कथाकार मैनाली र कथादिवस
डिल्लीराम मिश्र
विक्रम संवत् १९९२ मा गुरूप्रसाद मैनालीको ‘नासो’ कथा ‘शारदा’ पत्रिकामा प्रकाशित भयो । यो कथा प्रकाशित भए पछि मैनालीको कथायात्रा प्रारम्भ भएको हो । उनको थोरै मात्र कथा छन् । तर ती कथा सबै उत्कृष्ट छन् । कथा सिर्जना गर्दा आदर्शवादलाई नाश हुन दिनुहुन्न भन्ने मान्यता मैनालीमा पाइन्छ । साहित्यको मूल उद्देश्य विसङ्गति र विकृतिलाई सुधार गर्नु हो । त्यसमा आदर्शवाद पनि हुनुपर्छ । नत्र साहित्य निरर्थक बन्न पुग्छ । तर रोचकहीन कोरा आदर्श पक्षलाई आजका बौद्धिक पाठक वर्गले सहजरूपमा मन पराउँदैनन् भन्ने तथ्यलाई पनि कथाकार मैनालीले राम्रैसँग पहिल्याएका छन् । नेपाली ग्रामीण परिवेशको चित्रण गर्दा मैनालीका अधिकांश कथाहरू शोक, विरह, छट्पटी र पीडाको प्रतीकका रूपमा उभिएका छन् । फेरि मानवीय जीवनका यावत्पक्षलाई कलापूर्ण तरिकाले प्रस्तुत गर्न पनि मैनाली सिद्धहस्त छन् ।
कथाकार मैनालीको जन्म विक्रम संवत् १९५७, भदौमा काभ्रेको कानपुर गाउँमा भएको थियो । तर मैनालीको जन्मथलोबारे विवाद कायमै छ । केहीले उनको जन्म धादिङ भनेका छन् भने केहीले धनकुटासम्म पु¥याएका छन् । तर आजसम्म उपलब्ध विभिन्न प्रमाणले कानपुर नै आधिकारिक जन्मथलो हो भन्न सकिन्छ । कानपुरबाट बसाइँ सर्ने क्रममा मैनालीले नुवाकोटको कविलास भन्ने गाउँमा पनि स्थायी बसोवास गरेका थिए । निजामती सेवाका क्रममा अनेक अड्डाहरूमा बिताएका मैनालीले अवकाशपछिको बुढ्यौली जीवन भने चितवनस्थित खैरहनीको मझुई गाउँमा बिताएका थिए । तर उनको निधन २०२८ साल जेठ ५ गते ७१ वर्षको उमेरमा काठमाडौँमा भएको थियो । १९९५ सालसम्म मैनालीका कथाहरू फाट्टफुट्टरूपमा ‘शारदा’मै प्रकाशित भए । नेपाली साहित्यमा‘ शारदा’को प्रकाशन साहित्य र भाषाको उन्नतिमा महŒवपूर्ण खुट्किलो भएर रहेको छ । १९९१ सालमा शारदाको प्रकाशन प्रारम्भ भएको हो ।
मैनाली नेपाली साहित्यमा आधुनिक कथाका अगुवा र लोकप्रिय कथाकार हुन् । उनका समकालीन कथाकारहरूमा पुष्करशमशेर जबरा, बालकृष्ण सम, रूपनारायण सिंह, भीमनिधि तिवारी, भवानी भिक्षु र विश्वेश्वरप्रसाद कोइराला आदि प्रमुख छन्् । यी कथा शिल्पीहरूका अतिरिक्त नेपाली साहित्यमा असङ्ख्य कथाकारको उदय उनको समयमा भइसकेको थियो । तर आधुनिक कथाशिरोमणिका रूपमा उनलाई चिन्न सक्छौँ । उनको एउटै मात्र पुस्तकाकार कृति छ । त्यसमा एघारवटा कथा छन् । यो कृति ‘नासो’ हो । २०२० सालमा डा. तारानाथ शर्माद्वारा सम्पादित भएर प्रकाशित भएको हो । एघार कथाको सङ्ग्रह नासोमा सामाजिक जनजीवनका घटनालाई जस्ताको तस्तै उतारिएको छ । यो कथासङ्ग्रह आजसम्म आइपुग्दा धेरै संस्करण निस्किसकेको छ । कथाहरू २००७ साल पूर्व र पश्चात्को परिवेशमा लेखिएको हुँदा तत्कालीन समय र समाजको प्रतिविम्ब यसमा छ । झर्रो नेपाली भाषाको कलात्मक प्रयोगले कथालाई अझ सुन्दर बनाएको छ । एघारवटा कथाहरूमध्ये नासो कथा नै कथासङग्रहको नाम रहेको छ । सङ्ग्रहका अन्य कथा परालको आगो, बिदा, शहीद, छिमेकी, प्रायश्चित्त, पापको परिणाम, अभागी, कर्तव्य, प्रत्यागमन र चित्ताको ज्वाला हुन् ।
मैनालीले एघारवटा मात्र कथा लेखे पनि उनका कथाहरूले नेपाली ग्रामीण जनजीवनको कारुणिक र मार्मिक पक्षलाई सुन्दर किसिमले अभिव्यक्त गरेका छन् । शैलीमा नेपालीपन, भावनामा गाउँले सजिलोपन, विचारमा सुधारको लक्ष्य र चित्रणमा रमाइलो कलात्मकता मैनालीका कथाका विशेषता हुन् । लेखनीमा सूक्तिमयता, यथार्थमूलक, आदर्शको प्रतिपादन, सरलता, सरसता र रोचकता उनका कथाका मुख्य वैशिष्ट्य हुन् । जीवनको लामो कालखण्डमा मैनालीले निजामती सेवा अन्तर्गत न्याय विभागमा न्यायाशीधसम्म भएर काम गर्दा आपूmले देखे भोगेका घटनालाई आधुनिक कथाशिल्पमा असाधारण शैली र रूपमा प्रस्तुत गर्न सक्नु उनको प्रतिभाको द्योतक हो । समाज र साहित्य एक अर्काका परिपूरक हुन् भन्ने तथ्यलाई कथाकार मैनालीले साह्रै राम्रोसँग बुझेका छन् । त्यसैले समाजविना साहित्य जीवन्त रहन सक्दैन भने साहित्यविनाको समाजको पनि अर्थ रहँदैन । हृदयहीनता, घृणाबाट उत्पन्न हुने झै–झगडा, सौताको रिसबाट हुने पीडाबोध तथा दरिद्र र शोषणबाट हुने वेदनाहरू नै उनका कथामा झल्कने प्रमुख विषयवस्तु हुन् । नासो कथासङ्ग्रहमा समाविष्ट एघार कथामध्ये नासो कथा अति उत्कृष्ट छ । जुन घरमा प्रशस्त धन सम्पत्ति, नोकरचाकर र सुखसयल आदिको चरम सम्पन्नता भएर पनि सन्तान नहुँदाको पीडाले सुभद्राजस्ती गृहलक्ष्मीले पति देवीरमणलाई दोस्रो विवाह गरी सौता भित्र्याउन अनुमति दिन्छिन् । पछि त्यही सौताको अभद्र व्यवहार खप्न नसकी अपार सम्पत्ति र घरसमेत त्यागी मध्यरातमा एउटा सानो कपडाको पोको च्यापेर गौरीघाटमा शरण लिन पुग्छिन् उनै सुभद्रा, कस्तो विडम्बना ? यसरी एक नारीको वेदनालाई कथाकार मैनालीले अति घतलाग्दो पारामा यस कथामा प्रस्तुत गरेका छन् ।
परालको आगो कथामा चामे र गौँथली लोग्नेस्वास्नीको झगडालाई परालको आगोको संज्ञा दिएका छन् । विषयवस्तुको प्रतिपादन र शैलीको चमत्कारी संयोजन यी दुवैमा परालको आगो मैनालीको सर्वश्रेष्ठ कथा हो । लोग्ने र स्वास्नीबीचको झगडा वास्तवमै परालको आगोजस्तै क्षणिक र अस्थायी हुन्छ । घरायसी रूपमै साधारण शिक्षा आर्जन गरेका कथासर्जक मैनालीले हिन्दी कथाहरूको गहन अध्ययनबाट प्रभावित भएर नेपाली समाजका कथा लेखेका हुन् । तर हिन्दी कथासाहित्य पनि पाश्चात्य साहित्यबाट प्रभावित छ । त्यसैले नेपाली साहित्यमा महाकवि देवकोटाको मुनामदन, माधव घिमिरेको गौरी र लीलबहादुर क्षेत्रीको बसाइँको जुन स्थान छ, गुरुप्रसाद मैनालीका कथाको पनि त्यही स्थान छ ।
कथाशिरोमणिका रूपमा रहेका मैनालीको सम्झनामा ‘मैनाली कथा पुरस्कार’को स्थापना गरिएको छ । यो पुरस्कार स्थापना गर्ने क्रममा साहित्यिक पत्रकार सङ्घका तत्कालीन सभापति अच्युतरमण अधिकारीको महŒवपूर्ण योगदान छ । २०३८ सालमा एक हजार रुपियाँ र कदरपत्रसहित प्रदान गर्न सुरु गरिएको मैनाली कथा पुरस्कार राशिमा पटक पटक वृद्धि भई आज ५१ हजार रुपियाँ पुगेको छ । आजसम्म यस पुरस्कारबाट ३६ जना कथाकारहरू पुरस्कृत भइसकेका छन् । जसमा पाँचजना महिला कथाकार छन् । पुरस्कारको धनराशि मैनालीका छोराहरूबाट प्रत्येक वर्ष साहित्यिक पत्रकार सङ्घलाई उपलब्ध हुँदै आएको छ । प्रत्येक वर्ष कथादिवस चैत १९ मा एक विशेष समारोहबीच यो पुरस्कार प्रदान गरिँदै आएको छ । कथा जगत्का अग्रणी प्रतिभा गुरुप्रसाद मैनालीको पुण्यस्मृतिमा साहित्यिक पत्रकार सङ्घद्वारा २०३८ चैत १२ देखि १९ गतेसम्म पहिलो पटक राजधानीमा सप्ताहव्यापी कथादिवस पनि मनाइयो । यही बेलादेखि प्रत्येक वर्ष चैत १९ गतेलाई कथादिवसको रूपमा मनाइन्छ । यसवर्ष मनाइने कथादिवस ४०औँ शृङ्खला हो ।