शनिवार |

साहित्यिक पत्रकारिताको गति

रामप्रसाद पन्त

पत्रकारितालाई राज्यको चौथो अङ्ग मानिन्छ । किनकि यसले प्रजातान्त्रिक राज्यका तीनवटा अङ्ग (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका)लाई खबरदारी गरिरहन्छ । साहित्यिक पत्रिकारिताको अभीष्ट पनि खबरदारी गर्ने नै हो । यसले अप्रत्यक्ष रूपमा समाज र सत्तासीनहरूलाई शिष्ट र विशिष्ट ढङ्गले सचेत गराउने काम गर्दछ । तर विडम्बना के छ भने राजनीतिमा बामे सर्नेहरूले साहित्यिक धरातलमा उभिएर राजनीतिक जग निर्माण गर्छन् र उभिन सक्ने भएपछि आफू उठेको धरातल बिर्सन्छन् । यही हुँदै आएको छ र भइरहेको छ ।
वि.सं. १९५० मा मोतिराम भट्टले बनारसबाट नेपाली भाषाको पहिलो साहित्यिक पत्रिका ‘गोर्खा–भारत जीवन’ प्रकाशन गर्दा र वि.सं. १९५५ मा नेपालबाटै ‘सुधासागर’ नेपाली साहित्यिक पत्रिका प्रकाशन हुँदा नेपालमा पत्रकारिताको थालनी भएकै थिएन । वि.सं. १९५८ मा मात्र साप्ताहिक रूपमा गोर्खापत्रको थालनी भएको हो । रहर वा सेवाभावले जुनसुकै रूपमा साहित्यिक पत्रकारिता थालिएको भए पनि यसलाई निरन्तरता दिनु निःसन्देह कठिन थियो। एउटा तपस्वीको कठोर तपस्याबाट मात्र साहित्यिक पत्रिका सञ्चालन हुनसक्छ । एउटा निष्ठावान् साधकको साधनाबाट मात्र साहित्यिक पत्रिकालाई निरन्तरता दिन सकिन्छ। साहित्यिक पत्रिका प्रकाशन गर्नेजस्तो आर्थिक प्रतिफलरहित निष्काम कर्म एउटा कर्मयोगीबाट मात्र गतिशील बन्नसक्छ । त्यस्तै साहित्य–साधकको काँधमा साहित्यिक पत्रिका प्रकाशनको जिम्मेवारी आयो होला र साहित्यिक पत्रिकाले निरन्तरता पायो होला !
यस्तै निष्काम कर्मयोगीहरू हुनुहुन्छ– ऋद्धिबहादुर मल्ल, उत्तम कुँवर, भवानी घिमिरे, चूडामणि रेग्मी, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, कमल दीक्षित, शान्तदेव भट्टराई, अच्युतरमण अधिकारी र मोहन दुवाललगायत । जीवनको आठ दशक यात्रा गरिरहनुभएका रोचक, नगेन्द्र र मोहनहरूले त अभैm धानिरहनुभएकै छ साहित्यिक पत्रिकालाई । उहाँहरूकै पदचाप पछ्याउँदैछौँ हामीहरू पनि र हामीहरूलाई पछ्याउँदैछन् धरै अनुजहरू। यो यात्रा रोकिएको छैन ।
सरकार संरक्षित साहित्यिक पत्रिकाहरूको कुरा गर्ने हो भने मधुपर्क, समकालीन साहित्य र कविता पत्रिकाहरूले निरन्तरता पाएका छन् भने गरिमा, समष्टि, मिर्मिरे, मनोभाव, ज्योति आदि पत्रिकाहरू पनि लडखडाउँदै अगाडि बढिरहेका छन् । यसको अर्थ विशुद्ध साहित्यिक पत्रिका बचाउनका लागि सरकारी वा गैरसरकारी साहित्यिक पत्रकारिता जगत्लाई नै धौधौ भइरहेको छ । यसबाट हामी के बुझ्छौँ भने साहित्यिक पत्रिका चलाउनका लागि पैसा भएर पनि हुँदोरहेनछ, समर्पणभाव आवश्यक पर्दाेरहेछ ।
साहित्यिक पत्रिका नवागन्तुक साहित्यकारहरूको चौतारी हो । साहित्यिक पत्रिकाले साहित्यकार जन्माउने मात्र काम गर्दैन, जन्मिसकेका साहित्यकारलाई अगाडिको बाटो फराकिलो बनाउँदै जानका लागि पनि मार्गप्रशस्त गर्दछ । रोचक घिमिरेको शब्दमा ‘साहित्यकार जन्माउने कारखाना’ हो साहित्यिक पत्रिका । स्वदेश वा विदेशमा बस्ने सबैखाले स्रष्टाका विविध रचनाहरूलाई सङ्कलन एवं परिमार्जन गरी प्रकाशन गर्नु साहित्यिक पत्रकारिताको धर्म हो ।
नेपाली पत्रकारिताको इतिहासमा व्यावसायिक पत्रकारिताभन्दा जेठो साहित्यिक पत्रकारिता पछिल्लो चरणमा आएर कमजोर देखिएको छ । यसो हुनुका विविध कारणहरू छन् । केही बाह्य असहयोगका कुरा छन्, केही साहित्यिक पत्रकारिताभित्र देखिएका कमीकमजोरी र असावधानीहरू पनि छन् । यिनै कारणहरूको बीचमा मन्दगतिमा लुखुरलुखुर हिँडिरहेको छ साहित्यिक पत्रकारिता ।
खासगरी प्रजातन्त्रको पुनःस्थापनापश्चात् सञ्चार जगत् खुला भयो र खुम्चिएका कलमहरू क्रियाशील भए । लेखनप्रक्रिया खुलारूपमा अगाडि बढ्यो । व्यावसायिक पत्रिकाहरू एकपछि अर्काे जन्मे । एफ.एम, टेलिभिजन, अनलाइनलगायत सञ्चारमाध्यमको वर्चस्व बढ्यो । उनीहरूले साहित्यिक सामग्री छापेर पारिश्रमिकको पनि व्यवस्था गरे र लामो यात्रा गरिरहेका साहित्यिक पत्रिकालाई समेत प्रभावित पारे । सरकारले पनि साहित्यिक पत्रिकालाई संरक्षण गर्ने कुनै चासो देखाएन र साहित्यिक पत्रकारहरूबाट पनि साहित्यिक पत्रिकालाई रूपान्तरण गर्दै नयाँ दिशातिर लैजाने सोच बनाइएन ।
मुख्य कुरा त, सरकारले साहित्यिक पत्रकारितामाथि सौतेनी व्यवहार गर्दै गयो र साहित्यिक पत्रकारहरू सरकारप्रति जुझारु भएर आक्रामक शैलीमा अगाडि बढ्न सकेनन् । समानताको कुरा गर्ने हो भने नेपाल पत्रकार महासङ्घका अध्यक्ष प्रेस काउन्सिलमा पदेन सदस्य भएजस्तै समान हैसियत भएको नेपाल साहित्यिक पत्रकार सङ्घबाट पनि पदेन सदस्य बनाउने व्यवस्था गरिनुपथ्र्याे, त्यसो हुन सकेको छैन । यस अतिरिक्त विज्ञापन सुविधाका विषयमा, हुलाक सुविधाका विषयमा, पत्रिका प्रकाशनसम्बन्धी सुविधाका विषयमा, दीर्घसेवीहरूलाई पुरस्कृत गर्ने विषयमा, औषधि उपचारका विषयमा, विदेश भ्रमणका विषयमा, विभिन्न सभा–समारोहहरूमा सहभागिता गराउने विषयमा पनि विभेदहरू भइरहे, भइरहेकै छन् र साहित्यिक पत्रकारहरूले सहिरहेकै छन् ।
जेसुकै भए पनि साहित्यिक पत्रकारहरूलाई सन्तोष केमा छ भने, साहित्यिक पत्रिका थालनी गर्दा शायद कुनै पनि साहित्यिक पत्रिकाको सम्पादकले सरकारबाट केही पाइन्छ भन्ने आशाले थालेका थिएनन् होला, रहर वा सेवाभावकै उपज थियो
होला ! यसरी प्रकाशन गर्दा पञ्चायतकालमा राजारानीको जन्मदिन र राष्ट्रिय पर्वहरूमा केही संस्थाहरूबाट विज्ञापन पाइन्थ्यो, बाँकी पहुँचका आधारमा । यसबाहेक केही व्यक्तिगत सम्पर्कले काम गरे होला ! केही साहित्यानुरागी मित्रहरूबाट होस्टेमा हैँसे गर्ने काम भयो होला !
यसरी झन्डै सवासय वर्ष लामो इतिहास बोकेको साहित्यिक पत्रकारिता जुन गतिमा अगाडि बढ्नुपर्ने थियो, बढ्न सकेन, तथापि निजी प्रयासमा भए पनि शारदा र रूपरेखा पत्रिकाले साहित्यिक पत्रकारितालाई अगाडि बढाउन ठूलो योगदान गरे । अन्ततः साहित्यिक फाँटमा राम्रो प्रतिष्ठा कायम गरेको रूपरेखा त बन्द नै भयो, तर शारदालाई भने विमल भौकाजीको सत्प्रयासबाट पुनर्जीवित गर्ने काम भएको छ । साहित्यिक पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउँदै आएका र शताङ्क नघाएका ‘रत्नश्री’ र ‘सुगन्ध’को गति पनि यस बेला रोकिएको छ तर ‘भानु’ले भने शताङ्कपछि पनि निरन्तरता पाएकै छ । तर पुरानो इतिहास बोकेको ‘जुही’ चाहिँ चूडामणि रेग्मीको वृद्धत्वसँगै थला परेको छ भने अच्युतरमण अधिकारीद्वारा सम्पादित ‘उन्नयन’ र शेषराज सिवाकोटीद्वारा सम्पादित ‘ज्ञानगुनका कुरा’ले शताङ्कको यात्राका क्रममा बन्द भएका छन् । कमलमणि दीक्षितद्वारा सम्पादित ‘नेपाली’ पत्रिका दीक्षितको देहान्तपछि धर्मरको स्थितिमा छ ।
नगेन्द्रराज शर्माले ‘अभिव्यक्ति’लाई द्विशताङ्क नघाइसक्नुभएको छ । यसैगरी चारबीसको निकट पुगेका रोचक घिमिरेले ‘रचना’लाई द्विशताङ्कको निकट पु¥याउनुभएको छ भने मोहन दुवालले पनि ‘जनमत’लाई त्रिशताङ्कतिर उकालो चढाउँदै हुनुहुन्छ । उहाँहरूको क्रम नरोकिए जस्तै ‘दायित्व’को क्रम पनि रोकिएको छैन । पङ्क्तिकार प्रधानसम्पादक रहेको दायित्व पनि चौँतीस वर्षे यात्रामा छ र यसले पनि द्विशताङ्कको यात्रा गर्दैछ ।
यसपछिको युवापुस्ता पनि नयाँ नयाँ पत्रिकाहरूको थालनी गरेर साहित्यिक पत्रकारितामा सक्दो योगदान गर्न कम्मर कसेर लागेका छन् । यही पुस्ता नै अबको साहित्यिक पत्रकारिताको भविष्य हो, जुन आशालाग्दो छ । हामीलाई विश्वास छ, यसले साहित्यिक पत्रकारिताको इतिहासलाई जीवित राख्दै र निरन्तरता दिँदै युग सुहाउँदो पत्रकारिता गर्नेछ ।
साहित्यिक पत्रकारितामा मलजल थप्न र साहित्यिक पत्रकार एवम् साहित्यिक पत्रकारिताको सञ्चालनमा देखापरेका अप्ठ्याराहरू फुकाउने उद्देश्य राखेर ‘नेपाल साहित्यिक पत्रकार सङ्घ’को जन्म भएको छ । जसअनुरूप यसले विगत चौध वर्षदेखि अत्यन्त महŒवपूर्ण कामहरू गर्दै आएको छ । नकुल सिलवाल संस्थापक अध्यक्ष रहेको यस संस्थामा रोचक घिमिरे र नगेन्द्रराज शर्माजस्ता साहित्यिक पत्रकारिताका दीर्घतपस्वीहरूले नेतृत्व प्रदान गरिसक्नुभएको छ । यो संस्था सबल र सक्षम भयो भने साहित्यिक पत्रकारिताको जग पनि बलियो हुने र निरन्तरता पाउने कुरा निश्चित छ ।
साहित्यकारहरू निर्माण गर्ने सेतुको रूपमा रहेको साहित्यिक पत्रकारिताले समाजमा जुन स्थान स्थापित गर्नुपर्ने हो, त्यो स्थान पाउन सकिरहेको अवस्था छैन । यसो हुनुमा सरकारले साहित्यमाथि हेर्ने दृष्टिकोण विभेदकारी हुनु हो । नत्र तीन वर्षपछि थालनी भएको पत्रकारिता जगत् यतिविधि शक्तिशाली हुँदासम्म साहित्यिक पत्रकारिता यति साह्रो कमजोर बन्ने थिएन ।
गणतन्त्रको उदयपश्चात् भने प्रेस काउन्सिलबाट व्यावसायिक पत्रिकालाई जस्तै साहित्यिक पत्रिकालाई पनि वर्गीकरण गरेर कल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको छ । प्रेस काउन्सिलको यस सदासयतालाई हामीले धन्यवाद दिनैपर्छ । यसबाट साहित्यिक पत्रिकालाई बचाउन र निरन्तरता दिन ठूलो मद्दत पुगेको छ, जुन स्तुत्यकार्य हो । तर समाचारमूलक पत्रिकालाई दिइने सुविधा र अवसरहरूबाट साहित्यिक पत्रिकाहरू वञ्चित हुनुहुन्न भन्ने साहित्यिक पत्रकारहरूको धारणा यथावत् छ । मूल्याङ्कन प्रक्रियामा पनि व्यावसायिक पत्रिका र सेवामूलक साहित्यिक पत्रिकालाई एकै ठाउँमा राखेर दाँजिनुहुन्न र विशेष संरक्षण दिइनुपर्छ भन्ने हाम्रो अभिमत पनि कायमै छ ।
यसको अर्थ साहित्यको नाममा जस्तोसुकै पत्रिका निकाले पनि त्यसको संरक्षण गरिनुपर्छ भन्ने होइन । यसतर्फ साहित्यिक पत्रकारहरू पनि सजग हुनुपर्छ र साहित्यिक पत्रकारिताको वास्तविक धर्म निर्वाह गर्नुपर्छ भन्ने हो । अर्थात् साहित्यिक पत्रिकाका सम्पादकले कुशल सम्पादन गरेर स्तरीय पत्रिका निकाल्न सक्ने हो भने यसले अवश्य पनि बजार लिन्छ र पत्रिका र सम्पादकको गरिमा बढ्छ । मूल्याङ्कन गर्नेलाई पनि बोल्ने ठाउँ रहन्न र सम्पादकलाई पनि अन्य पत्रिकासरह सुविधा उपलब्ध गराउनका लागि हकदाबी गर्ने ठाउँ रहन्छ । यसतर्फ पनि साहित्यिक पत्रकारहरू चनाखो हुनु जरुरी छ ।