शनिवार |

नियात्राको पृथक् प्रस्तुति

ज्ञानु अधिकारी


वियोगी बुढाथोकी नेपाली साहित्यमा निकै क्रियाशील र स्थापित साहित्यकार हुनुहुन्छ । लामो समयदेखि साहित्यको विभिन्न विधा र क्षेत्रमा उहाँ सक्रिय हुनुहुन्छ । कविता, मुक्तक, गजल हुँदै यात्रा साहित्यमा उहाँ प्रवेश गर्नुभएको हो । पछिल्लो समय उहाँको दोस्रो नियात्रा कृतिका रूपमा ‘बेलग्रेभको छुकछुके रेल’ प्रकाशित भएको छ । यसअघि उहाँको ‘किरिङमिरिङ सडकमा अलपत्र’ नियात्रा कृति प्रकाशित भएको थियो । उहाँको प्रस्तुत ‘बेलग्रेभको छुकछुके रेल’ कृति अस्टे«लियाका विभिन्न ठाउँमा यात्रा गर्ने क्रममा देखिएका दृश्य, अनुभूति र भोगाइलाई विषय बनाएर लेखिएको छ । यसले अस्ट्रेलियाका विभिन्न ठाउँका बारेमा जानकारी मात्र दिएको छैन, अस्ट्रेलियाका विभिन्न ठाउँमा बस्दै आएका नेपाली र उनीहरूको जीवन भोगाइका कथालाई पनि प्रस्तुत गरेको छ ।
यसमा जम्मा तीन वटा खण्ड छन् । जसमा अठ्ठाइस वटा नियात्रा समेटिएका छन् । पहिलो खण्ड ‘प्रकृतिसँग भिजेको हृदय’ मा दुई दर्जन नियात्रा समेटिएका छन् । यी चौबीस वटा शीर्षकभित्र पनि विभिन्न उपशीर्षक राखिएका छन् । नियात्रामा अर्को प्रसङ्ग वा दृश्य आउनासाथ शीर्षक परिवर्तन गरिएको छ । उपशीर्षकका छोटाछोटा प्रसङ्गले नियात्रालाई रोचक मात्र बनाएका छैनन्, पाठकमैत्रीसमेत बनाएका छन् । यस खण्डका नियात्रामा अस्टे«ेलियाका विभिन्न स्थानविम्बहरूको वर्णन त गरिएको छ नै अझ त्यसभन्दा पनि बढी प्रकृतिको मनोरम दृश्यहरूको प्रस्तुति पनि छ । यसैगरी ‘मधुशालामा मदहोश मन’ दोस्रो खण्डमा चार वटा नियात्रा समेटिएका छन् । यस खण्डमा विशेष गरी यात्रा पक्षभन्दा पनि अनुभूति पक्ष प्रभावी बनेको छ । ‘देशअनुसारको भेष’, ‘यारा भ्यालीको वाइन’, ‘चिया पिएर जाऊँ’, ‘काज फिर्ताको अवस्था’ जस्ता शीर्षक रहेका यी नियात्रामा नियात्राकारले मद्यपानका सन्दर्भहरूलाई रोचक तरिकाले प्रस्तुत गर्नुभएको छ । ‘तस्बिरमा आबद्ध समय’ शीर्षकको तेस्रो खण्ड विदेश घुम्ने क्रममा खिचिएका फोटाहरूको सङ्ग्रहका रूपमा देखिन्छ । शीर्षक अनुरूपकै सामग्रीहरू प्रस्तुत गरिएकाले यस कृतिका सबै खण्ड रोचक र आकर्षक छन् । यस सङ्ग्रहका नियात्रा तुलनात्मक रूपमा पृथक् किसिमका देखिन्छन् । यसमा यात्राको वृत्तान्त मात्र छैन, अनुभूतिका भुल्काहरू ठाउँठाउँमा मुक्तक बनेर अभिव्यक्त भएका छन् । नियात्राकारको रमाइलो स्वभावका परिणतिस्वरूप आएका रोचक प्रसङ्गहरूले नियात्रालाई स्वाभाविक र प्राकृतिक बनाएको छ ।
यात्रा सोद्देश्य र निरुद्देश्य गरी दुई प्रकारका हुन्छन् । काम विशेषले गरिएको औपचारिक र सोद्देश्य यात्राका तुलनामा निरुद्देश्य अर्थात् यायावरीय यात्राका क्रममा लेखिएका नियात्रा साहित्यिक दृष्टिले उच्चस्तरीय हुन्छन् भन्ने मान्यता रहेको पाइन्छ । यस कृतिका नियात्रा पनि निरुद्देश्यीय यात्राका क्रममा लेखिएकाले बढी रोचक र प्रभावी बन्न पुगेका छन् । अस्ट्रेलियाको तीन महिने घुमघाम नै यस कृतिको मुख्य विषयवस्तु हो । विषयवस्तुका दृष्टिले कृति त्यति नौलो नभए पनि प्रस्तुति र शैलीले कृतिलाई भिन्न बनाएको छ र यही नै यस कृतिको मौलिक विशेषता हो । विदेश र स्वदेशलाई सरोबर मिसाएर लेखिएका यी नियात्रामा फेसबुक स्टाटस र त्यसमा कमेन्ट गर्ने फेसबुक साथीलाई समेत नियात्राको पात्र बनाइएको छ । यात्राको वर्णन गर्ने क्रममा नियात्राकारले ठाउँठाउँमा अभिव्यक्त गरेका विचार र अनुभूतिका झोक्काहरू यति शक्तिशाली छन् कि, त्यसले पाठकको मनलाई निथु्रक्कै भिजाएर संवेदित बनाइदिन सफल छन् । कृति पढ्दै जाँदा पाठकले के अनुभूति गर्छ भने, नियात्राकार अस्ट्रेलियाका धेरैभन्दा धेरै ठाउँ घुम्न चाहन्छन्, धेरैभन्दा धेरै मान्छे भेट्न चाहन्छन् अनि धेरैभन्दा धेरै जानकारीहरू लिन चाहन्छन् र तिनलाई कत्ति पनि कन्जुस्याइँ नगरीकन सबैसबै पाठकलाई बाँड्न चाहन्छन् । नियात्राका शीर्षकभित्र प्रयोग भएका अनेकौँ उपशीर्षक यसकै परिणाम हो । एउटै नियात्रामा विभिन्न ससाना सन्दर्भ, विषय र घटनाहरूलाई प्रस्तुत गरिएकाले नियात्रा निकै रोचक बन्न पुगेको छ र यसले पाठकहरूलाई पट्यारलाग्दो गरिने दृश्यको वर्णन र नियात्राकारको गथासो पढ्नुपर्ने बाध्यताबाट बचाएको छ ।
कृतिमा अस्टे«लियाका विभिन्न मनोरम स्थानको रमाइलो वर्णन छ । त्यहाँका विभिन्न आकर्षक दृश्यसँगै हराएको नियात्राकारको मन हरेकपटक नेपालमा आइपुगेर मात्र अडिन्छ । कृति पढ्दै जाँदा नियात्राकारले पाठकलाई आफू सँगसँगै राखेर यात्रा गराएको अनुभूति हुन्छ र यो नै यस नियात्राकृतिको सबैभन्दा सबल पक्ष हो । आफूले देखेका भिन्न परिवेश, संस्कृति आदिबारेका जानकारीका साथै आफ्ना विचार र अनुभूतिलाई पनि कलात्मक रूपमा संयोजन गरिएको हुँदा कृतिमा समावेश गरिएका नियात्राहरू पठनीय भएका छन् । प्रस्तुत नियात्रा कृतिमा आएका विभिन्न पक्षमध्ये सबैभन्दा राम्रो पक्ष भनेको नियात्राकारको इमानदारी हो । नियात्राकारले यात्राका क्रममा आफूबाट भएका कमीकमजोरीका साथै आफूले अनुभूत गरेका राम्रा तथा नराम्रा दुवै अनुभूतिलाई निकै रोचक तरिकाले प्रस्तुत गर्नुभएको छ । यात्राका सहयात्रीका विचार र अनुभूतिका साथै उनीहरूको सहभागितालाई पनि उत्तिकै महìव दिई पात्रका रूपमा प्रस्तुत गर्नु नियात्राकारको विशेषता हो ।
प्रस्तुत सङ्ग्रहका नियात्रा पढ्दा कतैकतै आख्यान पढेको जस्तो अनुभूति हुन्छ । नियात्रामा कतै अस्टे«लियामा भेटिएका विभिन्न पात्रहरूलाई उभ्याएर उनीहरूका कथा व्यथालाई आख्यानीकरण गरी प्रस्तुत गरिएको छ भने कतै आफैँलाई पात्रका रूपमा उभ्याएर रमाइला घटनाको वर्णन गरिएको छ । यसै सन्दर्भमा नियात्राकारले व्यक्त गरेको मनोवाद पनि कतिपय ठाउँमा निकै प्रभावी देखिन्छ । यात्रावर्णन गर्ने क्रममा कतिपय ठाउँमा मुक्तक र गजल विधालाई पनि नियात्राकारले अँगाल्नु भएकोे छ । अनुभूतिको चरम अवस्थालाई उहाँले गजल र मुक्तकको शैलीमा अभिव्यक्त गर्नुभएको छ । त्यसैले यस नियात्रा कृतिमा विधामिश्रणको समेत सुन्दर प्रयोग भएको छ ।
नियात्रा साहित्य पछिल्लो समय नेपाली साहित्यमा धेरै लेखिने विधामध्ये पर्छ । नियात्रा कृतिको चाङमा अर्को नियात्रा कृति थपिनु साहित्यका दृष्टिले त्यति महìवपूर्ण होइन तर त्यो नियात्रा कृतिले ल्याएको पृथक्ता र स्तरीयताले भने समग्र नेपाली साहित्यकै लागि महìवपूर्ण स्थान राख्छ । नियात्राकार वियोगी बुढाथोकीको यस नियात्रा कृतिले पनि परम्परित नियात्रा लेखनभन्दा पृथक् रहेर केही नवीन प्रयोगहरूलाई आत्मसात् गरेको छ । नियात्राकार स्वयम् नियात्राको नायक हुने हुनाले नियात्राकारको वैयक्तिक स्वभाव र रुचिको प्रभाव नियात्रामा पर्नु स्वाभाविक नै हो । यस कृतिमा पनि नियात्राकारका वैयक्तिक सन्दर्भहरू प्रशस्त रूपमा आएका छन् । नियात्राको मुख्य विषयवस्तु भन्नु नै यात्रावर्णन हो, त्यसैले विषयवस्तु के आयो भन्नुभन्दा पनि विषयवस्तुलाई कसरी प्रस्तुत गरियो भन्ने कुरा नियात्रा साहित्यमा अझ महìवपूर्ण हुन्छ । यस कुरालाई नियात्राकार बुढाथोकीले निकै गम्भीररूपमा लिई व्यवहारमा देखाउनुभएको छ । नियात्रामा रुचि हुने पाठक तथा नियात्रा लेखनमा प्रवृत्त हुँदै गरेका लेखकका लागि प्रस्तुत कृति एउटा पठनीय र प्रेरक कृति बन्न सक्छ भन्ने कुरा प्रस्तुत कृति पढिसकेपछि निर्धक्क भएर भन्न सकिन्छ ।