शनिवार |

उपत्यकामा होली

प्रेममान डङ्गोल

उपत्यकामा हरेक वर्ष फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली खेलिन्छ । होली पर्व मनाउने क्रममा फागुन शुक्ल अष्टमीका दिन हनुमाढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा साइत पारेर तीनतले चीर ठड्याइन्छ । चीर ठड्याएपछि होली शुरु हुन्छ । चीरमा रङ्गीचङ्गी कपडाका टुक्राहरू झुण्ड्याइन्छ । यो बेला गुरुजुको पल्टनद्वारा तोप पड्काएर हर्षबढाइँ गरिन्छ । अबिर छर्केर होली सुरु भएको जनाउ दिइन्छ । अनि पचिमा बाजा बजाई महादेवको स्तुति पनि गरिन्छ । चीर ठड्याउने काम काठमाडौँको धालासिक्व टोलका साल्मीहरुले गर्छन् । यसको एउटा छुट्टै गुठी नै छ । हनुमानढोका दरबारभित्रको मोहनकाली र दाख चोकमा पनि रङ्गीचङ्गी कपडा झुण्ड्याइन्छ । मयल रुखको हाँगा गाडेर पूजा गरिन्छ । मोहनकाली चोकमा हातमा मुरली लिइरहेका कृष्णको काठको मूर्ति र नौवटा विभिन्न मुद्रामा रहेका अर्धनग्न गोपिनीहरूको मूर्तिमा अबिर छर्केर पूजा गरिन्छ । पूर्णिमाका दिन बेलुका चीर ढालेर वसन्तपुरदेखि टुँडिखेलसम्म तानेर लगी चीरदहन गरिन्छ ।
चीरदहन गरिसकेपछि एक मुरी चामलको भात र एउटा सिङ्गो राँगोको मासु पकाएर टुँडिखेलमा राक्षसलाई खुवाउन लाने चलन पनि छ । काठमाडौँका बच्चाहरुलाई गुरुमापाले चोरेर खान्थे । यो कुरो बच्चाका आमाबाबुले इतुंबहालका केशचन्द्रलाई भने । केशचन्द्रको आदेश बमोजिम गुरुमापालाई समातेर ल्याइयो । गुरुमापालाई बच्चाहरुको रक्षा गर्नुपर्ने र टुँडिखेलमै बस्नुपर्ने कबुल गराइयो । यसको बदलामा गुरुमापालाई वर्षमा एक पटक होली पूर्णिमाका दिन एक मुरी चामलको भात, एउटा राँगोको मासु, जाँड, रक्सी र चौरासी व्यञ्जन खुवाउनुपर्ने भयो । यो चलन हालसम्म चलिरहेको छ । गुरुमापालाई खुवाउन लाने भात, मासु, जाँड, रक्सी र चौरासी व्यञ्जन बोकेर जाँदा जतिसुकै गह्रौँ भए पनि कतै बिसाउनु हुँदैन । यसरी लाँदा ‘झ्यासी नासी झ्यासी नासी’ बोल आउने गरी बाजा बजाउँदै लाने गरिन्छ । यसको पनि एउटा गुठी छ । गुठियारहरु सबै टुँडिखेलमा गएर गुरुमापालाई भात चढाइसकेपछि त्यहीँ भोज खाएर फर्की आउँछन् ।
यसैगरी होली पूर्णिमाका दिन राधा र कृष्णले होली खेलेको स्मरण गर्दै भक्तपुरस्थित चाँगुनारायणमा वंशगोपालको खटजात्रा तान्त्रिक विधिपूर्वक पूजापाठ गरेर राधा, कृष्ण, रुक्मिणीका राम्रा मूर्तिसहित नगर परिक्रमा गराई मनाइन्छ ।
काठमाडौँ उपत्यकामा मनाइँदै आएको होलीको सन्दर्भमा विभिन्न भनाइ छन् । यस्तै भनाइमा ठमेलमा सिंहसार्थबाहु नाम गरेका एक व्यापारी थिए । उनी सात सय जना व्यापारीसहित ल्हासामा व्यापार गरेर फर्कंदै थिए । उनीहरूलाई ब्रह्मपुत्र नदीनेर आइपुग्दा सुन्दरी युवतीका भेषका राक्षसनीहरुले आफ्नो जालमा पारे । ती सुन्दरी भेषधारी राक्षसनीहरूले सबैलाई आफ्ना आहारा बनाए । तर सिंहसार्र्थबाहु बाँचेर आउन सफल भए । यसैको खुशियालीमा वसन्तपुरमा चीर ठड्याएर आठ दिनसम्म सिन्दूर जात्रा गरी होली पर्व मनाइएको भनिन्छ । यिनै सिंहसार्थबाहुको प्रतीकको रूपमा चकंद्यः बनाएर जात्रा गर्ने चलन हालसम्म चलेको छ । ठूलो आकारको ढलौटको मूर्तिलाई रङ्गीचङ्गी पारेर चकंद्यः बनाइन्छ । बाजा बजाउँदै यो मूर्तिलाई नगर परिक्रमा गराइन्छ । ठमेलदेखि वसन्तपुर लगायत विभिन्न स्थानमा पु¥याई जात्रा गरिन्छ । यसैलाई चकंद्यः जात्रा भनिन्छ ।
होलीमा नेवार जातिले गाउने लोकगीत यस्तो छ– ‘होलीया मेला मय्जु मसिउ ला अबीर भचासां छ्यनय् तयाः हुँ । अबीरया होली तं चाया ला ल्यासे अबीर भचा तयेका बिसिउँ वनाः ला’ अर्थात् होलीको मेला मैयाँ थाहा छैन र ! अबिर अलिकता भए पनि शिरमा लगाइ जाऊ । अबिरको होली रिसायौ कि तरुनी अबिर अलिकता राखिदिँदा भागी गयौ कि । यसरी गीत गाउँदै होलीको मेला मनाउने क्रममा युवकयुवतीबीच प्रेम हुने गर्छ । यो नेवार संस्कारकै रूपमा थियो । पहिला पहिला होलीको मेलामा युवकले आफूले मन पराएकी युवतीलाई प्रेम प्रस्ताव राख्थ्यो । उपत्यकाका नेवार युवकयुवतीले विभिन्न चाडपर्व र जात्राहरूमा प्रेम गर्दथे । अहिले जस्तो आफूले मनपर्ने ठाउँमा युवकयुवती भेट्ने मौका मिल्दैनथ्यो । त्यसैले चाडवाडको बेलामा पूजा गर्न जाने युवती र देवता दर्शन गर्न जाने युवकबीच प्रेम पर्दथ्यो । त्यस्तै जात्रा हेर्न जाने युवकयुवतीको बीचमा पनि प्रेम प्रस्तावको आदानप्रदान हुन्थ्यो । होली पर्वको अवसरमा त झन् विशेष रूपले युवकयुवतीले आफूले मनपराएकासँग अबिर लगाइदिएर प्रेम प्रदर्शन गर्थे ।