मुस्कुराएर आऊ ! (कविता)
बद्रीप्रसाद दाहाल
आँखा हेर्दा कमलसरिका ज्योति छर्दै फुलेका ।
भाका खास, मधुर मुरली सर्सराई खुलेका ।।
फक्रेका छन् तनभर अहा चैतवैशाख चारु ।
होली छर्दै कमल नयनी मुस्कुराएर आऊ ।।
वासन्तीमा तरुलहरका पत्रले बात मार्छन् ।
झर्ना बज्छन् सरगम बनी दिव्य संगीत हार्छन् ।।
नाच्दै डुल्छन् भ्रमर कुसुमै कोइली गान पाई ।
लाली चम्पा प्रमुदित बने स्निग्ध वैशाख छाई ।।
बोकी चीसो हिम पवनले, बाँड्दछन् रे सुगन्ध ।
रङ्गी होली तनमन भरी पोख्न थालिन् वसन्त ।।
लाम्चा काला नयन डिलमा हाँस्न पाऊँ रमाई ।
सारङ्गीका मधुर धुनम, नाचिद्यौ मुस्कुराई ।।
फाल्द्यौ तृष्णा उभय मुटुका न्याउली भन्न थाले ।
रङ्गीचङ्गी, नव रङ अहा ! पुष्पमा झुल्न थाले ।।
सम्मोही छन् गजल कविता प्रेयसी गुन्गुनाऊ ।
वीणा बन्दै मधुर लयमा मुस्कुराएर आऊ ।।