शनिवार |

यात्राको मार्गचित्र (कविता)

प्रह्लाद पोख्रेल

कस्तो आँधी चलेको हो देशमा निहितार्थको ?
पक्कै लेखिन्छ लेखिन्छ इतिहास यथार्थको
वर्तमान बनी स्तब्ध बस्ने हो कतिसम्म खै ?
मार्गचित्र बनोस् स्पष्ट पक्का भविष्यसम्मकै !

कार्यकर्ताहरूलाई पिछलग्गु बनाउँदै
लागी ‘आँ गर’ धन्दामा स्वार्थको गीत गाउँदै !
एकोहोरो चलेको छ किन आलापको स्वर ?
लेख्नैपर्नेछ यो दृश्य गरी सारा उजागर !

बढेको स्वार्थको बाढी रोकिन्छ कसरी भनी
जनता ब्यूँझिने बेला आउनेछ यहाँ पनि !
छाडेर गहिरो निद्रा जाग्नेछन् जनता जब
खुली रहस्यको पर्दा उज्यालो हुन्छ वास्तव !

उज्यालो गतिको यात्रा ऊध्र्वगामी बनाउन
विघ्न–बाधाहरूलाई सजिलै तह लाउन
जागोस् जाँगरको ऊर्जा सिर्जनात्मकता छरी
अनुभूतिहरूलाई बनाई काव्य–माधुरी !

काव्यको भावनाभित्र वाणी आराधना गरी
साधनाशील बन्ने हो यात्रा उत्प्रेरणा छरी
वाणीको प्रेरणा पाई यात्रा होस् सिर्जनात्मक
अनुभूतिहरू जागून् यात्रामा रचनात्मक !