शनिवार |

नेपाली र रूसी साहित्यका धरोहर

चन्द्रकान्त आचार्य
थानकोटको नेवार (श्रेष्ठ) परिवारमा १९९४ सालमा जन्मनुभएका बालकको नाम कृष्णप्रकाश राखियो । बाल्यावस्थामै आफ्ना जागिरे पिताकोे मालअड्डा बैतडी सरुवा हुँदा परिवार त्यता लागेकाले कृष्णको बाल्यकाल बैतडीमै बित्यो । उहाँले त्यहीँ प्रारम्भिक तहको शिक्षा प्राप्त गर्नुभयो । माध्यमिक तहको अध्ययन गर्न त्यतिबेला भारतको पिथौरागढ जानुपर्ने हुँदा कृष्णप्रकाश साथीहरूका साथ पिथौरागढ पनि जानुभयो । उहाँका साथीहरूमध्ये पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द मिल्ने साथी थिए । २००८ सालमा किशोर कृष्णप्रकाश काठमाडाँै आउनुभयो । त्यसबेला उहाँलाई नेवारी आउँदैनथ्यो । पहाडतिरका किशोरहरूको जस्तै उहाँमा पनि नेपाली भाषाको अभ्यास थियो । वार्णिक छन्दमा कविता लेख्ने बानी उहाँमा बसिसकेको थियो । उहाँले काठमाडौँ आएपछि मात्र नेपाल भाषा सिक्नुभएको हो । काठमाडाँैमा माध्यमिक तहको अध्ययनलाई निरन्तरता दिनुभयो । कलेज भर्ना भएपछि हाइस्कुलमा पनि उहाँले पढाउन थाल्नुभयो ।
युवावस्थाको खुड्किलो चढ्नेबित्तिकै २०१६ साल (सन् १९५९)मा उहाँले सोभियत सङ्घको राजधानीमा रहेको मास्को स्टेट युनिभर्सिटीमा अध्ययन गर्न अवसर पाउनुभयो । यस युनिभर्सिटीबाट उहाँले सन् १९६६ मा पत्रकारितामा स्नातकोत्तर डिग्री प्राप्त गर्नुभयो । उहाँले युनिभर्सिटी पढ्ने समयदेखि नै मास्को रेडियोमा काम गर्न सुरु गर्नुभयो । अध्ययन समाप्त गरेपछि स्थायी रूपले रेडियो मास्कोको नेपाल शाखामा काम गर्न थाल्नुभयो । उहाँले रूसी केटी इरिनासँग प्रेमविवाह गर्नुभयो र स्थायी रूपले मास्कोको लेनिन्स्की प्रस्पेक्टमा बसोवास गर्नुहुन्थ्यो । कृष्ण–इरिनाका जान्ना र मारिना दुई छोरी छन् ।
कृष्णप्रकाशले रेडियो मास्कोमा काम सुरु गरेदेखि नै नेपाली साहित्यको रूसी भाषामा र रूसी साहित्यको नेपाली भाषामा अनुवाद गर्न सुरु गरिसक्नुभएको थियो । पछि त उहाँ स्थायी रूपले रेडियो मास्कोको नेपाली कार्यक्रम सञ्चालक (१९६३–१९९८), अस्थायी रूपमा मास्कोका ‘प्रगति’ प्रकाशन तथा ‘रादुगा’ प्रकाशनमा रूसी साहित्यको नेपाली अनुवादक र रूसी विज्ञान प्रज्ञाप्रतिष्ठान प्राच्य विद्या संस्थानमा १९९९ देखि अनुसन्धानकर्ताका रूपमा रही हाल (२०२१ मार्चसम्म) अवकाशप्राप्त जीवनमा स्वतन्त्र लेखन, अनुवाद र अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो ।
नेपाल बालसाहित्य समाजका मानार्थ सदस्य, रूस लेखक सङ्घका सदस्य एवम् विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय सल्लाहकार कृष्णप्रकाश श्रेष्ठको अनुवादमा रूसी बालसाहित्यका बीसौँ पुस्तकका साथै पुस्किनकृत ‘जिप्सी’ (१९६८), ‘बेल्किनका कथा’, ‘दुब्रोभ्स्की’, लेर्मोन्तोभ लिखित
‘हाम्रो जमानाको चरित्रनायक’, तुर्गेनेभ लिखित ‘गद्यमा कविता’ एवम् ‘पिता र पुत्र’, तोल्सतोइलिखित ‘कथा कहानी’, ग्रीन लिखित ‘राता पालहरू’, सोलोखोभलिखित ‘मान्छेको भाग्य र दोनका कथाहरू’, विभिन्न सोभियत लेखकका कथाहरू ‘रूसी चरित्र’, हाम्जातोभलिखित नेपाल विषयक काव्य ‘जीवनचक्र’ र ‘जीवित देवी कुमारी’सहित ‘दुई देवताप्रति’ (२०१३) आदि रूसी साहित्यका कैयौँ कृतिहरू प्रकाशित छन् भने रूसी भाषामा पनि नेपाली दन्त्य कथा सङ्ग्रह ‘यमलोकमा जिउँदो मान्छे’ (१९७१), लैनसिंह बाङ््देलको लघुउपन्यास ‘लङ्गडाको साथी’, ज्ञानकाजी मानन्धरलिखित नेवारी नाटक ‘कुमारी चण्डेश्वरी’, देवकोटाको ‘मुनामदन’ (२०११) र ‘सुनको बिहान’ (२०१२), आदिकविका कवितासहित ‘लोकको गरूँ हित भनी’ (२०१३) लगायत नेपाली र नेवारी वाङ्मयका दसौँ कृतिहरूका साथै मौलिक ग्रन्थका रूपमा ‘नेवारी साहित्य’ (१९९५), ‘नेपालको साहित्य ः परम्परा र आधुनिकता’ (२००१), ‘मित्रता र सहयोगको गाँठो’ (२००६),
‘इतिहासको परिप्रेक्ष्यमा नेपालका किंवदन्ती र परम्परागत जात्राहरू’
(२००८), ‘रेलगाडीमा हिमालयतिर’ (२००९), ‘रूस–नेपाल. व्यक्ति. घटनाक्रम दस्तावेज’ (२०१८), ‘नेपालका पूराकथा र किंवदन्ती’
(२०१९) आदि ग्रन्थ प्रकाशित छन् । नेपाली भाषामा उहाँका अनुसन्धानमूलक ग्रन्थमध्ये ‘नेपालमा पशुपन्छीको पूजा’, ‘रूसमा नेपालको छवि’, ‘स्थाननाम कोश’, ‘नेपाली समालोचक र समालोचना’, ‘हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष गणतन्त्रतिर’ उल्लेख्य छन् ।
कृष्णप्रकाश श्रेष्ठले विभिन्न सम्मान र पदक प्राप्त गर्नुभएको छ । उहाँले ‘रेडियो र टेलिभिजनका उत्कृष्ट कार्यकर्ता’ पदक (१९८८), ‘महाकवि देवकोटा शताब्दी सम्मान’ (२००९), ‘भानुभक्त स्वर्ण पदक’ (२०१४), ‘सत्यमोहन जोशी शताब्दी पदक’ (२०१६), ‘मैत्री विकासमा योगदानबापत पदक’ (२००५), नेपाली र रूसी भाषामा अनूदित र मौलिक ग्रन्थका लागि ‘जयपृथ्वी–इभानमिनाएभ’ स्रष्टा–सम्मान
(२०१४), देश–विदेशमा नेपाली वाङ्मयको प्रचार–प्रसारमा योगदानका लागि ‘जगदम्बाश्री’ तथा ‘नई देरूनिख’ पुरस्कारलगायत नेपाल तथा रूसका विभिन्न कदरपत्र र सम्मानपत्र प्राप्त गर्नुभएको छ । उहाँ विश्व नेपाली साहित्य महासङ्घबाट ‘सगरमाथा साहित्य दूत’ (२०१४) उपाधिद्वारा पनि विभूषित हुनुहुन्छ । गत वर्ष उहाँलाई अनुवाद कार्यका लागि नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरियो ।
विक्रम संवत् २०७७ मा नेपाल–रूस साहित्य समाजद्वारा प्रकाशित सात स्रष्टा (कृष्णप्रकाश श्रेष्ठ, कन्हैया नासननी, चन्द्रकान्त आचार्य, जङ्गब चौहान, जीवा लामिछाने, प्रकाशराज रेग्मी र विष्णुबहादुर सिंह)को संस्मरण ‘सम्झनामा रूस’को भूमिकाको रूसी भाषामा लेखिएको भाग कृष्णप्रकाश श्रेष्ठद्वारा तयार गरिएको हो । यो पुस्तक यही चैत ११ गते माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको हातबाट विमोचन गरिएको थियो । यसमा कृष्णप्रकाश श्रेष्ठका पुस्किनको पदचिह्न पछ्याउँदै, लेनिनसित सम्बन्धित स्थानहरूको यात्रानुभूति र क्रास्नोयाक्र्सको मनचिन्ते यात्रामा क्रास्नोदारदेखि ब्रात्स्कसम्म भन्ने तीन संस्मरणात्मक निबन्ध समावेश गरिएका छन् ।
दुई वर्षपहिले पत्नी इरिना श्रेष्ठको निधनपश्चात् मास्कोको लेनिन्स्की प्रस्पेक्टमा एक्लो जीवन बिताइरहनुभएका कृष्णप्रकाश श्रेष्ठको पछिल्लो वर्ष (२०२०) अत्यन्त व्यस्त र अति सक्रियतापूर्वक बिताएको वर्ष हो । कोरोना महामारीका कारण साहित्यिक क्रियाकलाप पनि कोठामा बसेर जुमको माध्यमबाट संसार डुल्नेगरी चलाउन पाइएकाले उहाँ पनि संसारभरिका साहित्यकारलाई मास्को बोलाउने र आपूm पनि समय–समयमा विश्व भ्रमण गर्ने अवसरबाट प्रफुल्लित हुनुहुन्थ्यो । मास्कोमा भएका धेरै कार्यक्रममा नेपालबाट धेरैले भाग लिइयो भने नेपालमा गरिने नेपाल–रूस साहित्य समाजका र नेपाल विश्व शान्ति विकास समाजका विभिन्न कार्यक्रममा उहाँलाई समावेश गराइएको हो ।
पछिल्लो वर्ष उहाँले गरेको अति महŒवपूर्ण कार्यमा मास्कोबाट प्रकाशित ‘दुई राजधानी ः मास्को र काठमाडाँै’ नामको दस नेपाली र दस रूसी लेखकका नेपाली र रूसी भाषामा लेखिएका मास्को र काठमाडौँ सम्बन्धित रचना सङ्कलन गरिएको पुस्तक हो । यसमा लेखिएका दस रूसी रचनाको नेपालीमा अनुवाद गर्ने र दस नेपाली रचनाको रूसी भाषामा अनुवाद गर्ने गुरुत्तर कार्य एक्लै कृष्णप्रकाश श्रेष्ठद्वारा गरिएको कुरा उल्लेख गर्न पाउँदा यी महर्षीतुल्य स्नेही मित्रप्रति कृतज्ञताले शिर निहुरिन्छ । २०२१ जनवरीको सुरुमै मित्र कृष्णप्रकाश श्रेष्ठको आयोजनामा जुमको माध्यमबाट नेपाल, अमेरिका, युरोप आदि ठाउँबाट रूसी र नेपाली साहित्यकार मित्रहरूलाई समावेश गराएर मास्कोमा ‘दुई राजधानी ः मास्को र काठमाडौँ’ पुस्तकको विमोचन कार्य सञ्चालन गरिएको थियो । त्यस विमोचन कार्यको विस्तृत विवरण दिँदै २० जनवरी २०२१ मितिको मास्कोको निजाविसिमया अर्थात् स्वतन्त्र भन्ने पत्रिकाले रूसी भाषामा ‘नमन काठमाडौँ तिमीलाई’ भन्ने शीर्षक राखेर लामो विवरण प्रस्तुत गरेको छ । यस पङ्तिकारको ‘काठमाडौँमा एक दिन’ भन्ने लेखको अन्त्यमा दिइएका केही पङ्ति कविताबाट शीर्षक दिइएको र त्यस लेखकोे पनि प्रशंसा गरिएकाले नेपालीबाट ती पङ्ति अनुवाद गर्ने मित्र कृष्णप्रकाश श्रेष्ठप्रति नमन छ ।
अन्तिम समयमा कृष्णप्रकाश श्रेष्ठ रूसी र अन्य देशका विद्वान्हरूको जुमबाट भेला गराएर बुद्धिजमसम्बन्धमा सम्मेलन गर्ने क्रियाकलापमा व्यस्त हुनुहुन्थ्यो तर अचानक उहाँसँग सम्पर्क टुट्यो । के भएको हो भन्ने बुझ्दै गर्दा २०७७ चैत १६ गते उहाँले यस संसारबाट अकस्मात् बिदा लिएको समाचार सुन्न प¥यो । यसरी काम गर्दागर्दै अकस्मात् नेपाली र रूसी साहित्यका धरोहर कृष्णप्रकाश श्रेष्ठ अस्ताए । यी दुई भाषाका साहित्यको सेतु–बन्धन टुट्यो । नियतिको नियमलाई स्वीकार्नै पर्दोरहेछ ।