चम्किला नेपाली महिला
सोमराज पोखरेल
सपना रोक्का मगर लाउँलाउँ र खाउँखाउँ उमेरकी हुनुहुन्छ । यो उमेरमा पनि उहाँ बेवारिसे शवको अन्तिम संस्कार गर्ने कार्यमा संलग्न हुँदै आउनुभएको छ । उहाँले अहिलेसम्म एक सय चार जनाको शव व्यवस्थापन गरिसक्नुभएको छ ।
यस्तो कार्य गर्ने इच्छा उहाँलाई केले जगायो त ? म्याग्दी घर भएकी सपना भन्नुहुन्छ, ‘‘कुनै समय म सडकमा पुगेकी मान्छे हुँ । मर्नबाट पनि बाँचेकी मान्छे हुँ । त्यसैले बेवारिसे शवको व्यवस्थापन गर्नुपर्छ भन्ने कुरो मनमा जाग्यो । फेरि मानव संवेदनासँग जोडिएको कुरो भएर पनि होला, यसले छोयो ।”
त्यसो त उहाँ सानै उमेरदेखि अरूलाई सघाउनु हुन्थ्यो । यसबारे सपनाको भनाइ छ, ‘‘म जतिबेला अलिकति बुझ्ने भएँ, त्यतिबेलादेखि नै अरूलाई सहयोग गर्न रुचाउथेँ । आफ्ना लागि त जो पनि बाँचिरहेका हुन्छन्, अरूका लागि बाँचेर हेरुँ न त भन्ने लाग्यो ।’’ तर अरूलाई सघाउने सपना सडकमा कसरी पुग्नुुभयो त ? उहाँले विगत सम्झँदै भन्नुभयो, ‘‘सानोमा म एकदम राम्रो पढ्ने विद्यार्थी थिएँ । राम्रो गर्न खोज्दा खोज्दै पनि खराब साथीहरूको सङ्गतमा परेँ । यही खराब सङ्गत र सामाजिक सञ्जालको दुरुपयोगले गर्दा म सडकमा पुगेँ । ‘सबभन्दा ठूलो मै हुँ’ भन्ने घमण्डले पनि यस्तो अवस्था आउँदो रहेछ ।’’
थप बेलिविस्तार लगाउँदै सपनाले भन्नुभयो, ‘‘२०७३ सालमा एसएलसी दिएपछि कलेज पढ्न बेनी आएँ । यो बेला समाजिक सञ्जाल चलाउन थालेँ । साथीहरू धेरै बनाउनुपर्छ भन्ने पनि लाग्यो । सामाजिक सञ्जालबाट एक जना केटा साथी भेट भयो । एक दुई महिनाको कुराकानीपछि उसलाई भेट्न जाँदा एउटा परिबन्ध भनौँ वा बाध्यतामा परेँ र सम्बन्धमा बाँधिन पुगेँ । त्यो सम्बन्धमा टिकिरहन सकिनँ । साथीहरूका लागि बाआमाकोे मन त पहिले नै दुःखाएकै थिएँ । त्यसैले बाआमाको घर जान मन लागेन । अनि कहाँ जाने के गर्ने भन्दाभन्दै म सडकमा पुगेँ । बुटवलको सडकमा पाँच महिनाको बसाइले नै मेरो जीवन बदलिदियो ।’’ अचम्म त के भने जोसँग दिनलाई केही पनि हुँदैनथ्यो, त्यतिबेला पनि सपनाको मन पग्लिन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘‘म सडकमा बस्दा पनि मेरो अगाडि कोही दोस्रो व्यक्ति असहाय देखेँ भने म आफूले लगाएका चप्पल र ज्याकेट पनि दिन्थेँ ।’’
सडकको यो कहाली लाग्दो जीवनबाट उहाँ मुक्त हुन खोज्नुभयो । तर विकल्प बाआमाको घर मात्रै थियो । मन लागी नलागी बाआमाको घर जानुभयो । घरमा बाआमाले गाली गर्नुहोला भनेको त उहाँलाई हौसला दिनुभयो । त्यसपछि उहाँ काठमाडौँ आउनुभयो । साथीको बुबा विनयजङ्ग बस्नेतको सहयोगमा शव व्यवस्थापन गर्न थाल्नुभयो । सपना भन्नुहुन्छ, ‘‘शव व्यवस्थापन सजिलो छैन । बेवारिसे शव पहिले प्रहरीले अनुसन्धान गर्छ । आफन्त खोज्छ । बेवारिसे भएको पुष्टि भइसकेपछि मात्र यसको व्यवस्थापन गरिदिनुहोला भनेर हामीले प्रहरीबाट पत्र पाउँछौँ । अनि पत्रअनुसार कानुनी रूपमा नै व्यवस्थापन गर्छौं ।’’
गाउँघरमा छोरी मान्छेले शव सद्गत गरेको हेर्नुहुँदैन, हे¥यो भने तर्सिन्छ भनेको उहाँले सुन्नुभएको थियो । तर अचानक शव व्यवस्थापनको काम गर्छु भनेर पहिलो पटक शिक्षण अस्पतालको शवगृह भित्र जाँदा उहाँ एकदमै डराउनुभयो । विस्तारै उहाँलाई डर लाग्न छाड्यो । यसरी उहाँले शव व्यवस्थापन गर्न थालेको दुई वर्ष पुग्नै लाग्यो ।
सपनाको यही साहसलाई बीबीसीले पछ्याइरहेको थियो । अनि चुनिनुभयो बीबीसीको सय जना प्रेरणादायी महिलाको सूचीमा । बीबीसीले सन् २०२० मा विश्वभरका सय जना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गर्ने क्रममा नेपालबाट सपनालाई चुनेको हो ।
बेवारिसे शव व्यवस्थापनमा उहाँलाई आर्थिक सहयोग गर्ने कोही छैनन् । सरकारकै तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सपनालाई नै भेटेर बेवारिसे शवको व्यवस्थापन निःशुल्क गर्ने व्यवस्था मिलाउने आश्वासन दिनुभएको छ । यो लागू भयो भने सहज हुने सपनाको विश्वास छ ।
‘सुपर हिरो’ पुष्पा
‘कर्म गर्नु फलको आशा नगर्नु’ भन्ने मान्यताबाट अगाडि बढेकी अर्की महिला हुनुहुन्छ पुष्पा बस्नेत । जेलमा परेका आमाबाका सन्तानको उद्धार गर्ने कर्ममा निरन्तर लागिरहँदा ‘सीएनएन हिरो’ मात्र होइन, उहाँ ‘सुपर हिरो’ पनि जित्ने पहिलो महिला बन्नुभएको छ । पुष्पाले सन् २०१२ मा सीएनएन हिरोको अवार्ड जित्नुभएको थियो । दश वर्षको अवधिमा विजेता भएका मध्येबाट गरिएको सुपर हिरोको बाजी पनि उहाँले मार्नुभएको छ । उहाँ प्रारम्भिक बालविकास केन्द्रको अध्यक्ष हुनुहुन्छ र यही संस्थामार्पmत उहाँले आफ्नो कर्मलाई अगाडि बढाइरहनु भएको छ ।
उहाँलाई गोलकास्ट डटकमले सन् २०१० देखि २०१९ सम्मको एक दशककी प्रेरणादायी व्यक्तित्वका रूपमा पनि चयन गरेको छ । गोलकास्टको
‘आश्चर्यजनक मानव’ को संज्ञा पाउनुभएकी पुष्पालाई सुरुआती खुसी भने युथ इनिसिएटिभ अवार्ड २००५ ले दिएको थियो । १० हजार रुपियाँ राशिको पहिलो अवार्ड पाउँदा आफूलाई त्यो बेलामा १० हजार होइन, दश लाख नै दिएजस्तो भएको बताउनुहुन्छ उहाँ । त्यसपछि सहयोगको ढोका खुलेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘‘त्यो दौरान कसैले पाँच करोड दिए । कसैले दुई करोड दिए । जति पैसा आए पनि संस्थालाई नै कसरी अगाडि बढाउने भनेर लगाएँ ।’’
निरन्तर सहयोगी हात बढाउँदै शिखरमा पुगेकी पुष्पा भन्नुहुन्छ, ‘‘म कहाँबाट आएँ भनेर कहिल्यै पनि बिर्सनु हुँदैन । मान्छे ‘हाइलाइट’ मा आएपछि सबै कुरा बिर्सिन्छ ।’’ सफलताका लागि एकै ठाउँमा केन्द्रित हुनुपर्ने धारणा उहाँको छ । उहाँको संस्थामा अठार जना कर्मचारी तलबी छन् । हाल ४५ जनालाई उहाँले राखेर हेर्नुभएको छ । ४३ जना बालबालिका घरमै राखेर हेर्नुभएको छ । दुई जना युवाहरू बाहिर अपार्टमेन्टमा बस्छन् । भन्नुहुन्छ, ‘‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार १८ वर्ष मुनिकालाई मात्र साथमा राख्न मिल्ने भएकाले सँगसँगै छन् । दुई जनाको उमेर बढी भएकाले हामीले नै किनिदिएको अपार्टमेन्टमा बस्छन् ।
त्यसैगरी जेलभित्र बाआमा भएका विभिन्न कारागारका दुई सय जना बालबालिकालाई छात्रवृत्ति दिएर पढाइरहनु भएको छ । बालाजु टेक्निकल इन्स्टिच्युटमा सात जनाले अहिले प्राविधिक शिक्षा पढिरहेका छन् । एसईईपछि विभिन्न जेलमा भएका प्राविधिक शिक्षा पढ्न चाहनेलाई सार्वजनिक सूचना निकालेर फर्म भर्न लगाएर हरेक वर्ष चार लाख रुपियाँका दरले १८ महिने प्राविधिक शिक्षा दिँदै आउनु भएको छ । पन्ध्र÷सोह्र वटा कार्यक्रम जेलभित्रै छन् । उहाँले जेलबाहेक अर्को कुनै ठाउँमा काम गर्नुभएको छैन ।
यो सेवा सुरु गर्दाका दिन सम्झँदै पुष्पा भन्नुहुन्छ, ‘‘सेन्टजेभियर्समा पढ्दाखेरि मीरा चौधरी प्रहरी निरीक्षक हुनुहुन्थ्यो कालीमाटीमा । उहाँले हामीलाई जेल घुमाउन लग्नुभयो । हामी त हनुमानढोकादेखि अदालतसम्म पुग्यौँ । जेलमा एउटा नानी देखेँ । ती नानीको दुःख देखेर मेरो जीवन पनि मोडियो यो कर्ममा ।’’
नेपालमा संस्था खोलेर आफू धनी हुने धेरै छन् । तर पुष्पाले संस्थालाई धनी बनाउनुभएको छ । संस्थाको अहिलेसम्म २५ करोड रुपियाँको हाराहारीमा सम्पत्ति छ । बूढानीलकण्ठमा साढे पाँच रोपनी र मातातीर्थमा पाँच रोपनी जग्गा छ । बूढानीलकण्ठमा पाँच वटा भवन छन् । त्यसमै बालगृह चलिरहेको छ । यो सबै दाताले उहाँलाई विश्वास गरेर दिएको हो । जसरी उहाँको संस्थालाई दाताहरूले हात खोलेर दिएका छन्, त्यसैगरी उहाँले पनि गरिरहनुभएको छ । यो संस्थाबाट हुर्केकाहरू कोही काठमाडौँ विश्वविद्यालय, कोही बालाजु टेक्निकल इन्स्टिच्युट र कोही इलेक्ट्रिकल इञ्जिनियर पढिरहेका छन् । कोही टेकु अस्पतालमा काम गरिरहेका छन् । यस संस्थाबाट २२० जनाको उद्धार भइसकेको छ । उनीहरूको गोपनीयतामा एकदम ख्याल गरिएको छ । प्रसिद्धिमा रमाउनुभन्दा लुकेर काम गर्दा नै सफल होइने पुष्पाको भनाइ छ ।
माइती नेपालकी अनुराधा
‘एउटी ६५ वर्षकी बुढीले पाँच रुपियाँका लागि देह व्यापार गर्नुपरेको छ । ग्राहक हुन्छन् बालकदेखि वृद्धसम्मका । उनले २० वर्षको उमेरदेखि यो काम गर्दै आएकी छिन् । यस्तो घटनाले झस्काउँछ, अनि लाग्छ कुन दुनियाँमा छु म ।’ यी शब्द भनिरहँदा बागमती प्रदेशकी पूर्वप्रमुख, माइती नेपालकी अध्यक्ष एवं सीएनएन हिरो अनुराधा कोइरालाको शरीर फतक्क गलेजस्तो हुन्छ । उहाँले सहजै बोल्न पनि सक्नु भएन । भावुक हुँदै बोलिरहनु भएको थियो ।
नेपालको राजधानी काठमाडौँ । काठमाडौँको राजधानी रत्नपार्क, खुलामञ्च । कोइरालाका अनुसार रत्नपार्क र गोङ्गबुमा मात्रै दुई हजार २८० जना देहव्यापारमा काम गर्ने महिला छन् । तिनैमध्येकी एक वृद्धाको बारेमा भन्दा कोइरालाको मथिङ्गल हल्लिएको हो । २० वर्षसम्म सडकमै रहेकी ती वृद्धालाई उहाँले गत असारदेखि कमलाक्षीमा लगेर डेरामा राखिदिनुभएको छ ।
बाँकीको हालत पनि कहाँ राम्रो छ र ? कहाँ बस्छन् अत्तोपत्तो छैन । ‘जेठ–असारदेखि मैले उनीहरूलाई केही खानेकुरा दिएर सहयोग गरिरहेकी छु । अनि मैले काम ग¥यो भनेर मिडियाले फुर्काउँछ ? मलाई चाहिँ यस्तो अवस्था देख्दा केही गरेकै छैन जस्तो लाग्छ ।’
महिलाका नाममा काम गर्ने धेरै एनजीओ, आइएनजीओ झोला र ल्यापटपमै सीमित छन् । तिनै एनजीओहरू कागजमा राम्रो प्रतिवेदन बनाएर आम्दानी गर्न तल्लीन छन् । तर जुन वर्गका लागि सहयोग रकम जुटाइएको छ, त्यो वर्गको सम्बोधन भएकै हुँदैन । तिनै अलपत्र परेका बालिकादेखि वृद्धासम्मलाई त्यो नर्कबाट मुक्त गरेर सही मार्गमा लगाउनका लागि कोइरालाले सरकारसँग एउटा प्रस्ताव पनि गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘‘भगवान्को आशीर्वादले यो काम भयो भने यिनीहरू सबैलाई रोजगारी दिन सक्छु ।’’
बेचिएका चेलीबेटीको उद्धार तथा पुनस्र्थापना गर्ने कर्ममा निरन्तर लागिरहेकीले नै सन् २०१० मा ‘सीएनएन हिरो’ को उपाधि माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले पाउनुभएको हो । सीएनएनले एक लाख अमेरिकी डलरसँगै माइती नेपाललाई आफ्नो कार्यक्रम जारी राख्नका लागि उहाँलाई कदर स्वरूप दुई हजार पाँच सय डलर पनि प्रदान गरेको थियो । उहाँले भारतको चौथो ठूलो उपाधि पद्मश्री तथा मदर टेरेसा उपाधि पनि पाउनुभएको छ ।
माइती नेपाल सन् १९९३ मा स्थापना भएको थियो । यसका १४ वटा सीमा निगरानी शाखा छन् । दुई वटा पुनस्र्थापना केन्द्र रहेका छन् । कोइराला अगाडि भन्नुहुन्छ, ‘‘एचआईभी भएर फर्केर आएका नानीहरू गाउँ परिवेशमा जसरी हुर्केका थिए, त्यही तरिकाले मर्ने बेलामा पनि बस्न पाऊन् भनेर मैले झापाको काँकडभिट्टा शक्तिघण्टामा पोखरी, माछापालन, गाई, बाख्रा, कुखुरा, खेती सबै राखेर घर बनाएकी छु । त्यस्तै अर्को पुनस्र्थापना केन्द्र काठमाडौँको गोकर्णमा पनि रहेको छ । यो विशेष बालबालिकाका लागि हो । इटहरीमा ट्रेनिङ सेन्टर बनाएकी छु । विराटनगर, भैरहवा, नेपालगञ्ज, नवलपरासी, काठमाडौँमा पनि छ बस्ने ठाउँ ।’’
माइती नेपालले अहिलेसम्म कति जनाको उद्दार ग¥यो त ? अध्यक्ष कोइरालालाई भन्नुभयो, ‘‘४५ हजार जनाको उद्धार भइसकेको छ । सीमामा दैनिक ५–६ जनाको उद्दार हुन्छ ।’’ नेपाल–भारतबीच २६ वटा नाका छन् । १४ वटामा प्रत्यक्ष हाम्रै विज्ञ दिदीबहिनीले हेर्छन् । एक ठाउँमा चार–चार जना नानीहरू बस्छन् । उनीहरू आफैँ नै बेचबिखनमा परेकाहरू हुन् । उनीहरू किन विज्ञभन्दा तपाईं, म र पुलिसभन्दा बढी जान्ने । कसरी के गरेर चेलीबेटी लैजान्छ भन्ने त उनीहरूलाई थाहा हुन्छ । माइती नेपालको आश्रयमा बस्नेहरू अहिले ३१४ जना छन् ।
दुःखमा परेका महिलाको उद्दार गर्नुपर्छ भन्ने सोच कोइरालालाई आफ्नै श्रीमान्को कारण उत्पन्न भएको हो । उहाँले आफ्नो व्यथा पनि सुनाउनुभयो, ‘‘मैले अन्तरजातीय बिहे गरेँ । म गुरुङकी छोरी । बिहेपछि श्रीमान्को बानी व्यवहार राम्रो भएन । २०–२२ वर्ष त सँगै बस्यौँ । त्यसपछि मैले श्रीमान्लाई छोडिदिएँ । एउटा सानो छोरा बोकेर हिँडे । म पढेलेखेकी थिएँ र पो हिँडे । यसबारे आजको दिनसम्म मैले उजुरी गरेकी पनि छैन । तर दुःख गरेर छोरालाई हुर्काएँ । यसपछि महिलाको क्षेत्रमा केही गर्छु भनेर लागेको हो । प्रेरणाको स्रोत नै श्रीमान् भइदियो मेरो । श्रीमान्ले मलाई दुःख नदिएको भए म यो ठाउँमा हुँदैनथेँ । श्रीमान्कै चाकडी गरेर, बच्चा पाएर स्याहारेर बस्थेँ होला ।’’
‘शक्ति समूह’ की चरिमाया
सिन्धुपाल्चोककी चरिमाया तामाङ । १६ वर्षकै उमेरमा दलालको फन्दामा परेर भारतमा बेचिनुभयो । दुई वर्षपछि उद्धार गरी उहाँलाई नेपाल फर्काइयो । उहाँकै सक्रियतामा २०५६ सालदेखि ‘शक्ति समूह’ सञ्चालन भइरहेको छ । यो संस्था बेचिएर उद्धार गरिएका महिलाहरूले नै चलाइरहेका छन् । एसियाको नोबेल पुरस्कार भनेर चिनिने रामोन म्यागासेसे पुरस्कारबाट ‘शक्ति समूह’ सन् २०१३ मा पुरस्कृत भयो । बेचबिखनमा परेका महिला तथा बालबालिकाको उद्धार र तिनको सेवामा समर्पित भएकोले चरिमायाको यस संस्थालाई म्यागासेसे फाउन्डेसनले पुरस्कृत गरेको हो । सम्मानित भएपछि चरिमायाले आफूहरूले धेरै काम गर्न बाँकी रहेको र सम्मानले निरन्तर यस काममा लाग्न प्रेरणा मिल्ने बताउनुभएको थियो । शक्ति समूह बेचबिखन प्रभावितहरू मात्रले सञ्चालन गरेको विश्वकै पहिलो संस्था हो । चरिमायालाई बेचबिखनविरुद्ध अभियानमा उत्कृष्ट काम गरेवापत अमेरिकी विदेश मन्त्रालयले ‘टिप हिरो’ को सम्मानसमेत दिएको छ ।
‘साहसी महिला’ मुस्कान
यसैगरी, नेपाली १७ वर्षीया मुस्कान खातुनले अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार पाउनुहुने भएको छ । १५ वर्षको उमेरमा तेजाब हमलामा परेकी मुस्कान यो पुरस्कार पाउने सबैभन्दा कान्छी हुनुहुन्छ । उहाँ यो पुरस्कार पाउने नेपालकै पहिलो महिला हुनुहुन्छ ।
नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले शुक्रबार (फागुन २१ गते) बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत मुस्कानले पुरस्कार पाउने जानकारी दिनुभएको हो । सो पुरस्कार फागुन २४ गते (मार्च ८) अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर भर्चुअल कार्यक्रममार्फत अमेरिकी प्रथम महिला जील बाइडेनले प्रदान गर्ने कार्यक्रम छ । मुस्कानसहित यो वर्ष यो सम्मान विश्वभरबाट छानिएका १४ महिलाले प्राप्त गर्ने जनाइएको छ ।
यो पुरस्कार पाउने खबर उहाँले शुक्रबार बिहानै नेपालस्थित अमेरिकी दूतावासबाट फोनमार्फत पाउनुभएको थियो । यो पुरस्कार पाउँदा आफूलाई एकदमै खुशी लागेको र यो क्षेत्रमा काम गर्न थप हौसला मिलेको उहाँले बताउनुभयो । तेजाब आक्रमणमा परेपछि करिब सात महिना अस्पताल बसेर उपचार गरेपछि सामान्य दैनिकीमा फर्किएकी मुस्कानले आफू पीडित भएयता एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने विषयमा आवाज उठाउँदै आउनुभएको छ ।