मुक्तक
इन्दिरा चाम्लिङ
कति आउँछन् उर्लिएर दुःखका यी छालहरू
नाघिसक्यो नियतीले मर्यादाका पर्खालहरू
बल्छीजस्तो अङ्कुशमा अल्झिरहेँ छट्पटिँदै
फिँजाइरह्यो आफ्नै भाग्यले दुवाली जालहरू
जहाँ गयो त्यहीँ यो पात्र हेलाँ मात्र हुन्छ
श्रमजीवीको हत्केलामा ठेला मात्र हुन्छ
देशमा फेरिँदैन मुहार बेचेर नाम उसको
उसैलाई ठग्ने ठगहरूको खेला मात्र हुन्छ
जहिले पनि दुख्छ, नदुःखेको घाउ छैन हजुर
जहाँ पनि दुख्छ, नदुःखेको ठाउँ छैन हजुर
शान्तिको सास फेरेर बाँच्न कहिल्यै दिएनन्
चोरहरूको नजर नपरेको कुनै गाउँ छैन हजुर
नीलो सागरमा नीर घुल्नुको के अर्थ
अँध्यारोमा आकाश खुल्नुको के अर्थ
मनको पूmलबारीमा क्याक्टस फुलेपछि
आँगनमा इन्द्रकमल फुल्नुको के अर्थ