शनिवार |

रसायनको जोखिम

भीष्मराज पाण्डे

एक्काइसौँ शताब्दी विज्ञान र प्रविधिको युग हो । योविना कुनै पनि काम असम्भवजस्तै बनेको छ । यसको सहयोगले नै मानवका हरेक इच्छा र आकाङ्क्षा पूर्ति भइरहेका छन् । तर, मानवको यो इच्छा र आकाङ्क्षा पूर्ति गर्नेक्रममा अप्राकृतिक वस्तुहरूको उत्पादन पनि तीव्र रूपमा भइरहेका छन् । यस्ता अप्राकृतिक वस्तुको उत्पादन र खपत संसारभर नै बढिरहेका छन् । उत्पादन विकसित मुलुकमा र प्रयोग विकासशील वा कम विकसित मुलुकमा हुँदै आएको छ । यो प्रक्रियामा नेपालजस्तो देश अछुतो रहने त कुरै भएन । झन् दुवैतिर ठूला औद्योगिक राष्ट्र रहेको र कम उत्पादकत्व भएको देश हुनाले नेपालमा यसको प्रभाव अझ बढी परेको छ ।
हामीकहाँ विज्ञान र प्रविधिको विकास ढिलोगरी सुरु भयो । यसले आर्थिक विकासमा पारेको प्रभाव त छँदै छ, मानिसमा वैज्ञानिक चेतनाको विकास पनि पर धकेल्यो । यस्तो अवस्थामा विकसित राष्ट्रले उत्पादन गरेका अप्राकृतिक वस्तुले के–कस्तो असर गर्छ भनेर खुट्ट्याउन कठिन नै हुन्छ । तर, विदेशबाट आयात गरिएका वा देशभित्रै उत्पादन गरिएका अप्राकृतिक वस्तुको प्रयोग सहर होस् वा गाउँ सबैतिर भइरहेका छन् । यस्ता वस्तुमा प्रयोग भएका रसायनले हाम्रो स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेका हुन्छन् । तर अशिक्षितमात्र होइन, शिक्षित समुदायले पनि त्यति ध्यान दिएको पाइँदैन । शृङ्गार, सरसफाइ, प्लास्टिकजन्य पदार्थ, अत्याधुनिक रङ्गरोगन, कीटनाशक विषादि आदिको जथाभावी प्रयोग हुँदा त्यसमा भएका विभिन्न किसिमका रसायनले हानि पु¥याइरहेका हुन्छन् । त्यसैले यस्ता वस्तुहरू प्रयोग गर्दा विशेष सतर्कता जरुरी हुन्छ ।

शृङ्गारका साधन
अरूभन्दा फरक र सुन्दर देखिन खोज्नु हरेक मानिसको स्वाभाविक गुण हो । फरक र सुन्दर देखिने होडमा प्रसाधनका वस्तु प्रयोग हुन्छन् । यस्ता वस्तुमा धेरै रसायन प्रयोग हुँदै आएका छन् । यी रसायन धेरैजसो कृत्रिमखालका हुन्छन् । विकसित मुलुकमा कममात्रामा प्रयोग गरिने भए पनि नेपालजस्ता गरिब मुलुकमा यसको प्रयोग जथाभावी र अत्यधिक हुने गरेको छ । चलचित्र, मोडलिङ वा टेलिभिजनमा देखिनेले शृङ्गारका सामान अत्यधिक प्रयोग गर्छन् । यस्तै पुरुषले भन्दा महिलाले शृङ्गारका सामान अत्यधिक प्रयोग गर्छन् । तर, ख्याल गर्नुपर्ने कुरो यस्ता प्रसाधनले क्षणिक रूपमा सुन्दर देखाए पनि दीर्घकालीन रूपमा गम्भीर प्रकृतिका असर निम्तिन सक्छन् । नेपालमा अत्यधिक प्रयोग भइरहेका शृङ्गारका सामानमा लिपिस्टिक, मस्कारा, कन्डिसनर्स, सेभिङ लोसन, मेकअप पाउडर, पफर््युम्स, नङ पालिस, कपालमा प्रयोग गरिने रङ (डाइ), जेल, आइस्याडो, दुर्गन्ध हटाउने रसायन, मोइस्चराइजर, स्याम्पु, दन्तमन्जन आदि हुन् । सबैजसोमा कुनै न कुनै रसायन प्रयोग भएकै हुन्छ । लिपिस्टिकमा पोलिमेन्थाएल मिथएक्राइलेट, लिड, एन्टिमोनी, पाराफिनाइलिन डाइएमाइन, व्युटाइलेटेड हाइड्रोअक्सी एनिसोल (बीएचए), व्युटाइलेटेड हाइड्रोअक्सी टउलिन (बीएचटी) जस्ता रसायन प्रयोग गरिएको हुन्छ । यसको अत्यधिक प्रयोगले क्यान्सरसमेत हुन सक्छ । छाला चम्काउन प्रयोग गरिने हाइड्रोक्युनोनले छालामा पोतो देखिने, चिलाउने, जल्ने हुन सक्छ । ट्याटु बनाउन प्रयोग गरिने कालो हेनामा पाइने पाराफिनाइलिन डाइएमाइनले छालामा एलर्जी देखापर्न सक्छ । छाला डढ्नबाट बच्न प्रयोग गरिने सनस्क्रिनमा पाराएमिनो बेन्जोइक एसिड (पीएबीए), सिनामेट्स, बेन्जोफिनोन हुन्छन्, जसले छालालाई असर गर्न सक्छ ।
त्यसैगरी स्याम्पु र कन्डिसनर्समा प्रयोग भएका रसायनले आँखामा असर पु¥याउन सक्छ । यसमा भएको डाइथानोल एमाइनले कलेजोको क्यान्सर, छाला र थाइरोइडमा समस्या गराउन सक्छ । नङ पालिसमा यसलाई जम्न नदिन प्रयोग गरिने डाइ व्युटाइल थ्यालेटले कलेजो र मिर्गौला बिगार्न सक्छ । पफर््युम्समा सुगन्धका लागि प्रयोग गरिने रसायनले एलर्जी र दम बढाउन सक्छ । धेरै शृङ्गारका सामानमा घोलकका रूपमा प्रयोग गरिने पोलिइथाइलिन ग्लाइकोलले क्यान्सर गराउन सक्छ । विभिन्न शृङ्गारमा प्रयोग हुने गह्राँै धातु जस्तै क्याडमिएम (कपालमा लगाउने क्रिम), लिड (आँखामा प्रयोग गरिने पाउडर), मर्करी (मस्कारामा)ले हड्डी खियाउने, गर्भवतीलाई असर र मिर्गौला बिगार्न सक्छ । समग्रमा यस्ता रसायनले क्यान्सरको खतरा बढाउने, प्रजनन प्रणालीमा असर गर्ने, थाइरोइडको समस्या, एलर्जी, छालामा समस्या, आँखामा समस्या, डिप्रेसन आदि गराउन सक्छन् । यिनीहरूको असरबाट जोगिन सकेसम्म यस्ता सामानको प्रयोग कम गर्नुपर्छ । यदि प्रयोग गर्नैपरेमा लामो समयसम्म र नियमित प्रयोग गर्नुहुँदैन । यसको साटो प्राकृतिक सामानलाई जोड दिनुपर्छ ।

निर्माणसामग्री
घर वा कार्यालयलाई अत्याधुनिक देखाउन आजकाल रङको प्रयोग धेरै हुने गरेको छ । रङमा विभिन्न किसिमका रसायन प्रयोग हुन्छन् । रङसँग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिहरू यो रसायनका कारण जोखिममा पर्न सक्छन् । विशेषगरी रङ लगाउने व्यक्तिहरू यसको जोखिममा पर्न सक्छन् । त्यसैले आधुनिक रङहरूमा प्रयोग गरिने पिग्मेन्टस् र यसलाई घुलाउन प्रयोग गरिने घोलक सल्भेन्टस्, टाँस्न प्रयोग गरिने बाइन्डस, पातलो बनाउन प्रयोग गरिने थिनर्स आदिको सुरक्षित प्रयोग गर्न जरुरी छ । धातुजन्य रङहरू, जैविक घोलक पदार्थहरू बेन्जिन, जाइलिन, टउलिन एसिटोन, इथानोलजस्ता वायवीय जैविक यौगिक (भोलाटायल अर्गानिक कम्पाउन्ड) शरीरमा प्रवेश गरेमा आँखा चिलाउने, टाउको दुख्ने, एलर्जी गराउने आदि समस्या देखिन सक्छन् । यिनीहरूको पनि लगातारको प्रयोगले क्यान्सरसमेत गराउन सक्छ । साथै सिमेन्टसँग काम गर्ने व्यक्तिलाई पनि यस्ता जोखिम आइलाग्न सक्छ ।
त्यसैले यस्ता वस्तुहरूको सम्पर्कमा जाने व्यक्तिले विशेष तालिम लिनुपर्छ । रङ खुला वातावरण बनाउने, टाइटानियम अक्साइड कम भएको पानीमा घुलनशील रङलाई प्राथमिकता दिने, जैविक घोलक सकेसम्म कम प्रयोग गर्ने, पुरानो रङ शरीरमा नपार्ने आदि गर्न सकिन्छ । सिमेन्टको असरबाट बच्न प्रयोगकर्ताले मास्क, पन्जा, चस्मा आदि अनिवार्य लगाउनुपर्छ ।

सरसफाइका वस्तु
सरसफाइका लागि विभिन्न किसिमका वस्तु प्रयोग हुन्छन् । यस्ता वस्तुमा रसायनको प्रयोग धेरै हुन्छन् । यस्ता रसायन सामान्यदेखि मानव स्वास्थ्यमा निकै असर गर्ने खालकासमेत हुन्छन् । तिनीहरूको प्रयोग गर्दा त्यसमा दिइएको निर्देशन पालना गर्नु अति आवश्यक हुन्छ । विशेष परक्लोरो इथाइलिन (ड्राइक्लिर्नस), ट्रिक्लोसान (भाँडा माझ्न, हात धुन प्रयोग गरिने वस्तु) आदि रसायनहरू न्युरोटक्सिक र कार्सिनोजेनिक (क्यान्सर गराउन सक्ने) हुन्छन् । क्वाटरनरी एमोनिएम यौगिक (कपडा नरम बनाउन प्रयोग गरिने)ले दम र श्वासप्रश्वाससम्बन्धी रोग बढाउन सहयोग पु¥याउँछन् । ओभन र डे«न सफा गर्न प्रयोग गरिने कस्टिक सोडा र कस्टिक पोटासले छालालाई छियाछिया बनाउन सक्छन् । शौचालय सफा गर्न प्रयोग हुने रसायनमा सक्रिय यौगिकका रूपमा हाइड्रोक्लोरिक अम्लको प्रयोग हुन्छ । त्यसैगरी, आधुनिक टायल सफा गर्न प्रयोग गरिने सल्फ्युरिक अम्ल
(तेजाब) छालामा परेमा वा शरीरभित्र प्रवेश गरेमा पनि ठूलो असर गर्न सक्छ । एयर फ्रेसनरबाट निस्कने व्युटक्सी इथानोल, ग्लाइकोल इथर, टरपिन आदि कारसिनोजेनिक हुन सक्छ । यस्ता रसायनको प्रयोग गर्नेले सावधानी अपनाउन जरुरी हुन्छ ।

कीटनाशक विषादि
कृषि उत्पादकत्व बढाउनका लागि विभिन्न किसिमका विषादिको प्रयोग किसानले गर्दै आएका छन् । यस्ता विषादिको जथाभावी प्रयोगले एकातिर प्रयोगकर्ता किसान उच्च जोखिममा परेका छन् भने उपभोक्ता पनि मारमा परिरहेका छन् । नेपालमा प्रयोग भइरहेका विषादिमध्ये अत्यधिक असर गर्न सक्ने रसायनमा डाइक्लोरभोर्स, कार्बोफुरान र कार्बएरायल टाइएजोफोस (कीटनाशक), पाराक्वाइट डाइक्लोराइड
(हर्बिसाइड्स), जिन्क फोस्फाइड (मुसा मार्ने औषधि) बेनोमोएल(झ्याउ मार्ने औषधि­) आदि पर्छन् । विषादि धेरैपटक प्रयोग गर्नु, आफैँले धेरै थरी विषादि मिसाएर प्रयोग गर्नु, इन्डोसल्फानजस्ता खतरनाक रसायन पानीको स्रोतमा माछा मार्न र गाईबस्तुको शरीरमा प्रयोग गर्नु, विषादि प्रयोग भएको अन्न रक्सी बनाउन प्रयोग गर्नु, हरित् तरकारीलाई ताजा देखाउन मालाथिएन, मान्बोजेबमा डुबाएर राख्ने, माछालाई विषादिमा डुबाएर राख्ने आदि पर्छन् । मिति नाघेका विषादि पानीको स्रोतमा फाल्नु, रोगविना विषादि प्रयोग गर्नु, खानेकुरा र विषादिसँगै बेच्नु, खाली हातले विषादि बनाउनु खतरनाक पक्ष हुन् । यस्ता विषादिको जथाभावी प्रयोगबाट प्रयोगकर्तामा तत्कालीन रूपमा आँखा चिलाउने, छाती पोल्ने, वाकवाक लाग्ने, पसिना र ज्वरो आउनेजस्ता लक्षण देखिन्छन् । दीर्घकालीन रूपमा मिर्गौला कलेजो बिग्रने, क्यान्सरजस्ता रोग देखिन्छन् । संसारभर विषादि उत्पादनको २५ प्रतिशतमात्र विकासशील मुलुकले प्रयोग गर्छन् । तर, ९९ प्रतिशत विषादिजन्य मृत्यु यी मुलुकमा हुने गर्छ । विषादि प्रयोग गरेर आत्महत्या गर्नेको सङ्ख्या पनि अत्यधिक पाइन्छ ।

कानुनी पाटो
नेपाल सरकारले कीटनाशक विषादिसम्बन्धी विधेयक–२०४८ लाई खारेज गरेर कीटनाशक विषादि व्यवस्थापनसम्बन्धी विधेयक–२०७६ जारी गरेको छ । जसमा विषादि दर्ता, बिक्रेताको लाइसेन्स, कीटनाशक विषादि व्यवस्थापन कमिटी गठन, म्याद गुज्रेको विषादि व्यवस्थापन, विषादि इन्स्पेक्टरको व्यवस्था, सजायको व्यवस्था, प्रदेश कमिटी गठन आदि व्यवस्था गरिएका छन् । त्यसैगरी, सर्वोच्च अदालतले नेपाल सरकारको नाममा बेला–बेलामा हानिकारक रसायन व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको छ । हालसालै सरकारले एसिडसम्बन्धी विधेयक–२०७७ जारी गरेको छ । तर, रसायनको प्रयोग तीव्र रूपमा बढेकाले रसायनविज्ञहरूको सुझाव लिई समयअनुरूपको नीति बनाउन कञ्जुस्याइँ गर्न भने हुँदैन ।

के गर्न सकिन्छ ?
रसायनको प्रयोगविना जीवन चलाउन मुिस्कलमात्र होइन, असम्भव नै छ । तर, यसको प्रयोग अनुशासित तवरले गर्न जरुरी छ । कुनै पनि लेबल र ट्याग नभएको रसायनसँग सम्बन्धित वस्तु प्रयोग गर्नुहुँदैन । प्रयोग गर्नुभन्दा अघि यसमा दिइएको प्रयोग विधिको जानकारी राख्नुपर्छ । बिक्रेताले पनि उपभोक्तालाई प्रयोग विधि र यसका असरबारे स्पष्ट पारिदिनुपर्छ । प्रयोगकर्तालाई सामान्य तालिम दिए अझ राम्रो । प्रयोगकर्ता आफैँ पनि अग्रसर भई यसको जानकारी लिए झनै राम्रो । सरकारले पनि रसायन प्रयोग भएका वस्तुको गुणस्तर जाँच्ने, यस्ता वस्तुको कम आयात होस् भन्ने हिसाबले नीति बनाउन ध्यान दिनुपर्छ । संसारभर रसायनसँग सम्बन्धित वस्तुको कम उत्पादन, कम खपत गर्ने नीति (हरित् रसायनशास्त्र) अवलम्बन भइरहँदा नेपाल पनि यतातिर लम्कनुपर्छ ।