शनिवार | खेलकुद |

खेलाडीको डर

प्रजित शाक्य

खेलाडीका लागि सबैभन्दा ठूलो डर हो– चोट । एउटा गम्भीर चोटले खेलाडीको खेलजीवनलाई नै बर्बाद पार्न सक्छ । उचाइमा पुग्न खेलाडीले वर्षौंदेखि श्रमसँगै अर्थ र समय लगानी गरेको हुन्छ । तर, खेलाडी सधैँ एउटा डरमा हुन्छ । त्यो हो, कतै कुनै चोटले आफ्नो सपना चकनाचुर हुने त होइन । फुटबलर प्रदीप महर्जन, रवीन श्रेष्ठ, विकास मल्ल, चेतन घिमिरे, जुमनू राईजस्ता खेलाडीले चोटकै कारण राष्ट्रिय फुटबल टिममा बसेर सेवा गर्न सक्नुभएन । यी त उदाहरणमात्र हुन् । चोटले आफ्नो चम्किलो खेलजीवनलाई तिलाञ्जली दिन बाध्य भएका खेलाडी धेरै छन् ।
खेलकुदमा फिटनेस एउटा ठूलो मुद्दा बनेको छ । यतिखेर पनि फुटबलका तीन हस्ती विमल घर्तीमगर, विक्रम लामा र सावित्रा भण्डारी (साम्बा) गम्भीर चोटका कारण फुटबलबाट बाहिरिनुभएको छ । महिला भलिबलकी प्रमुख खेलाडी प्रतिभा मालीले चोटकै कारण एक वर्ष घरमा बस्नुप¥यो । हालैमात्र कोर्टमा उहाँको पुनरागमन भयो । यी चार लोकप्रिय खेलाडीको चोटले नेपाली खेलकुद वृत्तमा ‘इन्जुरी’को चर्चा पुनः चलेको छ ।
खेलमा चोट यस्तो पक्ष हो, जसलाई नियन्त्रण गर्न सकिँदैन । यो खेलकै एक हिस्सा हो । तर, यस पक्षमा खेलाडीहरूले गम्भीर भएर ध्यान दिनैपर्छ । खेलाडीलाई यस्तो समस्याबाट जोगाउन राष्ट्रिय टिम र अन्य सरोकारवाला पक्ष पनि चिन्तनशील हुनुपर्छ । प्रायः सबै टिमले खेलाडीलाई यस्तो चोटबारे ज्ञान दिन र जोगाउन प्राविधिक टिममा एकजना ‘फिजियो’ राख्न आवश्यक छ  । अझ प्रशिक्षकले फिजियोसँग राम्रो तालमेल मिलाउन सकेमा मात्र खेलाडीको फिटनेस राम्रो हुन्छ । कुनै खेलाडी कत्तिको दुरुस्त छ र मैदानमा उत्रिन सक्छ या सक्दैन भन्ने निर्णय प्रशिक्षक र फिजियो मिलेरै गर्नुपर्ने हुन्छ ।
खेलाडीलाई प्रमुख रूपमा कस्तो चोट लाग्न सक्छ, यसका कारण के हुन् र कसरी चोटबाट मुक्त हुन सकिन्छ भन्ने विषयमा स्पोर्टस् फिजियो सुरज भुसाल संलग्न हुनुहुन्छ । खेलकुद क्षेत्रमा फिजियो सुरज भुसाल अग्रपङ्तिमा आउने नाम हो । भारतको बङ्गलोरबाट मास्टर्स मस्कुलर स्केलेटर डिसअर्डरमा स्नातकोत्तर सुरज फुटबलको पनि राम्रो जानकार हुनुहुन्छ । जसले गर्दा आफ्नो सुरुवाती समयमै उहाँ नेपाली राष्ट्रिय टिम र थ्री स्टारजस्तो ठूलो टिमको फिजियोका रूपमा कार्यरत हुनुभयो । नेपाली राष्ट्रिय फुटबल टिममा पाँच वर्ष फिजियोको भूमिका निर्वाह गरिसक्नुभएका सुरजले विशेषतः खेलाडीकै लागि अर्थोप्लास्ट रिह्याबलिटेसन सेन्टर खोल्नुभएको छ । फिजियो सुरजले करिब पाँच वर्ष राष्ट्रिय फुटबल र ए डिभिजन क्लबको फिजियो भएर काम गर्दा खेलाडीमा देखेको समस्यापछि यसको समाधान गर्न यो सेन्टर खोल्नुभएको हो ।
नेपाली खेलाडीको चोट र फिटेनेसमा गहन अध्ययन र काम गरिसक्नुभएका फिजियो सुरजका अनुसार खेलाडी विशेषतः लिगामेन्टको समस्याले पीडित हुन्छन् । जसलाई एसिएल (एन्टेरियर क्रुसिइ लिगामेन्ट) भनिन्छ । साप्राको हाडलाई लगेर तलको अर्को हाडलाई जोड्ने लिगामन्ेट हो । लिगामेन्ट इन्जुरी खेलकुदमा हुने चोटमध्ये एक नियमित इन्जुरी हो । विशेषगरी फुटबल, भलिबल, बास्केटबल खेलाडीमा लिगामेन्टको चोट धेरै लाग्छ । अमेरिकी अध्ययनअनुसार अमेरिकामा मात्र प्रत्येक वर्ष एक लाखदेखि दुई लाखसम्म लिगामेन्टको इन्जुरी भएको घटना छन् । नेपालमा पनि विगत दुई÷चार वर्षदेखि खेलाडीमा यो समस्या ह्वात्तै बढेको छ ।
यसका कारण फिजियो सुरज अहिले खेलाडीको व्यस्ततालाई मान्नुहुन्छ । हुन पनि कोभिडलाई छोड्ने हो भने खेलाडीलाई व्यस्त नै मान्नुपर्छ । प्रायः खेलहरू अहिले बाह्रै महिना चल्ने गर्छन् । अनि खेलाडीहरू पनि व्यस्त भइहाल्छन् । त्यसैले मैदानमा दुर्भाग्यवश लाग्ने चोट त छँदै छ, लगातार खेल्दा फिटनेसको कमीकै कारण पनि धेरै खेलाडी चोटमा पर्न सक्छन्् । त्यसैले खेलाडीले आफूलाई फिट बनाइराख्न जरुरी हुन्छ । कोरोना समयपछि त धेरै खेलाडी चोटको जोखिममा परे । लकडाउनको समयमा अभ्यास नगरी अहिले मैदानमा उत्रने धेरै खेलाडीले यस्तो समस्या बेहोरिरहेका छन् ।
फुटबलकै कुरा गर्ने हो भने यो खेल पहिले मौसमी खेल थियो । कोरोनाकाललाई छोड्ने हो भने अहिले लिग र थुप्रै नकआउट फुटबल प्रतियोगताका कारण बाह्रै महिना यो खेल भइरहन्छ । भलिबल, क्रिकेटजस्ता प्रतियोगिता पनि निरन्तर हुन थालेका छन् । जसकारण खेलाडीलाई फिटनेस कायम राख्ने चुनौती नै हुन्छ । जुन काम सबैभन्दा प्रभावशाली तरिकाले फिजियोले मात्र गर्न सक्छ । फिजियो सुरज भन्नुहुन्छ– खेलाडीहरू अहिले नियमित प्रतिस्पर्धात्मक प्रतियोगितामा व्यस्त हुन्छन् । त्यसैले खेलाडीले आफूलाई फिट बनाइरहनुपर्छ । आफूलाई फिट बनाइराख्दा पनि चोटबाट धेरै हदसम्म बच्न सकिन्छ । यसका लागि अफसिजन र प्रिसिजनमा पनि खेलाडीले आफ्नो फिटनेसमा ध्यान दिनुपर्छ ।
सुरजका अनुसार नेपालमा मैदान पनि राम्रो छैैन । ठूला प्रतियोगिता हुने केही मैदान पनि वृmत्रिम छन् । खराब मैदान र कृत्रिम टर्फमा खेल्दा खेलाडीलाई लिगामेन्टको समस्याले अझ बढी चोट लाग्ने गर्छ । चोटबारे प्रशिक्षक र खेलाडीलाई ज्ञान नहुनु र यस्तोखाले चोटबाट बच्ने उपायबारेमा थाहा नहुनुले पनि खेलाडीहरू चोटमा पर्न सक्छन् । विशेषतः खेलाडीमा अहिले सबैभन्दा बढी लिगामेन्टको समस्या देखिएको छ । अझ पुरुष खेलाडीभन्दा महिला खेलाडीमा लिगामेन्टको चोट बढी हुने गरेको छ । महिनावारीको समयमा लिगामेन्ट बढी खुकुलो हुन्छ । खेल्नेक्रममा ल्यान्डिङको समयमा घुँडामा बढी जोड पर्दा पनि स्ट्रेस बढ्ने हुँदा लिगामेन्टको चोट लाग्ने गर्छ । यसैगरी, खेल्नेक्रममा अर्को खेलाडीसँग घुँडा ठोक्किएर पनि लिगामेन्ट इन्जुरी हुन्छ । हामफाल्दा, घुम्दाखेरी नमिल्दा पनि यो समस्या आउँछ । यसैगरी, गुणस्तरीय जुत्ता नहुँदा पनि लिगामेन्टको समस्या आउन सक्छ । खेलाडीमा धेरैजस्तो ह्यामस्ट्रिङ इन्जुरी, ग्रोइन इन्जुरी र एङ्कल इन्जुरी बढी हुने गर्छ । दुई÷तीन दिनमै मैदानमा उत्रिनुपर्दा खेलाडीको मसल क्राम्प, मसल स्टिफनेस पनि भइरहने हुन्छ । त्यसैले फिजियोले राम्रोसँग ध्यान पु¥याउन सकेन भने खेलाडीको खेलजीवनमै ग्रहण लाग्न पनि सक्छ ।
यसको उपाय के हो त ? सबैभन्दा पहिले त खेलाडी फिटनेस भइरहन जरुरी छ । खेलाडी सधँै फिजियोको सम्पर्कमा हुनुुपर्छ । खेलाडीलाई दुरुस्त राख्न फिजियोले गर्ने नियमित काम भनेको ननमेडिकल फिजिकल थेरापी, मसल रिल्याक्स, हिट ट्रिटमेन्ट आदि हुन् । सामान्य चोट, मसल क्राम्प र मसल स्टिफनेसको उपचार फिजियोथेरापीबाटै पनि गर्न सकिन्छ । फिटनेस बढाउन मसाज, सोना बाथ, हट बाथ पनि प्रयोग गर्छन् । फिजियो वार्मअप, अभ्यास सत्रमा पनि फिजियोको उपस्थिति हुनुपर्छ । यसैगरी, बन्द शिविरमा त चौबीसै घन्टा टिमसँग रहनुपर्ने हुन्छ । प्रशिक्षणको समयमा उत्प्रेरणा, मनोवैज्ञानिक सल्लाह (काउन्सिलिङ), सन्तुलित भोजन र पौष्टिकताबारे जानकारी पनि राख्नुपर्ने हुन्छ । तर, दुर्भाग्यवश चोट लागिहाल्यो भने आर्थस्कोपिक सर्जनलाई भेटेर सल्लाह, परामर्श लिनुपर्ने हुन्छ । त्यसपछि चिकित्सकको सल्लाहअनुसार शल्यक्रिया र फिजियोथेरापीबाट यसलाई निको पार्न सकिन्छ । यो चोट लागेपछि खेलाडीको हकमा अब खेल्न सक्छौँ भनेर डाक्टरले अनुमति दिएपछि मात्र फिट मानिन्छ । यस्तो रोगको उपचार गरेपछि खलाडीहरू नौदेखि १२ महिनामा मैदानमा पुनरागमन हुन्छन् ।
विदेशमा त एउटा टिममा फिटनेस विशेषज्ञ, फिजियो अथवा ट्रेनरको एक टिम नै हुन्छ तर नेपालमा खेलाडीलाई दुरुस्त राखिरहन फिजियोमात्रै राख्ने गरिएको छ । त्यो पनि सबै टिममा हुँदैन । जुनसुकै खेलमा खेलाडीका लागि फिटनेस निकै महŒवपूर्ण हुन्छ । तर, नेपाली खेलाडीहरू यसमा सचेत भएको देखिँदैन । मैदानमा हुँदामात्र होइन, अरू समयमा पनि काउन्सिलिङमा बिताउनुपर्छ । फिटनेसमा एकदम सचेत हुनुपर्छ । फिटनेस राम्रो भयो भने उनीहरूको खेलमा ठूलो सुधार आउनेमात्र होइन, पाँच वर्षको खेलजीवन दस वर्षसम्म लम्ब्याउन सकिन्छ– फिजियो सुरजले सुझाव दिँदै भन्नुभयो ।