जति खन्यो उति गहिरो (कविता)
एस्पी कोइराला
जति खन्यो उति गहिरो, रहस्य हो जीवन
एउटा रङ्गीन सपनाको, भविष्य हो जीवन ।।१।।
घाम छायाँको तराजुले, गर्छ सधैँ ढलपल
आश र त्रासको उपहार, बाँड्दै हिँड्छ पलपल ।
आफ्नो–आफ्नो भोगाइ बोक्ने, मन्तव्य हो जीवन
पुग्न कहिल्यै नसकिने, गन्तव्य हो जीवन ।।२।।
आफ्नै लागि अनौठो एक, आश्चर्य यो कस्तो
एकै छिनको खुसीबाहेक, विष्मय हो जस्तो ।
कहिले कृष्णपक्ष कहिले, शुक्लपक्ष जीवन
भेट्न कहिल्यै नसकिने, एउटा लक्ष्य जीवन ।।३।।
जति खन्यो उति गहिरो, रहस्य हो जीवन
एउटा रङ्गीन सपनाको, भविष्य हो जीवन ।।४।।