनु भो, चर्चामा ल्याउनुभो र विभूति नै बनाउनुभो । राष्ट्रसङ्घीय कार्यक्रमबाट न्युजिल्यान्ड पुग्नु भोे र पहिलो नेपाली पाइताला बनाउनु भो । तेन्जिङ र हिलारीले सगरमाथा टेकेको भोलिपल्ट नै । खुसीसँगै कल्पना नै नगरेको सम्मान पाउनुभो ।
नाटक लख्नुभो ‘फर्केर हेर्दा’ । जुम्लासम्म पु¥याउनुभो । राजधानीबाहिर पहिलोपटक । त्यतिमात्र कहाँ हो र ? नाटक निकै चल्यो । पैसा कमायो र त्यही पैसाले कुलपतिको थोत्रो गाडी फेरियो । कुरो तेत्तीस सालको हो । नाटक लेखकमात्र होइन, कलाकार पनि हुनुहुन्छ डबलीको ।
साँच्चैको अभिनय गर्नेहरूले मञ्चको पर्खाल नाघ्न सकेका छैनन् । जति ताली बजे पनि प्रेक्षालयका भित्ताहरूले बाहिर जान दिँदैनन् तर जीवनलाई नै अभिनय गर्नेहरू सर्वत्र सफलताको शिखर चुमिरहेका छन् । यो पनि एउटा कला बनेको छ, जहाँ जस्तो पर्छ, त्यस्तै अभिनय गर्ने र देख्नेजतिलाई दर्शक बनाइदिने । कुन यथार्थ र कुन अभिनय छुट्ट्याउन नसक्नेहरूको हुलमा सत्यमोहन जीवनको सत्य अभिनय गरिरहनुभएको छ । अर्थात् न उहाँले कुनै क्षेत्र छोड्नुभएको छ न कुनै क्षेत्रले नै उहाँलाई छोडेको छ । त्यसैले सत्यमोहन मात्र नाम होइन कीर्तिमान नै कीर्तिमानी नाम बनेको छ ।
सत्यमोहन जोशीको उचाइ, उमेरजस्तै बढेको बढ्यै छ । समयले सबैलाई परिवर्तन गरिरहेको छ । नेताहरूको त कुरै छोडौँ । कलाकार र साहित्यकारहरू पनि समयअनुरूपको ट्युनिङमा बज्ने र समय गएपछि हराउनेक्रम चलिरहेका छन् । तर, सत्यमोहन जुनसुकै समयमा पनि आफ्नै टु्यनिङमा बजिरहनुभएको छ । यही सदावहारले नै उहाँलाई कालजयी बनाएको छ, सधैंँका लागि र सबैका लागि बनाएको छ ।
भाषा, साहित्य, कला र संस्कृतिको अनवरत साधनाले गर्दा कहिले बूढो नहुने सिनेमाको सुपरस्टारजस्तै बन्नुभएको छ ।
विश्वविद्यालयहरूको भाषामा महाविद्यावारिधि ।
राज्यको भाषामा आख्यान शताब्दीपुरुष ।
जनताको भाषामा हाम्रो सत्यमोहन, सधैँका सत्यमोहन ।