मासिँदै ‘प्राकृतिक मिर्गौला’
लक्ष्मीप्रसाद उपाध्याय
गत वर्ष नेपालको चितवनमा विश्व रेञ्जर सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा भाग लिन फिनल्याण्डका वन तथा वातावरण अध्येता पावेल तुराक्का नेपाल आउनुभएको थियो । त्यसबखत उहाँले निकै संवेदनशील अनि भावुक भएर भन्नुभएको थियो– विश्वकै एक दुर्लभ अनि सुन्दर प्राणी एकसिङ्गे गैँडाले बास गर्ने ससानो ठाउँ ठूल्ठूला चुनौतीले घेरिएको देख्दा मन निकै दुःख्यो । मानिस यति नराम्रो प्राणी रहेछ कि उसले आफ्ना लागि अरू कसैको चिन्ता गर्दाेरहेनछ । अब चितवनमा गैँडाको बासस्थानमा सुधार भएन भने यो प्राणी लोप हुनसक्ने सम्भावना देखियो । यो संवेदनशीलता ठीक समयमा अनुभव हुन सकेन भने पछि पछुताएर फाइदा नहुन सक्छ ।
सम्मेलन हुनु एक हप्ताअघि नेपाल आइपुगेका अर्का सहभागी जापानका अकिहिरो तामाले पोखराका सबै ताल क्षेत्र, बर्दिया र पर्सा राष्ट्रिय निकुञ्जको समेत भ्रमण गर्नुभएको थियो । तामाले निकुञ्जभित्र सुक्दै गएको एक प्राकृतिक ताल (आहाल) मा पानीबिना छटपटिइराखेको गैँडाको तस्बिरसहित ट्वीट गर्दै नेपालको सिमसार क्षेत्रमा भइरहेको नोक्सानीप्रति सजग हुन विश्व समुदायलाई आह्वान पनि गर्नुभयो । उहाँले ट्वीटमा लेख्नुभएको थियो– उचित समयमा उचित सजगता लिन सकेनौँ भने भोलिका दिनमा हामीसँग यहाँको जैविक विविधताको केबल तस्बिर मात्र हुनेछ । तस्बिर सजीव होइनन्, निर्जीव रङ्गीन तस्बिर हेरेर पछिल्लो पुस्तालाई के जवाफ दिने भन्ने चिन्ता अहिले नै लिन सक्नुपर्छ ।
दुई जना विदेशी नागरिकले गरेको यो टिप्पणीले नेपालको सिमसार क्षेत्रको वर्तमान अवस्थाको तस्बिर प्रस्तुत गरेको छ । सिमसार क्षेत्रहरू चौतर्फीरूपमा दोहन र अतिक्रमणको चपेटामा परिरहेका छन् । एकातिर जलवायु परिवर्तनको असर त छँदैछ, अर्काेतिर विकास निर्माणको गतिले तीव्रता लिँदा सिमसार क्षेत्रहरू भत्किने, पुरिने, नासिने, मासिने क्रम जारी छ । त्यसैले होला नेपालका सिमसार क्षेत्रको अवस्थाबारे शोध–अध्ययन गरेका बेलायती नागरिक डा. फिलिप विलियमले आफ्नो लेखमा भन्नुभएको छ– पानी दलदल हुने जग्गालाई खासै महìव नदिने पुरानो भूमि नीतिलाई नेपालले अझै पनि व्यवहारमा लागू गरिरहेको छ । प्राकृतिक मिर्गौलाका रूपमा परिचित सिमसार क्षेत्र बिगँ्रदै गएका छन्, मासिँदै गएका छन् । जबसम्म यसको महìव नीतिनिर्माणको तहमा बस्नेले चिन्न सक्दैनन्, तबसम्म नेपालका सिमसार क्षेत्रमाथिको खतरा कायमै रहन्छ ।
नेपालको पुरानो भूमि प्रशासनले उपयोगितालाई आधार मानेर जमिनलाई चार भागमा विभाजन गरेको छ । अब्बल, दोयम, सीम र चहार । राम्रो खेतीपाती हुने जग्गा अब्बल र दोयम, पाखो जमिनलाई चहार र पानी जम्ने, दलदल भूमिलाई सिम भनेर पहिलेदेखि वर्गीकरण गरिएको पाइन्छ । सोहीबमोजिम सरकारलाई कर–मालपोत तिर्ने व्यवस्था हुँदै आएको छ । बाह्रैमास पानी जमिरहने तर पानीको गहिराइ धेरै नभएको र जमिन कुनै न कुनैरूपमा देखापर्ने क्षेत्र सिमसार क्षेत्र हो । यो क्षेत्रलाई अन्नबाली उब्जनीको दृष्टिले खासै राम्रो जग्गाको रूपमा लिइँदैन । पानी दलदल भएको क्षेत्र, तालतलैया, पोखरी, नदी किनारलगायत क्षेत्र सिमसार क्षेत्रभित्र पर्छन् ।
मानिसको मिर्गौलाले जसरी शरीरलाई स्वस्थ राख्न, दैनिक पाचन प्रणालीलगायत समग्र शारीरिक प्रणालीलाई व्यवस्थित बनाउन, तन्दुरुस्त राख्न भूमिका खेलेको हुन्छ, त्यसैगरी प्राकृतिक प्रणाली सञ्चालन हुनलाई सिमसार क्षेत्रले काम गरेको हुन्छ । अर्थात् सिमसारले प्राकृतिक मिर्गौलाको काम गरेको हुन्छ । पानीको सञ्चय गर्दै जमिनभित्र पठाउने (रिचार्ज गर्ने) अनि पानीमा बग्ने फोहोरलाई थुपार्ने काम गर्ने भएकोले सिमसार क्षेत्रलाई प्रकृतिको मिर्गाैला भन्ने गरिएको हो । थुप्रिएको फोहोरलाई मानिसले सहजै व्यवस्थापन गर्न नसक्ने भएकोले वातावरणीय प्रदूषण नियन्त्रणका लागि पनि यसको महìव छ ।
मानव सभ्यताको विकासको इतिहास हेर्दा सिमसार क्षेत्र नै उद्गम स्थल भएको पाइन्छ । नाइल नदीको सभ्यता होस् वा सिन्ध नदीको सभ्यता । बागमती सभ्यता होस् वा गङ्गा, ब्रह्मपुत्र नदी किनारको सभ्यता । यी सबै सभ्यताको जननी सिमसार क्षेत्र नै मानिन्छन् । मानव जातिले आफ्नो धर्म, संस्कार, शैली, आनीबानीको विकास यिनै सिमसार क्षेत्रको सेरोफेरो अनि संरक्षणमा गरेको पाइन्छ ।
माछा, भ्यागुता, डल्फिन, कछुवा, गोहीलगागयत पानीमा बस्ने प्राणीको संसार नै सिमसार क्षेत्र हुन् । यी केही जीवजन्तुको प्रजनन प्रणाली नै सिमसार क्षेत्रमा हुने गर्छ । अण्डा पार्ने, बच्चा कोरेल्ने र बच्चा हुर्काउनेदेखि लिएर सम्पूर्ण जीवन प्रणाली नै पानीसँग हुने गर्छ ।
पृथ्वीका सबैभन्दा महìवपूर्ण कुरा चराचर हुन् । यीमध्ये प्राण भएकाहरू पानीमा आश्रित हुन्छन् । पानीविना न जीवजन्तु न वनस्पतिको अस्तित्व रहन्छ । त्यसैले सबैभन्दा ठूलो कुरा मानिसलाई चाहिने स्वस्थ र स्वच्छ पानीलाई छानेर जमिनमुनि पु¥याइ मूलका रूपमा वा भूमिगत जलस्रोतको रूपमा पानी आपूर्ति गर्ने काम यिनै सिमसार क्षेत्रले गर्ने गर्छन् । त्यसैले सिमसार क्षेत्र यस धर्तीका जीवित प्राणी तथा वनस्पतिको जीवनचक्रका लागि अभिन्न अङ्ग हुन् ।
यसैगरी, सिमसार क्षेत्र नजिक निर्माण भएका मठ, मन्दिर, गुम्बा, मस्जिद तथा चर्चले ती स्थानको महìव झन् बढाएको हुन्छ । बागमती नदी छेउँको पशुपतिनाथ, दर्जनौँ जलाशय छेउमा रहेको रामजानकी भूमि, हरिद्वार, गङ्गा यमुना, कैलाश मानसरोवर, देवघाट, चतराधाम, गोसाइँकुण्ड, केदारनाथलगायत धार्मिक स्थल नदीनाला, तालतलैया सिमसार क्षेत्र नजिकै रहेका छन् । त्यति मात्र नभई सत्य, द्वापर तथा त्रेता युगका ऋषिमुनिहरूले तपस्या गर्ने र ज्ञान प्राप्त गरेको स्थान पनि नदी किनार तथा तालतलैयाको छेउँछाउ रहेका कथा पुराणहरूमा उल्लेख भएको पाइन्छ ।
संसारमा केही यस्ता चराका प्रजाति छन् । ती पक्षी आकाशमा उड्छन, पानीको छेउमा विचरण गर्छन्, नजिकै गुँड लगाउँछन्, अनि त्यहीँ उत्पादन भएको खानेकुरा खाएर जीवन चक्र चलाउँछन् । यस्ता जलपक्षीको संसार सिमसार क्षेत्र हुन् । सिमसार बिना त्यस्ता जलपक्षीको अस्तित्व कल्पना पनि गर्न सकिँदैन ।
वन्यजन्तु पानीका लागि सहरी क्षेत्रमा आउन सक्दैनन् । वन्यजन्तुका लागि चाहिने पानी व्यवस्थापन धारा, कुवा, इनारबाट गर्न सकिँदैन । त्यसैले वन्यजन्तुको पानीको स्रोतको रूपमा सिमसार क्षेत्र हुन् भने गैँडा, बाघ तथा हात्तीजस्ता विश्वमा दुर्लभ मानिएका वन्यजन्तु सिमसार क्षेत्रलाई क्रिडास्थल बनाएर बाँचेका हुन्छन् ।
संसारका हेर्न, वर्णन गर्नलायक भएका अधिकांश सुन्दर पर्यटकीय ठाउँ कि त तालतलैयाको किनारमा छन् कि त नदी तटीय क्षेत्रमा छन् । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरू ताल, सागर, नदी किनारमा रहेकाले सिमसारको झन् महìव बढ्न गएको हो । नेपालका रारा, फेवातालदेखि विश्वमै निकै लोकप्रिय मानिएका डेड सि, ऐलो रिभर, भिक्टोरिया लेक, मेकोङ लेक, मिसिसिपिलगायत क्षेत्र पनि सिमसार क्षेत्रमा पर्छन् ।
कृषि प्रणाली विश्वका आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अझै पनि मानिन्छ । औद्योगिक प्रगति जति गरे पनि अन्न, फलफूल तथा कृषि उत्पादन विना मानव जीवन सम्भव नभएकोले कृषि उत्पादनका लागि पानीको आपूर्ति गर्न सिमसार क्षेत्रको शतप्रतिशत भूमिका रहेको हुन्छ ।
सिमसारसम्बन्धी एक अध्ययनअनुसार वार्षिकरूपमा सिमसार क्षेत्रको योगदान विश्वको कुल अर्थतन्त्रमा १५० खर्बभन्दा बढी रहेको छ । नेपालका सन्दर्भमा कुरा गर्दा आदिवासी जनजातिको (जुन प्राकृतिक स्रोतमा आधारित जीवन प्रणालीमा रहेका छन्) जीवनमा कम्तीमा ६० प्रतिशत योगदान सिमसार क्षेत्रको रहेको पाइएको छ ।
नेपालका सबै सिमसार क्षेत्र स्वच्छ पानीको सिमसार हुन् । उच्च हिमालयको पानीका मूलबाट बनेका वा केही अंश रहेका यी सिमसार क्षेत्रको विशेषता फरकफरक छन् । नेपालमा साना ठूला गरी छ हजार नदीनाला छन् । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालको तालको टोपो नक्साहरूको अध्ययन गर्दा कुल पाँच हजार ३५८ प्राकृतिक ताल रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसैगरी साना ठूला गरी तीन हजार २५२ हिमताल रहेका छन् । तराईमा मात्र १६३ वटा सिमसार रहेका छन् । जलविद्युत् उत्पादन तथा माछा पालनका लागि १० वटा ठूला जलाशय निर्माण गरिएका छन् । तराई क्षेत्रमा पोखरीको सङ्ख्या मात्र दुई हजार तीन सयभन्दा बढी छन् ।
नेपालको रामसारमा प्रवेश
अन्तर्राष्ट्रिय महìव बोकेको सिमसार क्षेत्रलाई संरक्षण गर्न इराकको रामसार सहरमा भएको महासन्धिलाई रामसार महासन्धिको नाम दिइएको छ । यो महासन्धिको नेपाल पक्षराष्ट्र हो । यो महासन्धि सन् १९७१ मा भएको हो भने सन् १९८८ देखि नेपालले कोशी टप्पुलाई रामसार सूचीमा सूचीकृत गर्न सफल भई महासन्धिको पक्षराष्ट्र भएको हो । कोशी टप्पुदेखि विभिन्न १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गराउन सफल नेपालले पोखरा उपत्यकाका सबै ताल क्लष्टरलाई सबैभन्दा पछिल्लोपटक सन् २०१६ मा रामसार सूचीमा सूचीकृत गराएको छ । आगामी दिनमा थप चार वटा सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत गराउनका लागि नेपालले प्रयास गरिरहेको छ । नेपालको कुल क्षेत्रफलको पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ ।
चुलिँदै चुनौती
विश्वका सिमसारको अवस्था हेर्दा करिब ८० प्रतिशत फोहोर तथा विषादीयुक्त पानी प्रत्यक्षरूपमा सिमसार क्षेत्रमा फाल्ने गरिन्छ । यसले मानव समाजमा पानी शुद्धीकरण गर्ने फाइदा त पुगेको छ तर अर्काेतर्फ सिमसारमा आश्रित चराचर त्यसका प्रत्यक्ष मारमा पर्ने गरेका छन् । सिमसारमा आश्रित कतिपय जलचरको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । नेपालको सन्दर्भमा कुरा गर्दा सिमसार मासेर खेतीपाती गर्ने, बस्ती बसाल्ने, औद्योगिक क्षेत्र स्थापना गर्ने, खेल मैदान निर्माण गर्नेजस्ता कार्य भइरहेका छन् । काठमाडौँ उपत्यकामा दर्जनौँ ताल र पोखरी मासेर बस्ती विकास भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका तीन दर्जनभन्दा बढी पोखरी पुरेर खेलमैदान, विद्यालय भवन, व्यक्तिगत भवन तथा सरकारी भवन निर्माण गरिएका छन् । उपत्यका बाहिरको अवस्था हेर्दा सिमसार क्षेत्र पुरेर खेतीपाती गर्ने र ताल व्यक्तिगत बनाउने प्रचलन कायमै छ । रामसार सूचीमा सूचीकृत भएका कोशी टप्पुदेखि लिएर घोडाघोडी ताल क्षेत्र अतिक्रमणको चपेटामा पर्दै आएका छन् । सिमसार क्षेत्रमा भएका माछा, पानी, सागपात, जडीबुटी, पटेर, घाँसको एकोहोरो दोहान मात्र हुने गरेको छ तर संरक्षणमा खासै ध्यान दिएको देखिँदैन ।
सिमसार क्षेत्रह मिचाहा प्रजातिका झारले पनि आक्रान्त छन् । विकासका नाउँमा भइरहेको डोजर संस्कृतिले भूक्षय हुँदा सिमसार क्षेत्र दिनप्रतिदिन पुरिँदै पनि गएका छन् ।
नेपालको सिमसार क्षेत्रको बारेमा अध्ययन गरेका प्रा.डा. नाकामुराका अनुसार प्राकृतिक सिमसार क्षेत्र दिनप्रतिदिन नासिँदै गएका छन् भने कृत्रिम तालतलैयाको सङ्ख्या बिस्तारै बढ्न थालेको छ ।
पछिल्लो समयमा जलवायु परिवर्तनको असरले नेपाली समाजको जनजीवन पनि प्रभावित हुन थालेपछि कृत्रिम पोखरी निर्माणको क्रम बढेको हो । धमाधम पानीका मूल सुक्न थालेपछि पोखरी संरक्षण अभियान सञ्चालन भइरहेका छन् ।
विश्व समुदायको चिन्ता
नेपालको दायित्व आफ्नो देशभित्रका सिमसारको संरक्षण गर्नुमा मात्र सीमित छैन, अन्तर्राष्ट्रियरूपमा सिमसारको संरक्षणका लागि सहभागिता पनि जनाउनुपर्छ । त्यसैले विश्वका अन्य रामसार महासन्धिका पक्षराष्ट्रहरूले पनि नेपालको सिमसारको विषयमा चिन्ता र चासो लिने गरेका छन् । विभिन्न दातृ निकायले नेपालको सिमसार संरक्षणका लागि निरन्तर आर्थिक तथा प्राविधिक सहयोग पनि गर्ने गरेका छन् । विकसित मुलुकले विश्वमै लोप हुन थालेका सङ्कटापन्न दुर्लभ वन्यजन्तुको प्राकृतिक बासस्थान निर्माण गर्न नसक्ने भएकाले ती राष्ट्रहरूले नेपालजस्ता प्राकृतिक बासस्थान भएका देशलाई संरक्षणमा सहयोग पु¥याउँदै आएका छन् । रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्रको व्यवस्थापन बिग्रन थालेको अवस्थामा अन्तर्राष्ट्रिय जगत्ले नेपाललाई सकारात्मक हस्तक्षेप (सुझाव दिने काम) पनि गर्ने गरेको छ ।