शनिवार |

झुट : कला कि कलङ्क ?

प्रदिप्नराज पन्त

ऐतिहासिक कलाकृतिहरूलाई चिन्तन मनन गर्दा कहिलेकाहीँ अप्रत्याशित नतिजा निकाल्न पनि विवश हुनु पर्छ । कुरुक्षेत्रको युद्धमा जब आचार्य द्रोणले पाण्डव पक्षमा हाहाकार मच्चाय तव श्रीकृष्णको प्रेरणाले भीमले दाजु युधिष्ठिरलाई अश्वत्थामा मरेका खबर भन्न उक्साए । त्यो झुट नै थियो तर अधर्म थिएन भनिन्छ । के झुट पनि अधर्म हुदैन ?
महाभारतको अर्को प्रसङ्गमा एउटा हिंस्रक सिकारीले एउटी गर्भिणी मृगलाई लखेट्दै थियो । लखतरान मृग साधुको कुटी नजिकै लुक्न पुगी । सिकारी पनि त्यहीँ आइपुग्यो र साधुलाई सोध्यो– तपाईंले मृग देख्नुभयो । साधु अप्ठ्यारोमा प¥यो । सिकारी हिंस्रक थियो झुट बोलेको थाहा पाए साधुलाई समेत आक्रमण गर्न सक्थ्यो । साँचो बोल्ने हो भने गर्भिणी मृगको ज्यान जान सक्थ्यो ।
‘जे कुरा आँखाले देख्छ, त्यसलाई शब्दमा वर्णन गर्न सकिन्न । जे कुरा शब्दमार्फत निक्लन्छ त्यसलाई आँखाले देख्न सकिन्न ।’ साधुको जबाफले सिकारी अलमलियो । साधुले झुट बोलेको थिएन तर वास्तविकताबाट पनि थिएन । साधुले झुट नबोली गर्भिणी मृगको जीवन सुरक्षित बनाए । बुद्धिमान मानिसहरू अरुको भलो हुन्छ भने झुट बोल्दा पनि फरक पर्दैन भन्ने गर्छन् ।

साहित्यमा झुट
मानिस आफ्नो जीवनकालमा नै आफ्नो परिचय स्थापना भएको देख्न चाहान्छ । परिचय स्थापित गर्नका लागि अरूले आफ्नो अस्तित्व स्वीकार गर्न आवश्यक हुन्छ । अस्तित्व प्रमाणित गर्न मानिस झुट बोल्छ । झुटले मानिसलाई अद्भूत आनन्द दिने गर्छ । समय र मौसमको थप्पडले दिने भयावहता, कठोरता या क्रूरतासँग मुकाबला गर्न अथवा भनाँै आफैले आफैलाई सम्भावित अप्रिय दुर्घटनाबाट सुरक्षित अवतरण गर्नसमेत मानिसले आफैले आफैसँग झुट बोल्छ । कसैले यस्ता झुटलाई सार्वजनिक गर्छन्, कसैले आफु भित्रै लुकाएर राख्छन् । झुट सार्वजनिक जसले गर्छ, त्यसलाई सर्जक भन्ने चलन पनि छ । उदाहरणको रूपमा कुनै घटनालाइ कथामा प्रस्तुत गरिन्छ । सत्यलाई सम्झाउन खोजे जस्तो गरिन्छ र लचिलो अवधारणा बनाएर रोमान्चक बनाउन खोजिन्छ । कथाकारले सङ्घर्षलाइ प्रेरित गराउन खोज्छ या चरित्रलाई आफ्नो विश्वसनीयता र अभावको चित्रण गरेर पाठकलाई छक्याउन खोज्छ । अनि चरित्रलाइ अनेक थरीका कपडा पहि¥याइ दिन्छ । कथा लामो छोटो जस्तोसुकै होस्, यसमा मानिसलाई पहिल्यै अनुभव गरेको र समाजमा घट्ने घटनालाई पस्किइन्छ । यसैलाई सर्वमान्य सत्य हो भनेर वकालत गरिन्छ । जस्तो कि एकादेशको एउटा राजकुमार या कुनै समयमा कुनै ठाउँमा एकजना छट्टु मानिस बस्थ्यो या उहिले नेताले यस्तो भन्यो आदि । वास्तवमा कथा एक भ्रम हो । अति सुन्दर कार्पेट बिछ्याइए पनि कार्पेटमुनि फोहर हुन्छ भने भैmँ कथा जतिसुकै सत्यको नजिक भए पनि सम्पूर्ण वास्तविकतालाई कथामा लुकाइएको हुन्छ । साहित्यका विभिन्न विधाहरु सामान्य बयानबाजी नै हो । आख्यानको सुरुवात बयानवाजी या भाषणबाट नै हुन्छ र अन्त्यतक अधिकांश भाग सामान्य कथन जस्तो नै हुन्छ । जहाँ काल्पनिक बयानका लागि कुनै निश्चित व्याकरण या शैली नियम हुँदैन, जो नियमित कथनभन्दा फरक होस् । कुनै यथार्थवादी कहानीको कुनै पानालाई झिकेर पढियो भने तत्काल थाहा पाउन सकिन्छ कि यो उपन्यास नभई एक स्मरण या व्यक्तिगत डायरी भने झंै लाग्छ । यसको साथै झुट र कटाक्षको साथ हुन्छ, कल्पनाको काममा सबै भलै तथ्यमा आधारित नै किन नहोस् लेखकले झुटको सहारा लिएको हुन्छ किनभने सबै सत्य भएको भए त्यो कथाको रूपमा प्रस्तुत गर्न आवश्यक नै हँुदैनथ्यो ।
यति जान्दा जान्दै पनि सर्जकका साहित्य, कलाकृति देख्दा मन पुलकित हुन्छ । सत्यको नजिक पुगेको अनभूति हुन्छ । कसैको आत्मवृत्तान्त पढ्दा कथा कवितामा मन डुलाउँदा र कलाकृति देख्दा मन हर्षले रमाउँछ । साँच्चै केही साहित्य कालजयी हुन्छन् र अत्यन्त सुन्दर देखिन्छन् । तर यस्तै कालजयी कृतिहरूको बारेमा पनि अप्रत्याशित निष्कर्ष निकाल्नु पर्ने हुन्छ । साहित्य र चित्रकारको कलाकृति मात्र होइन कहिलेकहीँ धार्मिक गुरुहरुको प्रवचन पनि अत्यन्त पावन र मन नै पुलकित हुने सत्य जस्तो लाग्छ । कसैको आत्मवृत्तान्त, कथा, कविता पढ्दा या प्रवचन सुन्दा यस्तो लाग्छ तिनीहरूले सत्यको सङ्केत दिएका छन् । तर त्यो सत्य विज्ञानसम्मत भने छन् कि छैनन्, त्यसको विवेचना चाहिँ हुन जरुरी छ ।
आख्यानमा झुट सामान्य हुने नै भयो तर आत्मवृत्तान्तमा पनि पत्याउन नसकिने खालको झुट जताततै देखिन्छ । आफै शक्तिमा हुँदा समेत खुलेयाम घुस दिनेलाई कारबाहीको दायरामा ल्याउन नसक्ने अनि मैले अनैतिक काम गरिनँ भन्ने कहावत सम्भवतः पत्याउन मुस्किल पर्छ । कतिपय अन्तर्राष्ट्रिय कानुनका साथसाथै मानवीय दृष्टिकोणले समेत गर्नै नहुने आतङ्कवादी क्रियाकलापलाई समेत राजनीतिको नाममा न्यायसम्मत भनेर देखाउन खोज्नु पनि एक किसिमको झुट नै हो ।
केही उदाहरण साहित्यसँग सम्बन्धित छ भने केही मानिसको नैतिक मूल्य, मान्यता र आचरणसँग सम्बन्धित छ । तर यो कहावतहरु विज्ञानसम्मत भने छैनन् । आधुनिक युगमा विज्ञानसम्मत नभएका वस्तुलाई स्टेफेन हकिङले मात्र होइन, संसारले नै सत्य भन्दैन । अझ स्टेफेन हकिङले गणितको प्रयोग नभएका कुनै पनि विषय सत्य नभएको र जे सत्य हँुदैन त्यो विज्ञान नहुने र विज्ञानसम्मत नभएका सबै विषय मृततुल्य हुने समेत भनेका छन् । तर हकिङभन्दा धेरै अघि प्लेटोले सम्पूर्ण कविहरूलाई आदर्श समाजको समूहबाट बहिष्कार गर्नु पर्छ भन्नु भएको थियो भने डेभिड ह्यूम्सले साहित्यकारहरूलाई ‘व्यावसायिक फटाहा’ भनेर निक्र्यौल नै गरिदिए ।

आमजीवनमा झुट
दर्शनशास्त्री एच पी ग्राइसका अनुसार झुट बोल्ने मानिसहरु सूत्रवाक्य या सिद्धान्तको उल्लङ्घन गर्छन् तर पूर्णरुपले अवज्ञा या अनादर भने गर्दैनन । उनीहरुको झुट एक किसिमले गोप्य हुन्छ । यसकारण साहित्यले दिएको झुटको सन्देशको प्रभावभन्दा आम जीवनमा आम मानिसहरूमा चल्ने झुटको प्रभाव खतरनाक हुने गर्छ । विशेष गरेर ठूला राजनेता या समाजका प्रतिष्ठित व्यक्तिहरुले गर्ने झुट चाहिँ एउटा बया(नबाजी भन्ने चलन छ । राजनीतिमा यो आम छ । जस्तो कि अमेरिकाका राष्ट्रपति विल क्लिन्टन र मोनिका लेविन्स्कि प्रकरणमा कुनै शारीरिक सम्बन्ध नभएको तर ‘ओरल सेक्स’ हुन सक्ने बयान डेमाक्र्याटहरुले राष्ट्रपतिको बचाउमा दिएका थिए ।
आम जीवनमा झन् मानिसले धेरै झुट बोल्छ । केही मानिसहरु भन्ने गर्छन् ‘मेरी श्रीमती बाहेक कसैसँग सम्बन्ध छैन, यसैले म साधु हुँ’ । श्रीमती बाहेक अन्य कुनै महिलासँग शारीरिक सम्बन्ध नभएको हुन सक्छ तर यौनको लालसा नभएको चाहिँ हुनै सक्दैन । महिला होस् या पुरुष, विपरीत लिङ्गीप्रति मानिसको आकषर््ाण हुँदैन भन्नु विज्ञानसम्मत छैन । परस्पर विरोधी र अक्सर असङ्गत कथाहरूको सन्दर्भमा सम्झाइयो भने मानिसहरुले सहज तरिकाले बुझने गर्छन् । राजनीतिमा झुटलाई तथ्यको रुपमा र अधिक विश्वसनीय जानकारीलाई नक्कली समाचारको रुपमा देखाउने प्रचलन सामान्य छ । सत्य वास्तवमा एक स्वतन्त्र विचार हो ।
ग्यालिलियोले सन् १६०९ मा टेलिस्कोपको आविष्कार गरे । तर सन् १६०८ मा नै हान्स लिपरसेले टेलिस्कोप बनाइसकेका थिए । एस्पीरिन जर्मनीका फेलिक्स हेफम्यानले बनाएका हुन् भनेर संसार चिन्दछ तर आर्थर आइसेनवर्गले एस्पीरिन धेरै पहिले बनाएका थिए । ग्यालिलियोले मर्ने बेलामा आफै नै आविष्कारक भएको भनेर भने यसकारण संसारले प्रतिवाद गरेन । फेलिक्स ज्यूज थिए र नाजीहरुले जबर्जस्ती फेलिक्सलाई एस्पिरिनका जन्मदाता बनायो । के मर्ने बेलाको बोली भन्दैमा त्यसलाई सत्य मान्न सकिन्छ ? के कुनै राजनेताले झुटलाई सत्य भन्दा प्रतिकार गर्न मिल्दैन ? तर संसार जान्दा जान्दै झुटको प्रतिकार गर्दैन । यसैले झुट मानवजीवनमा सर्वमान्य भइसकेको तथ्यलाई नकार्न मिल्दैन ।

मस्तिष्क : एक अनिमियत स्वरूप
जब मस्तिष्कले एउटा ढाँचा निर्माण गर्छ, त्यसपछि परिकल्पनाको एउटा पूरा अनुक्रम (हाइपोथेसिस) बनाउँछ । यही ‘हाइपोथेसिस’लाई प्रमाणित गर्न या यसैको आधारमा मस्तिष्क त्यतिखेरसम्म अनुमान गर्न थाल्छ जबसम्म मस्तिष्क निर्णयमा पुग्दैन । निर्णयको निकटतम अवस्थामा पुग्नका लागि मस्तिष्कले अनेक छल (चलाखी) गर्छ । जस्तो कुनै पत्रपत्रिकामा बालबालिकाहरूलाई पहेली दिइन्छ । सुरुमा एउटा अस्पस्ट आकृति बनाइन्छ र त्यसलाई विभिन्न रङहरुको संयोजनले एउटा अत्यन्त सुन्दर चित्र बन्न पुग्छ । मानिसको मस्तिष्क पनि एक पहेली जस्तै हुन्छ । कुनै खबर सुन्नासाथ मस्तिष्कमा उत्तेजनाको एउटा लहर उब्जिन्छ । आफ्नो सुविधाको आधारमा कहिले अप्रिय घटना, कहिले आशान्वित घटना भनेर प्रमाणित गर्न खोज्छ ।
बहुसङ्ख्यक मानिसले मस्तिष्कको यो परिकल्पनाबारे ध्यान दिँदैनन् । आफ्नो व्यावसायिक र निजी जीवनमा यो मस्तिष्कको छल हो र यसबारेमा म निर्णयमा पुग्न हुन्न भन्ने बारेमा थाहा नपाएर निर्णय गर्न खोज्छन् । तर जो निर्णय अप्रत्यासित समाचारको आधारमा बनाइएको छ वास्तवमा त्यो मस्तिष्कले सिर्जना गर्ने एउटा भावना मात्र हो । यो निर्णय नभई तपाईं एउटा परिकल्पनाको प्रवाहमा बहँदै हुनुहुन्छ र तपाईंको मस्तिष्कले भावनाको एउटा यस्तो प्रकार जसले तपाईंले देख्नुभएको वा तपाईलाई लागेको समस्यालाई सहज बनाउन मद्दत गर्छ । यसैबीच अर्को सूचना प्राप्त भएपछि या तपाईंले त्यो घटनालाई सोचिरहनु भयो भने फेरि एकछिन अर्को विचार प्रवाह हुन थाल्छ र फेरि व्याख्या गर्न थाल्छ । नयाँ सूचना प्राप्त हुनासाथ मस्तिष्कको सोच्ने क्रम सुरु भई हाल्छ । जबकी यसरी हुने सबै व्याख्याहरु एउटा प्रवाह मात्रै हो । मानव मस्तिष्कको आफैले अनुमान गरेको, आफैले सिद्धान्त बनाएको हो, जो फेरि आफैलाई अमान्य बन्न पुग्छ । यसरी नै अथवा सोचले नै मानिसलाई झुट बोल्न र लेख्न बाध्य बनाउँछ । यसैले झुट बोल्ने मानिसको अन्य आदत जस्तै सामान्य आदत हो । फरक के छ भने कसैले यसलाई कलात्मक ढङ्गले प्रस्तुत गर्छन्, कसैले सामान्य तरिकाले तर झुट जैविक नियम नै हो । यसैले यसलाई विद्धानहरुले उत्कृष्ट मानवीय कला भनेर परिभाषित गरेका हुन् ।

निष्कर्ष
अहिलेको आधुनिक युगमा भौतिक विकास र सुख सुविधाका लागि मानिस जस्तोसुकै मार्ग अपनाउन उद्दत देखिन्छ । यही स्वभावलाई देखेर महर्षिहरुले सिकाएको सच्चरित्र माथि प्रश्न चिह्न खडा भएको छ । सामाजिक व्यवस्थालाई सुव्यवस्थित गर्नका लागि हाम्रा महर्षिहरुले नैतिक मापदण्ड र नीतिशास्त्रहरुको निर्माण गरे र सत्य बोल्नलाई ज्यादै महत्व दिए । तर नैतिकता उपदेशको वस्तु मात्र बन्यो । निःसन्देह जो कोहीका लागि पनि सत्य बोल्नु अत्यन्त कठिन मानवीय क्रियाकलाप हो र कहिलेकाहीँ सत्यको मार्गमा चल्नका लागि भौतिक र शारीरिक सुख सुविधालाई तिलान्जलि दिनुपर्ने हुन्छ किनभने सत्य भनेकै आफ्नो सुख सुविधाको चिन्ता नगरी तथ्यलाई उही रुपमा प्रतिस्थापन गर्नु हो । सत्य बोल्न सहज छैन तर सामाजिक सम्बन्धको गरिमा र सामाजिक व्यवस्थालाई सुव्यवस्थित ढङ्गले गतिमान बनाउनका लागि आवश्यक हुन्छ । जसको पालना जुनसुकै मुल्य चकाएर भए पनि मानवजातिद्वारा गर्नु पर्छ । झुटद्वारा जस्तोसुकै खुसी हुने भए पनि नैतिकता पतन हुने छ । जुन मानिसहरुका लागि कलङ्क हो भनेर पूर्वीय दर्शनमा देखाइएको छ किनभने झुट मानवीय प्रक्रिया हुँदाहँुदै पनि अन्तत्वोगत्वा यसले मानवीय मूल्यमा गहिरो क्षति पु¥याउछ । ■