शनिवार |

कविप्रसादको व्यक्तित्व र कृतित्व

कमल रिजाल

कविप्रसाद गौतमको जीवनी र दर्शनसम्बन्धी विषयको जानकारी गराउने विशिष्टतम ग्रन्थको नाम हो– युगपुरुष नामावतार श्री कविप्रसाद गौतम । उनकै भतिजा (सुपुत्र ज्योतिप्रसाद गौतम) मुरारिप्रसाद गौतमद्वारा लिखित यस ग्रन्थमा सात प्रकरण छन्, जसमा जीवन र दर्शन, भागवत धर्मको बीज..., भक्तिबाट भावावेश, कृष्ण कीर्तिको कृति, अवरोधबाट उत्साह, सन्तहरूको प्रेरणा..., र पारिवारिक सद्गुणको रूपान्तरण रहेका छन् । अन्त्यमा दिइएको तस्बिर खण्डले पनि उनको देन र विशेषता बुझाउन राम्रै सघाएको छ । दुनियाँलाई भवसागरबाट उतार्न हरिनाम सङ्कीर्तनको अभियान लिएर देश विदेश घुमेका कविप्रसादको नाम २०३५ सालतिरै सुनेको हुँ ।
घरमा धर्मपुराण लगाउँदा भागवत कुञ्जले चिनाएको हो उनको नामलाई । उनकै आग्रहमा भाइ ज्योतिप्रसाद गौतमद्वारा लिखित भागवत कुञ्ज यस्तो पुस्तक हो, जसले नेपाली भाषाको सर्वाधिक बिक्री पुस्तकमध्येमा रेकर्ड राखेको छ । भागवत कुञ्ज पढ्दा सामान्य नाम सुन्नुबाहेक उनीबारे खासै जानकारी पाइएको थिएन तर जब उनीबारे लेखिएको प्रस्तुत ग्रन्थ पढ्ने अवसर मिल्यो त्यसपछि पो थाहा भयो समाजमा उनले कस्तो स्थान बनाएका रहेछन् वा समाजले उनीलाई कस्तो स्थान दिएको रहेछ भन्ने कुरा ।
वि.सं. १९६० चैत्रशुक्ल सप्तमीका दिन पृथ्वीमा पदार्पण गरी २०४२ साल फागुन १७ गते अन्तरध्यान हुँदै परमधाम पुगेका गौतमले आफ्नो ८२ वर्षको सक्रिय जीवनकालमा जति गरे औसत मानिसले भन्दा कति हो कति बढी गरे । सबैभन्दा बढी मुलुकमा अखण्ड हरिनाम सङ्कीर्तनको अभियान चलाए । रामनाम प्रचार तथा हरेराम महामन्त्र सङ्कीर्तनको सुरुवात कर्ता उनै हुन् । संसार सागर तर्ने सजिलो उपाय भनेको एक मात्र हरिनाम सङ्कीर्तन नै हो भन्थे उनी र भक्तहरूलाई त्यस्तै गर्न लगाउँथे । एकतन्त्रीय राणा शासनकालमा रामनाम प्रचार गर्र्न पनि त्यति सजिलो थिएन । यसैवापत उनी १९९७ सालतिर ८४ दिन सिंहदरबारको यातना गृहमा थुनामा परेका छन्, कठोर जेल जीवन भोगेका छन् । तैपनि उनले आफ्नो अभियानलाई भने छाडेका छैनन् । यस्तो अवस्थामा उनका लागि प्रचारको माध्यम भनेका चिठी चपेटा प्रेषित गर्नु र सादा कागजमा ठूल्ठूला अक्षरले राम नाम लेखेर सार्वजनिक स्थान एवं रुखहरूमा टाँस्दै हिँड्नु नै हुन्थ्यो ।
मानिस कर्मकाण्डबाट माथि उठेपछि दार्शनिक बन्छ । दार्शनिकबाट माथि उठेपछि कि घोर नास्तिक बन्छ कि गुणातीत अवस्थामा पुगेर परब्रह्म परमात्माको अद्वैतधारमा समाहित हुन पुग्छ । कविप्रसाद गौतम यस्तै अद्वैत यात्राका यात्री हुन् भन्ने कुरा पुस्तक पढ्ने पाठकले सहजै अनुभूत गर्न सक्छन् । यसको अर्थ उनी जोगी हुन् भन्ने होइन । उनी त यस्ता सन्त हुन् जसले गृहस्थीमै बसेर पनि ईश्वर प्राप्त गर्न सकिन्छ भन्ने प्रयोगवादी धार अपनाएका छन् । धर्मशास्त्रले गृहस्थी धर्मलाई विशेष महìव दिएको छ । यसै आश्रमबाट देवता, पितृ, ऋषि, मनुष्यलगायत चराचर प्राणीलाई सन्तुष्ट पारी जीवन मुक्त हुन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । कविप्रसाद यस्तै शास्त्रीय मतका कट्टर अनुयायी हुन् । उनले आफूले सन्यास लिएका पनि छैनन् र अरूलाई त्यस्तो शिक्षा दिएका पनि छैनन् । उनी गृहस्थीमै बसेर धु्रवजीले जस्तै अध्रुवभित्रै ध्रुवपद भेट्टाउन सकिन्छ भन्ने जीवन्त उदाहरण हुन् ।
आकण्ठ भागवत धर्ममा डुबेका कविप्रसादको एक मात्र उद्देश्य भनेको भगवान्को अंशका रूपमा रहेका प्राणी समुदायलाई उनीहरूकै अंशी भगवान्सित मिलाउनु नै हो । उनले जीवनमा जति हरिनाम सङ्कीर्तन गरे, भागवत पाठ पारायण गरे, कथा प्रवचन दिए सबैमा भागवतलाई नै मूल आधार मानेका छन् । वस्तुतः परमहंस संहिता भागवत भनेको यस्तो ग्रन्थ हो, जहाँ जे खोज्यो त्यही पाइन्छ र जस्तो आँखाले हे¥यो त्यस्तै देखिन्छ पनि । यही भागवत हो, जहाँ शुकदेव स्वामीजस्ता योगी पनि आकर्षित भएका छन्, राजा परीक्षितजस्ता भोगी पनि लोभिएका छन् । धुन्धुकारी जस्ता पापी पनि तरेका छन् गोकर्णजस्ता ज्ञानी पनि पछि लागि परेका छन् । कपिल गीता पनि यसैमा आएको छ, हंस गीता पनि यसैमा आएको छ । जडभरतको ब्रह्मवाद पनि यसैमा छ, दत्तात्रयको वेदान्त पनि यसैमा छ ।
जाति, पाति, उच, निच, ठूलो, सानो, छूत, अछूतको भेद नमान्ने भागवत धर्मलाई मूल आधार मान्ने भएकाले हुनुपर्छ कविप्रसाद गौतममा पनि त्यस्तै भाव देखिएको छ । उनी प्राणीमात्रलाई समान ठान्थे र समान व्यवहार गर्नुपर्छ भन्थे । उनको दर्शनको मूल आधार भनेकै राजादेखि रङ्कसम्म, पण्डितदेखि मूर्खसम्म ज्ञानी, अज्ञानी, पण्डित, मूर्ख, सबै वर्ण, धर्म, सम्प्रदाय एउटै हुन् भन्ने हो । उनले जीवनमा जेजति गरे लोकहितकै लागि गरे, जे लिए त्यो पनि लोकहितकै लागि लिए र अन्त्यमा त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये भन्दै आफ्ना आराध्यमा लीन हुन पुगे । आज कविप्रसाद हाम्रासामु छैनन् तर उनका कीर्ति पताका भने उज्ज्वल नक्षत्र बनेर चम्किरहेको छ ।
यस्ता वीतरागी पुरुषबारे जानकारी दिएर मुरारिप्रसाद गौतमले अनुकरणीय काम गर्नुभएको छ । कविप्रसाद गौतम आफैँ नामम(ाथिका नाम हुन् । उनलाई चिनाउन वैशाखीको आवश्यकता पर्दैन । तथापि पुस्तकले नयाँ पुस्ता खासगरी पुरानो कुरा सुन्न नचाहने आजको समाजमा जसरी उनको देन बुझाउने काम गरेको छ । निःसन्देश त्यो प्रशंसनीय छ । ग्रन्थको महìव आफैँमा ठूलो छ । त्यसमाथि हार्ड कभरले थप आकर्षित गर्ने काम गरेको छ । सामान्य शुद्धाशुद्धिबाहेक खासै कमी कमजोरी छैन । ग्रन्थको आकार र साजसज्जा अनुसार मूल्य रू. १०००।– लाई खासै महँगो भन्न मिल्दैन ।