शनिवार |

निबन्ध : समयान्तरका विकास विम्ब

रमेश गोर्खाली

समयले कसैलाई नपर्खिने सूक्ति जगप्रसिद्ध छ । समय प्रवाहलाई प्रत्येक व्यक्तिले अनेकार्थक रूपमा बेहोर्नुपर्ने हुन्छ । सुकीर्ति पुरानो नहुने भए पनि मानवीय देहचेष्टा अनेकाङ्गी रूपमा मक्किन थाल्छ, यसमा कतिपयको ध्यान पुगेको देखिँदैन । राष्ट्रिय सन्दर्भमा सोच्दा स्वतन्त्रता सूचक सर्वाङ्गीण दृष्टिले संवत् २००७ देखि संवत् २०७७ (तीन कोटी जनसङ्ख्या नाघेको अवधि) वरिपरिको समयबिन्दु र उक्त समयसीमाका अनेक मोड एवं उपमोडमा सार्वजनिक चिन्तन कस्तो रह्यो त्यो स्थिति विश्लेष्य छ । अनुभव र अभिज्ञानपरक यी बुँदा अन्तर्बाह्य दृष्टिले समयबोधका गम्भीर परिचायक हुन् ।
खाना, नाना, छाना, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारीप्रभृति प्रसङ्ग युगीन मान्छेका अनिवार्य आवश्यकता हुन् तथा भविष्यको परिवर्तित परिभाषामा रहिरहने अटल यथार्थ हुन् । एउटा व्याप्ति, पद्धति र विस्तृतीकरणले यस्ता कतिपय आवश्यकता सरलीकृत भएको हुनुपर्छ नागरिकका लागि । संस्थापनले यस विषयमा ध्यान पु¥याए पनि कैयौँपल्ट त्यो यथेष्ट र परिपूर्ण हुँदैन । साइबर प्रविधि र साइबर संस्कृतिले दीक्षित एक्काइसौँ शताब्दीको मान्छे र नयाँ पुस्ता अर्कै धरातलमा उभिएको तथा हुर्किरहेको बहुसङ्ख्यकले राम्ररी ख्याल गरेको देखिँदैन । नागरिकका लागि विविध भौतिक कुराको महìव भए पनि विज्ञापनको यस युगमा बौद्धिक संस्कृतिको अभिन्न अङ्ग पत्रकारिताको आफ्नै परिभाषा बनेको छ । लोकतान्त्रिक गणतन्त्रमा रमाएको र अगाडि बढेको पुस्तालाई अग्रणीले अभिसूचित गर्नुपर्ने यस्ता कतिपय कुरा छन् ।
श्रेष्ठता अर्थात् मानकीकरणलाई आत्मसात् नगरी अन्तर्बाह्य विविध गुणवत्ता विकसित नहुने यथार्थ समकालीन जिज्ञासुले ठम्याउनु उचित छ । युगीन गतिमा विग्रह र विनिर्माणपरक थुप्रै कुरा प्रष्टिएकाले द्रुत यथार्थ (फास्ट रियालिटी) लाई सबैले सँगेट्नु पर्छ । विश्वसत्ता र परिवेश ऊर्जा, शक्ति, अभिसूचना तथा प्रचार प्रसारको अनेकार्थी खोजमा लिप्त रहेको बहुसङ्ख्यकले बुझ्नु जरुरी छ । दैवी सत्ताको आधारमा एकछिन स्रष्टाको संसारमा डुबुल्किँदा देवकोटाको कृष्णप्रतिको अन्त्यावस्थाको आकर्षण, समको ‘नाथपरक’ प्रारम्भिक उद्बोधन, घिमिरेको शिवत्वको बिहान, आख्यानपुरुष धु्रवचन्द्र गौतमको वीरगन्ज महानगरको गहवामाईप्रतिको श्रद्धाभक्ति र प्रा.नगेन्द्रराज शर्माले सहयोगी साथीभाइलाई ईश्वरको प्रतिरूप ठम्याएको परिभाषेय दर्शन (‘बुकी’ त्रैमासिक, पू.–५, पृष्ठ–५, वैशाख–असार २०६९, बनेपा) लाई जिज्ञासुले गम्भीरताले समाकलन गर्नु आवश्यक छ । आध्यात्मिक र सांस्कृतिक राष्ट्रवादको सन्दर्भमा राम, कृष्ण, बुद्ध, मोहम्मद र जिससप्रभृतिको जनमानसमा कुन स्थान छ त्यसको गाम्भीर्यलाई सूक्ष्मरूपमा विश्लेषण हुनुपर्छ ।
थुप्रै घटना, परिघटना र संयोगले विकास एवं संचेतनाका विविधाङ्गी विम्बलाई सङ्केत गर्दछ । वस्तुगत र द्रव्यदैहिक बाध्यताले मान्छे भौतिकताको उपासक बनेकोमा विस्मित हुनु छैन । सापेक्षतः सत्ताले सामाजिक सुरक्षणका कतिपय सहुलियत प्रदान गरेर आफ्नो औचित्य र महìव प्रमाणित गर्नुपर्छ । कहीँ कतै नेताको छविले नागरिक उतर्सिएको स्थितिलाई गम्भीरताले सामान्यीकृत गर्नु अत्यावश्यक छ । सामूहिक प्रतिबद्धता, राष्ट्रिय भावना र सर्वोपरि कर्मठताबाहेक अर्थोक शक्तिस्रोत छैन गत्यात्मक राष्ट्र निर्माणको सन्दर्भमा ।
सातौँ, आठौँ र कालावधिक राजनीतिक परिवर्तन एवं चेष्टाले एउटा परिसीमनलाई सङ्केत गरे पनि सम्भवतया परिस्थिति कसैका लागि प्रतिकूल छैन । समन्वयका यस्ता तरल लक्षणलाई मध्यस्थकर्ताले गम्भीरताले अभिग्रहण गर्नु आवश्यक छ । लोकचेत भावनाको प्रसारण र व्यापकीकरणको सन्दर्भलाई हलुका तवरमा लिन मिल्दैन । समयका अवरोह र आरोहसूचक विविध विम्बले कृषि, सडक, स्वास्थ्य, शिक्षा, जलवायु, रोजगारी र प्रविधिका द्रुतगामी अवसर तथा सञ्जाललाई औँल्याएको पाइन्छ ।
नागरिक नियतिलाई सम्भावनाको प्रचुर अवसरहरू प्राप्त भइरहेकोमा दुविधा छैन । देश र विदेश कतै बसून् वा रहून् गौतमबस्तीका नागरिकका लागि सुअवसरको कमी देखिँदैन विविधार्थी दृष्टिले । संविधानजनित केही जटिलता र चुनौती दृष्टिगत भए पनि तिनले समयसापेक्ष दिशा लिने आशा गरौँ । समयको गत्यात्मक बोधलाई नागरिक समाजमा फैलाउनु जरुरी छ, जसले गर्दा संचेतनाको आयाम फेला पार्न सकियोस् ।
विकाससँगै सिद्धान्तनिष्ठ सद्भावको सम्पोषण आवश्यक हुन्छ । वातावरणमैत्री अर्थात् समन्वयको सेतुबिना समाजको सर्वपक्षीय गति अगाडि बढ्न सक्दैन । परिवेशको वस्तुचेत परिवर्तनलाई अङ्गीकार गर्दै सबैले परिस्थितिको मूल्याङ्कन गर्नुपर्छ । समीकरणहरूको चिन्तन र आत्मग्रहणमा फगत एकपक्षीय निष्ठा हुनु हुँदैन । राष्ट्रिय भू–वैविध्यवादलाई गम्भीरताले आकलन गरी समय सुहाउँदो कार्यनीति तयार गर्नुपर्छ ।
समयको छाप र पाइलाहरूले सिर्जित चेतनासम्मत विम्बको महìव बुझ्नुपर्छ । कारण त्यसैमा अधिसङ्ख्यकको भलाई अन्तरनिहित रहने गर्छ । प्रायः गरी उत्पीडित र पछौटेलाई अधिमूल्यन गर्ने प्रवृत्ति अत्यावश्यक छ । अधिचेतनाको क्रमिक युगीन विकासले नवपुस्तालाई नवीन दिशा दिने प्रष्ट छ । यसर्थ नागरिक जीवनको शनैः शनैः संचेतनाकरण र वस्तुसूचक अनुशीलन राष्ट्रिय समुत्थानको सङ्केत हो भनी दायित्वशीलले ठम्याउनुपर्छ ।