शिक्षा र राष्ट्रियता
जीवनाथ धमला
शिक्षालाई चेतनाको स्रोत मानिन्छ । शिक्षा प्राप्तिका माध्यम समयसँगै परिवर्तन पनि हुँदै जान्छन् । जे–जस्तो सिक्यो, सिकाइयो, पढ्यो, पढाइयो, व्यक्तिले त्यस्तै ज्ञान वा क्षमताको आर्जन गर्दै जाने हो । शिक्षाले मानिसलाई अनुशासित, विवेकशील, सुसंस्कारित र बुद्धिमान व्यक्तिका रूपमा रूपान्तरित गर्छ । यसले समाज वा देशका लागि एक सुयोग्य, सामथ्र्यवान् र असल नागरिक बनाउँछ । शिक्षाको आवश्यकता र महŒवमाथि सधैँ चर्चा परिचर्चा हुँदै आएका छन् ।
शिक्षाले समाज र राष्ट्रको शक्ति वा सामथ्र्यलाई निर्माण गर्छ, निर्धारण गर्छ । कुनै पनि देशको सामाजिक, साँस्कृतिक, जनस्तर वा समुदायस्तरमा हुने पारस्पारिक सम्बन्ध, प्रशासनिक जगत्बाट सम्पन्न हुने कार्य, राजनीतिक संस्कार, नागरिक कर्तव्य, अधिकार तथा व्यक्ति वा संस्थाद्वारा पूरा गरिने सामाजिक एवम् राष्ट्रिय जिम्मेवारी आदि अनेकौँ पक्षबाट कुनै पनि देशले अपनाएको शिक्षा नीति र सोद्वारा प्राप्त मुलुकको शैक्षिक स्तरीयताको उपलब्धिलाई मापन गर्न सकिन्छ । राज्यले सामान्य र उच्चस्तरमा शिक्षित जनशक्तिको उत्पादन गरिरहेको हुन्छ । शैक्षिक विशिष्टीकरणका लागि अनेकाँै विधा वा अध्ययनका क्षेत्र छन् । देशको भूगोल, इतिहास, समाज र संस्कृति आदिबारेमा बुझ्नु पनि एउटा शिक्षित व्यक्तिका लागि जरुरी हुन्छ । शिक्षित नागरिकले नै बाह्य जगत्मा देशको सामथ्र्यको परिचय पनि प्रदान गर्छ । राष्ट्रियताको गरिमा र महŒवलाई स्तरीय शिक्षा प्राप्त जनशक्तिले नै बुझ्न र बुझाउन पनि सक्छ ।
शिक्षाको महŒव र उद्देश्यका सम्बन्धमा प्रा. यदुनाथ खनालका दृष्टिकोण मननीय छन् । उहाँले आधारभूत तह र उच्च शिक्षा गरी शिक्षालाई दुई भागमा राखेर तीबारे चर्चा गर्नुभएको पाइन्छ । नेपालको उच्च शिक्षाको स्थितिको सम्बन्धमा प्रा. खनालले दशकाँैपहिले व्यक्त गर्नुभएका विचारले वर्तमानको स्थितिलाई पनि सम्बोधन गर्छ । उच्च शिक्षामा भएको विद्यार्थी र शिक्षकको लगानीबाट देशले प्राप्त गर्ने शैक्षिक स्तरीयताको मूल्याङ्कन गर्दै प्रा. खनालले भन्नुभएको छ, “विद्यार्थी र शिक्षकको लगानीलाई आफ्नो राजनीतिक खेलवाडका निमित्त हामीले कत्रो नोक्सानीमा पारेका छौँ ? उनीहरूलाई हामीले स्वतन्त्र वादविवाद या शास्त्रार्थमा लगाएका छैनौँ, अवरोधात्मक र हिंसात्मक काम–कारबाहीमा उद्यत बनाएका छाँै । वर्तमानको सन्दर्भमा मात्र गुन्दा पनि यो एउटा भयानक ठूलो क्षति हो भने भ(िवष्यको सन्दर्भमा मात्र गुन्दा त यो एउटा अपरिमेय क्षति नै छ । हाम्रो राजनीति रचनात्मक भइदिएको भए ती युवकयुवतीका लागि रोजगारीका अवसर खडा गर्ने काम हुन्थ्यो । तर, त्यो पक्ष त केवल योजना र भाषणमा सीमित रहेको प्रतीत हुन्छ, जुन कदापि कार्यान्वयन हुँदैनन् । यो भयानक राष्ट्रिय क्षतिका निमित्त को जिम्मेवार छ भन्ने विषयमा एकछिन रोकिएर सोच्नुपर्ने र त्यसको हिसाबकिताब गर्नुपर्ने बेला आएको छ जस्तो लाग्छ ।” (प्रा. जयराज आचार्य, यदुनाथ खनाल, जीवनी र विचार)
प्रा. खनालले विक्रम संवत् २०५० को दशकतिर गर्नुभएको नेपालको उच्च शिक्षाको तत्कालीन स्थितिप्रतिको यथार्थपरक उक्त टिप्पणीको सान्दर्भिकता अझै लामो समयसम्म एउटा तीतो सत्यका रूपमा रहने निश्चित छ । प्रा. खनालको उक्त भनाइबाट वर्तमानमा पनि उच्च शिक्षाको स्तरीयता र उपलब्धिलाई आँकलन गर्न सकिन्छ । नेपालको समकालीन राजनीतिक चिन्तनले देशको शैक्षिक अवस्थालाई कसरी निर्ममतापूर्वक निष्प्रयोजनीय बनाउँदै लगेको छ भन्ने कुरा यसबाट बुझ्न सकिन्छ ।
प्रा. खनालको अर्को भनाइबाट देशको राजनीति र सत्ताले शिक्षित युवाको सामथ्र्यको शोषण कसरी गर्दै छ भन्ने कुरा अझ स्पष्ट हुन्छ, “स्पष्ट छ कि शिक्षामा यो वातावरण हुनुका कारण हाम्रो राज्यको अवस्था नै हो । आज नेपालमा राजनीतिक ‘शास्त्र’को होइन, राजनीतिक ‘भोगवाद’को राज्य छ । जसरी पुँजीवाद मुनाफाका निमित्त जति पनि टाढा पुग्न सक्छ, त्यस्तैगरी हाम्रो राजनीति सत्ताका निमित्त र युवाको स्वाभाविक आदर्शवादको शोषणको निमित्त जतिसुकै टाढा पनि पुग्न सकेको देखिन्छ । हाम्रो राष्ट्रिय जीवनमा उत्पन्न यो धापमा परेर हाम्रो राजनीति, अर्थतन्त्र र शिक्षाले कुनै पनि तर्कसङ्गत प्राथमिकताको दौडमा हार खाइसकेका छन् ।”
देशको राजनीति र सत्ताले शिक्षालाई, शिक्षित युवा जनशक्तिलाई कुन बाटोमा लैजाँदै छ र त्यसबाट देशको भविष्य कस्तो होला भन्ने प्रा. खनालको यो चिन्तालाई राजनीतिक नेतृत्वमा रहेको आजको पुस्ता र विद्यार्थी जगत् दुवैले गम्भीरतापूर्वक लिनु उपयुक्त हुनेछ । राष्ट्रिय भावनालाई केन्द्रमा राखेर आ–आफ्ना कर्मक्षेत्रमा क्रियाशील रही देश–देशान्तरमा आफ्नो देशको शिर उँचो पार्न वा नेपाली राष्ट्रियताको भावनालाई कहिल्यै लत्रिन नदिने सङ्कल्पका निम्ति नेपालको शिक्षित युवावर्ग तयार हुँदै गएको छ कि वा विद्यमान राजनीतिद्वारा निर्मित दिशाहीनताको धापमा पर्दै गइरहेको छ ? यो बढो चिन्तनीय प्रश्न हो ।
अर्कातिर, राजनीतिक आस्थाको अन्तर्यद्वारा निर्मित नीतिअनुसारको शैक्षिक स्थिति एवम् शिक्षित जनशक्ति राष्ट्रको पक्षमा अडिग भएर डटिरहन सक्दैन । तसर्थ, राष्ट्रियता र राष्ट्रका अन्य महŒवपूर्ण विषयमा जहाँ पनि पूर्ण सामथ्र्यका साथ उपस्थित हुनका लागि शिक्षित जनशक्तिको आधार राष्ट्रवादी शिक्षाले नै प्रदान गर्ने यथार्थलाई प्रा.डा.अभि सुवेदीले आँैल्याउनुभएको छ, “हाम्रो देशबाट विभिन्न विधामा पढेर गएका विद्यार्थीले अन्तर्राष्ट्रियस्तरमा आफ्ना क्षेत्रबाट बहस गर्नुपर्दा गहकिला तर्क राख्न सक्दैनन् । जस्तो सीमाका सवालमा होस्, वकालतको सवालमा वा राष्ट्रियताका विषय उठाउँदा नै किन नहोस्, ऊ आफ्नो तर्फबाट सामान्य रूपमा प्रस्तुत हुने गर्छ । त्यो राष्ट्रवादी शिक्षा भएन । सबै कुरा बुझ्न सक्ने भयो, तर्क र सुझाव राख्न सक्ने भयो भनेमात्र उसले राष्ट्रवादी शिक्षा पाएको भन्ने हुन्छ । र त्यस्तो शिक्षा नै राष्ट्रवादी शिक्षा हो ।” (प्रेम बानियाँ, जय स्वामिभान)
‘स्वतन्त्र शिक्षा नपाएको नागरिकमा चेतनशीलता हुँदैन’ भन्ने विचार राख्नुहुने सुवेदीले राष्ट्रियताका सवालमा होस् वा अन्य विषयमा होस्, अन्तर्राष्ट्रिय मञ्चहरूमा हुने नेपालको बौद्धिक वा तार्किक उपस्थितिको वास्तविकता औँल्याउनुभएको हो । उहाँको उल्लिखित भनाइले दशकौँ अघिदेखि वर्तमानसम्मकै नेपालको तर्फबाट बाह्य मुलुकमा हुँदै आएका बौद्धिक, प्राज्ञिक, राजनीतिक एवम् अन्य विविध विषयमाथिको हाम्रो पकड र तिनको घनत्वमाथि पुनः मूल्याङ्कन गर्न घच्घच्याएको छ । नेपालको स्थिति सबल, सक्षम र सारपूर्ण नहुँदा अरूद्वारा नेपालीमाथि गरिने मूल्याङ्कन स्वतः सम्मानजनक रहँदैन । राष्ट्रको कर्मचारीतन्त्र, पार्टीहरू, राजनीतिक वा अन्य संस्था र सरकारका विभिन्न अङ्गका प्रतिनिधिले आफ्नो कार्यक्षेत्रका तर्फबाट अन्तर्राष्ट्रिय जगत्मा व्यक्त गरेका विचारमा देशकै प्रतिनिधित्व भइरहेको हुन्छ । तीबाटै राष्ट्रको सामथ्र्यको पहिचान बाह्य जगत्ले पाउने हो । ती राष्ट्रिय संस्थाहरू वा प्राधिकार सम्पन्न संस्थामा रहने जिम्मेवार व्यक्तिको सक्षमताको पहिलो सिँढी नै उनीहरूले प्राप्त शैक्षिक गुणस्तरीयता हुन सक्नुपथ्र्यो, अनि उनीहरूको प्रतिनिधित्वबाट देशको शिर उठेको अनुभव गर्न सकिन्थ्यो । तर, त्यस्तो अनुभव गर्न नसकिएको विचार प्रा.डा.सुवेदीको रहेको पाइन्छ ।
वास्तवमा, सघन रूपमा आ–आफ्नो विषयको ज्ञान वा शिक्षाको उज्यालो छोएर कर्मयात्रामा निस्कनेले नै राष्ट्रलाई पनि बुझेको हुन्छ । आवश्यक परेको बेला उसले राष्ट्रको प्रतिष्ठालाई उज्यालो पार्नेगरी तर्क, बहस गर्न सक्छ । व्यक्तिमा अन्तरनिहित क्षमताले राष्ट्रियताको भावनात्मक पक्षलाई मात्र नभई, राष्ट्रिय सामथ्र्यलाई पनि प्रतिनिधित्व गरिरहेको हुन्छ । अर्कोतिर, शिक्षाको उद्देश्य व्यक्तिलाई कर्मशीलताले अर्थात् सीप, कौशल, अन्वेषणात्मक क्षमता एवम् कर्तव्यप्रतिको लगनशीलताले सुसज्जित पार्नु हो । विद्यालय वा माध्यमिक तहको शिक्षाबाटै त्यसको शुभारम्भ हुन्छ । शिक्षाले कर्म, सीप र क्षमताका माध्यमबाट राष्ट्रको गीत गाउन प्रेरित गर्न सक्नुपर्छ । उचित शिक्षा पाएका मानिसले आ–आफ्नो जिम्मेवारी बुझेर सोहीअनुरूप निःस्वार्थ रूपमा समर्पित हुन सकेमा राष्ट्रको शिर उठ्न सक्छ । शिक्षाप्राप्त गरेपछि व्यक्ति देशका लागि उपयोगी हुन सकोस्, उसको क्षमताले देशलाई योगदान देओस्, व्यक्तिमा व्युँझने त्यही भावना नै राष्ट्रियता हो भन्ने आसय शिक्षाविद् मनप्रसाद वाग्लेको रहेको बुझिन्छ, “शिक्षा त्यस्तो होस्, जो नेपालका हरेकलाई उत्तिकै आवश्यक परोस् । त्यो भनेको सामान्य शिक्षा हो, त्यसमा समझदारी नगराँै । त्यसभन्दा माथि उठेर हेर्दा भाषा, सीप, स्थानविशेषका आधारमा वर्गीकरण गर्नुपर्ने हुन्छ । यदि सोहीअनुरूपको शिक्षा दिन सकियो र त्यसरी शिक्षा पाएका मानिसलाई तत्स्थानमा परिचालन गर्न सकियो भने मानिस रोजगारीका निम्ति भौँतारिँदैन र देशमै बस्छ । अनि मात्र देश माथि जान्छ । त्यो हो राष्ट्रियता भनेको ।” (प्रेम बानियाँ, जय स्वामिभान)
सामान्य शिक्षा पाएको व्यक्तिले पनि आफ्नो ज्ञान र सीपको पूर्ण उपयोग स्वदेशमै बसेर गर्न सक्यो भने उसको कर्मबाट देशलाई लाभ पुग्छ । शिक्षाले व्यक्तिलाई परनिर्भर नभई, स्वनिर्भर बनाउन सकोस् । उपयुक्त शिक्षा पाएर स्वदेशकै माटोमा कर्मशील बनेर बस्नु पनि राष्ट्रियता हो भन्ने आसय वाग्लेले राख्नुभएको बुझ्न सकिन्छ । वाग्लेलगायत कतिपय विद्वान्हरू नेपालको शिक्षा नीति एवम् पाठ्यक्रम राष्ट्रिय भावनालाई टेवा पुग्नेगरी बनाइनुपर्ने विचार राख्नुहुन्छ ।
नेपालको राजनीतिक परिवर्तनसँग जोडिएका ऐतिहासिक घटनाक्रममा विद्यार्थीको योगदान रहँदै आएको छ । प्रजातन्त्र र राष्ट्रियताका पक्षमा उच्च तहमा अध्ययनरत विद्यार्थी उभिँदै, सङ्घर्ष गर्दै आएका पनि छन् । यद्यपि, सङ्घर्ष र बलिदानका क्षणहरू भनेका अस्थायी प्रकृतिका रहने हुन्छन् । राष्ट्रप्रतिको सजगता विद्यार्थीमा रहनुपर्छ । तर, विद्यार्थीले राष्ट्रको स्तरोन्नतिका लागि आफ्नो शैक्षिक स्तरलाई बढाउँदै आ–आफ्नो प्रतिभा र क्षमता बढाउँदै लैजानु आवश्यक भएको विचार बीपीले राख्नुभएको छ, “विद्यार्थी हमेसा विस्फोट, सङ्घर्ष र अराजकताका शक्ति होइनन्, जुनसुकै प्रयोग गर्न सकिने बारुद होइनन् । ती कुनै पनि राष्ट्रको सिर्जना र निर्माणका अपरिमित शक्ति हुन् । तिनको प्रतिभा र तालिमको स्तरबाट कुनै पनि राष्ट्रको स्तर र क्षमता आँकलन गरिन्छ ।” (तरुण तथा विद्यार्थीलाई सन्देश)
देशको स्तरीयताको मापदण्ड विद्यार्थीले प्राप्त गरेको शैक्षिक स्तरबाट तय गर्न सकिन्छ । बीपीले विद्यार्थीलाई दिनुभएको सन्देशमा शिक्षित नागरिकले देशलाई पु¥याउने योगदानबारे चर्चा गर्नुभएको छ । बीपीको आसय देशको भविष्यका आधारका रूपमा रहेको विद्यार्थीवर्ग राजनीतिको हतियार बन्ने नभई, आफू सामथ्र्यवान् बनेर राष्ट्रलाई पनि सामथ्र्यवान् बनाउन सक्नुपर्छ भन्ने हो । बीपीको दशकाँै पहिलेको यस चिन्तनमा देशको वर्तमानको शैक्षिक स्तर एवम् राजनीतिद्वारा निर्देशित उच्च तहको विद्यार्थी वर्गको स्तरीयता प्रतिविम्बित भएको महसुस गर्न सकिन्छ । राष्ट्रको भविष्यसँग गाँसिएको बीपीको यस चिन्तनमा शिक्षाको स्तरबाटै राष्ट्रको स्तर निर्धारण हुन सक्ने भएकाले राजनीतिक क्षेत्र र विद्यार्थी वर्गलाई त्यसतर्फ सचेष्ट रहन आह्वान गरिएको छ । बीपीको भनाइमा राष्ट्र र राष्ट्रियताप्रतिको चिन्तन सन्निहित रहेको महसुस गर्न सकिन्छ । विद्यार्थी वर्गको भविष्यले नै राष्ट्रको भविष्यलाई बोक्ने हुँदा त्यसलाई ध्यानमा राखी नीति निर्माताद्वारा शैक्षिक नीति निर्माण गरिनुपर्ने सन्देश बीपीले दिनुभएको पाइन्छ ।
आधारभूत तहमा शिक्षाले मानिसलाई आफू, समाज र देशप्रति सचेत रहन प्रेरित गर्छ । तर, देशको जिम्मेवारीका अनेक क्षेत्र र अङ्ग रहन्छन् । तिनमा जिम्मेवारी वहन गर्ने नागरिक बढी सचेत र सुयोग्य पनि हुनुपर्ने अपेक्षा रहन्छ । जिम्मेवार व्यक्तिले स्वयम्को मूल्याङ्कन गरी आफ्नो सामथ्र्यलाई उठाउने प्रयत्न गर्नुपर्छ । औपचारिक शिक्षाले बाटो पहिल्याउन मद्दत त गर्छ तर सामथ्र्यको उचाइ बढाउन व्यक्ति स्वयम् अग्रसर हुनु जरुरी छ । देश निर्माणका भौतिक आयामलाई बलियो पार्दै राष्ट्रिय स्वाभिमान एवम् प्रतिष्ठालाई चहकिलो पार्दै राष्ट्रियताको सम्बद्र्धन गर्न मद्दत पु¥याउने शिक्षा नीति एवम् पाठ्यक्रम आदिको तर्जुमा र व्यवस्थापनका साथ शिक्षण संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नु उपयुक्त हुनेछ । शिक्षा राष्ट्रियताको आधार हो, शिक्षित जनशक्ति राष्ट्रियताको वाहक हो ।