जीवन (कविता)
बिन्दु अधिकारी ढकाल
जीवन यौटा फूल रै’छ
थुँगा भई फुल्ने
वनपाखा जताततै
रमाइलो झुल्ने ।
जीवन यौटा थोपा रै’छ
पानी जस्तै बग्ने
नदीनाला जताततै
नहरतिर कुद्ने ।
जीवन यौटा रहर रै’छ
रङ्ग भई खुल्ने
धरती कुना जहाँ पनि
चमक भइरहने ।
जीवन यौटा बल रै’छ
तागत भई खेल्ने
उफ्रिपाफ्री मैदानमा
किपर भई भिड्ने ।
जीवन यौटा लाली रै’छ
घामसित मिल्ने
किरण सर्दै जाँदाखेरि
पाइला डाँडामाथि पुग्ने ।
जीवन यौटा मार्ग रै’छ
कर्म भई फल्ने
उसकै रूप उसकै रङ्ग
चोला सँगै उड्ने ।।