शनिवार |

रङका रङबिरङ

जीवनाथ धमला

रङहरू अनेक थरीका छन् । जन्मने बित्तिकै रङसँग मानिसको सम्पर्क हुनथाल्छ । अलि चेतनशील भएपछि उसले रङ चिन्न थाल्छ । रङसँग परिचय भएपछि मानिसको रुचि वा छनोट गर्ने विचार र बुद्धिको पनि विकास हुँदै जान्छ । रङका शब्दकोशीय शब्दार्थहरू अनेक पाइन्छन् । कुनै पनि वस्तुमा रहने तथा आँखाले हेरेर चाल पाइने सेतो, रातो, कालो आदि वर्ण, रङ्गाउने पदार्थ, तासको तुरुप, मादक पदार्थ, छाँटकाँट, प्रभाव, फुर्ती आदि अनेक शब्दार्थ शब्दकोश (२०४० ने.रा.प्र.प्र.) मा पाइन्छन् । रङ शब्दको उच्चारणका रूपमा ‘रङ्ग’ वा ‘रंग’ पनि प्रयोग भएको पाइन्छ ।
‘रङ’ भन्नेबित्तिकै सिधा एउटा प्रश्न उब्जिन्छ, कस्तो रङ ? यसमा कालो, रातो, सेतो, नीलो आदि भनेर सहज ढङ्गमा उत्तर दिइन्छ । तर रङ भनेको के हो ? भन्ने प्रश्न भने प्रायः सोधिँदैन किनभने यो मानिस चेतनशील हुन थालेपछि नै देखेर जानिने वा अनुभव गरिने विषय हो । रङ के होला त ? प्रश्न अर्थहीन जस्तो पनि लाग्न सक्छ । अथवा यस्तो खालको जिज्ञासाको आवश्यकता नै नपर्ने जस्तो ठानिन्छ । यसै अर्थहीन जस्तो प्रतीत हुने रङ भनेको के हो त ? भन्ने प्रश्नमाथि केही शाब्दिक विचरण गर्ने प्रयत्न यस आलेखमा गरिएको छ ।
रङ भनेको परिचय वा चिनारीको पहिलो माध्यम हो । जोसुकैले पनि एक अर्कोलाई चिन्ने पहिलो दृष्टिगत आधार रङ नै हो । परिचय नखोज्ने प्राणी यस जगत्मा शायदै पाइएला । परिचयको बोध गर्नका लागि रङ प्रतीकका रूपमा रहन्छ । कुनै पनि रङ सहितको आकार, ढाँचा, उपस्थिति आदिले त्यसलाई चिनिन्छ वा चिन्ने प्रयत्न गरिन्छ ।
जातित्वकै परिचयको मूल आधारका रूपमा लिइँदै आएको कालो वा गोरो रङको विभेदकारी अनुभूतिद्वारा मानिस अझै राम्ररी सङ्लिन सकेको छैन । रङले मानव समाजलाई विभक्त गर्दै आएको पीडादायी र त्रासदीपूर्ण इतिहास छ । मूलतः कालो रङप्रतिको नकारात्मक चेतनाले मानव सभ्यताको दीर्घ यात्रामा कलङ्कको दाग लगाइरह्यो । मनुष्य जातिले आफ्नो जैविक एवं चेतनागत श्रेष्ठताको जतिसुकै बयान गरे पनि, वैश्विक सभ्यताको सर्वोच्च वाहकका हैसियतमा जतिसुकै शास्त्रहरूको रचना गरे पनि कालो र गोरो हुनुको लघुताभाष र उच्चताभाषका कारण एउटा महादेशभरिकै मानव समाजले हजाराँै वर्षसम्म दमित भइरहनुप¥यो, आँसु चुहाइरहनुप¥यो र पीडाका चोटहरू सहिरहनुप¥यो । मनुष्यता पीडित मात्र भएन, मनुष्य भएर जन्म लिनु पनि अभिश्रापित हुनु रहेछ भन्नेसम्मको सीमान्ततक उत्पीडानुभूति गरिरहनुप¥यो । यस्तो स्थिति मानसिकरूपमा मात्र रहेन, लाखाँैलाख अफ्रिकी काला समुदायले आफूमा आइलागेका चरम अमानुषिक यातनाका साथ मृत्युवरणको त्रासदी पनि भोगिरहनुप¥यो । यस्तो पशुतूल्य मानव दासत्वको दारुण कहानीलाई शताब्दीआँैसम्म स्विकार्नु परेको विगत यथार्थलाई विश्व मानव इतिहासले कदापि बिर्सने छैन । यस कलङ्कलाई मेट्न अब्राहम लिङ्कन, मार्टिन लुथर किङ्ग, नेल्सन मण्डेला, डेस्मण्ड टुटु लगायत कैयौँ महामनाहरूले प्रयास गरे । बीसौँ शताब्दीको आखिरीसम्ममा गोराहरूद्वारा शासित अफ्रिकी समुदायमा, अफ्रो—अमेरिकी समुदायमा अनि केही हदसम्म युरोपियन देशहरूमा पनि हुँदै आएको यस प्रकारको उत्पीडनमा निकै कमी आएको छ । तर पनि रङ्गभेदवादी सामाजिक भावना संसारभरि बाँकी नै छ । मानिसको मनबाट ‘काला’ प्रतिको नकारात्मक चेतना अन्त्य हुने सम्भावना टाढा नै छ । कालो रङप्रतिको मानव दृष्टिकोणको यो एउटा अमानवीय एवं तीतो यथार्थ हो ।
मनिसलाई विभाजन गर्ने कालो रङले मानव जगत्का अन्य धेरै सामाजिक, सांस्कृतिक, राजनीतिक आयामहरूलाई प्रभाव पार्दै आएको छ । कालो रङ विरोध वा असहमतिको प्रतीकका रूपमा शताब्दीआँैदेखि प्रयोग हुँदै आएको छ । नेपालमा कालो झण्डा वा कालो पट्टी देखाएर सरकारको वा सरकारले गरेका गलत कार्यहरूको विरोध गर्ने चलन २००७ सालतिरै शुरु भएको मानिन्छ । २०१७ साल पुसमा राजाले प्रजातान्त्रिक शासन व्यवस्थामाथि प्रतिबन्ध लगाएपछि सोही साल फागुन ७ गते काठमाडौँस्थित पद्मकन्या, त्रिचन्द्र कलेज आदि शिक्षण संस्थाका विद्यार्थीहरूले राजा महेन्द्रसामु विरोधस्वरूप कालो झण्डा प्रदर्शन गरे । पञ्चायती व्यवस्थाको सार्वजनिकरूपमा विरोध गर्ने क्रम त्यसै दिनदेखि सुरु भएको मानिन्छ ।
पञ्चायती व्यवस्थाविरुद्ध भएका अनेकाँै पटकका विद्यार्थी आन्दोलनका क्रममा पनि कालो झण्डा देखाइयो । २०४६ सालको जनआन्दोलनका क्रममा अनेकौँ वर्गीय एवं पेशागत सङ्घ संस्थाहरूले व्यवस्थाविरुद्ध कालो झण्डा देखाए, हातमा कालोपट्टी बाँधे । अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै स्रष्टाहरूद्वारा मुखमा कालोपट्टी बाँधियो । २०६२÷६३ सालको जनआन्दोलनका क्रममा पनि उसैगरी कालो झण्डा प्रदर्शन गरियो । नेपालमा मात्र होइन, संसारभरि नै सरकारले गरेका जनहित विरोधी निर्णयहरूका विरुद्धमा कालो झण्डा देखाइन्छ । संस्थागत निर्णयहरूका विरुद्धमा पनि सम्बद्ध कर्मचारी, मजदुर वा अन्य वर्गद्वारा प्रायः कालो झण्डाकै प्रदर्शन गरिन्छ ।
राजनीतिक परिस्थिति अत्यन्त जटिल भएको समयमा सरकारले कफ्र्यु लगाउँछ । यस्तो बेला परिस्थितिलाई नियन्त्रणमा लिन मुखमा कालो पोतिएका सशस्त्र सैनिकहरू परिचालन गरिन्छन् । कालो रङ त्रासदी सूचक पनि मानिन्छ ।
कालो रङलाई नकारात्मकता बोध हुने रङ मानिए पनि यसका सकारात्मक अर्थहरू पनि धेरै छन् । कालो रङ शुभकार्यका लागि प्रयोग हुँदै आएको पनि छ । कालो रङलाई सांस्कृतिक पहिचानका रूपमा अपनाउने समुदायहरू पनि छन् । कालो रङलाई सुन्दरताको प्रतिविम्ब पनि मानिन्छ । युवतीहरूका काला केशराशीका बारेमा संसारभरि नै असङ्ख्य गीत कविताहरू लेखिएका छन् । यौवनकालमा कालो केश सबैलाई प्रिय लाग्छ । कवि माधव घिमिरेले युवतीहरूका काला केशमा यौवनको क्षणिकता पनि अनुभूत गर्दै काव्यपङ्क्ति लेखेका छन्; “काला केश नबाट नै युवती हो फुस्किन्छ रे यौवन ।” महाकवि देवकोटा सिर्जनशीलताको प्रवाह कालो बादल वर्षिए झैँ वेगवान, अखण्डित र तीव्र प्रवाहशील हुने बताउँछन्, “जो आयो सब वर्षिई घनघटा कालो नीलोबाट यो ।” कृषकहरू कालो बादल लागेपछि रमाउँछन् । दशैँमा कालरात्रकिो पूजा हुन्छ । मनुष्यलाई चेतना, ज्ञान, भाषा, कलासंस्कृति एवं सभ्यताको मार्गमा डो¥याउने मूल आधार वा स्रोत भनेका काला अक्षर नै हुन् । यसरी कालो रङको महिमा शुभ, सकारात्मक अर्थमा पनि उत्तिकै छ । रङको अर्थ व्यक्तिद्वारा गरिने अनुभूतिको प्रकटीकरणमा महसुस हुन्छ ।
रातो रङ शुभ रङ हो । नेपालको प्राकृतिक सौन्दर्यलाई लाली गुराँसले अनुपम बनाएको छ । ‘रातो राम्रो गुलियो मीठो भनेर’ रातो रङलाई तारिफ गरिन्छ । रातो रङको सांस्कृतिक महŒवलाई मानव समुदायले उत्तिकै स्वीकार्दै, सम्मान गर्दै आएको छ । निधारमा रातो टीका साँच्चै नै सुहाउँछ । सनातन हिन्दु जगत्मा रातो रङबिना अधिकांश पूजा, अनुष्ठान, व्रत पूरा हुँदैनन् । सिन्दूर सौभाग्यको प्रतीक हो । प्राणी जगत्को जीवन रातो रगतबाट निर्मित छ, त्यसैले रातो रङलाई जीवनको प्रतीक मानिन्छ । कतिपय सांस्कृतिक विश्वास, परम्पराहरूमा रातो रङलाई वर्जित गरिए पनि यसको प्रयोग र उपादेयता अन्य रङभन्दा बढी नै रहँदै आएको छ । रातो रङ खतराको प्रतीकका रूपमा पनि प्रयोग हुन्छ । रातो रङले क्रान्तिको सङ्केत पनि गर्छ । यसलाई वीरता, स्वाभिमान, जागरण, उन्नति र आशावादतर्फ अग्रसर रहन प्रेरणादायी पनि मानिन्छ । त्यसैले कुनै न कुनै अर्थसहितको सङ्केतका रूपमा संसारभरिकै राष्ट्रिय झण्डाहरूमा रातो रङ प्रयोग भएको पाइन्छ । नेपालको राष्ट्रिय झण्डाको मूल रङ रातो नै छ । नेपाली राष्ट्रिय झण्डालाई वीरताको निशानका रूपमा अथ्र्याइएको छ । “रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउँदो रगतसरी यो बल्दो यो शान हाम्रो...” (गोपालप्रसाद रिमाल) । हाम्रो राष्ट्रगानमा पनि रातो रङमा निर्मित झण्डालाई वीरहरूद्वारा रगत बगाएर आर्जिएको यस राष्ट्रको स्वतन्त्रता, स्वाभिमान, इतिहास, वीरता, विजय एवं राष्ट्रिय एकता आदिका सर्वोच्च प्रतीकका रूपमा सम्मान गरिएको छ; “वीरहरूका रगतले स्वतन्त्र र अटल...” (व्याकुल माइला) । असङ्ख्य नेपाली स्रष्टा–साधकहरूले राष्ट्रिय झण्डाको महिमागान गर्दै आएका छन् । राजनीतिक सङ्गठनहरूका झण्डाहरूमा पनि रातो रङ अधिक प्रयोग हुने गरेको पाइन्छ । रातो रङले मानिसलाई सामान्यतः बढी आकर्षित गर्छ । रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ । ‘रेडक्रस’ ले अन्तर्राष्ट्रिय भाइचारा र मानवतावादलाई प्रवद्र्धन गर्दै आएको छ ।
यसैगरी सेतो रङलाई शान्तिको रङ मानिन्छ । सेतोको सांस्कृतिक महŒव पनि उत्तिकै छ । दशैँमा दही—अक्षताको टीका पनि लाइन्छ । तिहारको सप्तरङ्गी टीका लगाउँदा भाइहरूका निधारमा पहिले सेतो पीठोको टीका लगाएर अनिमात्र अरू रङका ससाना टीका त्यसमाथि लगाइने गरिन्छ । पश्चिमी जगत्मा महिलाहरूले रातोभन्दा सेतो पहिरन बढी रुचाएका देखिन्छन् । सेतो रङ सबैले रुचाउँछन् । सेतो पवित्रता, स्वच्छता वा शुद्धताको प्रतीक हो । सेतो झण्डालाई युद्धविरामका लागि साङ्केतिक अर्थमा प्रयोग गरिन्छ । नेपालमा विशिष्ट सांस्कृतिक वा अनुष्ठानादि कर्म गर्दा सेतो वस्त्र लगाउनुपर्ने परम्परा र विश्वास पनि छ । केही धार्मिक सम्प्रदायको पोशाक नै सेतो रहेको देखिन्छ । विशेषतः सनातन हिन्दु धर्मावलम्बीहरूले सेतो वस्त्रको विशिष्ट पारम्परिक रीतिलाई निरन्तरता दिँदै आएका छन् । सेतो हिमालले नेपालको प्राकृतिक गौरव बढाएको मात्र छैन, हिमालसँग नेपालीको भावनात्मक सम्बन्धलई अमिट बनाएको पनि छ । सेता झरना, छहराहरू हाम्रा सौन्दर्य हुन् । सेतो वस्त्र, गोरस, अन्न, हिमाल आदि सबै पवित्र, सुकिलो, शुद्ध, शुभ्र र सुन्दर मानिन्छन् । महाभारतको युद्ध मैदान– कुरुक्षेत्रमा श्रीकृष्णले अर्जुनका सारथिका रूपमा सेता घोडाहरूद्वारा रथ हाँकिएको वर्णन पाइन्छ । यसबाट पाण्डवहरू युद्ध नभएर शान्तिका पक्षमा थिए भन्ने पौराणिकताको बोध हुन्छ ।
नीलो रङलाई पनि शान्तिको रङ मानिन्छ । नीलो आकाश, नीलो समुद्र र नीला डाँडाकाँडाहरूको दृश्यमा एउटा सघन शान्ति, रहस्य र सुन्दरता लुकिरहेको अनुभव गर्न सकिन्छ । नेपाली राष्ट्रिय झण्डाको किनाराको रङले हाम्रो शान्तिप्रियतालाई सङ्केत गर्छ । नीलो रङमा भावनात्मक गाम्भीर्यको प्रभाव बढी अभिव्यक्त हुनसक्ने दृष्टिकोणले धेरै स्रष्टा वा कलाकारहरू आफ्ना सिर्जना वा क्यानभासमा यसको प्रयोग गर्न रुचाउँछन् । नीलो रङले नकारात्मकतालाई अङ्कुरित गराउँदैन भन्ने विश्वास गरिन्छ । नीलो रङमा प्राञ्जलता, कोमलता र सुमधुर साङ्गीतिकताको बढी अनुभूत गरिन्छ ।
प्रकृतिमा हरियो रङ सर्वाधिक विद्यमान छ । वनस्पति जगत् प्रायः हरियो रङमा सजिएको छ । हरियो रङ परिवर्तनशील रहन्छ । ऋतु अनुसार प्रकृतिको हरियो रङमा परिवर्तन आएको देख्न, अनुभव गर्न सकिन्छ । रुख बिरुवाहरू फरक ऋतुमा फरक रङका देखिन्छन् । हरिया डाँडाहरू टाढाबाट नीला देखिन्छन् । हरियोलाई प्रकृतिको प्रतीकका रूपमा पनि प्रयोग गरिन्छ ।
यस्तै, पहेँलो रङले सौम्यता, शान्त भावलाई जनाउँछ । भौतिक संसारभन्दा परको चिन्तनशीलता, आध्यात्मिकता, पारलौलिकता जस्ता अमूर्त दृष्टिकोणलाई पहेँलो रङले साङ्केतिक अर्थ प्रदान गर्छ । बौद्धमार्गीहरू पहेँलो वा पहेँलो मिश्रित रातो वस्त्र प्रयोग गर्छन् । यसलाई वैराग्यभावको रङ पनि भनिन्छ । साधुसन्तहरू प्रायः पहेँला वस्त्र लगाउँछन् । काम, क्रोध, लोभ, मोहबाट टाढा रहन पहेँलो वस्त्रले मानसिक हिसाबले प्रेरित गर्दछ भनिन्छ । पहेँलो रङलाई सजगताको प्रतीक पनि मानिन्छ । बिहानको पूर्वी क्षितिजको रङ पहेँलो देखिन्छ । पहेँलो टीका पवित्रताको सङ्केत हो । पहेँलो धातुलाई पनि पवित्र धातु मानिन्छ । मन्दिरलाई पहेँलो गजुरले सजाइन्छ । पितृकार्यमा सेतो र पहेँलो रङ बढी प्रयोग गरिन्छ ।
यी बाहेक सुन्तला, वैजनी, खैरो, गहुँगोरो आदि अनेक रङहरू छन् । रङहरू कति प्रकारका हुन्छन् भन्ने पनि निश्चित छैन । प्राकृतिक रूपमा सबै रङहरूको मूल स्रोत प्रकाशलाई मानिन्छ । हरेक रङको प्रयोग रुचि, आवश्यकता, परम्परा, संस्कृति आदिका आधारमा गरिन्छ । पूर्वीय संस्कृतिमा रङको पर्व फागु खेलिन्छ । यसमा पारस्परिक मित्रता र आत्मीय भाव अभिवृद्धिको कामना गरिन्छ । यसको पौराणिक एवं सांस्कृतिक महŒव छ । नेपालको सांस्कृतिक जनजीवन नै रङ्गीन छ, रङ्गीचङ्गी छ र यो विविधतायुक्त छ ।
वास्तवमा संसारै रङ्गीन छ । यसको प्रयोगबाट व्यक्ति, समाज र परिस्थितिको मूल्याङ्कन, आँकलन गरिन्छ । मानवजीवनका रङहरू र तिनले व्यक्त गर्ने अर्थहरू अनेक छन् । मान्छेको रङ भनेको उसको भावना हो । मान्छेको बाह्य वा आन्तरिक आभिव्यक्तिबाट उसको रङ, प्रवृत्ति र मनस्थिति छुट्याउन सकिन्छ ।
साङ्केतिक÷साहित्यिक अर्थमा रङले व्यक्तिभित्रको गुणवत्तालाई पनि प्रकट गर्दछ । बढी कुरा फेरिरहने मानिसलाई कस्तो छेपारो जस्तो स्वभाव भएको रहेछ भनिन्छ । बढी धुत्र्याइँ, कप्ट्याइँ वा अर्कालाई धोका दिएर आफ्नो मात्र भलो गर्न खोज्नेलाई मैलो वा कालो मन भएको भनिन्छ । मनको पवित्रता वा सेतो, सङ्लोपन सर्वत्र अपेक्षित रहन्छ । मानिसको रङ उसको स्वभाव, संस्कार, विचार र कर्मद्वारा निर्मित व्यक्तित्(वबाट अनुभूत गरिन्छ, गर्न सकिन्छ । भौतिक वा बाह्य रङलाई व्यक्तिले चिन्दछ, तर स्वयंको रङ भने उसले थाहा नपाउन पनि सक्छ । प्रत्येक मानिसले आफूलाई सेतो रङको हुँ भन्ने ठानिरहेको हुन्छ ।
मानिसको जीवन स्वयंमै अनेक रङहरूको रङ्गमञ्च हो । जीवनका रङहरू भनेका सुख, दुःख, आँसु, हाँसो, घाम, छायाँ आदि हुन् । कहिले खुसीको रङ अनुहारमा पोतिन्छ, मान्छे पुलकित बन्छ । कहिले दुःखको रङ पोखिन्छ, ऊ अश्रुपूरित बन्दछ । जीवन एक छ, यसका रङ, छन्द, ताल अनि सुरहरू भने अनेक छन् । विचार र अनुभूतिका रङहरूद्वारा मानिस रङ्गिएको छ । आफ्नो रङलाई ऊ बढी सुन्दर देख्दछ । अरूलाई आफ्नै रङतिर आकर्षित गर्न चाहन्छ मान्छे । आफूले मनपराएको रङ नै सर्वश्रेष्ठ हो भन्ने भ्रम पालेर हिँडेको छ मान्छे । तर जीवन र जगत रङहरूको विविधतामा नै झन् मनमोहक र सौन्दर्यमय बन्छ ।
रङ के रहेछ त ? यस सम्बन्धमा उल्लिखित विवरणबाट केही सङ्केत पाउन सकिन्छ । रङ भनेको मानिसको जैविक वा भौतिक स्वरूप छुट्याउने वा परिचय र पहिचानको माध्यम रहेछ । यो मानिसको सांस्कृतिक परम्परा र चलन आदिका अनेक पक्षहरूलाई प्रतिविम्वित गर्ने साङ्केतिक साधन रहेछ । रङ मानिस वा समाजको गुण, रुचि, चेतना, विश्वास, विचार आदिजस्ता अनेकौँ आन्तरिक वा भावनात्मक पक्षहरूको प्रकटीकरणको स्वरूप रहेछ । अनि रङ आँखाको दृश्य मात्र नभएर मानिसको चैतन्यको प्रतिविम्ब पनि रहेछ ।