सांस्कृतिक नगरी नागदेश
कृष्णकुमार प्रजापति
बागमती प्रदेशस्थित भक्तपुरकोे मध्यपुर थिमि नगरपालिका–७ मा रहेको छ नगदेश नगरी । यसको प्राचीन नाम ‘नागदेश’ नै थियो भन्ने बलियो प्रमाण वज्रयानी महायानी ग्रन्थ ‘प्रज्ञापारमिता’मा रहेको छ । वज्रयानी महायानी बौद्ध धर्मको नौवटा ग्रन्थमध्ये प्रमुख ग्रन्थ ‘प्रज्ञापारमिता’ हो । बौद्ध साहित्यमा यसकोे छुट्टै विशिष्ठ स्थान छ । विद्वान् लेखक जनश्री ज्ञान वज्राचार्यले रच्नुभएको यस ग्रन्थमा उल्लेख भएअनुसार यस ठाउँको दक्षिणी भेगमा वासुकी नागराजाको निवास थियो । नागराजको यही निवासको उत्तरी भेगमा बसालेको बस्ती भएकाले यो बस्तीको नामा ‘नागबस्ती’ वा ‘नागदेश’ रह्यो । यस तथ्यलाई प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा’ पत्रिकामा प्राडा राजेश गौतमले पनि उल्लेख गर्नुभएको छ । यस्तै बौद्ध विद्वान् पण्डित बद्रिरत्न वज्राचार्यले पनि आजभन्दा साढे चार दशकअघि नै नगदेशकै ऐतिहासिक टोल बहाननीमा भएको धार्मिक प्रवचन कार्यक्रममा वासुकी नागराजाकै निवासस्थानको सिरानमा बसालेको बस्ती भएकाले ‘नागबस्ती’, ‘नागदेश’ भएको चर्चा गर्नुभएको थियो ।
प्राचीन समयमा नेपाल (त्यतिबेला काठमाडौँ उपत्यकालाई नेपाल भनिन्थ्यो) खाल्डो पानीले भरिएको विशाल तलाउका रूपमा थियो । यो तलाउलाई ‘कालीदह’ वा ‘कालीह्रद’ भनिन्थ्यो । यही कालीदहमा सप्त मानव बुद्धमध्येकै विपस्सी बुद्ध, संस्कृतमा ‘विपश्वी बुद्ध’ले जामाचोबाट कमलको बीउ (पिडालो) फाल्नुभयो । केही महिनापछि कालीदहबाट टुसा पलाउँदै कमलको फूल प्रकट भयो । बौद्ध साहित्यमा त त्यस कमलको बोटबाट एकैपटक सहस्र भुजा (हजार पात) प्रकट भई ज्वाला निस्कियो र ‘स्वयम्भू’ नामकरण भएको चर्चा छ । यसरी अद्भूत एवं चमत्कारीपूर्ण ढङ्गले स्वयम्भूका रूपमा ज्वालायुक्त कमलको फूल (बोट) देखा परेपछि चौतर्फी प्रचारप्रसार हुन पुग्यो । नेपाल मण्डलभित्रको कालीदह या कालीह्रदमा अदभूत एवं चमत्कारपूर्ण तवरले स्वयम्भू प्रकट भएको घटना उत्तरी छिमेकी मुलुक महाचीनमा समेत व्यापक तवरले प्रचारप्रसार हुन पुग्यो ।
तसर्थ महाचीनको मञ्जु शीर्ष पर्वतमा रहनुभएका बोधिसत्व मञ्जुश्रीले उहाँको धर्म सङगिनीद्वय केशिनी (वरदा) र उपकेशिनी (मोक्षदा)का साथ नेपाल मण्डलको कालीदहमा विराजमान श्री स्वयम्भू धर्मधातु वागेश्वरीको प्रत्यक्ष दर्शन गर्न आउनुभएकोे इतिहास छ । उहाँ बोधिसत्वले कालीदहमा विराजमान श्री स्वयम्भू धर्मधातु वागेश्वरीको दर्शन नेपाल मण्डलको पूर्वी भेगको सुडालको डाँडाबाट गर्नु भई एक रात त्यहीँ बास बस्नुभएको थियो । उक्त स्थान हाल चाँगुनारायण नगरपालिका–७ मा पर्छ । जुन पवित्र धार्मिक स्थानलाई नेपाल भाषामा ‘ल्हासापाँक्व–सःस्यूःद्यो’ भनिन्छ । नेपाली भाषामा ‘प्रज्ञावान् देवता’ भन्ने गरिन्छ । मञ्जुश्री बोधिसत्व वास्तवमा ‘सःस्यूःद्यो’ हो । ‘सःस्यूःद्यो’ र ‘ससुमाजुद्यो’ भनेको आकाश र जमिनजत्तिकै फरक छ । लिङ्ग भेदमा ‘सःस्यूःद्यो’ भन्ने बोधिसत्व पुरुष देवता हो भने ‘ससुमाजुद्यो’ भनेको सरस्वती स्त्रीलिङ्ग देवता होे । ‘सःस्यूःद्यो’ उपाधिबाट विभूषित मञ्जुश्री बोधिसत्व विराजमान भएको, गराएको मन्दिरमा स्त्रीलिङ्ग देवी सरस्वतीको मूर्ति राख्नुपर्ने भनी केही वर्ष पहिले विवाद पनि भएको थियो । मञ्जुश्री बोधिसत्व अहिलेको सन्दर्भमा हेर्दा उहाँ एक जना आर्किटेक्ट इन्जिनियर हुनुहुन्छ । उहाँले नेपाल मण्डलमा अवस्थित कालीदहको पानी कोदुवाल, चोभारको गल्छी काटी बाहिर पठाउने कार्य बडो सुझबुझका साथ गर्नुभयो । त्यसपछि पशुपति र गुह्येश्वरीको गल्छी काट्नुभयो र अन्त्यमा गोकर्णको गल्छी काटी त्यस कालीदहको सम्पूर्ण पानी बाहिर पठाई नेपाल मण्डलको काठमाडाँै उपत्यकामा बस्नयोग्य स्थान बनाउनुभयो । यस कार्यले उहाँलाई आर्किटेक्ट इन्जिनियर भनिएको हो । उहाँले नेपाल मण्डलभित्रको कालीदहको पानी पठाउने कार्य गर्दा त्यस दहभित्रका नागराजाहरू तक्षक र भक्षक उपत्यका बाहिर पुगिसकेकाले अन्य बाँकी नागको व्यवस्थापन महामञ्जुश्रीले विभिन्न स्थानमा गर्नुभएको थियो । त्यसमध्ये कर्कोटक नागराजलाई हालको कीर्तिपुर नगरपालिका–७ स्थित भूतखेलमा ठूलो दह बनाई बासस्थानको व्यवस्था गर्नुभयो । यस दहलाई ‘टौदह’ भनियो । यस्तै ललितपुरको धापाखेलस्थित नागदहमा पनि अन्य नागको बासस्थानको व्यवस्था गर्नुभयो । ऐतिहासिक सांस्कृतिक नगरी नागदेशको दक्षिण भेगमा वासुकी नागराजाको बासस्थानका लागि व्यवस्था गर्नुभयो । ती वासुकी नागराजाको बासस्थानको उत्तरी डिलमा बसालेको बस्तीे भएकाले यसको नाम ‘नागबस्ती’ वा ‘नागदेश’ रहन गएको हो । कालान्तरमा नागदेशबाट नगदेश, नकदेश, नरदेश, नरसेय् भनी फरक फरक नाम भन्न थालियो ।
हामी नागदेश निवासी जनता भनेको नागजाति नेवार हौँ । दक्षिण तथा पूर्वी एसिया जहाँजहाँ नागजातिको बसोबास छ वा थियो, तीती स्थानलाई ‘नागदेश’ भन्ने गरिन्थ्यो । भारतको महाराष्ट्र प्रान्तमा महार जाति पनि नागजाति भएको र त्यो स्थान वा बस्तीलाई ‘नागदेश’ नै भन्ने गरिन्थ्यो । त्यस्तै गरी मित्र राष्ट्र थाइल्यान्डमा पनि नागजाति बसोबास गर्ने स्थललाई ‘नागदेश’ नै भन्ने गरिन्थ्यो । अतः नागजातिको गुण र स्वभावको प्रतीकार्थका रूपमा ‘नागदेश’ भनिएको हो । हाम्रै नेपालमा पनि ठाउँठाउँमा मीननाग, घोरीनाग गरी विभिन्न नागको बासस्थान रहेको छ । काठमाडौँ उपत्यकाभित्र बागमती नदीको उद्गमस्थलदेखि उपत्यकाभित्र विभिन्न दोभानमा बाह्र तीर्थ स्थलमा व्रत बस्ने भनेकै ती दोभानमा रहेको बाह्र नागको गुणानुस्मरण गरी व्रत बस्नु हो ।