बाछिटा लेखन
अमर त्यागी
साहित्य जीवन, जगत् र भोगाइका अनुभूतिजन्य संवेदना र संचेतनाको भाषिक अभिव्यञ्जना हो । साहित्यमा समाज, देश, काल र परिस्थितिका परिघटना र त्यसको प्रभावबाट मानवीय अन्तर्मनमा उत्पन्न भावसंवेगहरूलाई भाषाको माध्यमबाट कलात्मक अभिव्यक्ति गरिएको हुन्छ ।
आजको युग वैज्ञानिक युग हो । व्यस्त समयको युग हो । अध्ययन क्रममा थोरै अध्ययनबाट धेरै ग्रहण गर्ने युग हो । साहित्य अध्ययनको भोक हुँदाहुँदै पनि लामो रचना अध्ययन गर्ने र त्यसमा डुबेर बस्ने समय सबैलाई नहुन सक्छ । तसर्थ यस्ता व्यक्तिहरू समयको सदुपयोग गर्दै थोरै अध्ययनबाट धेरै ग्रहण गर्ने चाहना राख्छन् । थोरै समयमा वा थोरैमा धेरै बुझिने र अध्ययनपश्चात् सियोको टुप्पोले चस्स घोचेजस्तो वा आगोको झिल्कोले चस्स पोलेजस्तो हृदयमा एक किसिमको झड्का छोड्ने वा तरङ्ग उत्पन्न गरेर तीक्ष्ण प्रभाव छोड्ने हुनाले अचेल छोटा, छरिता र ससाना वा सूक्ष्म स्वरूपका रचनाहरू सिर्जना हुने गरेका छन् र यस्ता रचनाहरू लेखन र अध्ययनको केन्द्र बन्दै गएका छन् । थोरै समयमा थोरै अध्ययनबाट धेरै ग्रहण गरिने ससाना स्वरूपका रचनाहरू सिर्जना गर्ने सन्दर्भमा एलाक, छोक, छेस्का, झिल्का, कृमुक, झर, दानाकविता, सूत्रकविता, विम्बकविता, वीजकविता र बाछिटाजस्ता लघुत्तम वा सूक्ष्म स्वरूपका काव्यिक उपविधाहरू प्रादूर्भाव भएका हुन् ।
काव्यिक उपविधाको रूपमा बाछिटा
कविता विधाका बृहत् मझौला र स्फुट गरी तीन भेदहरू रहेका छन् । बृहत् रूप महाकाव्य, मझौला रूप खण्डकाव्य र स्फुट रूप फुटकर कविता हुन् । फुटकर कवितामा जीवन भोगाइको एउटा सग्लो पक्षलाई कलात्मकतासाथ व्यक्त गरिएको हुन्छ । फुटकर कविता गद्यात्मक र पद्यात्मक दुवै स्वरूपमा रचना गरिन्छ । कविताको फुटकर स्वरूपका रचनाका आकार र आयामभन्दा भिन्न स्वरूपका आकार र आयाममा सिर्जना गरिने पद्यात्मक वा काव्यात्मक शिल्पशैलीका रचनालाई कविताको उपविधा भन्ने गरिएको पाइन्छ । यस्ता उपविधात्मक कविताको संरचनात्मक स्वरूप सूक्ष्म र प्रस्तुति तीक्ष्ण किसिमको हुन्छ । यही सूक्ष्म र तीक्ष्ण स्वरूपमा नेपाली कविताको उपविधाको रूपमा बाछिटाको जन्म भएको हो । तीन पाँच तीन अक्षरको तीन पङ्क्तिपुञ्जमा प्रकृतिको विम्बसहित प्रतीकात्मक प्रस्तुतिमा बाछिटा रचना गरिन्छ । बाछिटा शब्दको प्रकृति, व्युत्पत्ति र अर्थको आधारमा बाछिटा लेखनको अवधारणा निर्माण गरिएको छ । बाछिटा तीन पाँच तीन अक्षरीय तीन पङ्क्तिपुञ्जको लघुत्तम काव्यिक उपविधाको परिकल्पनाका आघारमा यो अवधारणा परिनिर्मित भएको हो । विषयगत, आकारगत, आयामगत, संरचनागत र प्रस्तुतिगत भावभूमिका आधारमा बाछिटा सूक्ष्मतम, तीक्ष्णतम, लघुत्तम र सूत्रात्मक स्वरूपको काव्यिक उपविधा हो ।
बाछिटा शब्द
बाछिटा समस्त शब्द हो । यो शब्द कर्मधारय समास भएर बनेको हो । यसको विग्रह रूप बाङ्गो छिटा हुन्छ । तत्समको रूपमा रहेको वक्र शब्द तद्भव भएर बाङ्गो बन्छ । बाङ्गोेको अर्थ सोझो नभएको वा टेढो चाल भएको हुन्छ । त्यस्तै तत्समको रूपमा रहेको क्षिप्त शब्द तद्भव भएर छिटो शब्द बनेको हो । यसको अर्थ छचल्केर वा उछिट्टिएर आउने पानीको सानो थोपो, जलबिन्दु, जलकण वा शुद्धि क्रियाका निम्ति छर्केको पानीको थोप्लो भन्ने हुन्छ । बाछिटाको समग्र रूपको अर्थ हावाले हुत्याउँदा छड्के गरी परेको पानीको छिटा वा छानाको किनारबाट खस्दा बलेसीमा ठोक्किएर टेढो भएर उछिट्टिएको पानीको छिटा भन्ने हुन्छ ।
बाछिटा नेपाली भाषाको तद्भव शब्द हो । यो प्रकृतिपरक शब्द हो । यसको अर्थगत भावले बाङ्गोे प्रवृत्तिको भन्ने सङ्केत गर्छ । यसैको आधारमा साहित्यमा कविता विधाको उपविधाको रूपमा बाछिटाको परिकल्पना प्रकृतिको विम्बसहित बाङ्गोे प्रस्तुति र लघुत्तम संरचना भएको काव्यिक रचनाको रूपमा गरिएको हो । शब्दको स्वरूपगत, व्युत्पत्तिगत र अर्थगत भावलाई मूल आधार मानेर बाछिटा काव्यिक उपविधाको रूपमा प्रतिपादन गरिएको हो । बाछिटा तीन अक्षरीय शब्द हो । काव्यिकरूपमा बाछिटाको पहिलो पङ्क्ति तीन अक्षरीय शब्दको परिकल्पना हो । त्यस्तै दोस्रो पङ्क्ति दुई अक्षर थपेर पाँच अक्षरको र तेस्रो पङ्क्ति पनि पहिलोमा जस्तै तीन अक्षरको शब्द राखेर तीन पाँच तीन अक्षरीय तीन पङ्क्तिपुञ्जको लघुत्तम स्वरूप भएको काव्यिक उपविधाको रूपमा बाछिटाको संरचनात्मक स्वरूप निर्धारण गरिएको हो । त्यसैगरी पहिलो पङ्क्तिमा विषय पक्रने वा उठान गर्ने, दोस्रो पङ्क्तिमा विषयको विस्तार गर्ने वा उत्कर्षमा पु¥याउने र तेस्रो पङ्क्तिमा विषयको मूल मर्म वा भावलाई चस्स छुने किसिमले व्यक्त गर्ने आधारमा विषयगत स्वरूपको परिकल्पना गरिएको हो । त्यसैगरी बाछिटा वाचन गर्दा पहिलो पङ्क्ति बुलन्दरूपमा पठन गर्ने र पठनपछि एकदमै छोटो विश्राम र विश्रामपछि दोस्रो पङ्क्ति पनि बुलन्दरूपमा पठन र पठनपछि त्यसैगरी छोटो विश्राम र तेस्रो पङ्क्ति पनि बुलन्दरूपमै पठन गर्ने र पठनपद्धति प्रभावमय हुनुपर्ने प्रावधान अपनाइएको छ ।
बाछिटा प्रकृतिपरक शब्द भएको हुँदा त्यसको सार्थकताका निम्ति बाछिटामा प्रकृतिविम्ब हुनैपर्ने र प्रकृतिविम्बको उपस्थितिका निम्ति जीवन, धर्म, दर्शन, इतिहास, समाज, राजनीति आदिसँग सम्बन्धित भएर आउने प्रकृतिका स्वरूप वा झलकलाई प्रकृतिविम्बको रूपमा प्रयोग गर्ने नीति निर्धारण गरिएको छ । त्यस्तै बाङ्गो छिटाको अर्थगत स्वरूपका आधारमा बाङ्गो भनाइ वा प्रतीकात्मक प्रस्तुति बाछिटामा हुनैपर्ने र प्रतीकात्मक प्रस्तुतिका निम्ति अभिधात्मक नभएर लक्षणात्मक र व्यञ्जनात्मक अभिव्यक्ति हुनुपर्ने मान्यता स्थापना गरिएको छ । बाछिटाको तीनै पङ्क्तिबीच अर्थगत सामञ्जस्यता हुनुपर्ने तथा अक्षरगणना भाषाको लेख्य स्वरूपअनुसार शब्द चयन र लेखन सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्ने आधार बनाइएको छ ।
साथै बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता निष्क्रिय भाषिक रूपहरू भरसक प्रयोग नगर्ने र समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखान टुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउन नहुने निक्र्याेलसमेत गरिएको छ । बाछिटा सूक्ष्म संरचनात्मक स्वरूपको लघुत्तम रचना भएको हुनाले यसको शीर्षक नदिएर बाछिटा नै लेख्नु उपयुक्त हुने ठहर पनि गरिएको छ । यसरी बाछिटालाई लघुत्तम संरचनात्मक स्वरूप र सूत्रात्मक प्रस्तुति हुने प्रतीकात्मक काव्यिक उपविधाको रूपमा स्थापना गरिएको छ । बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महìव रहेको छ । तीन पाँच तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति विम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ । प्रकृतिलाई मानवीकरण वा मानवलाई प्रकृतीकरण गरेर बाछिटा रचना गर्दा प्रकति विम्बको प्रयुक्ति देखिनुका साथै प्रतीकात्मकताको पनि उपस्थिति रहन्छ ।
नवीन उपविधा
बाछिटा काव्यको नवीनतम उपविधा हो । कविताभन्दा भिन्न संरचना, स्वरूप र आयामको आधारमा यसलाई उपविधा मानिएको हो । बाछिटाको आकार र आयाम लघुत्तम र प्रस्तुति प्रतीकात्मक वा वक्रोक्तिपूर्ण रहने गर्छ । त्यसैले सुन्दर बाछिटा सिर्जनाका निम्ति गम्भीर चिन्तन र निरन्तर साधनाको आवश्यकता पर्छ । सैद्धान्तिक अवधारणाको परिकल्पना निर्माण, बाछिटा नामकरण र काव्यिक उपविधाको रूपमा प्रवर्तनको विधिवत् घोषणा २०७७ साल जेठ ४ गते यस पङ्क्तिकारले अमेरिकाबाट गरेको हो । बाछिटाको प्रवर्तनमा नेपालबाट खगेन्द्र बस्यालले निरन्तर साथ सहयोग दिनुभएर महìवपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । बाछिटा लेखन अभियान जीवन भोगाइका संवेगहरूलाई प्रकृतिको विम्ब वा झलकको माध्यमबाट प्रतीकात्मक रूपमा तीन पाँच तीन अक्षरीय तीन पङ्क्तितपुञ्जमा अभिव्यक्त गर्ने मान्यताको रूपमा अगाडि बढिरहेको छ । यो मान्यता बाछिटा लेखनको मूल मियो हो ।
बाछिटा लेखनको सैद्धान्तिक परिकल्पना गर्न‘पूर्व वा अवधारणा निर्माण गरिनुपूर्व बाछिटाकै स्वरूपमा छिटा, छेस्का, झिल्का, सूत्र हाइकु लघु हाइकु नामका रचनाहरू सिर्जना भएका पाइन्छन् । यस्ता रचनाहरू बाछिटा स्वरूपका लघुरचना हुन्, बाछिटा होइनन् । यस्ता रचनाहरूलाई पनि बाछिटा मान्ने हो भने वैदिक कालसम्मै पुग्नुपर्ने हुन्छ । वैदिक ऋचा, उषासूक्त, पाणिनि व्याकरणका सूत्रहरू पनि बाछिटाजस्तै संरचनाका छन् । एलाक, छोक, दानाकविता र सूत्रकविताका कतिपय स्वरूप पनि बाछिटाकै जस्तो छ । संरचना मिलेका त्यस्ता सबै रचनालाई बाछिटा मान्नुपर्ने हुन्छ र बाछिटाको सैद्धान्तिक अवधारणाको औचित्य रहन्न । त्यसैले संरचनागत स्वरूप बाछिटाजस्तै भए पनि त्यस्ता रचना बाछिटा होइनन् किनकि ती रचना बाछिटा लेखनको मूल मान्यताभित्र पर्दैनन् । साहित्यको कविता विधाको उपविधाको रूपमा प्रवर्तित बाछिटा सूत्र स्वरूपमा सिर्जना गरिने लघुत्तम रचना मानिन्छ । सैद्धन्तिक मान्यताको मियोमा रहेर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा समेत बाछिटा लेखन अभियान क्रियाशील रहेको छ ।
अन्तर्वस्तु, सङ्केत र व्यङ्ग्य
जीवन, जगत् र भोगाइका अनन्त संवेगहरूलाई तीन पाँच तीन अक्षरीय तीन पङ्क्तिपुञ्जमा प्रकृतिका वैविध्यपूर्ण स्वरूप वा झलकलाई विम्ब बनाएर प्रतीकात्मक वा वक्रोक्तिपूर्ण वा लक्षणात्मक र व्यञ्जनात्मक प्रस्तुतिका आधारमा गरिएको व्याकरणिक भाषिक अभिव्यञ्जनालाई बाछिटा भनिन्छ । यो परिभाषागत मान्यता बाछिटा लेखनको मूल अन्तर्वस्तु हो । बाछिटामा सूक्ष्मरूपमा गहन भावको सङ्केत गरिएको हुनुपर्छ र त्यो भाव प्रतीकात्मकरूपमा आएको हुनुपर्छ । अर्थात् दृश्यमा अदृश्य भावको सङ्केत गरिएको हुनुपर्छ र यो सङ्केत अनन्त सम्भावनाको रूपमा आएको हुनुपर्छ । नेपाल प्राकृतिक विविधताले भरिपूर्ण देश भएको हुनाले प्रकृतिविम्बको प्रयुक्तिका साथ प्रतीकात्मक प्रस्तुतिका मूल मान्यतामा रहेर यहाँ बाछिटा लेखनको अनन्त सम्भावना रहेको छ । बाछिटा लेखन अभिधार्थ नभएर लक्षणार्थ र व्यञ्जनार्थ हुनुपर्ने मान्यता रहेको छ । अर्थात् बाछिटा लेखन सोझो अर्थ वा अभिधार्थमा हुनुहुँदैन । अभिधार्थले बाछिटामा प्रतीकात्मक स्वरूपको उपस्थिति रहँदैन, त्यसैले अभिधार्थ बाछिटा लेखनको मान्यतामा पर्दैन । बाछिटा लेखन प्रतीकात्मक हुनुपर्ने मान्यता रहेको छ । यो मान्यताले लक्षणार्थ र व्यञ्जनार्थको सङ्केत गर्छ । लक्षणार्थले रूढि वा प्रयोजनको आधारमा बाङ्गो अर्थको सङ्केत गर्छ । यही अर्थसङ्केतका आधारभूमिमा अचेल अधिकांश बाछिटा लेखिइरहेका छन् । व्यञ्जनार्थले व्यङ्ग्यार्थ वा विशेष चमत्कारी अर्थको सङ्केत गर्छ । व्यञ्जनावृत्तिमा बाछिटाहरू कम लेखिन्छन् । व्यञ्जनापूर्ण बाछिटाहरू सर्वोत्कृष्ट मानिन्छन् । सामान्यीकृत रूपमा भन्दा बाछिटा लेखन बाङ्गो छिटाको अर्थगत आधारमा बाङ्गो भनाइ वा प्रतीकात्मक हुनैपर्ने अवधारणा सर्वोपरि रहेको छ । बाछिटा प्रकृतिपरक शब्द हो । त्यसर्थ बाछिटामा प्रकृतिको कुनै पनि स्वरूप वा झलक विम्बको रूपमा आएको हुनैपर्छ । यस मान्यतामा लेखिएका बाछिटा मात्र बाछिटा हुनसक्छन् । बाछिटा लेखनको परिकल्पनाअनुसार सैद्धान्तिक अवधारणा निर्माण पनि भइसकेको छ । बाछिटाको समुन्नतिका निम्ति संस्थागत कार्यहरू पनि भइरहेका छन् ।