केटाकेटी (कविता)
दिनेश अधिकारी
न ज्ञान धेरै छ
न छल धेरै छ
न रहर धेरै छ
न आरिस धेरै
रिसाइहाले भने पनि
एक्कैछिनमा फकिन्छन्
ढाँटिहाले भने पनि
एक्कैछिनमा सङ्लिन्छन्
केटाकेटीसँग
सपना थोरै र विपना धेरै छन्
न चिज धेरै छ
न चिन्ता धेरै छ
न बाटो धेरै छ
न विवाद धेरै छ
टाउकाको लडाइँ त
वयस्क उमेरको उपज हो
दुख्ला भन्ने पीर पनि पटक्कै छैन
केटाकेटीहरू
परस्पर टाउको ठोकेरै मीत लगाउँछन्
यही कारण हो
केटाकेटीहरू
घामभन्दा उज्याला छन् !