शनिवार |

अमर साधक पन्नाकाजी

प्रकाशप्रसाद उपाध्याय

मानव शरीर नश्वर र क्षणभङ्गुर छ । त्यसैले मानिसले आफ्नो सङ्क्षिप्त जीवन कालमा विभिन्न विधामा उल्लेखनीय कार्य गर्दैैै जीवनलाई सार्थक बनाउने प्रयास गरिरहेको हुन्छ । यस्तै एक अमर साधकका नाम हो, पन्नाकाजी । उहाँले नाट्य क्षेत्रलगायत गीत–सङ्गीतको क्षेत्रमा ३५ वर्षभन्दा बढी सेवा गर्नुभयो । यो कामले राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति मात्र आर्जन गरेन, धेरै गीतकारलाई अमर र लोकप्रिय पनि बनायो । १९८८ साल पुस २४ मा काठमाडौँको ओमबहालमा चतुरमान शाक्य र बालकुमारी शाक्यका कनिष्ठ पुत्रका रूपमा जन्मनुभएका गायक पन्नाकाजी आफ्नो परिवारका लागि मात्र नभई समस्त देशका लागि पन्ना हुनुभयो ।
आज हामीमाझ उहाँ नरहे पनि पन्नासरह नै देदीप्यमान हुनुहुन्छ । हामीजस्ता पुराना पिँढीका स्रोता एवं रेडियो उद्घोषकलगायत जनमनका हृदयमा उहाँका गीतले अमीट छाप छोड्न सफल भएका छन् । ‘तिरीरी मुरली बज्यो वनैमा...’जस्ता उहाँका कालजयी गीतका धून र स्वर आज पनि कानमा गुञ्जिराख्दा मन प्रसन्न हुन्छ । सङ्गीतकार सीके रसाइलीले पन्नाकाजीलाई नेपालको तलत महमूदको संज्ञा दिनुभएको थियो । दुरुस्त आफ्नै स्वरमा गाएको सुन्दा तलत महमूदले पनि मुक्तकण्ठले पन्नाकाजीकोे प्रशंसा मात्र गर्नुभएन, उहाँलाई सङ्गीत–साधनाका लागि भारत लैजाने प्रस्ताव पनि राख्नुभएको थियो । वरिष्ठ गीतकार, माधवप्रसाद खनाल ‘भावुक’का शब्दमा, ‘उहाँले (पन्नाकाजीले) आवाज दिएका मेरा गीत जीवन्त बनेका छन् । उहाँलाई मैले हृदयले गाउने गायकका रूपमा बुझेको छु ।’ वरिष्ठ गायक ध्रुव केसीका अनुसार ‘स्वरले मुटु छुनु र सङ्गीतले मनलाई झङ्कृत पार्नु नै पन्नाकाजीको स्वरकलाको विशेषता थियो ।’ उहाँले नेपाली साहित्य जगत्का जाज्वल्यमान ताराहरू– बालकृष्ण सम, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरे, धर्मराज थापा, भीमनिधि तिवारी, शङ्कर लामिछाने र जनार्दन समदेखि लिएर मबीबी शाहसम्मका रचनालाई स्वर प्रदान गरी सबैबाट प्रशंसा बटुल्नुभएको थियो । पन्नाकाजीले गाएका मबीबी शाहको रचना ‘आमा तिमीलाई शुभकामना’ गीत भारतकी कोकिलकण्ठी लता मङ्गेस्कर, ‘तिरीरी मुरली बज्यो वनैमा’ गीत बङ्गलादेशकी गायिका रेबिका सफी उल्लाह र ‘किन–किन तिम्रो तस्बिर’ र ‘लोलाएका ती ठूला...’ गीत पाकिस्तानका प्रसिद्ध गायक गुलाम अलीले समेत गाउनुभएको थियो । यो कार्यले पन्नाकाजीको प्रसिद्धि ती देशमा पनि फैलिन पुग्यो । उहाँ अन्तर्राष्ट्रिय गायक–सङ्गीतकारका रूपमा समेत प्रसिद्धि पाउन सफल हुनुभयो ।
एक जना रेडियो उद्घोषकका रूपमा मैले पनि ४२ वर्ष काम गरेँ । आफ्नो सेवा कालमा उहाँका गीत धेरै पटक बजाउने अवसर पाएँ । सन् ६० को दशकतिर नेपाली गीतका रेकर्ड किन्न पाइन्नथ्यो । भारतका केही रेकर्ड कम्पनीहरूले नेपाली गीत रेकर्ड गर्ने गरेका थिए तर तिनको सङ्ख्या दुई÷चारवटा मात्रै हुन्थ्योे । रेकर्ड कम्पनी देशभित्र स्थापना भएको थिएन । यसर्थ अधिकांश गीत स्टुडियोमा टेपमा भरिन्थे । तिनैताका भारत सरकारले नयाँ दिल्लीबाट नेपाली भाषामा कार्यक्रमको प्रसारण थाल्यो । कार्यक्रम विधिवत् रूपमा थाल्नुअघि अल इन्डिया रेडियोका केही प्राविधिक एवं प्रशासकीय अधिकारीहरूको एक टोली काठमाडौँ आयो नेपाली गीतहरू टेपमा रेकर्ड गर्न भनी । त्यतिबेला खर्साङ (दार्जिलिङ)मा अल इन्डिया रेडियोको स्टेसन स्थापना भएको थिएन । फलस्वरूप काठमाडौँमा भारतीय दूतावासको सौजन्य र सहयोगबाट ठूलो सङ्ख्यामा नेपाली गायक–गायिकाका गीत टेपमा रेकर्ड गरेर लगिए । यिनै गायकमध्ये एक थिए पन्नाकाजी । कार्यक्रम सुरु भएपछि यी गायक कलाकारका गीत नियमित रूपमा बज्न थाले । पछि यीमध्ये धेरै गीत रेडियो खर्साङलाई उपलब्ध गराइयो ।
सन् १९६२ मा मैले अल इन्डिया रेडियोको नेपाली कार्यक्रममा एक जना ‘कैजुअल आर्टिस्ट’का रूपमा प्रवेश गरेँ र पछि ‘स्टाफ आर्टिस्ट’का रूपमा जागिर पाएँ । उद्घोषणको कार्य गर्दा बजाउने गीतमा पन्नाकाजीका गीतहरू पर्दथे । आधा घण्टाको ‘स्पुल टेप’मा लगभग छ÷सातवटा गीत भरिएका हुन्थे । उद्घोषणको कार्यले मलाई धेरै नेपाली गायक–गायिका गीत सुन्ने र उनीहरुका आवाजबाट परिचित हुुने अवसर मिल्यो । पन्नाकाजीको आवाजको मधुरता, गीतलाई जीवन्त रूप दिने क्षमता अनि गलाले प्रकट गर्ने हृदयको स्पन्दनले मलाई लट्ठ पार्दथ्यो । कुनै–कुनै गीत सुन्दै गर्दा त म भावविभोर पनि हुन्थेँ किनभने तिनमा वेदनाको भाव प्रकट भइरहेको हुन्थ्यो ।
नयाँदिल्लीको यात्रामा जाने अधिकांश नेपाली गायकको चाहना अल इन्डिया रेडियोबाट आफ्नो गीत बजोस् भन्ने हुन्थ्यो र उनीहरू कुनै न कुनै रूपमा हाम्रो सम्पर्कमा अउँथे । हामी पनि यथाशक्य उनीहरूका गीत रेकर्ड गरी आफ्नो गीतको भण्डारको श्रीवृद्धि गर्ने गथ्र्यौं तर पन्नाकाजी नयाँदिल्ली आउनुभएन कि वा अल इन्डिया रेडियोबाट आफ्नाजति गीतहरू बजिरहेका थिए, त्यसमै सन्तुष्ट भएर हो हाम्रो सोझो सम्पर्कमा आउनुभएन ।
अन्य गायकसरह पन्नाकाजी पनि मेरा एक लोकप्रिय गायक हुनुहुन्थ्यो तर पनि मैले उहाँलाई भेट्न पाइनँ, भौगोलिक दूरीका कारण । ४२ वर्षको सेवापछि उमेरको आधारमा अवकाश पाएर काठमाडौ फर्किएँ । यसैबीच थाहा पाएँ ८६ वर्षीय पन्नाकाजी स्वर्गीय भएका कुरा । वि. सं. २०७३ माघ १२ गतेको दिन नेपाली सङ्गीतको एक जाज्वल्यमान तारा अस्तायो, नेपाली सङ्गीत क्षेत्रमा एक युगीन शून्यता उत्पन्न गर्दै तर पुराना गायक र तिनका गीत यतिखेर उपेक्षित हुँदै जान थालेका छन् । जुन एउटा इतिहासलाई विस्मृतिमा पार्नुजस्तै हो ।
पन्नाकाजी २००४ सालदेखि नेवारी र नेपाली भाषाका नाटक खेल्दै, रङ्गमञ्चबाट सङ्गीतको क्षेत्रमा आउनुभयो । २००८ सालमा रेडियो नेपाल पसेका पन्नाकाजीले २०४० सालतिर आफ्नो कला क्षेत्रसितको लामो सम्बन्ध विच्छेद गर्दै स्वेच्छिक अवकाश लिनुभयो । फिल्म निर्माता प्रकाश सायमीका अनुसार यसबीचमा पन्नाकाजीले तीन सयभन्दा बढ़ी गीत रेकर्ड गराउनुभयो र डेढ सयभन्दा बढ़ी गीतमा सङ्गीत दिनुभयो । प्रसिद्ध नृत्याङ्गना विमला देवी पन्नाकाजीलाई सोझो र सज्जन व्यक्तिका रूपमा लिनुहुन्छ । साह्रै भद्र र मधुरभाषी व्यक्तित्वका रूपमा पनि उहाँलाई चिनाउनुहुन्छ ।
२०२३ सालमा रेडियो नेपालको १७औँ वर्षगाँठका अवसरमा ‘सर्वोत्तम साधक गायक’ उपाधि प्राप्त पन्नाकाजीलगायत नातिकाजी, धर्मराज थापा, जनार्दन सम, कोइलीदेवी, गङ्गादेवी, तारादेवीजस्ता कालजयी गायक–गायिका हुनुहुन्छ । उहाँहरूले छर्नुभएको नेपाली सङ्गीतको रस स्वादन नयाँ पुस्तालाई परिचित गराउनुपर्छ । जसरी भारतमा लता मङ्गेस्कर, तलत महमूद, किशोर कुमार, मुकेश, मोहम्मद रफी, केएल सहगल, सीएच आत्मा, बेगम अख्तर, एमएस शुभलक्ष्मी, समसाद बेगमजस्ता गायक–गायिका आजपर्यन्त स्मरणीय छन्, हामीले पनि यो बाटोलाई पछ्याउन सिक्नुपर्छ ।