एक ज्यान दुई जुनी
जुनारबाबु बस्नेत
यताको दुई दशकमा आत्मवृत्तान्त साहित्यले नेपाली बजारमा राम्रै प्रवेश पाएको छ । अन्तर्राष्ट्रिय अभ्यास लामो भए पनि नेपाली समाजमा बी.पी. कोइरालाको आत्मवृत्तान्त प्रकाशनमा आएपछि यो विधाले पखेटा फिँजाएको हो । तर आत्मवृत्तान्त विधाका सबै पुस्तकलाई एउटै तराजुमा राखेर हेर्न मिल्दैन । कुनै कृति व्यक्तिको स्वप्रशंसाकै गोलाद्र्धमा घुमिरहेको हुन्छ । व्यक्तिको अनुभव समाजमा प्रवेश पाउनु नराम्रो होइन । कतिपय कृति नितान्त भिन्न, पात्रसँगै सिङ्गो समाज छिचोल्न सकिन्छ, ऐतिहासिक रूपमा । हाल बजारमा ताजा रहेको
‘एक ज्यान दुई जुनी’ लाई डा. देवेन्द्रराज पाण्डेको आत्मवृत्तान्तमात्र भन्दा अन्याय हुन्छ । यसले नेपालको राजनीति, इतिहास, अर्थतन्त्र, विचार, समाज, परिवर्तनसँगै लोकतन्त्रका आधारभूत मान्यता तथा आदर्श समाजको परिकल्पनालाई समेत विम्बित गर्छ । भोलिको बाटो पनि छ यसमा ।
राजा महेन्द्र र वीरेन्द्रकालीन प्रशासनमा निजामती सेवामा काम गर्नुभएका पाण्डे २०३६ सालको जनमत सङ्ग्रहपछि उत्पन्न ज्यादती खेप्न नसक्ने निर्णयमा पुगेसँगै काँचुली फेर्नुहुन्छ । समाज बदल्नु छ भने आफूबाटै थालनी गर्नुपर्छ भन्ने मूल मर्मका आधारमा । अर्थ मन्त्रालयको कार्यभार सम्हालेका प्रधानमन्त्री सूर्यबहादुर थापासँगै कुरा पनि नगरी अर्थ सचिवबाट राजीनामा र स्वीकृत नहुँदासम्मका लागि बिदा लेखेर द्रोहको श्रीगणेश हुन्छ – स्वतन्त्र नागरिकका लागि । मानव अधिकार अभियन्ता, विकास प्राज्ञ र पञ्चायती व्यवस्थाका आर्थिक नीतिका कट्टर आलोचकका रूपमा उहाँको अवतरण हुन्छ २०३६ सालपछिको एक दशक ।
‘‘म तपैँ जस्तो पाण्डे, काठमाडौँको कुलिन होइन, भैंसी आहाल बस्ने पानी खाएर हुर्केको हुँ । मसँग तपाइँले जनताको कुरा गर्नु पर्दैन’’ (पृष्ठ ७) । पञ्चायतविरुद्ध छयालीस सालको आन्दोलनमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई मानव अधिकार दबाइएको ज्ञापन पत्र दिन जाँदा पाएको जवाफ हो यो । उहाँमा यो जवाफ गडेर बसेको हुुनुपर्छ, पुस्तकको सुरुवात नै काठमाडौँको सम्भ्रान्त परिवेशबाट आरम्भ भएको छ । तर अभावका बीच मावलमा हुर्किएको, विद्यार्थीकालमा भारत जाँदा एकजोर कपडा पनि नहुँदा मागेर काम चलाउनुपरेको यथार्थले सम्भ्रान्त भनिने काठमाडौँवासीको हालत देखाइदिएको छ ।
त्यसैगरी, असफल निजामती कर्मचारी ?, अर्थशास्त्रमा डिग्री नभएको अर्थविद्, अध्ययन सीमित, उपाधि बुद्धिजीवी !, राजनीतिक मैदानमा गैर राजनीतिक खेलाडी, राजा, बहुदल र माओवादीसम्मले फराकिलो आयाममा राजनीतिक विकासक्रम र उहाँको सहभागितालाई अनुभूत गर्छ । विकास र लोकतन्त्र ः पञ्चायतदेखि गणतन्त्रसम्म, छिमेकी र अन्य सहयोगी, संस्था निर्माणका अधुरो प्रयास !, अन्तर्राष्ट्रिय ‘नागरिक समाज’मा नेपाली नागरिक हुँदै पुस्तक उपसंहारमा कोरोनाको त्रासबीच बिट मर्छ । बन्दाबन्दीको समयलाई उहाँले राम्रै गरी सिर्जनामा लगाएको आभास पनि हुन्छ । फाइन प्रिन्टले आत्ममन्थन भनेको यो पुस्तक २०७७ पुसमा प्रकाशन मिति राखिएको छ ।
पञ्चायत व्यवस्थाविरुद्ध अधिकारवादी तथा आलोचक अर्थविद्को रूपमा उहाँको व्यक्तित्व उचाइतिर जान्छ विद्रोहीका रूपमा । उहाँको क्रियाशीलतासँगै नेपाली काँग्रेसका नेताहरूसित हिमचिम बढ्छ । पञ्चायतको अन्तिमतिर विराटनगरमा भएको कार्यक्रममा उहाँको बसाइ कोइराला निवासमै हुन्छ । त्यसक्रममा भएको एउटा घटनालाई उहाँले यसरी सम्झनुभएको छ ः
‘‘... गिरिजाबाबुसँग साँझपख पनि कुरा हुन्थ्यो एकदुई पेग खुकुरी रमसँगै । त्यस्तै बेला एकचोटि उहाँले भन्नुभयो, ‘‘डाक्साप, अब तपाईं आउनुहोस् काङ्ग्रेसमै । सँगै काम गरौँ, प्रजातन्त्रका निम्ति ।’’ मैले जवाफ दिएथेँ, गिरिजाबाबु, म पञ्चायतकालको अर्थसचिव, अमेरिकामा ‘पिएडी’ गरेको बुद्धिजीवी, पञ्चायती अर्थराजनीतिको आलोचनात्मक विश्लेषक, स्वतन्त्र नागरिक भएरै पो केही भाउ भएको होला ।’’ पृष्ठ १०३
नभन्दै स्वतन्त्र नागरिक र मानव अधिकारकर्मीका रूपमा जनआन्दोलन – ४६ मा अन्तर्राष्ट्रिय पे्रसले सम्पर्क गर्ने महŒवपूर्ण व्यक्तिमा पर्नुहुन्छ उहाँ । सडकदेखि सिंहदरबारसम्म द्रोही पहुँच । तर फागुन ७ गते सुरु भएको शान्तिपूर्ण जनआन्दोलन एक महिना नपुग्दै विस्तारै सेलाउँदै गयो । चैत ७ गते भने आन्दोलनलाई ऊर्जा दिने घटना भयो । कीर्तिपुरको अडिटोरियम हलमा आन्दोलनविरुद्ध प्रवचनमा जम्मा भएका सयौँ बुद्धिजीवीलाई सरकारले पक्राउ ग¥यो । डा. पाण्डे त्यसैमा पर्नुभयो । सिंहदरबार अगाडिका ट्राफिक कार्यालयका चिसो भुइँ, हनुमानढोकाको फोहोरी कोठाहरू लगायतको त्यतिबेलाको घटनालाई डा. पाण्डे यसरी सम्झनुहुन्छ ः
‘‘जब हामीलाई भद्रगोल लगियो, त्यसपछि एकाएक फराकिलो, खुला ठाउँमा आइपुगे झैँ भयो । करिब १८ दिनको जेल बसाइबीच आन्दोलन अन्त्य भयो । अन्ततः २०४७ वैशाख ७ गते गठन भएको मन्त्रीमण्डलमा म अर्थमन्त्री हुन पुगेँ......’’ पृष्ठ १०२
ग्रामीण स्वावलम्बन कार्यक्रमबाट आत्मनिर्भर अर्थतन्त्रको अभ्यास पाण्डेको ध्येय थियो । पुँजीका लागि स्वदेशभित्र सिर्जना गर्न नागरिक लगानी कोषको स्थापना गर्नुभयो । उहाँ विदेशी सहयोगले मात्र देश विकास हुँदैन, बरु एउटा फुइँफुट्टा वर्ग सिर्जना हुन्छ भन्ने चिन्तनबाट अर्थमन्त्री हुनुभएको थियो । उहाँको असफल विकास पुस्तकले पञ्चायत कालमै चर्चा पाइसकेको थियो । छ महिनामा संविधान निर्माण र एक वर्षमा चुनाव गराउने जनआन्दोलनको कार्यादेश पाएका सरकारले अरू धेरै आर्थिक सुधार गर्न सक्ने कुरा थिएन । निर्वाचित सरकारले धेरै काम गर्ला भन्ने आशा थियो उहाँमा तर बी.पी.को प्रजातान्त्रिक समाजवादको मूल्य अनुरूप पछि काम नभएपछि उहाँमा असन्तुष्टि चुलिँदै गयो ।
उहाँ नागरिक आन्दोलनमै अगाडि बढ्नुभयो । राजनीतिक पार्टी बनाएर २०५१ सालमा चुनावमा जाँदा हात लागेको असफलता स्वयंमा उहाँका लागि पाठ थियो । राजनीतिक मैदानमा गैर राजनीतिक खेलाडी भन्न उहाँ रुचाउनुहुन्छ । त्यसैबीचमा सुरू भएको माओवादी द्वन्द्व, राजा वीरेन्द्रको वंशनाश अनि राजा ज्ञानेन्द्रको निरङ्कुश शासनले शान्तिका लागि काम गर्नैपर्ने कार्यादेश उहाँ आफैंले पहिल्याउनुभयो । दिल्लीका गल्लीमा पुगेर माओवादी नेता भेटेर मूल राजनीतिक धारमा ल्याउने यत्न सुरु भयो । अन्तर्राष्ट्रिय सभा, बैठक र सेमिनारमा जाँदा आउँदा दिल्ली पानी पधेँरो थियो उहाँका लागि । त्यसक्रमको नयाँ दिल्ली एक भेटलाई यसरी प्रस्तुत गरिएको छ ः
‘‘भित्र एउटा सोफामा दुई जना थिए । एकजना म पस्नेबित्तिकै बाहिर निस्किए । भित्रै रहेका जो थिए उनलाई नमस्कार गरेर भनँे, ‘‘म देवेन्द्रराज पाण्डे ।’’ उनी जुरुक्क उठेर नमस्कार गरे । हात मिलाएर भने, ‘‘म प्रचण्ड’’ । (पृष्ठ १५५)
राजा वीरन्द्रको वंशनाशपछि शासनमा आएका ज्ञानेन्द्र राजकाजलाई व्यापार भन्न उहाँलाई कठिन थिएन । पञ्चायतकालमै राजाका भाइहरू व्यापारसँग जोडिएका अनेक पीडा उहाँले भोगिसक्नुभएको थियो । गणतन्त्रबिना लोकतन्त्र फस्टाउन सक्दैन भन्ने उहाँको गहिरो अनुभवले दिशा नर्देश गर्न थालिसकेको थियो । त्यसक्रममा राजा महेन्द्र र वीरेन्द्रको मातहतमा काम गर्दाको अनुभव यसरी लेखोट गर्नुभएको छ ः ‘‘पञ्चायतकालमा पनि ‘राजनीतिक’ व्यक्तिहरू महेन्द्रलाई त्यति रुचिकर हुन्थेन । उनी आफ्ना प्रजा राजनीतिक नेता भएको हेर्न सक्दैनथे । पछि राजा वीरेन्द्रको सोच र अभ्यास पनि त्यस्तै रह्यो ।’’ यो अनुभवले डा. पाण्डेलाई माओवादीलाई लोकतन्त्रको मूलधारमा र सात दललाई गणतन्त्रमा लैजाने यत्नमा अगाडि बढायो । पटक पटकका दिल्ली भेटघाट, जेनेभा बैठक लगायतले शान्तिका लागि अभियानमा सक्रिय गरायो तर राजनीति गर्ने मानिसको भर हुन्थेन । राजा ज्ञानेन्द्र माओवादीसित वार्ता गरेर सात दललाई कुल्चेर हिँड्ने यत्नमा थिए । त्यसै मेसोमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको बेला वार्ताको नौटङ्की रचिएको थियो । त्यो वार्तामा डा. बाबुराम भट्टराई लगायतको टोली आएको थियो । राजाको सरकारसित माओवादीको वार्ताटोली तत्कालीन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयो । सरकारले माओवादी वार्ता टोलीलाई भव्य स्वागत गरेको थियो । त्यसक्रममा भएको घटनालाई उहाँको स्मृतिको पर्दा यसरी खुलेको छ ः
‘‘नयाँ बानेश्वरको त्यो घटनाको भोलिपल्ट बाबुराम, ‘‘बादल’’, देव गुरुङसहित पाँचै जनाको टोली मेरो घरमा आए । मैले स्वागत त गरेँ । तर झम्टी पनि हालेँ । ‘‘ वार्ता गर्नु एउटा कुरा हो, ‘‘सिन्दुरे जात्रा’’ अर्कै कुरा .... ।’’ ( पृष्ठ १६५) राजा ज्ञानेद्रको शासन र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको बेला उहाँले माओवादी वार्ताटोलीलाई झपार्नुको कारण थियो, दिल्लीका गल्ली गल्ली चाहारेर माओवादीको नौनाडी छाम्नु । शान्तिवार्ता नै भोलिको बाटो हो भन्नेमा उहाँ यकिन हुनुहुन्थ्यो । त्यसका लागि नागरिक समाजबाट प्रयास छँदैथियो । जनआन्दोलन –२ सफल भयो । मुलुक सङ्घीय गणतन्त्रतिर गयो । उहाँले परिकल्पना गरेको समावेशी लोकतन्त्रका मूल्य, मान्यता र आदर्श भने अझै पनि पाखामै छन् । गणतन्त्र स्थापनापछि राज्य पुनर्संरचनाका मूलभूत मुद्दा उठान गर्दा उहाँलाई माओवादीसम्मको फत्तुर लाग्यो तर पनि उहाँले लोकतन्त्रका आधारको वकालत बिसाउनुभएको छैन । आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा लोकतान्त्रिक तह र तप्कामा लोकतन्त्रको प्रत्याभूत उहाँको मर्म हो ।
जीवनका चार दशक राजाको नायकत्वको पञ्चायतको कर्मचारी भएर पनि पेन्सन पाकेन । बीस वर्ष पुग्न एक वर्ष अघि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको शब्दमा ‘उपद्रव’ गर्नुभयो । उहाँले असफल निजामती कर्मचारी ? भन्दै आफूले परिवर्तनको पाठ जीवनका चार दशकपछिमात्र बुझेको ठान्नुभएको छ । अहिले ८१ वसन्तमा पुग्नुभएका पाण्डेले पहिलो दुईबीस र पछिल्लो दुईबीसलाई जीवनका अलग अलग पात्रका रूपमा आफूलाई उभ्याउनुभएको छ । अघिल्लो जुनीको प्रारम्भकाल सम्झँदै ः म ब्राह्मण परिवारको व्रतबन्ध गरिसकेको छोरो । धोती नफेरी भात खान नमिल्ने, भारतमा कहाँ के खाने जात नफालीकन ? (पृष्ठ २०४) १४ वर्षको वयको त्यो भारत भ्रमणमा डा. बलराम जोशी र अङ्गुरबाबा जोशीसँगै केवल रोटीमात्र खाएको सम्झनुहुन्छ भारतभ्रमणभर । कारण धोतीकै थियो ।
त्यो जड समाजमा हुर्किएको र पूरै परिवार राजदरबार नजिक रहेको परिवार । समयसँगै उहाँलाई द्रोही बनायो । समयक्रमले उहाँलाई परिवर्तनको महासागरमा पु¥यायो । तर अहिले पनि सन्तुष्टि छैन । परिवर्तनसँगै नेताहरू काँचुली फेरेर परिवर्तनका मुद्दालाई बिर्सिएकोप्रति उहाँको रोष छ । राजनीतिक अधिकारसँगै आर्थिक तथा सामाजिक विकास, समानता, न्याय र समृद्ध राष्ट्र बन्ने दिशामा अग्रसर हुन अझै बाँकी कार्यभार यथावत् छ । पुस्तक सार बोल्ने यत्ति हो । ■