शनिवार |

पिथौरागढको गोर्खाली किल्ला

गोकर्ण दयाल

भारतको उत्तराखण्डको पिथौरागढस्थित गोर्खाली किल्लाबारे धेरै नेपाली परिचित छैनन् । अङ्ग्रेजसँग सन् १८१४ मा नालापानीको लडाइँ लड्नुअघि नै पिथौरागढमा सन् १७९१ मा गोर्खाली सेनाले यो किल्ला निर्माण गरेका थिए । नालापानी किल्ला र पिथौरागढको गोर्खाली किल्ला दुवै उत्तराखण्डमा पर्छन् ।
नेपाल–भारत सीमा झुलाघाटस्थित महाकाली नदीमा इस्ट इन्डिया कम्पनीले बनाएको झोलुङ्गेपुल छ । यो पुल तरेपछि ३६ किलोमिटर गाडीको यात्रा गरेर गोर्खाली किल्ला पुग्न सकिन्छ । गोर्खाली किल्लाको लम्बाइ ८८ दशमलव ५ मिटर, चौडाइ ४० मिटर रहेको छ । किल्लालाई चारैतिरबाट नौ फिट अग्लो पर्खालले घेरिएको छ । पर्खालको चौडाइ पाँच फिट चार इन्च रहेको छ । पर्खालमा बन्दुक चलाउन मिल्ने १५२ वटा प्वाल छन् । किल्लाभित्र गहिरो कुवा थियो । तर, अहिले भने त्यहाँ पीपल रोपिएको छ ।
सन् २००० मा भारतको उत्तरप्रदेशबाट छुट्टिएर १३ जिल्लाको अलग प्रदेशका रूपमा उत्तराखण्ड बनेको हो । यो प्रदेश वीरहरूले शासन गरेको ठाउँका रूपमा परिचित छ । यस प्रदेशमा पिथौरागढ, चम्पावत, बागेश्वर, अल्मोडा, पहुरीगढवाल, टेहरी गढवाल, उधमसिंहनगर, चमौली, नैनीताल, रुद्रप्रयाग, उत्तरकाशी, हरिद्वार र देहरादुन जिल्ला छन् । यसको राजधानी देहरादुन हो । यहीँ नालापानी किल्ला रहेको छ । नालापानी किल्ला जस्तै पिथौरागढको गोर्खाली किल्ला पनि गोर्खालीको बहादुरीको इतिहास जोडिएको ऐतिहासिक ठाउँ हो ।

पुरानो नाम ‘सोर’
पिथौरागढको पुरानो नाम ‘सोर’ हो । अहिले पनि ज्याला–मजदुरी गर्न पिथौरागढ जाने अधिकांश नेपालीले ‘सोर’ गएर पैसा कमाउने भन्ने गर्छन् । कर्णालीमा पुल बन्नुअघि (२०४९ साल) सम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका मानिस नुन लिन ‘सोर’ जाने गरेका थिए । किनमेलका लागि पिथौरागढ जाने मध्यम वर्गले पिथौरागढलाई ‘बजार’ भन्ने गर्छन् । उपचार गराउन अहिले पनि बैतडी, दार्चुला र बझाङबाट हजारौँ नेपाली पिथौरागढ पुग्ने गरेका छन् ।
‘सोर’ बजार र पिथौरागढको इतिहासबारे पिथौरागढवासी ८७ वर्षीय लेखक पदमदत्त पन्तले ‘सोर’ र पिथौगाढबारे रोचक इतिहास रहेको बताउनुभयो । लेखक पन्तले ‘सोर की लोककथा’ र ‘यादका सोर पिथौरागढ’ पुस्तक लेख्नेक्रममा गरिएको खोजअनुसार ‘सोर’मा मानव बस्ती बस्नुअघि तलाउ थियो । स–साना तलाउलाई ‘सोर’ भन्ने गरिन्थो । किरिया बसेकाहरू तलाउमा नुहाउन र पितृलाई १० दिनसम्म पिण्ड दान दिन जान्थे । पिण्ड दान गर्ने ठाउँलाई स्थानीय कुमाउनी भाषामा ‘पितरौडा’ भनिन्छ ।
स्थानीय कुमाउनी भाषामा धान फल्ने खेतलाई ‘धनाड’ मकै फल्ने खेतलाई ‘घोगाड’ भनिन्छ । त्यसैगरी, पितृलाई पिण्ड दान गर्ने स्थान र ठाउँलाई ‘पितराडा÷पितरौडा’ भनियो । अङ्ग्रेजसँग लडाइँ गर्न जब सोर बजार अर्थात् पितरौडामा गोर्खाली सेनाले गढ (किल्ला) निर्माण गरे, त्यसपछि पिथौरागढ नामकरण भएको देखिन्छ । नेपालको बैतडी जिल्लाको स्वराड र तल्लो स्वराड क्षेत्र भारतको ‘सोर’ अर्थात् आजको पिथौरागढसँग जोडिएको हुनाले स्वराड नाम रहन गएको पनि भनिन्छ ।
गोर्खाली किल्लामा रहेको शिलालेखमा सोर घाँटी (उपत्यका) विभिन्न वंशले राज्य गर्नेक्रममा सैनिक स्थलका रूपमा उपयोग गरेको उल्लेख छ । पिथौरागढमा मल्ल, बम, चन्द, गोर्खाली र अङ्ग्रेजले शासन गरेको पनि उल्लेख छ ।

नाम फेरेर ‘लन्डन पोर्ट’
भारतमा अङ्गे्रजले शासन सुरु गरेपछि पिथौरागढस्थित गोर्खाली किल्लाको नाम फेरेर अङ्ग्रेजले ‘लन्डन पोर्ट’ राखेका थिए । भारत स्वतन्त्र भएपछि गोर्खाली किल्लाको नाम ‘सोरगढ’ रह्यो । जनजिब्रोमा भने अहिले पनि ‘गोर्खाली किल्ला’ नै उच्चारण हुने गरेको नेपालीमूलका स्थानीय महेश बरालको भनाइ छ । किल्लासँग गोर्खालीको गहिरो साइनो रहेको पनि लेखक पदमदत्त पन्तले जानकारी दिनुभयो । किल्लाको संरक्षण भारत सरकारले गर्दै आइरहेको छ । गोर्खाली किल्लाको नाम परिवर्तन गरेर जब अङ्ग्रेजले ‘लन्डन पोर्ट’ राखे, त्यसपछि यो किल्लाको नाम फेरिँदै आयो । पिथौरागढको पुरानो नाम ‘सोर’ नै भएकाले गोर्खाली किल्लाको नाम पनि ‘सोरगढ’ पनि रह्यो ।

बैतडी र पिथौरागढको सम्बन्ध
बैतडी र पिथौरागढबीच धार्मिक, साँस्कृतिक र भाषिक एकरूपता पाइन्छ । सुदूरपश्चिममा बोलिने सबै भाषालाई डोटेली भाषाका रूपमा चिनिए पनि बैतडी र दार्चुलामा बोलिने भाषा र कुमाउनी भाषाका शब्दमा एकरूपता पाइन्छ ।
बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा हजारौँ भारतीय तीर्थयात्री आउने गरेका छन् । यस्तै त्रिपुरा सुन्दरीप्रति मनोकामना पूरा गर्न माताका रूपमा पिथौरागढवासी गहिरो विश्वास र आस्था राख्छन् ।
महाकाली नदीले दुई देशका बैतडी र पिथौरागढ जिल्लालाई छुट्याएको छ । दुई जिल्लाबीच ‘रोटीबेटी’को सम्बन्ध निकै गहिरो रहेको बैतडीका गोविन्दराज जोशीले बताउनुभयो । खानपिनमा पनि एकरूपता पाइन्छ । बटुक, माणा, पल्यौँ, घोगाको रोटी, छाँच आदि खानाका परिकार वारि र पारि दुवै ठाउँमा खाइन्छ । विवाहमा नाचिने छलिया नाच पनि एकैकिसिमकोे छ । सुख, दुःख, मायाप्रीति र विरहका धेरै गीत पनि एउटै भाषा र लयमा गाइन्छ ।

‘सोर’ जाने सपना
अङ्ग्रेजसँग लडाइँ गर्न नेपालीले खडा गरेको गोर्खाली किल्ला पुग्दा गर्वले छाती चौडा हुन्छ । तर, किल्ला अवलोकन गरेर जब बजार क्षेत्र पुगिन्छ, त्यहाँ हजारौँ नेपाली ज्याला मजदुरी गर्न ‘सोरको सपना’ बोकेर यहाँ आउने गरेका छन् । पिठ्यूँमा बोरा राखेर कामको खोजीमा हिँड्ने नेपाली सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका बढी भेटिन्छन् । पैसा कमाउन धेरै नेपाली सोर जाने सपना देख्छन् ।
पिथौरागढको पुरानो बजारछेउको सिनेमा लाइनको बायाँतर्फ एउटा सानो गल्ली छ । गल्लीभित्र छिर्दा त्यहाँ चलचित्र होइन, घरदेश छाडेर परदेशिएका हजारौँ नेपाली मजदुरको कथा पढ्न सकिन्छ । तीस वर्षअघि सुदूरपहाडका नेपाली सोर बजारको पिथौरागढ पुगेर घिउ बेच्थे । घिउ बेचेर नुन र लत्ताकपडा किन्थे । पहिले वस्तु र वस्त्रको व्यापार हुन्थ्यो । अहिले पसिनाको व्यापार चलेको छ । कोरोनाका कारण १० महिना बन्द रहेको झुलाघाट नाका खुलेपछि पसिना बगाएर धन कमाउन सोर जाने नेपाली मजदुरको लर्को लागेको देखिन्छ । डोजरले गाउँलेको रोजगारी खोसेपछि बझाङको एकै गाउँका ५० जना कामको खोजीमा पिथौरागढ पुगेका छन् । काठमाडौँको जस्तै हावापानी भएको पिथौरागढको विकास निकै लोभलाग्दो छ । सडक चौडा बन्दै छन् । आधुनिक भवन ठडिँदै छन् । सिँचाइका लागि नहर÷कुलो बन्दै छ । त्यसैले त नेपाली मजदुरले रोजगारी पाएको बझाङका अर्जुन विश्वकर्माले बताउनुभयो ।
‘स्वदेशमै बस्न मन त थियो नि ! गाउँमा कुनै रोजगारी छैन,’ सिगास गाउँपालिकाका अर्का मजदुर केशव धामीले भन्नुभयो । नेपालमा बाटोघाटो बनाउँछौँ भनेर स्थानीय तहको चुनाव जितेका नेताले डोजर ल्याएर गाउँलेको हातमुख जोर्ने बाटो नै बन्द गरिदिएको दुःखेसो उहाँले व्यक्त गर्नुभयो । तीस वर्षअघि सामान्य रहेको पिथौरागढ अहिले सहरोन्मुख बनेको छ । उत्तराखण्ड राज्य सरकारले यहाँको बसाइँ–सराइ रोक्न गाउँ–गाउँमा स्कुल, कलेज, अस्पताल, सुपथ मुल्यका खाद्य पसल खोलेको छ । गाउँ–गाउँमा यातायात, सिँचाइ, दुग्ध उद्योग, कलकारखाना खुलेका छन् । यी सबै क्षेत्रमा नेपाली मजदुरले काम पाएका छन् ।