शनिवार |

पटनास्थित बीपीको शालिक

परशुराम पोखरेल
जननायक बीपी कोइराला एवम् गणेशमान सिंहको राजनीतिक जीवनमा आधारित डकुमेन्ट्री निर्माण तथा नेपाली काँग्रेस स्थापनाकालदेखिका सामग्री सङ्कलन गर्ने अभियान सुरु भएको छ । यसक्रममा वनारस, पटना र विहारका केही भाग तथा कलकत्तासम्मको ऐतिहासिक स्थानको पहिचान, विवरण सङ्कलन कार्य अगाडि बढेको छ । चैत महिनाभित्र यो कार्य पूरा गर्ने लक्ष्यअनुरूप भ्रमण कार्य सुरु गरिएको थियो र निरन्तर जारी पनि छ । चन्द्रशमशेरको समयमा पिताजी कृष्णप्रसाद कोइराला देशनिकालामा पर्नुभएको थियो । यो समयमा उहाँको परिवार वनारसमै बस्थ्यो । त्यसै समयदेखि नेपालको प्रजातान्त्रिक इतिहास वनारससंँग जोडिएको हो ।
अभियानको क्रममा वनारसमा हामीले प्रा.डा.सुरेन्द्रप्रतापसहित बीपी कोइरालाले स्नातक तहसम्मको अध्ययन गर्नुभएको वनारसको हिन्दु विश्वविद्यालयका प्रोफेसर डीन विजयबहादुर सिंहसँग भेट ग¥यौँ । जीवनमा पहिलोपटक बीपी, मातृकाप्रसाद कोइराला थुनिनुभएको वनारस जिल्ला जेल कारागार, बीपी कोइराला भाडामा बस्नुभएका ठाउँ सारनाथ, रथयात्रा, रवीन्द्र पुरीका घर र घरबेटीको अवस्थाबारे जानकारी लियौँ । बीपी कोइरालाले विद्यालयस्तरको अध्ययन गर्नुभएको हरिश्चन्द्र हाइस्कुल पुग्यौँ । नेपाली काँग्रेसको कार्यालय रहेको वनारसस्थित राजघाट, दूधविनायक, असीघाट इतिहासमा दरिएका ठाउँको अवलोकनसाथ केही तस्बिर सङ्कलन ग¥यौँ । वनारसबाट हामी पटना पुग्यौँ । पटनामा हामीलाई समाजवादी दलका अध्यक्ष एवम् पूर्वकेन्द्रीय मन्त्री देवेन्द्रप्रसाद यादवले स्वागत गर्नुभयो । पटनामा गरिएका सबै कार्यका लागि सहज वातावरण उहाँले नै बनाइदिनुभएको थियो । पटनामा भारतका समाजवादी तथा बीपीका अनन्य मित्र जयप्रकाश नारायणको नाममा स्थापित जयप्रकाश नारायण स्मृति सङ्ग्रहालय छ । यो सङ्ग्रहालयको प्रधानमन्त्री बीपी कोइरालाले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको निमन्त्रणमा दिल्ली जाँदै गर्दा उद्घाटन गर्नुभएको थियो । त्यसैगरी, विहार फारबिसगन्जबाट निर्वाचित विधायक विधानसभा सदस्य सर्जु मिश्रले नेपालमा प्रतिबन्धित अवस्थामा रही भारत निर्वासनमा रहेका नेपाली काँग्रेसका नेता, कार्यकर्तालाई उपलब्ध गराउनुभएका वार बेलीस्थित क्वार्टर घरका बारेमा जानकारी लिइयो । नेपालको जनक्रान्तिका लागि पहिलापटक बर्माबाट हवाईजहाजबाट हतियार ल्याई पटना सहरभन्दा बाहिरको बिहाटा विमानस्थलमा झारिएको थियो । हामी त्यहाँ पनि पुग्याँै । हाल त्यहाँ भारतको वायु सेना कार्यालय रहेछ । केही प्रक्रिया पु¥याएर सङ्ग्रहालयमा राख्नका लागि यहाँको माटो ल्याएका छौँ ।
अङ्ग्रेजविरुद्धको भारत छोडो आन्दोलनमा बीपीको नेतृत्वदायी भूमिकाको सम्मानबापत सन् १९९४ अक्टोबर २५ तारिखका दिन बीपी पत्नी सुशीला कोइरालाको मुख्य आतिथ्यमा विहारका मुख्यमन्त्री लालुप्रसादले बीपी कोइरालाको पूर्णकदको शालिक स्थापना गर्नुभएको गोलघरस्थित पार्क पुग्यौँ । बीपी कोइरालाकै नामबाट स्थापित बीपीपथ, जसलाई पटनामा बैङ्करोड अफपटनाको नामले चिनिन्छ । मुलतः यिनै स्थानको अवलोकन गर्ने हाम्रो मुख्य लक्ष्य थियो ।
मूल उद्देश्य बीपी र गणेशमानसँग सम्बन्धित रहेका विभिन्न स्थान, व्यक्ति र घटनासम्बन्धमा खोज गर्नु नै हो । यसै मेसोमा भारतका काँग्रेस आई पार्टीका विधानसभा परिषद् सदस्य प्रेमचन्द्र मिश्रका साथै नितिशकुमार सरकारका विहारका कृषिमन्त्री अमरेन्द्रप्रताप सिंह शिक्षामन्त्री, विजयकुमार चौधरीसँंग भेट ग¥यौँ । जब हामी विहार सरकारले अति महŒवका साथ स्थापना गरेको गोलघर पार्कस्थित बीपी कोइरालको शालिक स्थल पुग्यौँ । हामी निःशब्द भयौँ, चकित भयौँ । एकखालको सन्नाटा छायो । बीपी पार्कको त्यो लज्जाजनक अपमानको महसुस नै गरायो । पहिलो दिन हामी साँझमा पुगेका थियाँैं । १६ वर्षभन्दा मुनिका युवा शालिक अगाडिको ठाउँमा इँटाका टुक्रा राखेर क्रिकेट खेलिरहेका थिए । क्रिकेटको बल गएर शालिकको पिलरमा लाग्दोरहेछ । हेर्दाहेर्दै क्रिकेट बल गएर बीपीको शालिकमा लाग्न गएको हामीले देख्यौँ । क्रिकेट खेल्नेहरू खेलिरहैकै थिए । क्रिकेट खेलिरहेकै समयमा हामीले शालिकमा शिर झुकाएर नमन गरेपछि खेलाडीहरू पन्छिए । गोलघर पार्क आफैँमा हरियाली र सुन्दर छ । त्यसैको एक भागमा रहेको बीपीको शालिक भएको बीपी पार्क फोहोर थुपार्ने ठाउँ बनेको छ । फलामको रेलिङ भाँचेर शौचालय जाने बाटो बनाइएको छ । फोहोर पनि किसिम–किसिमको रहेको थियो । रक्सीका बोतलदेखि च्यातिएका पुराना लुगाफाटो, खाजा, नास्ता खाएर फ्याँकिएका प्लास्टिकका प्लेट असरल्ल थिए । त्यहाँ उम्रिएका झाडी, बुट्यानले पार्कको एक भाग ढाकिएकै अवस्थामा थियो । बुट्यानका कारण शालिकवरपर घुम्न सकिने अवस्था थिएन । २६ वर्षअघि सन् १९९४ मा विहारका मुख्यमन्त्री लालुप्रसादले बीपीको शालिकमात्र स्थापना नगरेर पटनाको महŒवपूर्ण सडक बैङ्क अफपटना रोड बिस्कोभान भवनदेखि गङ्गा नदीकिनार बाँसघाटसम्मको सडकलाई बीपी मार्ग (बीपीपथको) घोषणा पनि गर्नुभयो । यी दुवै कार्य विहार सरकारले गर्नुपर्ने आवश्यकता के थियो त ? जवाफ प्रस्ट छ– भारत स्वतन्त्रता सङ्ग्राममा अङ्ग्रेज भारत छोडो आन्दोलनमा उहाँको योगदान र विहारमा उहाँको नेतृत्वदायी भूमिका साथै हजारीवाग जेलमा तीन वर्षको कारागार अवधिमा उहाँले पाउनुभएको यातनालाई स्मरण र सम्मान गर्दै भारतका लोकनायक बीपीका मित्र समाजवादी नेता जयप्रकाश नारायणको जन्मथलो पटनामा उहाँको शालिक स्थापना भएको थियो ।

भारतीयहरूको उच्च सम्मान
संसारमा कहीँ पनि एउटा मुलुकको राजनेताको अर्को मुलुकमा शालिक स्थापना गरिएको सायदै छैन होला । एसिया महादेशमा बीपी कोइरालामात्र एक व्यक्ति हुनुहुन्छ । विहारमा अहिले नितिशकुमारको सरकार छ । विहार सरकारले सम्मानसाथ स्थापना गरेको उक्त शालिकलाई वर्तमान सरकारले उपेक्षा गरेको पाइयो । बीपीलाई गरिएको सम्मान हामी सबै नेपालीले प्राप्त गरेको सम्मान हो भनेर बुझ्न जरुरी छ । उहाँ नेपालका समाजवादका प्रवर्तक अनि प्रजातन्त्रका जनक हुनुहुन्छ । प्रजातन्त्र स्थापनापछि २०१५ सालमा भएको पहिलो निर्वाचनबाट उहाँ प्रथम निर्वाचित प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री रहेकै अवस्थामा राजा महेन्द्रले सैनिक ‘कू’ गरी उहाँ र उहाँको मन्त्रिपरिषद्का सदस्यलाई सुन्दरीजलको सैनिक ब्यारेकमा बन्दी बनाइयो । २०१७ साल पुस १ गतेको सैनिक ‘कू’ पछि बन्दी हुनुभएका उहाँ र गणेशमान सिंह २०२५ सालमा छुट्नुभयो । जेलबाट छुटेपछि उहाँहरू भारतको वनारस जानुभयो । वनारसमा रहँदा बीपीको सबैभन्दा बढी आउजाउ भइरहने ठाउँ पटना थियो । पटनामा हुनुभएका समाजवादी नेताहरूले बीपी कोइरालाई आदर्श मान्थे । नेपालमा बहुदल आउनुभन्दा पहिले भारतको उत्तर प्रदेश राज्य, विहार राज्य र पश्चिम बङ्गालसंँग जनस्तरमा पनि विशेष सम्बन्ध कायम थियो । प्रतिबन्धित नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूले गोरखपुर, वनारस, पटना, जयनगर, मधुबनी, फारबिसगन्ज, सिलिगुडीजस्ता ठाउँमा प्रवासको जीवन बिताउनुप¥यो । यही कारण काँग्रेस नेता र कार्यकर्ताको सम्बन्ध त्यस ठाउँका नेतासंँग मात्र नभएर जनस्तरमा समेत रहिआएको थियो ।
नेपाली काँग्रेसका कार्यकर्ता र नेतृत्व तहमा रहेकाहरू धेरैलाई बीपी कोइरालको शालिक पटनामा छ भनेर थाहा नहुन सक्छ । नेपाली काँग्रेस पार्टी नेतृत्वले पार्टीको एक विभागलाई यस्ता वस्तुको खोज र संरक्षण कार्यमा लगाइदिएको भए आज यो समस्या आउने थिएन । समस्या २६ वर्षपहिले शालिक स्थापना भएदेखि नै सुरु भएको हो । नेपाली काँग्रेस विधि र नीतिबाट व्यवस्थित रूपले आजपर्यन्त पनि चल्न जानेन । कुल र पुर्खा अनि अग्रजको सम्मानभन्दा पदीय होडबाजीमा पार्टी अल्मलिएका कारण काँग्रेस सबै ठाउँबाट खस्कँदै गएको छ । त्यसैको परिणाम यस्ता ऐतिहासिक वस्तुको अस्तित्व लोप हुने खतरासमेत देखिएको छ ।
भारतीय सरकारलाई पनि बीपीको शालिकसम्बन्धमा आजसम्म कसैले खोजिनिती नगरेका कारणले हामीले मात्र महŒव दिनुपर्ने कुनै कारण छैन भन्ने लागेको हुन सक्छ । २६ वर्षको इतिहासमा काँग्रेस र नेपाल सरकारको तर्फबाट औपचारिक रूपमा बीपीजयन्ती, बीपी स्मृति या २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला, गणेशमानसिंह पटनाबाट नेपाल फर्कनुभएको दिन पुस १६ गते कुनै पनि दिन कोही पनि नेता कार्यकर्ता पुगेको अवस्था देखिएन ।
यस विषयमा नेपालका महात्मा गान्धी भनेर चिनिनुहुने समाजवादी नेता बीपी कोइरालाको विषयमा तपाईंहरूको पार्टी नेपाली काँग्रेसले किन चासो राखेन भनेर पटनाका केही पत्रकार साथीहरूले पटक–पटक जिज्ञासा राख्नुभएको थियो । काँग्रेसले नीतिगत निर्णय लिनका लागि २०३४ सालमा पटनाको गान्धी मैदानमा विशाल भेलाको आयोजना गरेको थियो । उक्त भेलामा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पुरुषोत्तम बस्नेतलगायतका धेरै नेताहरूले भाग लिनुभएको थियो । यही भेलाको पनि स्मरण गर्दै प्रेसका केही साथीले प्रश्न गरेका थिए । यो किसिमको विशेष सम्बन्ध रहेको पटनासँग आज कुनै पनि सम्बन्ध नरहेको सत्य हो । हाम्रा महान् नेताको शालिक संरक्षणसम्बन्धमा हामीले पटक्कै चासो नलिएकै कारण त्यो अवस्थामा पुगेको हो भनेर स्वीकार्न हिच्किचाउन पर्दैन ।

शालिक संरक्षणमा भारतीय चासो
शालिकको फोहोर र संरक्षण तथा बीपीपथको समेत कुनै चिनारी नभएको सम्बन्धमा हामीले विहारका मुख्यमन्त्री नितिशकुमारको सचिवालयमा ध्यानाकर्षणपत्र समेत दर्ता गराइसकेका छौँ । पटना महानगरपालिकाका मेयर सीता साहुलाई पनि जानकारी गराएका छौँ । भारतकै लोकप्रिय मानिने हिन्दुस्थान दैनिक, अङ्ग्रेजी पत्रिका हिन्दुस्तान टाइम्स र न्युज विहार टेलिभिजनले पनि प्राथमिकतासाथ यस समाचारलाई सम्प्रेषण गरेको थियो । पटना कलेजका पूर्वप्रोफेसर एवम् नेपाल स्टडिज सेन्टरका अध्यक्ष नवलकिशोर चौधरीले शालिकवरिपरि भएको सफाइ कार्यका लागि सामग्री उपलब्ध गराएर सहयोग पु¥याउनुभयो । शालिकको पार्क सफाइमा मलाई हिन्दुस्थान दैनिकका विशेष संवाददाता आशिष मिश्रले फागुन १६ गते बिहान फोन गरी फोहोर सफाइ गर्नेसम्बन्धमा तपाईं विहार सरकारलाई चुनौती दिँदै हुनुहुन्छ कि सफाइका लागि सरकारसँंग आग्रह गर्दै हुनुहुन्छ भनी प्रश्न सोध्नुभएको थियो । उहाँको सोधाइ सामान्य थिएन । यसमा हाम्रो चासो फोहोर सफाइ नै हो भनेर मैले राखेको थिएँ ।
एउटा कुरा स्पष्ट छ– बीपीले भारतमा जुन सम्मान, इज्जत, प्रतिष्ठा प्राप्त गर्नुभएको थियो अब त्यो कुनै शताब्दीमा कुनै नेपालीले पाउने छैन । पटनामा भएको बीपीको भव्य शालिक र त्यो जमिन भारत सरकारकै सम्पत्ति हो । सम्पत्ति हो भन्दैमा भारतको विहार सरकारले गलत ढङ्गबाट शालिकलाई दुरावस्थामा पु¥याउन पाउँदैन । यसको संरक्षण र सम्बद्र्धन गर्नुपर्छ । बीपी सबैभन्दा पहिला एक महान् नेपाली हुन् । नेपालको साख र इज्जतका लागि पनि राष्ट्रिय रूपमा नीति बनाएर उक्त शालिकको रेखदेख र संरक्षण गर्ने कार्यमा नेपाल सरकार लाग्नुपर्छ । अर्कोतर्फ काँग्रेसका नेता कार्यकर्ता पनि यो कार्यमा अगाडि बढ्नुपर्छ ।
भारतको विहार राज्यको उच्च सदनमा पनि कोइरालाकोे यो शालिक संरक्षण तथा सम्बद्र्धन गर्नुपर्ने आवाज उठेको छ । चैतमा भएको हाम्रो भ्रमणक्रममा विहारका मुख्यमन्त्री नितिशकुमारको पार्टी जनता दल युनाइटेडका विधायक प्रा.डा. वीरेन्द्रनारायण यादवले उच्च सदनको शून्य समयमा सरकारलाई बीपीको शालिक संरक्षण गर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको हो । भारतको उच्च सदनमा ४५ वर्षपछि बीपी कोइरालको सम्बन्धमा बहस सुरु हुनु अत्यन्त सकारात्मक कुरा हो । नेपालको मध्यबिन्दुबाट सुरु भएको विहारको सीमारेखा पूर्वी नेपालको सम्पूर्ण भाग समेट्ने हुँदा दुई देशबीचको सम्बन्ध थप सुधारका लागि समेत यो विषय कोसेढुङ्गा साबित हुन सक्छ । नगर विकास एवम् सहरी विकासका प्रधान सचिव आनन्द किशोरलाई शालिक मर्मत तथा संरक्षण कार्य अगाडि बढाउन मन्त्री विजयकुमार चौधरीले निर्देशन दिनुभएको छ । प्रधान सचिव आनन्द किशोरसँगको भेटमा हामीले बीपी कोइरालाको शालिकको मर्मतलगायतका कार्य पूरा गर्नका लागि नेपाल सरकारमार्फत बीपी कोइराला सङ्ग्रहालय कमिटीलाई जिम्मा दिनका लागि आग्रहसमेत गरेका छौँ । आशा छ– बीपी कोइरालाको शालिक संरक्षण गर्ने हाम्रो यो अभियानले छिट्टै नै साकार रूप लिनेछ । डकुमेन्ट्री निर्माण सामग्री सङ्कलनको खोजमा नेपाली काँग्रेस स्थापनाको पहिलो महाधिवेशन भएको कलकत्ताको भवानीपुरको खाल्सा स्कुल, पार्क स्ट्रिटस्थित कनक बिल्डिङ, टाइगर सिनेमा हल एवम् कलकत्ता युनिभर्सिटीको अवलोकन गरी सम्बन्धित पक्षसँग सहयोगका लागि अनुरोधसमेत गरेका छौँ । सबै ठाउँबाट हामीलाई सहयोग हुने विश्वास पनि प्राप्त भएको छ ।

(लेखक बीपी कोइराला सङ्ग्रहालयका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)