कोरोना वर्षमा चलचित्र
विजयरत्न तुलाधर
विक्रम सवंत् २०७७ को अन्त्य हुनै लागेको छ । वर्षको अन्तिम शुक्रबार ‘श्री’ र ‘गर्लफ्रेन्ड’ दुईवटा चलचित्र सार्वजनिक प्रदर्शनमा आए । यो वर्ष यी दुईवटा तथा ‘गोर्खे’ र ‘एउटा यस्तो प्रेमकहानी’ गरी चारवटा चलचित्रले मात्र प्रेक्षालयको मुख देख्न पाए । तर, दर्शकको मुख भने राम्ररी देख्न चलचित्रले पाएनन् । विगतका वर्षहरूमा सयजति चलचित्र प्रदर्शनमा आउँथे । यो वर्ष भने कोरोनाको मारमा चलचित्र क्षेत्र पनि प¥यो ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना सङ्क्रमणले थलिएको नेपालको जनजीवन बिस्तारै सहज बन्दै छ । यद्यपि, संसारबाट कोरोनाको कहर उन्मूलन भइसकेको छैन । दोस्रो लहरको कोरोना पैmलिँदै छ । चलचित्रको महासागर मानिने भारतको महाराष्ट्र राज्यको मुम्बईलगायत विश्वको सबैभन्दा ठूलो चलचित्र उद्योग हलिउड अहिले ‘जिरो बक्स अफिस’ अर्थात् व्यापार शून्यको अवस्थामा छ । हुन त हलिउडमा ‘मुलान’, ‘कोङ्ग भर्सेस गोडजिला’लगायत केही चलचित्र प्रेक्षालय र सञ्चार सञ्जालमार्फत प्रकाशमा आए । हिन्दी चलचित्र जगत्मा पनि लोकप्रिय युवा नायक वरुण धवनको ‘कुली नम्बर वन’ र महानायक अमिताभ बच्चनको ‘गुलाबो सिताबो’लगायत केही चलचित्र सञ्चार सञ्जालमार्फत सार्वजनिक भए ।
चलचित्रको प्रदर्शन ठूलो पर्दा भएको प्रेक्षालयमै गरिनुपर्छ । अनि मात्र चलचित्रको पूर्ण मनोञ्जन लिन सकिन्छ । तर, सङ्क्रमणको जोखिम निराकरण नभइसकेको अवस्थामा प्रदर्शनको वैकल्पिक व्यवस्थातिर ध्यान दिनु नै उचित हुन्छ । हलिउड र बलिउडले यस्तो प्रविधि अपनाउन थालिसकेका छन् । अर्थात् ठूला पर्दाका लागि भनेर बनाइएका चलचित्र साना पर्दा विशेषगरी इन्टरनेटको माध्यमबाट दर्शकमाझ आउन ल्याउन थालिसकेको छ । कोरोनाकालमा त्यस्ता केही हलिउड र बलिउड चलचित्र नेटफ्लिक्स, अमेजनलगायत इन्टरनेट एप्समार्फत रिलिज भएका छन् । तर, नेपाली चलचित्रको पहुँच त्यस्ता ठूला नेटवर्कसम्म पुग्न भने समय लाग्न सक्छ र नेपालमा विद्यमान प्रदर्शनको वैकल्पिक यो बजारले दर्शकमाझ स्थान बनाउन सकेको छैन ।
यसप्रकारको इन्टरनेट एप्स आइफ्लिक्स नेपालमा नभएको पनि हैन । तर, व्यावसायिक सफलता भने हासिल गर्न सकिएका छैन । हालै आएर अभिनेत्री ऋचा शर्माले नेपाली चलचित्रलाई दर्शकको घरघरसम्म पु¥याउने उद्देश्य लिएर चलचित्र एप्स नामक इन्टरनेट एप्स खोल्नुभएको छ । तर, यसले कुनै प्रभाव जमाउन सकेको छैन । चलचित्रको वैकल्पिक बजारका रूपमा टेलिभिजनलाई लिइन्छ । संसारमा टेलिभिजनलाई चलचित्रको बलियो माध्यम भनिए पनि नेपालमा त्यस्तो हुन सकेको छैन । टेलिभिजनमा मात्रै सार्वजनिक गरिएका चलचित्रहरू ‘शिरफूल’ र ‘लक्ष्मीपूजा’ले खासै दर्शक जुटाउन सकेनन् । सशुल्क प्रदर्शन भएका कारण पनि यस्तो अवस्था आएको हुन सक्छ । वास्तवमा भन्ने हो भने नेपालका चलचित्र दर्शकहरू विदेशी चलचित्रहरू टेलिभिजन च्यानल वा विभिन्न सञ्जालमा सशुल्क हेर्ने गरेका छन् तर त्यही दर्शकले नेपाली चलचित्र सशुल्क कमै हेर्ने गरेका छन् ।
गत वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि बन्दाबन्दी गरियो । बन्दाबन्दी अघि नै हलमा दर्शक आउन छाडेका कारण देखाई प्रदर्शन मिति तोकिएका चलचित्र पनि निर्धारित मितिमा प्रदर्शन गरिएन । त्यस्ता चलचित्रमध्ये प्रमुख चलचित्रमा निर्देशक सुदर्शन थापाको बहुचर्चित र बहुप्रतीक्षित भनिएको ‘म यस्तो गीत गाउँछु–२’ हो । निर्धारित मितिमा प्रदर्शन गर्ने उद्देश्य लिएर ठूलो तामझामसाथ प्रचारमा उत्रिएको यो चलचित्र अन्तिम समयमा आएर प्रदर्शन स्थगित गरिएको थियो ।
गत वर्षको चैत ७ गते प्रदर्शन हुने भनिएको निर्देशक फुलमान बलको ‘नीरफूल’, चैत २१ गते रिलिज हुने भनिएको निर्देशक शिवहरि पौड्यालको ‘लक्काजवान’, चैत २८ गते रिलिज हुने ‘चपलीहाइट–३’, ‘प्रेमगीत–३’ र हास्य अभिनेता सन्तोष पन्तको सक्रियतामा निर्माण भएको ‘हिजोआजका कुरा’ जस्ता बहुचर्चित चलचित्र पनि प्रदर्शनमा आउन पाएनन् । यी चलचित्र निर्धारित मितिमा प्रदर्शनमा नआएपछि प्रचारमा गरेको लगानी बालुवामा पानीसरह साबित भइदियो । अहिले पनि स्थिति सुध्रिसकेको छैन । त्यसैले आफ्नो लगानी कहिले र कसरी उठाउने भन्ने अन्योलमा छन्– चत्रचित्रकर्मीहरू । यो वर्षको अन्त्यतिर वा नयाँ वर्षको समयमा माथि उल्लेख गरिएका केही चलचित्र सार्वजनिक गर्ने कुरो चर्चामा आएको थियो तर त्यस्तो हुन सकेन ।
विशेषगरेर भारतका महाराष्ट्रलगायत विभिन्न सहरमा कोरोनाको दोस्रो लहर पैmलिएपछि ती स्थानमा गरिएको बन्दाबन्दीका कारण एकातिर बलिउडमा पनि पूर्वघोषित केही ‘बिग बजेट’का हिन्दी चलचित्रको प्रदर्शन स्थगित भएका छन् भने त्यसको असर नेपालमा पनि पर्नु स्वाभाविक हो ।
बन्दाबन्दीका कारण सुटिङ रोकिएका चलचित्रमा निर्देशक झरना थापाको अनमोल केसी र सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर–४’ र निर्देशक दीपेन्द्र लामाको भुटानी अभिनेत्री उगेन छोडेन र दयाहाङ राईको जोडी रहेको ‘दुई नम्बरी’ तथा ‘परदेशी–२’, ‘लप्पन छप्पन–२’लगायतका कतिपय चलचित्रको सुटिङ रोकिएको थियो । ‘ए मेरो हजुर–४’ को छायाङ्कन भने अहिले करिब–करिब सकिन लागेको छ ।
यस वर्षका चर्चित घटनामा कलाकार सरोज खनाल, दीपाश्री निरौलालगायतका फेसबुक एकाउन्ट ह्याक हुनु पनि रहेको छ भने हालै नायिका प्रियङ्का कार्कीले आफू गर्भवती भएको भनी सार्वजनिक गर्नुभएको तस्बिर पनि चर्चाको विषय बनेको छ । कोरोना कहरको कारण लामो समयदेखि बन्द रहेका चलचित्र प्रेक्षालय खोल्न भएका प्रयास पनि यो वर्षको चर्चित घटनाका रूपमा लिनुपर्छ । देशका विभिन्न उद्योग, व्यवसाय र शिक्षण संस्था सञ्चालनमा आएको तर सिनेमाहलमाथि मात्र किन बन्देज भन्ने आवाज उठाउँदै पुस १० देखि साङ्केतिक आन्दोलनका रूपमा प्रेक्षालय सञ्चालनमा ल्याउने प्रयास गर्दा जिल्ला प्रशासन कार्यालयले चलचित्र व्यवसायीलाई हल बन्द गर्न दबाब दिएको कुरा पनि यो वर्षका उल्लेखनीय घटनामा पर्छ ।
पुस १० गते प्रदर्शनमा आएका ‘आमा’ र ‘सेल्फी किङ’जस्ता विगतमा प्रदर्शित भइसकेका चलचित्रले दर्शक तान्न सकेन भने त्यसपछि लामो समयदेखि बन्द रहेका हल सञ्चालनमा ल्याई चलचित्र व्यवसायलाई चलायमान बनाउने प्रयासस्वरूप अभिनेता शिव श्रेष्ठको समेत लगानी रहेको ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेका दिन सार्वजनिक प्रदर्शनमा आयो । तर, यो चलचित्रले पनि कुनै आशा जागृत गराउन सकेन । यसको प्रत्यक्ष असर चलचित्र भवनमाथि पर्न गयो । लामो समयसम्म हल सञ्चालनमा आउन नसकेपछि चलचित्र भवनले वैकल्पिक उपाय रोज्न थालेका छन् । यसैक्रममा राजधानीको सबैभन्दा ठूलो हल मानिने गोपीकृष्ण हल अहिले भत्काएर व्यावसायिक भवन बनाउन लागिएको छ ।
चलचित्र व्यवसायमा सङ्कट आएकाले यो व्यवसायमा लागेका सबै पक्ष राहतका लागि आ–आफ्नो समस्याको पोको लिएर राज्यको एकमात्र आधिकारिक निकाय चलचित्र विकास बोर्डतिर जाने गरेका छन् । तर, बोर्ड पनि अहिले तत्काल केही गर्न सक्ने अवस्थामा देखिँदैन । बोर्डको मूल आयस्रोत भनेको हिन्दी र अंग्रेजीलगायतका विदेशी चलचित्र चलाएर त्यसबाट उठ्ने चलचित्र विकास शुल्क हो । अहिले विदेशी चलचित्रको प्रदर्शन भइरहेको छैन । त्यसैले बोर्डको आर्थिक स्रोत शून्य रहेको अवस्था छ । आर्थिक स्रोतको अभाव भए पनि नीतिगत सुधारका कुरामा बोर्ड अहिले सकारात्मक रूपमा अगाडि बढिरहेको छ । विशेषगरेर चलचित्र भवनमा आफ्नो क्षमताभन्दा आधा दर्शकमात्र राख्न पाइने नियमले हुने क्षति कम गर्न र हल बन्द रहँदाको विद्युत् महशुलको भारलगायतका विभिन्न शुल्क, कर छुट गराउन बोर्ड लागिपरेको छ । यसैगरी, बोर्डको एक अर्को सकारात्मक पक्षका रूपमा बोर्डले सुरु गरेको पटकथा बैङ्कको परिकल्पनालाई पनि लिन सकिन्छ । यो योजनाअन्तर्गत बोर्डले केही पटकथा पनि सङ्कलन गरिसकेको छ । प्राप्त पटकथामा फिल्म, सर्टफिल्म वा डकुमेन्ट्री बनाउन बोर्डले सम्बन्धित पक्षलाई आर्थिक सहयोग गर्ने भनी घोषणा गरेको छ । यस कार्यमा नेपालस्थित ब्रिटिस काउन्सिलले पनि बोर्डसँग आर्थिक रूपमा सहकार्य गर्नेछ ।