साहित्यमा हाइकु
रमेश भट्टराई ‘सहृदयी’
क्षितिजपारी
ढाक्रेको तक्मा भारी
युगै उघारी ।
व्यस्त समयमा बेफुर्सदिलो मान्छे साहित्यको चौतारीमा एकैछिन लठ्ठिन्छ । छोटो समयभित्र व्यस्ततालाई लुकाउन पसिना पुस्छ । जीवन र जगत््सम्म सोच्छ । सायद छोटो साहित्यिक मोहभित्र रम्नका लागि मान्छेले लेख्दो हो– हाइकु कविता । हाम्रै साहित्यका वंशस्थ छन्दका कविताजस्ता छोटा पनि लाग्छन् । हाम्रै हिजोका बालगीत जस्ता पनि । कतै उखानबखानका बूढापाकासँग मितेरी गाँस्लागाँस्ला जस्तो, कतै आजका ¥याप र पपको एउटा किस्साभैmँ । अनि हाइकु के हो भन्ने कुतकतीले मन तुलबुल हुन्छ ।
मान्छेले छोटो किस्सामा चासो राख्दै गर्दा आख्यानमा लघुकथा आएजस्तै पद्यमा हाइकु अनि अझै छोटो हाल लेखिने गरेको बाछिटा (३–५–३ को आक्षरिक संरचना भएको) तिर चासो बढेको पाइन्छ । लघुनाटक, लघुकविता, लघुकथा जस्तै मानिसले टिकटक मन पराएको हुन सक्छ डिजिटल दुनियाँमा पनि ।
जापानी साहित्यबाट उम्रिएर नेपाल भित्रिएको विधा हो– हाइकु । नेपाली साहित्यमा सर्वप्रथम शङ्कर लामिछानेद्वारा साहित्यकार पारिजातको ‘शिरीषको पूmल’ उपन्यासको भूमिका लेखनमा हाइकु कोरियो–
शिरीष फूल
भँवर चुम्बनमा
ओइली झर्छ ।
साहित्यमा गद्य नभएर पद्य विधाको लघुतम संरचनामा कसिने हाइकुभित्र संरचनात्मक सुगठन छ । ५–७–५ को अक्षर संरचनामा तीन पङ्क्तिभित्र रहेर एउटा ऋतुबोधक शब्दको सुगठन हो– हाइकु कविता । गजल, मुक्तक, सेलो, सवाईभन्दा पनि छोटो भएर तर जनप्रिय पनि ।
अलिकति विम्ब मिसिएर थोरैमा थुप्रै भाव बोल्ने गुणात्मकता, प्रकृतिबोधक (ऋतुबोधक) शब्द अथवा ‘किगो’ को प्रयोगलाई अनिवार्य मान्ने तारतम्यमा हाइकु रचिन्छ । ‘किगो’ लाई हाइकु रचनाको अभिन्न तìव मान्ने आफ्नै नियम जुन शाश्वत अनि स्थानीय हुने रहेछ–
चट्याङ चर्को
बज्रले बस्र्यो पानी
धारा रसायो ।
चट्याङ, बज्र, पानी, धारा गरी चार वटा ‘किगो’ ले माथिको हाइकुमा गुणसंवेद्यता प्रदान गरेको छ । प्रकृति चित्रणमा लठ्ठिएपछि भ्रमणको अनुभवलाई समेटेर मानवीय संवेदनालाई उजिल्याउने काम गर्छ । रूपरेखा पत्रिकामा २०१९ सालमा ‘सूर्योदय’ शीर्षकमा लेखेको शङ्कर लामिछानेको प्रकाशित हाइकुले प्रकृति र जीवनको रहस्यलाई खोतल्छ–
माकुरा जाल
भmोलिएको ओसले
तन्किँदै गयो ।
नेपाली साहित्यमा हाइकुको विकासक्रम २०१९ सालदेखि प्रारम्भ भएको मानिन्छ । क्षेत्रप्रताप अधिकारी, रामकुमार पाँडे, मधुसूदन गिरी, ऋतु गिरी अपणा आदि यस विधामा जोडिएका छन् । नेपाली, नेपाल भाषा, हिन्दी, अङ्ग्रेजी आदि भाषामा आजभोलि हाइकुको बगैँचा मग्मगाउँदो छ ।
जापानी प्रसिद्ध कवि कावाहिगासी बासोको नाम हाइकु कविता विकासका सन्दर्भमा अग्र स्थानमा रहेको छ । जापानमा ‘होक्कु’ हुँदै हाइकुको थालनीको रूपमा विकसित भइरहँदा नेपालमा रामकुमार पाँडे, क्षेत्रप्रताप अधिकारी, डा. मधुसूदन गिरी, अभि सुवेदी, चेतनाथ धमला हुँदै प्रवासतिर केदार सङ्केत, पोखरामा असफल गौतम, चितवनमा केशवराज आमोदी लगायतका व्यक्तित्वले स्थानगत भूमिकामा गति दिएको भान हुन्छ । कवि क्षेत्रप्रताप अधिकारीले छोटो समय र छोटो आवरणमा व्यापक विचारको सूत्रात्मक प्रस्तुति दिने विधालाई हाइकु भन्नुभएको छ । उहाँको ‘जापानी साहित्यको इतिहास’, ‘हाइकु र हाइजिन’, ‘हिम जून पूmल’ लगायतका कृतिभित्र हाइकुलाई चिनाइएको छ । रामकुमार पाँडेद्वारा यस विधामा विशेष अध्ययन, विश्लेषण गरिएका थुप्रै आलेख मधुपर्क, समकालीन साहित्य, कौशिकी आदिमा प्रकाशित छन् ।
सूक्ष्म तर पूर्ण तथा सघन संरचनात्मक सुगठनको संरचना भएको हाइकु लघुतम साहित्यिक विधा हो । यसको हास्यव्यङ्ग्य शैलीलाई ‘सेन्यु’ भनिन्छ । सचित्र हाइकुलाई ‘हाइगा’ भनिन्छ । यसर्थ हाइकु विधा लेखन संरचना र भावगत आधारमा परिभाषित भएको पाइन्छ । जापानका कवि शिकिका अनुसार हाइकु कविता झन्डै १७ अक्षरमा लेखिएको, एउटा मौसमसम्बन्धी शब्द भएको तर परम्परागत मान्यताबाट मुक्त काव्य हो ।
रामकुमार पाँडेका अनुसार हाइकुको मूल स्वभाव वाग्वैदग्ध्य र हास्यलाई जोड दिने रूपको भए पनि हाइकुको एउटा स्वरूप ऋतुबोधक शब्दको चयन हो । वास्तवमा हाइकु कविता– संक्षिप्ततामा पूर्ण संरचनात्मक स्वरूपको साहित्यिक विधा हो ।
नेपालीपनमा हाइकु
कसिलो तथा सूत्रात्मक भाषाभित्र जीवन हुन्छ । लेखकको जीवन भोगाइ र अनुभवले लतावृक्षसँग लुकामारी खेल्छ । कतै स्वच्छन्द भाव, कतै प्रयोगवादको विम्ब–प्रतीकको सङ्गम गराउँदा स्वच्छन्द–प्रयोगको घुलन पनि लाग्छ । कवि क्षेत्रप्रताप अधिकारीका अनुसार हाइकुमा एउटा चित्र र त्यो चित्रले सङ्केत गरेको सम्भावित दृश्य हुन्छ । एउटा अनुभव जसमा एउटा विम्बले औँल्याउन खोज्छ, त्यो सम्भावित दृश्य हाइकु हो ।
हाइकुमा रहेका तीन हरफमा १७ अक्षरमध्ये पहिलो हरफमा रहेको पाँच अक्षरले चित्र प्रस्तुत गर्छ, बाँकी दुई हरफहरूले त्यसलाई पुष्टि गर्दछन् । रामकुमार पाँडेले निम्नानुसार हाइकुका तीन आधारभूत नियमलाई केलाउनुभएको छ– मात्रा मिलाउने, हरफ मिलाउने र ऋतु (किगो) जनाउने ।
जापानमा चार ऋतुमा ‘किगो’ खोतल्दा हाम्रो परिवेशभित्र छ वटा ऋतुबाट प्रशस्त ‘किगो’ सँग मितेरी गाँस्छौँ । नेपाली साहित्यमा मौलिक एवम् अनुवादित दुवैखाले हाइकु देखापर्छन् । उस्तो चर्चामा नआएको विषय तर आजभोलि यसो सामाजिक सञ्जालका भित्ताहरूमा झल्किने हाइकुलाई नवपुस्ताले सहज साहित्यको आधार बनाउन थालेको छरपस्ट भेटिन्छ । व्यक्तिगत मात्रै होइन संस्थागत विकासले समेत पाइलो सारिरहेको अवस्थामा हामी हिँडिरहेका छौँ । चेतनाथ धमला, कृसु क्षेत्री र तारा सुवेदीले सम्पादन गर्नुभएको ‘प्रतिनधि नेपाली हाइकु’ मा २१३ जना स्रष्टाका रचना समेटिएको छ ।
रामकुमार पाँडेले १९औँ शताब्दीको अन्त्यतिर यस विधाको विकास भएको मानेका भए पनि नेपाली लोकपद्य साहित्यभित्र कौरा, ख्याली, चुड्का, रोइला, सेलो आदि विधामा हाइकुका लक्षणहरू भेटिन्छन् । जापानी हाइकु, सेदोका, काताउताजस्ता त्रिपदीय संरचना भएका साहित्यिक गुणको छनक हाम्रा लोकगीत, बालगीत आदिसँग पनि मिल्दाजुल्दै रहेछन्–
हुँदो रै’छ भेट
बेँसी मकै छरेसी
आउने जाने गरेसी ।
०००
यो नानीको शिरैमा
इन्द्रकमल फूल्फुल्यो
मगमग चल्यो बासन ।
– प्रचलित लोकगीत
अर्को कोणबाट नियाल्दा नेपाली लोकगीत र लोकदोहोरीमा पनि हाइकुको समुचित संरचना भेटिन्छ–
गिट्टी कुटेर
छाक टार्नु प¥या छ
मकै भुटेर !
– चन्द्रकला शाह (लोक दोहोरी एल्बम, २०६२)
संस्कृत भाषामा महाकवि कालिदासद्वारा लिखित ‘कुमारसम्भव’ महाकाव्यमा पनि हाइकुको लाक्षणिक भाषा प्रयोग भएको पाइन्छ–
पदं सहेत भ्रमरस्य पेलवम्
शिरीषपुष्पं न पुनः पतत्रिणः
फूलहरूले भमराको टेकाइ (पाउ) लाई सहन्छन् तर कुनै पनि पन्छीको स्पर्शलाई शिरीषको फूलले सहन सक्दैन (कोशिकी, २०६५ ः १९८) ।
हाइकुको पुख्र्यौली
साहित्यिक आनन्द लिन सानो चौतारी बनेर नेपाली साहित्यमा हाइकु लेखन झाङ्गिँदैछ । हाइकु ताङ्काबाट जन्मिएको मानिन्छ । ताङ्का जापानको परम्परागत लघु कविता जसलाई ३१ अक्षरमा ५–७–५–७–७ मात्रा मिलाएर रचिन्छ । पहिलो कविले ताङ्का कविता लेख्दा ५–७–५ अक्षरको कविता लेख्थे अर्थात्् ‘कामि–नो–कु’ बनाउँथे । दोस्रो कविले ७–७ अक्षरको कविता थपेर ३१ अक्षरमा उक्त कवितालाई पूर्ण बनाउँथे । यसैलाई ‘सिमो–नो–कु’ भनिन्थ्यो । यसको विकासक्रमलाई नियाल्दा जापानी कवि बासोको योगदान विशेष रहेको छ । यसमा संरचनाको मिलान अनिवार्य माने पनि भाव पक्षलाई सबल मानिन्छ । बासोले भनेका छन्– “एउटा हाइकु जसले ७० देखि ८० प्रतिशत विषय प्रदर्शित र प्रभावित गर्छ, त्यो राम्रो हो । जुन ५० देखि ६० प्रतिशत छ त्यसले हामीलाई कहिल्यै अल्छी नबनाउला । हाइकुमा अतिशय विश्लेषणका लागि स्थान छैन जस्तै एक्लोपना, शून्यपन आदि शब्द अटाउँदैन । कविताले नै बोल्नुपर्छ ।”
कोनो मिचिया (यस बाटोमा)
युकिहितो नासिनी (कुनै यात्रु चल्दैन)
आकिनो कुरे । (शरद साँझ ।)
हाइकु वाक्यले होइन शब्दमा खँदिलो हुन्छ । कवि क्षेत्रप्रताप अधिकारीका अनुसार सघन र सूक्ष्मतामा शक्तिशाली हाइकुको हरफमा एक कसिलो पूर्ण झोक्का हुन्छ । यो ऋतु विम्बलाई व्यवस्थित प्रयोगबाट जीवनको रहस्य दर्शन गराउने लघुतम पङ्क्तिको काव्य हो । रामकुमार पाँडेद्वारा यौन, सृष्टि, क्रान्ति, भ्रान्ति अनेक रहस्य खोतल्न हाइकु समर्थ हुन्छ तर त्यो सबै कुरा सशक्त हुनुपर्छ भन्नुले हाइकुभित्र साहित्यिक रहस्य र कौतूहल हुन्छ । हाइकुको बाह्य संरचनामा १७ अक्षर गिन्ती र तीन हरफमा एउटा ऋतुबोधक शब्दसहित एउटा रूप तयार हुन्छ भने आन्तरिक संरचनामा प्रकृतिको विम्बले जीवन प्रतिविम्ब दर्शन गराउँछ । तथापि, यसमा आधार अक्षरको गणना हुँदैन । सूक्ष्म अर्थात्् एउटा बिन्दुले ब्रह्माण्डको प्रतिनिधित्व गराउने दर्शनले यो विधाको समष्टिमा सघन संरचनाभित्र भाव घनिभूत रहेको भेटिन्छ । समग्रतः हाइकुलाई केलाउँदा आगन्तुक पद्य साहित्यिक विधा, फुटकर कविता, गजल, मुक्तकभन्दा पनि लघुतम गेयात्मक विधा, ५–७–५ को त्रि–हरफीय संरचना तर आफैँमा पूर्ण सङ्कथन, किगो वा ऋतुबोधक शब्द प्रयोग अनिवार्य रहने, कसिलो, सूक्ष्म र विम्बात्मक रचना, व्याख्यान र आख्यानरहित भाषा, नितान्त सूत्रात्मक भाषाको सुगठन हुने भावपक्षमा गहकिलो हुने आदि पक्षलाई भेट्न सकिन्छ ।