नेउरीघाटकी दिदी
मोहनप्रकाश
दिनभरिजस्तो जङ्गलमा हराएको तनावले मन–मस्तिष्क गह्रुङ्गो भएको थियो । दोबाटोमा कोही बटुवा भेटिएलान् कि भनेर करिब एक घण्टा कुरेर बस्दा पनि नभेटिएपछि मैले आन्दाजकै भरमा बाटो समाउनु प¥यो । यसकै परिणाम घण्टौँ जङ्गलमा भौँतारिनु परेको थियो । रात छपक्क पर्न लाग्दा धन्न एउटा खोल्सोतिर घाँस काट्दै गरेका दुई बालिका फेला परे । तिनकै सहाराले म नेउरीघाट पुगेँ । होटलकी दिदीलाई रोटी पाकेपछि मलाई बोलाउनु होला भनेर म सुत्न गएँ । करिब एक घण्टा झकाएँ होला । अचानक होटलकी दिदीको आवाजले म ब्युँझिएँ, ‘दाजु रोटा खान आऊ ।’
मोबाइल बालेर म काठको सिँढीबाट खत्रक्–खत्रक् तल झरेँ । दिदी रोटी पोल्दै थिइन् । बेलुकाको करिब ९ बजेको हँुदो हो, दिदीले आफ्ना तीन छोरीहरूलाई खुवाएर सुत्न पठाइसकेकी रहेछिन् । घर लगभग सुनसान भइसकेको थियो ।
दिदीले तात्तातो सुख्खारोटी भुङ्राबाट निकाल्दै थालमा राखी दिइन् । साथमा दाल, रायोको साग र आलुको तरकारी थियो । म रोटी खान थालेँ । दिदी आफ्नै घरधन्दामा व्यस्त थिइन् । म सुरुमा आउनेबित्तिकै अँगेनामा केही समय बस्दै गर्दा दिदीसँग सामान्य भलाकुसारी भएको थियो । ‘‘बाले भाइलाई लगेर खलङ्गामा बस्या छन्’’ भनेर दिदीकै जेठी छोरीले सुनाएकी पनि थिई । उसका बाले अर्की आमा (सौता) ल्याएका रहेछन् । तर दिदीसँग भने मैले यसबारे सोधिखोजी गर्न कुनै आवश्यक ठानिनँ र अन्य कुराकानीमै संवाद गर्दै दिदीभाइले सँगै रोटी खायौँ ।
‘‘दिदी यो पसल र होटेलका लागि समानचाहिँ कहाँबाट ल्याउनु हुन्छ नि ?”
‘‘खलङ्गाबाट ल्याउँदा छौँ दाजु ।’’ दिदी हरेक संवादमा मलाई दाजुले सम्बोधन गर्थिन् ।
‘‘अनि कसले ल्याइदिन्छ त ?’’
‘‘म आफैँ जाम्छु । अनि खच्चरमा ल्याउँदा छौँ दाजु ।’’
रोटी खाउन्जेल लगभग यस्तै संवादमा हाम्रो कुराकानी सकिएको थियो । खानपिनमा दिदी मेरो खुब ख्याल गरिरहेकी हुन्थिन् ।
‘‘दाजु, रोटा मीठा भया कि भयानन् ?’’
‘‘नेका रोटा काला हुन्छन्, तुमिकन मन परेनन् होला दाजु ?’’
‘‘दाजु, सागमा नुन लागिया छ कि नाईं ?’’
दिदीका यस्ता प्रश्नहरू रोटी खाउञ्जेल मैले सामना गरिरहेँ । तर तिनका भावको निश्चलता म शब्दमा कोर्नै सक्तिनँ । ‘‘सबै मीठो छ,” भन्दै खाइसकेर म पुनः माथि उक्लेँ, र सिरकभित्र पसेँ । शारीरिक र मानसिक थकानले हो कि बेचैनीले हो ओछ्यानमा ढले पनि निद्रा लाग्ने छाँटकाँट नै थिएन ।
कोठामा पसेको करिब एक घण्टापछि तल होटेलको ढोका बन्द गरेको आवाज सुनियो । ती दिदी काठको भ¥याङ उक्लिँदै माथि चढेको आवाज सुनियो । मैले घडी हेरेँ साढे दस भएको रहेछ । दिदीको घर–धन्दा बल्ल सकिएको थियो ।
अचानकको ढोका ढक्–ढक्को आवाजले म ब्युँझिएँ । ढोकामा चुकुल नभएकोले मेरो कोठाको ढोका पनि खुलै थियो । कोही त्यहाँ बोल्दै थियो । म भने सिरकले कान थुनेर अर्कोतिर फर्केर सुतेँ । फेरि केही क्षणमै मेरै ढोका खोल्दै मतिर कसैले टर्चलाइट सोझ्यायो, र बोल्यो, ‘‘ए ने रछ” (ए यहाँ रै’छ ) । तन्द्रामै मेरो आवाज फुत्कियो ‘‘को हो ?’’ त्यहाँ एउटा लोग्ने मान्छे र अर्की एक स्वस्नीमान्छे गाइँगुइँ गर्दै गरेको सुनिन्थ्यो । दिदीलाई भेट्न आएका रहेछन् । घडीले बिहानको ४ बजाएको रहेछ । म पुनः झपक्क निदाएछु । बिहान घडी हेर्दा त ७ बजिसकेको रहेछ । हतार–हतार उठ्दै हिँड्ने तरखर गर्न थालेँ । चैतको महिना भए पनि रातिदेखि नै लगातार पानी परिरहेकै थियो । हिजो पनि म करिब दिनभरि पानीमै भिझेर हिँडेको थिएँ । डाँफे लेकको बाटोमा करिब दुई घण्टा हिमपात झेल्नु परेको थियो ।
डाँफे लेक चड्दै गर्दा मेरो मोबाइलबाट टावर गायब भएको थियो । उक्त लेक काटेपछि पाँच÷सात घर भएको खाली भन्ने सानो बस्ती भेटियो । हिमपातका कारण दुवै हात चिसिएर चल्नै छाडेका थिए । खाली पूरै हिउँतन्नाले छोपिएको थियो । डाँफे लेकको हिउँमा एक दुई ठाउँ चिप्लिएर झण्डै सिलटिम्मुर खानु परेको थियो । चिया पिउने विचारले जुन घरमा छिरेको थिएँ त्यहाँ त १०÷१२ जना गाउँले जम्मा भएर मस्तीले मासुभात खाइरहेका रहेछन् । भर्खर च्याङ्ग्रा काटेर मासुका भागहरू थुपारिएका थिए । त्यहाँ एक किसिमको हर्षोल्लास छाएको दिखिन्थ्यो । त्यहाँ पुग्दा पोे चट्याङले टेलिफोन टावर नै उडेको कुरा बुझियो । टेलिफोन टावर सञ्चालनमा आउन हप्ता दिनसम्म लाग्ने कुरा तिनले सुनाए । घरमा सम्पर्क गर्न नपाउने तनाव पनि ममा थपिएको थियो ।
खालीबाट केही तल पुग्दा जुत्ता भासिने हिलोमा हिँड्नु ठूलै युद्ध जित्नु बराबर भयो । ओरालो बाटो त्यसमा पनि चिप्लो बाटो । त्यसपछि बाटो बिराएर जङ्गलमा भौँतारिनु ।
नेउरीघाटबाट हिँड्ने बेलामा म पुनः रोटी र चिया खाँदै थिएँ । दिदीले, ‘‘दाजु सुख्खारोटा खायौ हिँड्न सकौला’’ भन्दै रोटीमा स्थानीय मह हालिदिइन् । म पुनः उनको व्यवहारले भावविह्वल भएँ । हिँड्ने बेलामा छोरीहरू त्यहाँ देखिएनन् । म भने दिदीसँग बिदा माग्दै रेनकोट ओडेर बाटो लागेको थिएँ ।
म ठाउँ–ठाउँमा बाटो सोद्धै करिब दुई घण्टा हिँडेर जुम्लाकै अर्को स्थान चौथा पुगेँ । पानी परिरहेकै थियो । जिउ तताउने विचारले म चौथास्थित एउटा होटलमा चिया पिउन पसेँ । नेउरीघाटदेखि चौथासम्म बाटोमा भेटेसम्मकालाई सोद्धा आफ्नो थर भण्डारी नै बताएका थिए । चौथाको उक्त होटल पनि क्षेत्री भण्डारीकै रहेछ । त्यहाँ प्रायः सबैजसो भण्डारी थरकै मानिस भएको कुरा पनि होटेल साहुले बताए र मलाई बडो सम्मानका साथ त्यहाँ बसुन्जेल अँगेनामा आलु पोल्दै पनि खुवाए ।
तीन छोरा सबै काठमाडौँमा रहेको र आफू पनि छोराहरूसँग तीन महिना सीतापाइलामा गएर छोराहरूसँगै बसेको कुरा समेत उनले बताए । तर त्यहाँ एउटा अनौठो र चकित पार्ने खालको कुराले म अत्यन्त प्रभावित हुन पुगेँ । त्यो कुरा के थियो भने ती भण्डारी बूढाकी श्रीमती काव्यात्मक संवाद बोल्थिन् । स्थानीय स्वास्थ्य स्वयंसेवीका समेत रहेकी ती आमैको गफ गर्ने शैली देखेर म साँच्चै चकित परेको थिएँ ।
सर, तुमी बेटाइममा आयौ
साउनमा आया भया त
हरिया खिल्खिलाउँदा छुन्
आरिपारी फूलपूmलिया हँुदा छुन्
वुनमा चल्ला गुन्गुनाउँदै उड्डा छिया
मौरी भुन्भुनाउँदा छुन्
ती सबको फुटो रिया भया
घर जहान हेर्ने छिया
जुम्ला यस्तो रछ भुनी थापाउँदावन् ....।
आमैको जस्ताको तस्तै बोली त मैले टिप्न सकिनँ । तर यस्तै भावका अनगिन्ती वाक्यहरू बोलिन् उनले । ती आमैका शब्द र भावहरू कुनै सिद्धहस्त कविका कविताभन्दा फरक लाग्दैनथे । ती आमै जब बोल्थिन् म उनका बोलीमा एकोहोरिन्थेँ । बोल्दा उनको नाकमा हल्लिरहेको बुलाकीले अर्को आकर्षण थपेको थियो ।
मानिसलाई शब्दहरू भाषाले दिँदा रहेछन् । तर भाव र बोल्ने कला या शैली सायद प्रकृति र भोगाइले दिँदो हो । कत्ति छलकपट रहित, स्वच्छ र पवित्र भावहरू पोखिएका थिए ती आमैका मुखारविन्दबाट । मलाई ती आमै वास्तवमै प्रकृतिकी कविझैँ लाग्यो । उनका प्रत्येक वाक्यमा कवित्व भाव झल्कन्थ्यो । सायद भ्रमण प्रियहरूलाई तानिरहने अनगिन्ति विषयहरू मध्ये यी दूरदराजका यस्ता मानवीय भावना र व्यवहारहरू पनि हुन् । सहरिया छलकपट र कोलाहालले भरिएका कानलाई यस्ता पवित्र कवितात्मक वार्तालापले यायावरहरूलाई सायद थेरापीको काम गर्दा हुन् । मैले पनि यस्तै महसुस गरेँ ।